परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मदको प्याला

कविता

कान्छीको भट्टीमा

मदको प्याला उचाल्दै

आफूले संसार जितेको सोच्न

ब्यस्त छ ।

 

उसका लागि

हिजोका ती

विशालकाय पर्वतहरू

आज

तुच्छ थुम्का

भएका छन् ।

 

नसाको सुरमा ऊ

नाकको पोरा फुलाउँदै

हुँङ्कारले आकासिँदै

आफ्नै हातले

सगरमाथा छोइदिन्छु भन्छ 

अगस्ति ऋषिले झैं

एकै सासमा

समुन्द्र रित्याइदिन सक्छु

भन्छ ।

 

यति मात्रै होइन,

एकै फड्कोमा

विश्वलाई

नाघ्न सक्छु भन्छ

उफ्रिएर आकासको जूनलाई

समात्न सक्छु भन्छ

आकासका ताराहरू टिपेर

आफ्नी प्रियसीका लागि

माला बनाइदिन सक्छु भन्छ । 

 

किनभने

उसलाई

कान्छीको भट्टीको

मदको मात लागेको छ

उसले यथार्थ बिर्सेको छ

ईच्छाशक्तिलाई

कार्यशक्तिले जित्नुपर्छ

भन्ने बिर्सेको छ

आफूले टेकेको

धरातललाई बिर्सेको छ

मति भ्रमित छ ।

 

त्यसैले त

लरखराइरहेछ

बरबराइरहेछ । 

Facebook Comments