परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

घुस्रिए सर्प काला

कविता(छन्द:-स्रग्धरा)

तालाबाला बनाए धन जन ढुकुटी खालि जस्तै निराला

सत्तामा जो पठाए मति भ्रमित भयो मानवी छैन चाला

ढाली झारी गरीबीतिर जन सब नै भै सके खूब हाला

नेपाली अस्मितामा विष बमन भयो घुस्रिए सर्प काला॥१

 

लोभि पापी हुँदै गो किन मनुज यहाँ फेर्न सक्दैन बानी

जानीजानी धकेले किन अबुझ बनी भासमा जिन्दगानी?

रित्तो पारे बिगारे सबतिर ढुकुटी लूट को रोक्न जाला

नेपाली अस्मितामा विष बमन भयो घुस्रिए सर्प काला॥२

 

बस्ती धेरै हरायो जन विहिन हुँदै भासिदै बाँझिदै गो

देशै छोडेर लाखौं युवक र युवती छाँसिदै पाँजिदै गो

छोडे संस्कार आफ्नो अरुतिर मिसिए सोच राखेर आला

नेपाली अस्मितामा विष बमन भयो घुस्रिए सर्प काला॥३

 

स्वर्गै हो देश हाम्रो तर पनि किन खै देश छोडेर भागे

आमा बिर्सेर दासी परजनसित पो चाकडी गर्न लागे

आमाको प्राण धान्नै अति कठिन भयो देखियो हाडछाला

नेपाली अस्मितामा विष बमनभयो घुस्रिए सर्प काला॥४

 

बिर्सी देशै विदेशी पन धन बटुली मोजले चर्न थाले

पैसा पुज्दै रुवाईकन प्रिय जननी नर्कमा झर्न थाले

सारा संस्कार धर्मै बलिदिन दगुरे अन्त जोडेर गाला

नेपाली अस्मितामा विष बमन भयो घुस्रिए सर्प काला॥५

 

माटो बोल्दैन हाम्रो सकल जन उसै दासजस्तै नबोल्ने

उग्राई खान पाएपछि सब सहने दर्द कस्तै नखोल्ने

जालो सङ्कीर्णताको कटकट सहजै काट्न को भित्र जाला?

नेपाली अस्मितामा विष बमन भयो घुस्रिए सर्प काला॥६

Facebook Comments