परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अपथ्य

लघुकथा

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’

बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरुको बासनाले रसाएर आयो ।

‘बाजे ! के खाने ?’

भोकले अम्लपित्त बल्झएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरुमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो – ‘आलुचनाको सय रुपियाँ, चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी… !’

दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।

– ‘बाजे के ल्याम् तपाईंलाई ?’

बूढाले खोक्तै जबाफ दिए – ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ… !

Facebook Comments