परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जोसुकै भन्न सक्छन् यो देश नेपाल हो भनी

कविता (छन्द:अनुष्टुप)

व्यक्तिको हीत हेरेर हुन्छन् निर्णय जे पनि

देश निर्माणको काम थाती बस्छन् सबै अनि

लोकको दर्दको आँसु बग्छ काली नदी बनी

जोसुकै भन्न सक्छन् यो देश नेपाल हो भनी॥१

 

भोकाको गाँस काटेर खान्छन् ठालु कनीकनी

खुल्लेआम जहाँ भन्छन् धूस दे लौ यति भनी

कुम्ल्याए र जति खाए हुन्न लेखा कतै पनि

जोसुकै भन्न सक्छन् यो देश नेपाल हो भनी॥२

 

शक्तिको आड पाएर तुहिन्छन् केस नै ठुला

सत्ताले राख्छ खोपेर भ्रष्ट लुक्नेगरी दुला

चोरलाई छ चौतारो सोझामाथि सुली अनि

जोसुकै भन्न सक्छन् यो देश नेपाल हो भनी॥३

 

सीमाना साँध रोएको शव्द गुञ्जिन्छ बेसरी

भारी दोहनमा पर्छन् सम्पदा स्रोत यस्तरी

जहाँ शोषणको आगो फैलेको छ नि दन्दनी

जोसुकै भन्न सक्छन् यो देश नेपाल हो भनी॥४

 

भीसा लाएर दौडिन्छन् युवा-वर्ग विदेशमा

योग्य कर्मठका लागि छैन स्थान विशेषमा

केही मुठ्ठीभरीका नै गर्छन् चैन धनी बनी

जोसुकै भन्न सक्छन् यो देश नेपाल हो भनी॥५

Facebook Comments