परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संयोग

कथा

आफूलाई पहिलेदेखि नै परिचित लाग्ने स्वरले बोलाइरहेको सुनेर कुवेर पछाडि फर्कियो । बोलाउने मान्छे नभन्दै काठमाडौँमा सँगै पढ्दाको सहपाठी भोला एउटा वच्चालाई हिँडाएर ऊ भएतिर आउँदैरहेछ । आश्चर्यमिश्रित खुशीले ऊ पुलकित भयो । हुन पनि आज झन्डै एक दशकपछि आफ्नो सहृदयी मित्रलाई उसले भेट्न पाएको थियो ।

‘तँ यहाँ ?’ भोलाले सोध्यो ।

‘हो यार, ६ महिना जति भयो जिल्लाबाट आएको, यहीँ नै सेटल हुने विचार गरेर । तेरो के हालखबर छ भन्न त ।’ कुवेरले भोलालाई सोध्यो ।

‘के हुनु यार, एउटा पब्लिकेशन चलाएर बसेको छु, बरू तँ भन्, तँ कहाँ के गर्दैछस् ।’ भोलालाई नजिकको चिया पसलमा चिया पिउँदै कुराकानी गर्ने आग्रह गर्यो । उसको कुरा भोलाले नमान्ने कुरै थिएन । दुवै गफिन सुरू गरे । तर बच्चा भने अलि पर गएर खेल्न लाग्यो । भोलाले आफ्नो अफिसमा काम गर्न आएकी महिलालाई कसरी पट्याएर बिहे गर्यो भन्ने कुरा धेरै मसला हालेर कुवेरलाई सुनायो । कुराको सिलसिलामा भोलाले सोध्यो, ‘यार, तैंले त म विदेश गएको बेलामा त बिहे गरिस् रे । भाउजु पनि यतै त हुनुहुन्छ होला होइन?’ भोलाको प्रश्नले कुवेर गम्भीर भयो । उसका आँखाहरू रसिला भए । विहे गरेको केही महिनापछि नै उसले श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको सुनायो ।

अव गम्भीर हुने पालो भोलाको थियो । उसले मसिनो स्वरमा भन्यो, ‘ मेरो यस्तो साथीलाई छोडिजाने कस्ती निष्ठुरी रहिछ ।’

कुवेरले यति मात्रै भन्यो, ” होइन भोला, दोष त मेरै हो ।”

भोलाले थप कुरा सोध्न मन गरेन । बढी कुरा गरेर ऊ साथीलाई थप द्रवित गर्न चाहँदैनथ्यो । केहीबेरपछि ती दुवै साथी चिया सकिएपछि उठे ।

‘बाबु ! आऊ’ भनेर भोलाले बच्चालाई बोलायो। ऊसले साथीसँग गफै गफको सिलसिलामा कुवेरलाई बच्चा चिह्नाउन नै बिर्सेछ । उसले कुवेरलाई आफ्नो बच्चा देखाउदै ‘मेरो छोरा’ भनेर चिह्नायो ।

‘बाबु तिम्रो नाम के हो ?’ बच्चालाई कुवेरले सोध्यो ।

‘संयोग’ बच्चाले छोटो उत्तर दियो ।

‘कस्तो मिठो नाम रहेछ ।’

कुवेरले भन्यो तर बच्चा हाँस्यो मात्रै ।

‘अंकललाई नमस्कार गर्न बिर्सेको?’ भोलाले आफ्नो छोरालाई भन्यो ।

‘नमस्कार, अंकल ।’ आफ्नो बाबुको कुरा सुनेर संयोगले भन्यो ।

‘नमस्कार बाबु ।’ कुवेरको जवाफ थियो ।

नजिकको पसलबाट कुवेरले संयोगको लागि चकलेटहरू किनिदियो । अरू कुरा गर्दै उनीहरू सबै एउटा मोडमा आइपुगे । आज आफ्नो घरमा खाना खाने र आफ्नी श्रीमतीसँग पनि परिचय गर्ने भोलाले प्रस्ताव राख्यो । तर कुवेरले उसको प्रस्ताव अफिसमा छिट्टै पुग्नुपर्ने भएकाले मानेन ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

केही सम्झे जस्तो गरेर भोलाले भन्यो, ‘ म, तेरी भाउजु र संयोग तिनै जना मनकामना दर्शन गर्न जाँदैछौं, समय छ भने तँ पनि हिंड ।’

‘जानु त हुन्थ्यो तर हेर्न यार, अफिसको काम लथालिंग छ; विदामा पनि काम गर्नुपर्छ; प्राईभेट अफिसको कुरा त तलाई थाहा छँदैछ; बरू एउटा काम गरिदे न; मेरोतर्फबाट पनि पूजाको सामग्री चढाइदे न’ भनेर रू ५०० को नोट निकालेर दियो ।

