परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राणाका जेलबाट प्रजातन्त्र सेनानी बन्दीको चिट्ठी (भाग-२)

(वरिष्ठ पत्रकार मणिराज उपाध्यायको दुर्लभ डायरी ‍‍...२)

आशीर्वादको पत्र पाएँ । आमा, जुन चलाखी र युक्तिले तपाईले यो चिट्ठी पठाउनुभयो, त्यो म सोध्ने साहस नै गर्न सक्तिनँ । आज मलाई यो प्रत्यक्ष प्रमाण मिल्यो कि पुत्र स्नेहले मातालाई के सिकाउँदो रहेनछ भन्ने कुरा । तपाईले जुन धैर्य र साहस धारण गरेस् भनेर लेख्नुभएको छ, त्यसको निम्ति मलाई बारबार आशीर्वाद पनि दिने गर्नुहोस् ता कि म यहाँको बचन पालन गर्न सकूँ । कागजको रूप देख्ने बित्तिकै कागज कसरी भेट्टायो भन्ने ता तपाईमा आश्चर्य लागेन होला तर कलमको बारेमा अवश्य नै शंका होला ।

दैनिक समाजका प्रधान सम्पादक स्व. मणिराज उपाध्याय

जब म थानाबाट जेल ल्याइएँ, जेलको ढोकामा तलासी लिएको कुरा हिजोकै पत्रमा लेखी चढाएको हुँ तर कसो भएर हो, मेरो जवाहर वेष्टकोटको पेन पकेटमा यौटा सानु एउटा चार अमलको शिसाकलमको टुक्रा ती दुष्टहरूको आँखा छली आइपुगेको रहेछ । त्यही नै आज पाउको सेवामा अघि बढिराखेको छ ।

बत्तीले गर्दा हिजोकै कुरा पूरा गर्न सकेको छैन, । पैले त्यसैलाई सुरु गर्दछु — मानवताको भक्षक, पशुताको गुरु जिउँदै नै शरीरको रक्त चुस्ने जेलको पर्खालले चारैतिरबाट घेरिएको यौटा सानो अन्धकार छिँडीमा म राखिएँ । बाहिरका पर्खालहरू मलाई खिस्सी गर्दै भित्रैदेखि दाह्रा ङिच्याइङिच्याइरहेका छन् । एक फौज कैदीहरू मलाई छोप्न आइपुगे । म छोपिएँ । मेरा नजर तिनीहरूमाथि एकएक गरी पर्न थाले ।
ओहो, यी पनि ता मनुष्य नै हुन् । हामी जस्तै ता हुँदा हुन् । तर, यस चार दिवारीको हावाले ता यिनीहरूमा धेरै परिवर्तन ल्याइसकेको रहेछ । परिवर्तनभन्दा प्रगतितिर भन्ठान्नु होला, तर अधोगतितिर है ।

आमा, तपाई पनि ता वागमती ओहोरदोहोर गर्दा यस भयानक जेलको पर्खालदेखि परिचित हुनुभएको छ । मनुष्यले धार्मिक ग्रन्थमा कल्पना गरिएको नरकको जस्तो अनुमान साथ बयान गर्दछन्, त्यो यही रहेछ । यसका अग्लाअग्ला पर्खालहरू तपाई बाहिरबाट देखनुहुन्छ । मेरा साथीहरू पनि यहीँ साँझमा हावा खान र भकुण्डो खेल्न जम्मा हुँदा हुन् । उनीहरूको दृष्टिबाट पनि त्यो छिपेको छैन । तपाईहरू सब यसको नजिक हुनुहुन्छ ता पनि सबैको दृष्टिबाट दूर, अति दूर रहेको रौरव नरक नै यही हो, जहाँ मनुष्यको बीचमा मनुष्यलाई राखी त्यसमा भएको मनुष्यताको अपहरण गरी पशुतामा परिवर्तन गराइन्छ । यति मात्र हैन आमा, यहीँ कैयन तपस्वीहरूको दृढ आत्मालाई डगाउन नसकी लट्ठी, फाँसी र गोलीको शिकार समेत बनाइएको छ । कस्तो सरलतासँग ज्यान लिइन्छ, मानौँ उडुस र उपियाँलाई मिचे झैँ गरी । आँखीझ्यालबाट कसैले चिहाएको जस्तो यी बन्दीहरूको अंगअंग तिनीहरूले लगाइरहेका लुगाबाट चिहाइरहेका, दाह्रीजुँघा बढी जिंग्रिङ्ग भइराखेका अनुहार, आँखा इनारजस्ता गहिरा, लामालामा नङ, कस्तो यिनीहरूको रूप ? साँच्ची, अलिक दिनपछि मलाई पनि ता यिनीहरूले यस्तै देख्लान् । शायद् तपाई पनि ता— तर हैन, आमाले आफ्नो छोरा कुनै हालतमा होस् ता पनि ‘मातृ स्नेह’ नामक करेन्टले उस्तै र उही देख्दछन् ।

