परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कर तिर्नू !

चट्याड्मास्टरको झटारो

हाम्रो देशमा तँ जन्मेको ? लौ ले अब कर ले 

कुन ठाउँमा जन्मिस् तँ ? ठेगानाको कर ले 

कुन मितिमा तँ जन्मेको ? त्यो मितिको कर ले 

तेरो बाउ पनि होला? तेरो बाउको कर ले 

आमा पनि पक्कै होलिन् ? तेरी आमाको कर ले 

घरमै जन्मिएको होस् ? ले घरको कर ले 

के नाम राखिदिए तेरो? ले नामको कर ले 

तेरो जन्म दर्ता भयो पूरा, ले दर्ताको कर ले 

तेरो यत्रो काम गरेँ मैले, ले मलाई घूस ले 

 

पौष्टिक आहार खानू, हुर्कनू, आहारको कर तिर्नू 

चाचा खेल्नू, नाना लाउनू, किन्दा सब कर तिर्नू 

पढ्नु पर्छ, स्कुल जा है, जाने बाटोको कर तिर्नू 

स्कुल भर्ना हुनुपर्छ, भर्नाको कर तिर्नू

स्कुल ड्रेस, टाई लगाउनू, ड्रेसको कर तिर्नू

हरेक दिन  पढ़ाउँछन्, पढेको फिस तिर्नू  

कापी कलम पनि चाहिन्छ, किन्दामा कर तिर्नू

पढेपछि जाँच दिनुपर्छ, जाँचको कर तिर्नू 

पास भए प्रमाण पत्र लिनलाई कर तिर्नू 

फेल भए फेरि जाँच दिनलाई कर तिर्नू 

धेरै पटक भए फेल, जाँच्नेलाइ घूस तिर्नू 

 

हुर्केपछि बिहे गर्नू , बिबाह दर्ता कर तिर्नू 

बिबाह दर्ता सजिलो पार्न दर्तावालालाई घूस तिर्नू 

बच्चा जन्मिए माथि भने झैँ , यहीँ आएर कर तिर्नू 

प्रक्रिया सब म मिलाइदिउँला, तैले मलाई घूस तिर्नू 

 

पढ़िसके थाल्नू कमाउन, आम्दानीमा कर तिर्नू

खेत बारी भए आफ्नो, जगाको कर तिर्नू 

केही उब्जनी गरिस् भने, उब्जनी कर तिर्नू

मल  बीऊ कुलो नपाई केही नउब्जे के तिर्नू?

रुख रोपी काठ-दाउरा बेचेको कर तिर्नू  

त्यो पनि नभई बाँझो पल्टे, बाँझोको कर तिर्नू

 

बिरामी पर्लास्, औषधी खालास औषधीको कर तिर्नू 

डाक्टर जचाउलास्, नर्स बोलाउलास्, सप्पैलाई फिस तिर्नू 

बिजुली बाल्लास्, फोन चलाउलास्, सब सेवाको कर तिर्नू 

केही रमाइलो पनि गर्लास, मनोरञ्जन कर तिर्नू 

धर्म-संस्कृति, टोल बिकास गर्ने आए योगदान तिर्नू 

देशै बनाउने पनि आउलान्, खुरुक्क तिनलाई चन्दा तिर्नू 

 

आफ्नै सरकार त हो नि यो, त्यसैले त कर तिर्नू 

कतैबाट पनि तिर्न नसक्दा जग्गा बेची कर तिर्नू 

जग्गा बेच्न मालपोत जानू, लिखत पासलाई तिर्नू 

त्यहाँ लेखिदिने हुन्छन्, लेखनदासलाइ  घूस तिर्नू 

एकपेट पाल्न माग्नै परे, मागेको कर तिर्नू 

माग्न नपाई भोकै मरे, मृत्यु दर्ता कर तिर्नू 

मर्नू पहिले आफन्तलाई सम्झाउनू है — कर तिर्नू 

अन्तिम संस्कार गर्न चाहिने सब सामानमा कर तिर्नू 

 

यो तेरो आफ्नै सरकार हो, यसले तँलाई हेर्छ 

तैँले तिर्न बाँकी कर, तेरो सन्तानसँग असूल गर्छ !

Facebook Comments