परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

उहाँ फटाहा हुनुहुन्छ !

चट्याङ प्रहार

उहाँ आजभोलि नित्य सत्यको खोजीमा हुनुहुन्छ
पूजा, पाठ, तीर्थ र ब्रत गर्नुहुन्छ
नामी–नामी साधु, सन्त, बाबा र फकिर खोज्नुहुन्छ
प्रवचन सुन्नुहुन्छ, वेद उपनिषद् र पुराण पढ्नुहुन्छ
भित्री मनले हमेसा आफ्नो फाइदा मात्रै खोज्नुहुन्छ
भन्ने बेलामा हमेसा ज्ञान र सत्यको खोजीमा हुनुहुन्छ ।

 

फुलेको कपाल दिनहुँ कालोले रङ्गाउनुहुन्छ
आँखी भौँमा श्रीमतीको गाजल लगाउनुहुन्छ
हालेको दाँत अरुले सक्कली ठानून् भन्ने चाहनुहुन्छ
पालेका जुँगा फुल्न थालेदेखि सिनित्त खौरनुहुन्छ
फुलेको दाह्री उल्टो, सुल्टो, तेर्सो र छड्के समेत खौरनुहुन्छ ।
दाह्रीसँगै कान पनि खौरनुहुन्छ
नाकका रौँ काट्न कैची नाकभित्रै छिराउनुहुन्छ ।
कुनै काट्नु हुन्छ, नकाटिएका थुत्नुहुन्छ ।

 

चाउरी छोप्न किरिम लगाउनुहुन्छ
चस्माले बुढो देखिन्छ कि भनेर लेन्स लगाउनुहुन्छ
हत्पत्ति आफ्नो उमेर आफैँ भन्न अनकनाउनुहुन्छ
थोर भन्ला भन्ने आसमा आफ्नु उमेर अरुलाई सोध्नुहुन्छ
अरुले ढाँटिदिनुपर्छ, तपाईँ त ४०–४५ को देखिनुहुन्छु
त्यस्तो फट्याइँमा मक्ख पर्नुहुन्छ
बिगतको मोहमा उहाँ आफू र अरुलाई ढाँट्दै हिँड्नुहुन्छ
उहाँ जीवन र जगत्को सत्यको खोजीमा हुनुहुन्छ ।

 

उहाँ आफ्नै शरीरको सत्यदेखि विगतमा भाग्नुहुन्छ
मनको असत्यलाई कुरै कुराको आडम्बरले ढाक्नुहुन्छ
हमेशा बटुल्नकै दाउमा बसेर त्यागका कुरा गर्नुहुन्छ
“मरिलानु के छ र” भन्दै गरिछाड्नुप्रति आँखा चिम्लनुहुन्छ
आफैँलाई र अरुलाई ढाँट्दै बुढ्यौलीको सत्य नकार्नुहुन्छ
उहाँ जीवन र जगतको सत्यको खोजीमा हुनुहुन्छ
उहाँ एक नम्बरको फटाहा हुनुहुन्छ !

Facebook Comments