ढाडमा एकदम चीसो आइरहेको रहेछ । उठेर के हो भनी भनी हेर्छु ता सुतेको लम्पट ल्याफल्याफ्ती भिजिराखेको । अन्धकार हुनाले कसरी भिज्यो भन्ने कुरा जान्न सकिनँ । जसै उज्यालो भएथ्यो, उठेर हेर्छु ता दुई सुकुल, त्यसमाथि सुतली बिच्छ्याइकन हालेको लम्पट निथ्रुक्क भै भिजिराखेको र सिरकका कुना कुना पनि निचोर्न हुने भइराखेका पाएँ । यो जाडोको महिना, यो छिँडीचारैतिर भुईमा पानी उम्रिराखेको छ । बिहान दिसा–पिसाब गर्न भनी बाहिर निस्केँ । कुरुवा पनि पछि लाग्यो ।

फेरि यस जेलको कानून क्रान्तिकारीहरूमाथि अलग लागु हुँदो रहेछ । जुन कि एकदम कठोर र काँटिलो छ । आमा, कृपशाहरूले अखण्ड धनराशी भेट्टाई आफ्नो तनभन्दा प्यारो मानी अगमसँग लुकाए झैँ हुन ता म शासकको नजरमा घृणित छु ता पनि मलाई यस्तै तरिकाले चारैतिरबाट भीषण पहरा दिई सानो ओसिलो, सूर्य किरणसँग युगौँयुगदेखि वैरभाव चलिआएको यौटा छिँडीमा राखेका छन् । मेरा अगाडि तीनवटा मुसलमानका मृत शरीरहरू गाडिएका कब्र जस्ता लामालामा ढिस्काहरू छन् । साँच्ची नै आमा, हिजो म यस छिँडीभित्र पस्ने बित्तिकै मैले यसलाई मृत शरीर गाडिएको ढिस्का नै भन्ठाचनेँ । तर, त्यसैमा गुट्मुट्याइराखेको जीर्ण सुकुल जब देखेथेँ, अनि मैले ‘यो कैदीहरू सुत्ने चौकी बनेको होला भन्ने अनुमान गरेँ । ठीक यो त्यही नै रहेछ ।

माता स्व. पद्मकुमारी प्याकुरेल

यस्तै विचार गर्दै थिएँ, यत्तिकैमा मलाई घेरिराखेका ती कैदीहरू, ‘बाबुसाहेब सवारी भयो’ भन्दै जुर्मुराई उठे र अभिवादन गर्न थाले । यी व्यक्तिको लवाइखुवाइ सफासुग्घर थियो । त्यसमाथि शिरमा भक्तपुरे टोपी थियो । उनी छिँडीमा प्रवेश गर्ने वित्तिकै सबैले एकएक स्थान लिई चुपचाप साधन गरे । तर, मलाई भने यो नामैसँग घृणा पैदा भएकाले फर्केर हेरिनँ । उनले आफैँले निस्तब्धतालाई भङ्ग गर्दै त्यहाँ उपस्थित व्यक्तिहरूमध्ये तीन जनाको नाम काटी भने, ‘हेर, यहाँ यी काङ्ग्रेसहरूको रेखदेख तिमीहरूले गर्नू । तिमीहरू एक एक जना पालैपालो गरी खानपिन गर्नू । दुई जनाले छोड्दै नछोड्नू । दिसा–पिसाका निम्ति लग्दा पनि एक एक जना गरी मात्र लग्नू । दिसा–पिसाब गराउँदा पनि आफू अगाडि उभिइरहनू । कसैसँग बोलचाल गर्न नदिनू ।’

