परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अब फरक तरिकाले बाच्न र समृद्ध हुन सिक्नु पर्छ

केही यथार्थता जो अहिले सिकिदैंछ, अब यी यथार्थका बारेमा सोच्नु पर्ने बेला आएको जस्तो लाग्छ । पुरातन बिश्वब्यवस्थाले अब मानिसको संरक्षण गर्न सक्दैन भन्ने लाग्यो । हरारीको ‘होमो सेपियन्स’ पुस्तक पढेपछि, हामीले इतिहासलाई कुरुप बनाइस्केका रहेछौं भन्ने लागेको छ । केही कुरा वुँदागत रुपमा यहाँहरुसंग साटासाट गरौं ।

  • मैले स्कुल पढ्दा जब शिशु कक्षा शुरुभयो, एउटा लामो तख्तामा रातो माटो ढक्ढकाएर डिकले लेख्ने सिकाइबाट पढाइ शुरु गरें । गुरुआमाले दिनभरीसंगै बसेर सिकाउनुहुथ्यो । म अगाडिका कक्षामा बढ्दै गएँ, नेपालको इतिहास, भूगोल, ज्यामिती, अंकगणित, नेपाली साहित्य, अंग्रेजी, नीतिशास्त्र, कानुनी ज्ञान सिकाउने श्रेस्ता, सबै कक्षामा थपिदैं गएँ । म नेपाल र विश्वका बारेमा थोरबहुत जान्ने मानिस भएँ । तर २०२८ सालमा त्यो शिक्षा अचानक नयाँ शिक्षाका नाममा आएको भाइरसले सिध्यायो । त्यसपछि, नेपालको शिक्षा निरन्तर बिदेशी योजनामा चल्यो । अहिलेसम्म नेपाललाई दातृसंस्थाले २६८ अरब रुपैयाँ सहायोग गरेछन् र त्यस्को २२ प्रतिशत शिक्षामा गएछ । तर हाम्रो शिक्षाको स्तर काहाँ छ ?
  • निरन्तर परिबर्तन प्रकृतिको नियम हो, र हामीले पनि परिवर्तनलाई स्विकार्दै जानुपर्छ । तर फरक कुरा नै परिबर्तन भने हुंदैन । मैले सिकेको शिक्षामा नैतिकता थियो, विज्ञान पुरा थिएन होला । नैतिक शिक्षालाई कायम गर्दै, विज्ञान थप गर्नु पथ्र्यो होला । नैतिकताका नाममा रहेका अन्धविश्वासलाई हटाउदै, समाजलाई प्रगतिशील बनाउनुपथ्र्यो होला । तर हामीले देशको इतिहास, भूगोल, अर्थशास्त्र, गणित, नैतिक शिक्षा र साहित्यलाई सफाया गरिदियौं । आज हामीसंग आफ्नो पहिचान छैन, हामी घोर स्वार्थी, उपभोक्तवादी, ब्यक्तिवादी, अवसरवादी र आराजक भिडमा परिणत भएका छौँ । मानिसका प्रवृत्ति हेर्दा हामी पढेका मानिस भएछौं, तर अशिक्षित र आज्ञानी पनि भएछौं । हाम्रो शिक्षा गलत रहेछ । यो बिदेशी पैसा र योजनाको शिक्षाले हाम्रो सर्वनास गर्नेछ, शाशकको विचारधारा जेसुकै होस् । यस्तो माहामारी रोगलाई नियन्त्रण गर्न घरमा बस्नुहोस् भन्दा नमान्ने नागरिकको यो मति वर्तामान शिक्षाको उत्पादन वा परिणाम हो भन्न नसक्नु पर्ने कारण छैन ।
  • म गाउँमा पढ्थें । गाउँको स्कुल गाउँकै मानिस मिलेर बनाएको राम्रो भवन थियो । खेलकुदका लागि मैदान थियो, खेलकुदका प्रतिस्पर्धा हुन्थे । स्कुल जबसम्म समुदायले चलाए, शिक्षामा भ्रष्टाचार थिएन । तर जब शिक्षा निजीकरण मात्रै होइन ब्यापारीकरण भयो, त्यस्को परिणाम हाम्रो आँखा अगाडि छ । बिगत तीन वर्षदेखि प्रत्येक साल ४५ हजार विद्यार्थी विदेश गएका छन् पढ्न । प्रत्येक साल करिब ८० अरब रुपैयाँ कम्तीमा नेपाली आम्दानी विदेश गएको छ । हामीले टेक्सासमा बसेर टेकु अस्पतालमा कोरोनाले मानिस मेरेको हल्ला फिजाउने युवा उत्पादन गरेछौं । हातमा ६० हजारको मोबाइल आमाबाबुको आम्दानीबाट किनेर बिहान नौ बजे उठेर देशमा अवसर छैन भन्ने युवाको जमात सानो छैन । वर्तमान शिक्षाले देशप्रतिको जिम्मेवारी समाप्त पारेको रहेछ । जब मानिस आफ्नो परिवार, समाज र देशप्रती गौरव नगर्ने ठाउँमा पु¥याइन्छ, त्यो समाजमा अराजकताको डरलाग्दो भाइरस लागेको हुन्छ, अनि त्यो कोरोनाबाट के तर्सिन्छ ? हाम्रो शिक्षाले गुण होइन बैगुण शिकाएको रहेछ ।
