परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देशमा रचनात्मक बौद्धिक बहसको खाँचो छ

आजसम्म ७० वर्षमा नेपालले भोगेको एउटा चुनौती वा समस्या हो “जनताको उत्पादकत्व बढाउने र राष्ट्रिय पुंजीको निर्माण” गर्नेतर्फ शासन गर्नेहरुको ध्यान एकरती नजानु । यी ७० वर्षमा नेपालका शासकले केबल बिदेशी सहयोग खोजे । आखिर, के भयो त त्यसको परिणाम :

  • देशका हेरेक क्षेत्रमा नीतिनिर्माणका कार्यहरू बिदेशीहरुले गरे । नेपाली बिज्ञता उन्नयन हुन दिएनन् । नेपाली बिज्ञता बिदेशीको दास बन्यो । जब गैरसरकारी सस्थांको बाढी चल्यो अल्पज्ञानका मानिसहरु पैसाका लागि बिदेशीका कामदार बने, सक्षम मानिसहरु घेराको बाहिर लखेटिए । बिस्तारै पलाएन हुन थाले । देश बिज्ञताको खडेरीको सामना गरिरहेको छ ।
  • नेताहरु प्लेनको टिकट काटीदिने गैरसरकारी संस्था चलाउने मानिस, चुनाबमा चन्दा दिने जग्गा माफिया, परिवारलाई खर्चको व्यवस्था गरिदिने बजार माफिया र बिदेशीको चलखेल घुसाउने ब्यापारी र छदम कर्मचारी र अरु सबै किसिमका माफियाबाट घेराउमा परे । देशका बारेमा सोच्ने, काम गर्ने, इमानदार बौद्धिक, ब्यापारी, राष्ट्रिय पूँजीपती र ब्यबसायीको मानमर्दन गरियो । यसबाट पनि देशभित्र बिदेशीलाई नै सहयोग मिल्यो । त्यसैले यथार्थवादी, देशको आर्थिक विशेषता त जनताको आर्थिक समृद्धिको सरोकार राख्ने अर्थशास्त्री, वकिल, इन्जिनियर, डाक्टर आदिको सधैं अपमान भयो । परिणाम अहिले देशका लागि बोल्ने मानिस छैनन् । नेताले बोलेको मानिसले पत्याउँदैनन् ।
  • देशका राजनीतिक नियुक्ति हुने पदमा पनि एकखालका कर्मचारीको बर्चस्व भयो । नेताहरु यस्ता कर्मचारी तथा आफ्नो चाकरी गर्ने कार्यकर्ता बाहेक अरु खोज्दैनन् । यी मानिस आम जनता खासगरी न्यून आर्थिक स्तरका जनतालाई हेरेर कुनै नीति बनाउँदैनन् । यिनीहरु राज्यको सुबिधा दोहन गर्छन् । यिनीहरु कामले थाकेर चाउरिने होइन, छोटो समयमा राज्यका सुबिधा लिएर ब्युटी क्विनमा सिङ्गारिएका सहभागी जस्ता हुन्छन् । राज्यका नेता गरिबको शोषण गछर्न र यो क्रम ७० वर्षदेखि निरन्तर चलिरहेको छ । अहिलेसम्म शासन गर्ने सबै असफल भएका छन् ।
  • न्यायापालिकामा कार्यकर्ता भर्ती गर्ने नेता, विदेशी अनुदान लिएर विदेश घुम्ने न्यायाधीश, दलाल ब्यापारीका अपराध अनुसन्धान रोक्ने र राष्ट्रमा केही गरौँ भन्ने मानिसलाई आंतकित पार्ने प्रसासनलाई  जोगाउने भ्रष्ट न्यायाधीश, नेतालाई गैरकानुनी काम गर्न सिकाउने वकिलको चंगुलमा अहिले देश छ ।
  • सार्वजनिक बौद्धिकता निर्माण हुन नसकेको सबैले देखेकै कुरा हो । देशमा रचनात्मक बौद्धिक बहस छैन । विरोधका नाममा नकारात्मकताको प्रख्याती निर्माण भएको छ । यसबाट नेतृत्व आतंकित छ । यो प्रचलन पनि ७० वर्षदेखि कायम छ ।

कसरी हुन्छ देशको विकास यस्तो अवस्थामा ? आम जनताको उत्पादकत्व निर्माण नगरी देश माथि उठ्दैन । त्यसका लागि देशभक्त बौद्धिकहरुको उन्नयन र संरक्षण गर्नु पर्छ राजनीतिक पार्टीले गर्दैनन् । राष्ट्रिय पूँजीको निर्माण महत्वपूर्ण कुरा हो, जुन कुरा नेपाली माफियाबाट सहयोग लिएर विदेशीले गर्न दिदैनन् ।

अब के गर्न सकिन्छ ? बहसको खाँचो यहीँ छ ।

Facebook Comments