परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

त्रिवि केन्द्रीय पत्रकारिता विभागः आफ्नै भवन बनाउँदै

बल्खुमा भवन शिलान्यास

काठमाडौँ, माघ २२ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागको आफ्नै भवन बनाउने सपना अब पूरा हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज बिहान बल्खुस्थित विभागको भवन निर्माणस्थलमा शिला राखी निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले पण्डितहरूको मन्त्रोच्चारणका बीच विधिपूर्वक शिलान्यास गर्दैगर्दा बटुकहरूले स्वस्तिबाचन गरे ।

बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय र मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीन कार्यालयको पछााडिपट्टि रहेको उँचो ठाउँमा करीब चार रोपनी जग्गा विभागको नाममा रहेको छ । यही जग्गामा नयाँ भवन क्यामेरा आकारमा बन्न थालेको हो ।

प्राज्ञिक जगत, विद्यार्थी र पत्रकारहरूका माझ शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आफू त्रिवि र पत्रकारिता विभागलाई आवश्यक पर्ने आर्थिक सहयोग दिन आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । मेरो पहिलेदेखि नै त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धे, चासो र रुचि थियो’, अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, ‘पत्रकारिता शिक्षाका माध्यमबाट गुुणस्तरीय, व्यावसायिक पत्रकारिताको विकास होस् भनेर नै मैले पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट छुट्याएको हुँ ।’

उहाँले देशको पुरानो र ठूलो विश्वविद्यालय त्रिविको सुधारका लागि सरकारले आवश्यक बजेट छुट्याउने पनि बचन दिनुभयो । उच्चशिक्षा सम्बन्धी नयाँ नीतिले अब विश्वविद्यालयमा सुधार आउने उहाँको विश्वास थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले सीमित साधन र श्रोतबाट पनि पत्रकारिता तथा आमसञ्चार विभागले गरिरहेको काम उदाहरणीय छ भन्नुभयो ।

विश्वविद्यालयकै इन्जिनियरिङ अध्ययन संस्थानको डिजाइन र प्राविधिक विशेषज्ञतामा बन्न लागेको यो भवन नमूना बन्ने अपेक्षा गर्न सकिन्छ, उपकुलपतिको भनाइ थियो ।

पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले पत्रकारिता विभागमा जनशक्ति र साधन, श्रोतको कमी हुँदाहुँदै आफ्नै घरको सपना पूरा गर्न आफ्नो पुस्ता सफल भएको र अब नयाँ पुस्ताले विभागलाई अगाडि हाँकेर लैजानुपर्ने बताउनुभयो । उहाँले विभागमा आवश्यक जनशक्ति उपलब्ध गराइदिन त्रिविसँग माग पनि गर्नुभयो । प्रविधि र सुविधासम्पन्न भवन बनिसकेपछि पत्रकारिताको गुणस्तरीय शिक्षाका लागि मद्दत पुग्ने उहाँको भनाइ थियो ।

विभागका सह–प्राध्यापक प्रवलराज पोखरेलले पत्रकारिताको प्राज्ञिक धरोहर सो विभागले सूचनाको महामार्गमा दक्ष र उच्चस्तरीय जनशक्ति उत्पादन गर्नेदेखि आमसञ्चारमाध्यका सबै माध्यममा प्रसारण र प्रकाशन गर्नुपर्ने दायित्व भएकाले उप–प्राध्यापकदेखि सह–प्राध्यापक, प्राध्यापक र प्रशासनिक तथा प्राविधिक कर्मचारीको अभाव पूर्ति गर्नु अतिआवश्यक भइसकेकाले यता ध्यान दिन विश्वविद्यालयलाई आह्वान गर्नुभयो ।

विभागका उप–प्राध्यापक डा. कुन्दन अर्यालले स्वागत मन्तव्य दिँदै पत्रकारिता शिक्षामा आकर्षण रहेकाले यसलाई प्रविधि र जनशक्तिले भरथेग गर्दै लैजानु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति तथा त्रिवि सभाका सदस्य टपेन्द्रजङ्ग शाहीले पत्रकारिता विभागको विकास सराहनीय भएको बताउँदै स्ववियुले सधैं गुणस्तरीय शिक्षाका लागि रचनात्मक भूमिका खेल्ने र  शैक्षिक वातावरण निर्माणका लागि सधैँ सहयोग गर्नेे कार्य गर्दै आएको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा त्रिविका निमित्त शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भूषाल लगायत विभिन्न सङ्काय र अध्ययन संस्थानका डीनहरू, अनुसन्धान केन्द्रका निर्देशकहरू, सहायक डीनहरू, रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुख डा. निर्मला सुवाल लगायत त्रिविका अधिकारीहरूको उपस्थिति थियो ।

त्रिवि पत्रकारिता केन्द्रीय विभाग भवन निर्माण समितिका संयोजक उपप्राध्यापक देवराज अर्यालका अनुसार, मूल्यअभिवृद्धि कर सहित २१ करोड ५५ लाख ६० हजार रूपैँयाँको लागतमा दुई वर्षको अवधिमा साढे चार तलाको अत्याधुनिक प्रविधियुक्त सुविधासम्पन्न भवन बन्नेछ ।

सो भवनको निर्माण जिम्मेवारी भ्याली बाबुरत्न जेबीले पाएको छ भने इन्जिनियरिङ कन्सल्टेन्सीको जिम्मेवारी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सीले लिएको छ ।

Facebook Comments