  •  हाम्रा घरहरु अलिवरपर हुन्थे । गाइबस्तुका गोठ अलि पर हुन्थे । पानीका धारा मुहानबाट आउथे । रैथाने गाइ, भैंसी, बाख्रा, भेडा आदि थिए । नेपालमा पनि बिफर र दादुराको प्रकोप आयो । संसारमा अधिक मानिस त्यस ब्याधीबाट मरे । तर नेपालमा सिमित मानिस मात्र मरे । चीन र भारतमा पनि प्लेग आयो । तर नेपालमा त्यस ब्याधीले मानिस मरेका थिएनन । त्यसका पछाडि कारणहरु रहेछन् । हाम्रो बसोबास प्रणालीले सरुवा भाइरस रोक्दो रहेछ । बेलायती उपनिबेसले नेपालको जनसंख्यालाई उपनिबेस बनाएको थियो । सन् १९१४ देखि १९४५ सम्म हाम्रा आठ लाख मानिस युद्धमा प्रयोग ग¥यो, दस जानामा एकजाना मात्र देश फर्किए । दुइटा विश्व युद्धमा दुइलाख त मारिए नै । तर पनि हाम्रो जनसंख्या रोगले कहिल्यै घटेन । नेपालले बिनासक ब्याधी सामना गर्नु परेन ।
  • के कारण थिए ? पहिलो त हाम्रो बातावरण हो, जो अहिले डोजर आतंकको सामना गरिरहेको छ । हाम्रा बस्तीहरु, जहाँ घरहरु आलि वरपर थिए । हाम्रो अन्नबाली, तरकारी, सागपात र जडिबुटी हाम्रो शरीरलाई मिल्ने खालका थिए । जतिसुकै गरिबले पनि मकै, कोदो, स्थानीय धान, मस्याम, गहत, दाल र सागपात उत्पादन गररेर खाने चलन थियो । २०२५ सालतिरबाट विदेशी विकासे बोका आए रैथाने बाख्रा सकिए । विकासे आएपछि रैथाने गाई, भैंसी, भेडा सबै सकिए । किन र कसरी सकिए ? आज गाउँहरु उजाड भए । हाम्रो विकासका योजना कस्ले बनाए ?
  •  युभल नोह हरारी भन्छन्, कृषि क्रान्तिभन्दा पहिलाका होमो सेपिएन्सले समाज निर्माण गरे । मिथकहरु निर्माण गरी मानिसलाई समुहमा राख्ने आधार निर्माण गरे, भाषा र सञ्चारका प्रणाली निर्माण गरे । चिन्तन र मन्थनको क्रान्तिद्वारा आजको आधुनिक विश्वको जग निर्माण गरे । उनीहरु दिनमा छ–सात घन्टा खाना खोज्दथे । हरेक दिन फरक खाना खान्थे । उनीहरु समुहमा बसेर मनोरञ्जन गर्थे । उनीहरु खुसीसंग बाच्थे, भलै कतिबेला सिंहले माथ्र्यो थाह थिएन । तर हामीसंग कति समय छ, आराम गर्ने ? हाम्रो खाना त ‘कुर्कुरे र चाउचाउ’ भैसक्यो । ती आदिम मानिस अहिलेका मानिस भन्दा बलिया, अग्ला र तन्दुरुस्त थिए । उनीहरुले गाइबस्तु पालेका थिएनन, त्यसैले ब्याधीहरुका शिकार भएनन । जब मानिसले कृषि क्रान्ति ग¥यो, उस्ले खाने कुरा सिमित भए । मानिसले गाइबस्तु पाले । ब्याधीले मानिस मर्ने लागे । तरपनि उनिहरुसंग ब्याधीका विरुद्ध मुकाबिला गर्ने क्षमता थियोे र मानव जातीलाई मासिन दिएनन । आजको कथित विकास औद्योगिक क्रान्ति पछाडिको पुँजीवादको देन हो । यस्ले विज्ञान त निर्माण गर्याे, तर मानिसले हजारौं बर्ष देखि विकास गरेको मानव सभ्यता ध्वस्त पार्दै छैन ?