मैले पहिलो पत्रमै लेखिहालेथेँ कि मेरो साथमा अरु ६ जना साथीहरू पनि थिए भनी । उसले फेरि हामीपट्टि फर्की ‘हेर्नुहवस्, तपाईहरू नयाँ आउनुभएको छ, यहाँको ऐन राम्रोसँग पालन गर्नुहोला, हल्ला नगर्नू, कसैसँग बोलचाल नगर्नू, ढोकाबाट बाहिर नचिहाउनू, दिसा–पिसाब गर्न साथी नलिई नजानू, आदिआदि भन्दै उसले थप्यो, ‘यदि यी नियमहरू उल्लङ्घन गरेमा धन सवाल लाग्नेछ ।’ उसले फेरि थप्यो, कुनै कुरा किन्न–वर्न परेमा म यहाँको नाइकेलाई पठाइदिनेछु, उसैसँग मगाउने गर्नू । यदि सात–आठ दिनसम्म हेर्दा तपाईहरूको स्वभाव राम्रो र सरल देखिएमा म यस चिसो छिँडीबाट घाम लाग्ने र घाम ताप्न पाउने ठाउँमा सारिदिनेछु ।’ यति भनी उनी गए । बत्ती पनि बल्यो । हामी च्यूरा दुई मुठी र पानी पिएर सुत्यौँ । मलाई राणालाई सम्झी हाँसो उठ्यो कि कांग्रेसलाई कुरुवा जेलभित्र पनि सिपाही राखेको रहेछ भन्ठानी ।

युवा अवस्थामा मणिराज उपाध्याय

आज बिहान एकदम ४ बजे नै निन्द्रा टुटिहाल्यो । ढाडमा एकदम चीसो आइरहेको रहेछ । उठेर के हो भनी भनी हेर्छु ता सुतेको लम्पट ल्याफल्याफ्ती भिजिराखेको । अन्धकार हुनाले कसरी भिज्यो भन्ने कुरा जान्न सकिनँ । जसै उज्यालो भएथ्यो, उठेर हेर्छु ता दुई सुकुल, त्यसमाथि सुतली बिच्छ्याइकन हालेको लम्पट निथ्रुक्क भै भिजिराखेको र सिरकका कुना कुना पनि निचोर्न हुने भइराखेका पाएँ । यो जाडोको महिना, यो छिँडीचारैतिर भुईमा पानी उम्रिराखेको छ । बिहान दिसा–पिसाब गर्न भनी बाहिर निस्केँ । कुरुवा पनि पछि लाग्यो । बाहिर फोहोर र गन्धको ता म यस पत्रमा वर्णन गर्न सक्दिनँ । चर्पी उदाङ्गो र छ जना लाइनै बस्न हुने रहेछ । फेरि, जनही एकएक पालेहरू अगाडि खडा उभिइदिँदा हरेछन् । जसका कारण हामी जस्ता नयाँ आएकालाई त बडो ठूलो समस्या उपस्थित गरिरहेछ ।

येनकेन हातमुख धोएर बसेको मात्र थिएँ, कुरुवामध्ये यौटाले चामल ल्याउन भाँडो दिनुहोस् भन्यो र सबैको एकै ठाउँमा ल्याउने कि अलग अलग भनी प्रश्न ग¥यो । हामीले यौटै भाँडो दिई एकै ठाउँमा भन्ने उत्तर दियौँ । अर्कोले चाहिँ ईँटहरू बटुलेर ल्याइदियो र चुल्हो लगाउनुहोस् भन्यो । हामी सबै मिलेर चुल्हो लगाउँदै मात्र थियौँ, चामल ल्याइपु¥यायो । उहः, आमा, चामल हे्र्छौँ ता अबिरले रङ्गाइराखेको जस्तो रातो धान र चामल बराबर, त्यसमा पनि भूस र ढूटो मिसिएको कुड्के चामल रहेछ । यो चामल जनही दुई छाकलाई साढे एक माना, एक मुठा दाउरा, यौटा खुर्सानी र दुई पैसा दिँदो रहेछ । हामीले यो चामल खाने साहस गर्न सकेनौँ । हिजो तपाईले पठाइदिनुभएकै चामल, दालहरू पकायौँ र खायौँ । खाईपिई बसेका मात्र थियौँ, तपाईले पठाइदिनुभएको पान, सुपारी, चुरोट, घिउ, तेल ल्याइपु¥यायो । तरकारी हिजोकै सिद्धिएको छैन । आज पनि काउली, आलु, साग आइपुग्यो । तरकारी यसरी नपठाइदिनुहोला । चाहिएमा खबर पठाउने नै छु । अरु साथीहरूकहाँबाट पनि आइराखेको छ ।

माल फिर्ता लिन नाइके आइपुग्ने बेला भयो तसर्थ आजलाई यहीँ रोक्दछु । ज्यादा, रमेश, ललितालाई शुभ आशीर्वाद भनी सुनाइदिनुहोला । (क्रमशः)

Facebook Comments