परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पत्रकारिताका गुरु ‘राई सर’ को त्यो जन्मदिन

पत्रकारिता विषयका गुरु लालदेऊसा राई नेपालको विश्वविद्यालयमा पत्रकारिता पठनपाठन गराउने पहिलो गुरुका रूपमा सुपरिचित हुनुहुन्छ । गुरु कति वर्ष लाग्नुभयो त? ठ्याक्कै उत्तर कसैसँग पनि छैन । किनभने पत्रकारिताका गुरु लाल देउसा राईलाई उमेर बताउनुमा खासै रुचि छैन । २६ जनवरी उहाँको जन्म दिन हो । त्यो चाहिँ बताउन गुरुबालाई समस्या छैन । जति उमेर कटे पनि पट्ठो जस्तै हुनुपर्छ उहाँलाई ।

–कति हुनुभो त राई सर?  —भएँ होला १७, १८ । यस्तै सवाल जवाफ चल्दै आएको छ । तर सबैले लख काटेकै कुरा चाहिँ के हो भने गुरुबाको उमेर ८० भन्दा माथि नै हो ।

राई सरको यो कतिऔँ जन्मदिन थियो त?

पक्कै पनि पहिलो — यसरी मनाइएको ।

यसै हप्ताको पहिलो दिन आइतबार २६ जनवरी रहेछ । त्योभन्दा केही दिनअघि आरआर क्याम्पस पत्रकारिता विभागका तन्नेरी गुरुहरूलाई लागेछ, राई सरको जन्म दिन त २६ जनवरी, त्यो त आइसक्यो, केही गर्न पाए हुन्थ्यो । पत्रकारिताका तन्नेरी गुरुहरू ऋषिकेश दाहाल, श्रीराम पौडेल, डा. कुन्दन अर्याल लगायतका बीचमा कुरा भएछ — लौ, राई सरको जन्म दिन मनाऊँ यो साल । गुरुहरूलाई सम्मान गर्ने एउटा परम्पराको सुरुवात पनि हुन्छ । बोलीमा लोली मिल्यो । तर क्याम्पसमा जाडो विदा थियो । अनि सुरु भयो फोनबाटै खबरखाबरको सिलसिला । जजसलाई फोन गरे, सबैले गज्जब भन्ने प्रतिक्रिया दिए । अनि ठाउँको खोजी भयो । स्युचाटारको उकालोमा भर्खरै खुलेको डिल क्याफे कार्यक्रमस्थलका रूपमा जु¥यो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागका संस्थापक प्रमुख प्रा. पी. खरेलदेखि वर्तमान प्रमुख प्रा. चिरञ्जीवी खनाल कार्यक्रम स्थलमा उपस्थित हुनुभयो पुराना गुरुको जन्म दिन मनाउन । पत्रकारिता विभागका नयाँ गुरुहरू र गुरुआमा त जम्मा नहुने कुरै थिएन । पत्रकारिता केन्द्रीय विभाग र आरआर कलेजमा पढेका, एमफिल र विद्यावारिधिमा अनुसन्धान गर्दै गरेका व्यावसायिक पत्रकारिताका हस्तीहरू पनि जम्मा भए । करीब २५–३० जनाको रमाइलो जमघट ।

प्रतिक्षालाई चिर्दै जन्मदिन मनाइन लागेका नायक लाल (ध्वज) देउसा राई पनि टुप्लुक्क आइपुग्नुभयो । एकै स्वरमा सबैले भने — जन्म दिनको शुभकामना राई सर ।

नयाँ पुस्ताका गुरुको प्रतिनिधित्व गर्दै श्रीराम पौडेलले कार्यक्रम गर्नुको औचित्य बताउँदै स्वागत गरेपछि प्रा. पी. खरेल र प्रा. खनालले खादा ओडाएर राई सरलाई सम्मान प्रकट गर्नुभयो । अरु गुरुवर्गबाट पनि यो क्रम दोहोरियो । अनि सुरु भयो शुभकामना अर्पणको । राई सरको नामको केक आयो । अष्ट्रेलियाबाट राईसरका चेला पत्रकार मनऋषि धितालले पठाएको घडीदेखि सबैका तर्फबाट किनिएको कोट र एउटा राई सरकै माउण्ट तस्बिर उपहार दिने कार्य सम्पन्न भयो ।

सबै गद्गद् । सबै भावविह्वल । २०३३ सालदेखि अनवरत पढाइरहेका गुरु । पत्रकारिताका गुरु । सरल स्वभाव । सहज व्यक्तित्व । मिजासिला गुरु । उनै गुरुको जन्मदिन मनाइँदै थियो ।

राई सरको त्यो हँसिलो माउण्ट तस्बिरमा प्रा. पी. खरेलका यी शब्द थिए—’LDR-the exemplary grand academic stamina of Nepalese journalism and mass communication.’

तस्बिरका पछाडिपट्टि सबैले हस्ताक्षर गरे । अनि गरियो राई सरलाई हस्तान्तरण । राई सरका बारेमा बिहानै सहयात्री पहिलोपोष्ट डट कमले विशेष सामग्री प्रकाशन गरिसकेको थियो ।

अनि राई सरका बारेमा प्रा.पी. खरेल सरको सानो शुभकामना मन्तव्यपछि केक काटियो र राई सरलाई खुवाइयो ।

त्यसपछि राई सरले घोषणा गर्नुभयो— विकास पत्रकारितासम्बन्धी ओजमूलक पुस्तक प्रकाशन गर्ने अठोट । विस्तारै साँझ बेलुकी र रातमा परिणत भयो । अनि सबै जना प्रफुल्ल मुद्रा लिएर राई सरलाई विदा गर्दै विदावारी भए ।

त्यो रमाइलो क्षणले पत्रकारिता शिक्षण क्षेत्रलाई छुट्टै ऊर्जा दियो ।

राई सरको यो कतिऔँ जन्मदिन थियो त?

पक्कै पनि पहिलो — यसरी मनाइएको ।

Facebook Comments