  • मेरा हजुरबुबा र बाबुको जति बल र ज्ञान मसंग छैन । मेरा हजुरबुबालाई गाउँको मात्र होइन जिल्लाभरीका मानिसका बारेमा थाह थियो, जनावरका बारेमा थाह थियो, बिरुवाका बारेमा थाह थियो, पुर्खाका नाम थाह थियो, कुन कुन ठाउँमा बसाइ सर्दै यहाँ आइपुगेको हो भन्ने इतिहास थाह थियो, नेपालको इतिहास थाह थियो, कुलो खन्ने प्रबिधि थाह थियो । अहिले हामीलाई के थाह छ ? मेरा मेरा हजुरबुबा औषधि नखाइ बांचे । हामी औषधिमा बांचिरहेका छौं । हामीसंग ठूलो बाटो छ, मोटर छ, अस्पताल छ । तर आज म अस्पताल गएँ भने डाक्टर डराउछन् । विज्ञानले खोइ त युरोप र अमेरीका बचाएको ? मलाई मेरो विज्ञानप्रति आज भरोसा छैन ।
  • के विज्ञानको दोष हो ? होइन, विज्ञानको दुरुपयोग समस्याका रुपमा आएको हो । युरोपले मानिसलाई जातका आधारमा विभाजीत गरेर, पुँजीवादी वर्गीयताको निर्माण गर्ने उपनिबेसको माध्यमले दुई सय वर्षको अधिनायकवाद नचलाएको भए, आजको दुनियाँ फरक हुने थियो । यो मेरो भनाइ होइन, पश्चिमलाई स्वर्ग देख्नेहरुलाई चित्त दुख्ला । यो इड्वार्ड सैडको भनाइ हो, उनी अमेरिकी हुन । पश्चिमको अहंकार हो, भनी नोम चोम्स्की भन्छन् । हरारी पनि त्यसै भन्छन् । आज मानिस सभ्यताका नाममा असभ्य देखियो । युरोपको उपनिबेसी अधिनायकवाद नआएको हुदों हो त कथित राष्ट्रियताको आन्दोलनले जन्म लिनुनै पर्ने थिएन । आज दुनियाँ राष्ट्रियताले ओतप्रोत छ । युरोपलाई चीनको प्रभावको डर छ । युरोपलाई एसियाको डर छ । किन, एसियामा आज राष्ट्रियता मौलाएको छ ? कारण, हिजो युरोपले दबायो । असभ्य ठान्यो । एसियाको औद्योगिकरण ध्वस्त पार्यो ।
  • ठिकै छ, हिजो जे जे भयो । तर खोइ युरोपमा मानिस जोगाउने सामाजिक र आर्थिक ब्यबस्था ? धन जति मुठीभर मानिसमा रहेछ । त्यो धन गरिबलाई काम लाग्दो रहेनछ । देश धनी छ । तर सरकार गरिब छ । उद्योग धनी छ, तर उस्को सामान विदेश जान्छ, देशलाई काम लाग्दैन । अमेरिकामा भेन्टिलेटर छैन । सबै उद्योगले अस्तिनै बेची सकेछन् । यिनै देशप्रति गैरजिम्मेवार पुँजीपतिसंग देशको अर्थतन्त्र छ ।
  • हामीले यही ढाँचा हो सिक्ने अब? होइन, यस त्रासदीबाट सिकौं :
    • हामीले ठुला शहर बनाउनु नहुने रहेछ । ससाना थुप्रै शहर बनाऊँ । शहरहरुलाई स्वावलम्बी बनाऊँ ।
    • हामीले पहाड ध्वस्त पार्नु नहुने रहेछ । पहाडमै र गाउमै बसोबास ठिक रहेछ । हामिले प्रकृतिसंग तालमेल गरेर बस्नु पर्ने रहेछ । हाम्रो विकासको ढाँचा आधुनिकता र प्रकृतिसंगको तालमेल रहेछ । अब देशको विकासको नयाँ ढाँचाका बारेमा सोच्न थालौं ।
    • हिजो हाम्रो प्राङ्गारिकता कस्ले तोडिदियो ? अब त्यस बाटोमा हिडौं । अब विदेश जान छोडौं । ब्याधी र दुख त त्यही रहेछ । आखिर देशनै चाहिने रहेछ । सबै युवाहरु, अब उत्पादनमा लागौं ।
    • नवउदारवादले ल्याएको उपभोक्तावादले सकेको रहेछ हामीलाई । अब यसबाट बाहिर आऔं ।

यो ब्याधी पछि कसरी दुनियाँ आगाडि जाने होला ? किसोर माभुवानीले र लि कवान युले भने जस्तै पश्चिम आफ्नो अहंकार र एकाधिकारवादको नीतिलाई पुनरावलोकन गर्न तयार भयो भने, दुनियाँ राम्रो हुनेछ । अन्यथा हामीले अब फरक तरिकाले बाच्न र समृद्ध हुन सिक्नु पर्छ ।

Facebook Comments