‘गधा, तेरो पैसा तैसँग राख् । तेरो तर्फबाट पूजा सामग्री किनेर चढाउन सक्दिन । पैसा देखाउछस् मलाई ।’ भोला झोक्कियो । ‘नरिसा न, यार ।’ कुवेरले फकायो। दुबै मित्रहरू छुट्टिएपछि छोडेर गएकी श्रीमती दीपिकालाई कुवेरले सम्झियो । दीपिकाको दोष नै के पो थियो र? आफ्नो लोग्नेले रक्सी पिएको कुन महिलालाई पो मन पर्दछ र ? उसले रक्सीको बोतल फुटाइदिएकी मात्र न हो त्यही निहूँमा कुवेरले उसलाई रक्सीको नशामा मरणासन्न हुने गरी पिटेको थियो । रातको त्यो घटनापछि उसले दीपिकालाई कहिल्यै भेट्न सकेन । श्रीमतीको बारेमा सोध्ने जो सुकैलाई ऊ सम्बन्ध बिच्छेद भएको कुरा गरेर ढाँट्ने गर्दथ्यो । त्यसपछि उसले जति प्रयत्न गरे पनि दीपिकासँग भेट भएन ।

पश्चतापको आगोमा जलिरहेको कुवेर एकचोटी दीपिकासँग भेट गरेर माफी माग्न चाहन्थ्यो । शायद् परमात्मालाई अहिलेसम्म त्यो कुरा मन्जुर थिएन । रातको १० बज्दै थियो । कुवेर सुत्ने तयारीमा थियो । त्यत्तिकैमा मोबाईलको घन्टी बज्यो । भोलाले फोन गरेको रहेछ ।

कुवेरले ‘हलो’ भनिसकेपछि भोलाले फोनमा भन्यो,’ हेर् कुवेर, तेरो तर्फबाट तैंले चाहेको पूरा होस भनेर मैले पूजा गरिदिएँ । मोरा, तेरो मनको इच्छा अब छिट्टै पूरा हुने भयो । प्रसाद लैजान भोलि मेरो घरमा आइज । खाना पनि यतै खानुपर्छ । भाउजुसँग पनि चिनाजानी हुन्छ ।’

‘पहिलो कुरा तँलाई धन्यवाद। तर तेरो घर त मलाई थाहै छैन कसरी आऊँ?’ कुवेरले आफ्नो कुरा सनायो ।

भोलाले उतातिरबाट जवाफ दियो,’ अस्ति हामी जुन मोडबाट छुट्टिएका थियौं नि, त्यहीँबाट भित्रपट्टि गनेर ३ वटा घरपछिको हरियो रंगको घर हो ।’ आफ्नो इच्छा पूरा हुने भो भनेर भोलाले भनेको कुरा सम्झेर कुवेर फिसिक्क हाँस्यो र मनमनै गुन्गुनायो – ‘मेरो ईच्छा अब के नै छ र साथी, दिपिकालाई एक चोटी भेट्ने शिवाय ।’

भोलिपल्ट बिहान भोलाको घर लाग्यो, कुवेर । अस्ति भोलासँग छुट्टिएको मोडनिर आफ्ना साथीहरूसँग खेल्दै गरेको संयोगलाई उसले भेट्टायो । संयोगका आँखाहरू चम्किए र ऊ कुवेरतिर ‘अंकल’ भन्दै दौडिँदै आयो । साथमा उसको साथी पनि थियो । अस्ति जस्तै उसले संयोगलाई चकलेट किनिदियो । उसको साथिको लागि पनि किनिदिन उसले बिर्सेन ।

‘संयोग, बाबा कता नि ? ‘ संयोगलाई कुवेरले सोध्यो।

संयोगले बाबा बाहिर विहानै गएको सुनायो । आफूलाई घरमा बोलाएर भोला बाहिर गएको कुबेरलाई मन परेन । उसले तत्कालै भोलाको मोबाइलमा फोन गर्यो ­- ‘ ए भोला, तँ मलाई बोलाएर आफु चाहिं किन बाहिर? ‘ उसले झोक्किदै सोध्यो ।

‘होईन यार , तँलाई मासु खुवाउने भनेर म त यहाँ मासु किन्दैछु । तँ एक छिन बस्दै गर म आइहाँलें ।

‘ल, हिंड संयोग तिम्रो घर जाऔं ।’ कुवेरले भन्यो र दुबै भोलाको घरतिर लागे । भोलाले सानो भए पनि सुन्दर घर बनाएको रहेछ । उसलाई खुशी लाग्यो । संयोगले कुवेरलाई बैठक कोठामा लगेर राख्यो र कोठाबाट अंकल आएको जानकारी आफ्नी आमालाई दियो ।

सुन्दर त्यो कोठामा किताबहरूको एउटा दराज पनि थियो । एउटा किताब निकाल्यो । बाल कथा रहेछ । उसको क्रियाकलाप हेरिरहेको संयोगले भन्यो, ‘मैले यो किताब पढेर सकिसकें नि अंकल।’ संयोगका आँखा चम्किरहेका थिए । संयोगको कुरा सुनेर कुवेर झस्कियो । उसको वाल्यकालको स्वभाव पनि यस्तै थियो ।

‘नमस्कार है, बाबु ।’ चियाको ट्रे बोकेर आएकी संयोगकी आमाले टेबुलमा ट्रे राख्दै भनिन् । किताब हेर्न व्यस्त कुवेरले पनि ‘नमस्कार’ भन्दै विस्तारै टाउको उठायो ।

एकै छिनमा कुनै भयङ्कर अपराधी जस्तै ज्यादै मसिनो स्वरमा उसको बोली फुट्यो ‘ ति …………….’ उनीहरूले एक अर्कालाई हेरिरहे । संयोगले पालैपालो दुवैलाई हेरिरह्यो । खसीको मासुको पोको हातमा लिएर आउँदै गरेको भोला कोठाको ढोकामै खडा थियो ।

Facebook Comments