परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपामा कोरोना भाइरस !

फुटानी

हौ च्यान्टी ! तिमी त काठमाण्डौ पुगेर आ’की के छ काठमाण्डौको खवर हामीलाई पनि सुनाउन ।

मैले भखरै काठमाण्डौंबाट गाऊँ फर्किएकी च्यान्टीलाई राजनीति कुरो गर्न कर गरें ।

के हुन्छ हौ काका ! भाँडभैलो छ । प्रधानमन्त्रीले केक काटेको काण्डमा भोकाएका झिंगा, भन्किएर खपी नसक्नु भयो । औंस्याहा पर्ने झिंगाहर्ले सामाजिक सञ्जालमा छादेर हेरी नसक्नु बनाए ।

हैन कस्ले त्यस्तो गरेको नानी !

पहिला त पूर्व माओवादी हर्ले सामाजिक सञ्जालमा लेखेर उत्तेजित बनाए । त्यसपछि अरुले पनि लेखे । प्रधानमन्त्री केपी शर्मा ओलीको डाहा र इष्र्या गर्नेहर्ले तथानाम भन्दै असफल बनाउने भगिरथ प्रयत्न गर्दै छन् । काका ! यो चाहिँ बाँदरलाई घर भित्र हुले पछिको अवस्था हो ।

ओली विरुद्ध अहिले वामदेवाय स्वहाः भन्ने आन्दोलन चलाएका छन् । यदि वारपार भएन भने एमालेपनि सकिन्छ ।

कस्तो कुरा गरेकी नानी ! अहिले एमाले कहाँ छ र ! नेकपा पो छ त !

ओलीले एकता गरेर नेकपा बनाउन खोजेको हो तर भएन । कहिले राष्ट्रिय सभामा सदस्य थप्ने कुरा गरेको छ, कहिले वामदेवालाई प्रधानमन्त्री बनाउँछु भनेर कुर्लिएको छ, कहिले कसलाई उचालेको छ, कहिले कसलाई थेचारेको छ, कहिले यता र कहिले उता वैठक बसेर ओलीलाई समाप्त पार्ने योजना बनाएको छ । अब हुदाहुदै एकजना व्यक्तिका लागि संविधान संशोधन गर्ने प्रस्ताव राखेको छ । अनि ‘वाँदरले आफ्नो घर पनि बनाउदैन, अर्काको घर पनि भत्काउँछ’ भन्ने भनाई चारितार्थ बनाएको छ । अनि के को एकता, के को नेकपा ।

कुरो त ठिकै हो च्यान्टी ! तर, हाम्रा प्रचन्न चुपो लागेर बस्तैनन् भन्ने ओलीलाई थाहा थिएन र ! त्यसबेला ओलीका शुभचिन्तकले भनेकै थिए उर्नालाई घर भित्र नहुल्नु भनेर । अनि माधव नेपाल त विवेकी नेता होइनन् र, उनी पनि धरमराए कि क्या हो च्यान्टी !

खै के हो के हो काका ! हतार गरे पुगिदैन, विस्तारै गए पुगिन्छ भने जस्तै हुँदै छ । अब पूर्व एमाले र पूर्व माओवादी भन्नु भन्दा आ–आफ्नै पार्टी ब्यूताएर पुरानै लयमा फर्किदा राम्रो । त्यस पछि थाहा हुन्छ को कति पानीमा छ ।

त्यस्तो कुरो नगर च्यान्टी ओली नै माओवादीका पहिलो दुश्मन थिए । र, माओवादीले ओलीलाई समाप्त पार्न खोजेकै थिए । तुष अझै बाँकी छ ।

पार्टी कब्जा गरेर मात्र हुँदैन काका ! कार्यकर्ताले पनि नेता मान्नु पर्छ । एमालेबाट फुटेर गएको मालेलाई जनताले ‘वामदेवाय स्वहाः’ बनाएको विर्सनु भयो । अहिले बडो चर्को स्वरले पार्टी फुट्ने हल्ला गरिदै छ । पार्टी फुट्दैन केही नेताहरु जान्छन् कार्यकर्ता डेग चल्दैनन् प्रचन्न र वामदेव ‘टेक्ने न समाउने, कल्पनामा रमाउने’ गर्दै हुनुहुन्छ । अरुले त होइन माधव नेपाल र झलनाथले बुझ्नु भएको होला माओवादीलाई धोएर नेकपा बनाउन सकिदैन भनेर । फुटेर गए माओवादी जान्छ अरु जादैनन् । गए भने सकिन्छन् । त्यस बेला हामी ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भनेर नारा लगाउँछौं ।

खै तिम्रो कुरो समर्थन गर्न मन थियो तर आफु परियो माओवादी के गर्नु ! ठिकै छ । अब आउने चुनापमा प्रचन्न र वामदेवले जित्ने छाँट छैन । यिनारुले ‘खिस्स बुढी, हरियो दाँत’ को बाटो समाए । उनार्को आ–आफ्नै क्षेत्रका जनताले विश्वास गर्दैनन् । चितवनमा देवी ज्ञवाली मात्र भै दिदैनन्, वर्दियामा सबै ढङ्ग पुग्दै पुग्दैन । पिँद नभएका लोटा पार्लाक र पुर्लुक ।

काका ! अहिले कोरोना भाइरसले विश्व आतंकित छ । त्यस बारेमा छलफल गरेर डब्लुएचओले अति जोखिमयुक्त मुलुकमा नेपाललाई राखेको छ । त्यो डर लाग्दो महामारीसंग जुद्न तमतयार रहनु पर्ने बेलामा वामदेव एकातिर, प्रचन्न अर्कोतिर दौड लगाएका छन् । अरु रमिता हेरेर बसेका छन् । कोरोना भाइरस त नीतिगत रुपमा नेकपामा सल्क्यो ।

अरु मुलुकमा कोरोना भाइरसले हवाकावा बनाइरहेको छ । हामीलाई भने सामाजिक सञ्जालमा भन्किएका झिंगाले लखेटी रहेको छ । ओलीले अब घरमा प्रवेश गरेको वाँदर लखेट्नु पर्छ, झिंगाहरु भुनभुनाउँदै गर्छन्, संविधान संशोधन गर्ने, हरुवाहर्लाई राष्ट्रिय सभामा लाने, अनि सचिवालयमा अनावश्यक दवाव दिने, सचिवालय, केन्द्र र जिल्ला कमिटिमा सदस्य संख्या थपेर बैठक बस्नै नसक्ने बनाउने जस्ता सुझाव ल्याउने र दवाव दिनेहर्लाई एक एक गरी पाखा लगाउँनै पर्छ ।

‘कहाँ जान्छस् माखा, खाली छ पाखा’ को नीति अख्तियार गर्नै पर्छ । होइन भने वामदेवका नाममा आफ्नो दुनो सोझ्याउन लागेकाहर्ले नेकपा स्वहाः पार्न बेर छैन । चेतना भया !

Facebook Comments