परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माघको पहिलो हप्ता झरी पर्ने

काठमाडौँ, पुस २९ ।

भोलिबाट माघ लाग्दैछ । देशमा विभिन्न समुदायले विभिन्न तरिकाले माघे संक्रान्ति मनाउँदै छन् । तर माघे संक्रान्तिकै दिनदेखि पश्चिमी वायुका कारण पश्चिमी चापीय प्रणाली नेपाल प्रवेश गर्दैछ । जसका कारण माघको पहिलो हप्ता माघे झरी पर्ने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपरान्ह मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै माघे संक्रान्तिको  सांझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, यो प्रणालीका कारण बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको संभावना रहेको छ। साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा सोही भू-भागका १-२ स्थानहरुमा भारी वर्षाको संभावना रहनुका साथै देशको पूर्वी भू-भागमा बिहिवार आंशिकदेखि सामान्य बदली भई १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले सचेत गराएको छ ।

Facebook Comments