परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वकालतको मर्यादामाथि आक्रमण भएको छ

अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यवसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ । यदि अब यो विषयमा गम्भीर छलफल गरिएन भने, नेपालको वकालतले निकै ठूलो चुनौतीको सामाना गर्नु पर्ने छ । अतः आम नागरिक समाजले अब तलका केही बुंदामा गम्भीर अबलोकन गरोस् भनी अह्वान गर्छु । नेपालको न्यायप्रणालीलाई मर्न नदिन केही गम्भीर कदमहरु चाल्नु पर्ने अवस्था महशुस गरेको छु ।
१. वकिलले बादी वा प्रतिवादी अर्थात फौजदारी मुद्दामा सरकार, पीडित वा अभियुक्तका पक्षबाट प्रतिनिधित्व गर्नै पर्छ, अन्यथा न्यायनिरोपण गर्न सकिन्न । प्रतिपक्षी वकिलले अभियुक्तका पक्षबाट बहस गर्ने कुरा पनि राज्यकै काम हो भनी वकालतको दर्शनले मान्दछ । राज्यले अभियुक्तलाई आफ्नो नियन्त्रणमा लिई, थुनामा राखी अनुसन्धान गर्छ । उसका सबै अधिकारमा बन्देज गरिएको हुन्छ । उसका विरुद्ध ठूलो धनराशी खर्च गर्न सक्छ । राज्य शक्तिशाली हुन्छ । तर ब्यक्ति जतिसुकै बलियो भए पनि, राज्य जस्तो बलियो हुदैन । त्यसैले, राज्यले ब्यक्तिलाई वकिल राख्न दिएर उसको हक सुरक्षित गर्छ र उसका विरुद्ध अनुसन्धान गर्छ । यसो गरेको निर्दोषलाई जोगाउन हो भन्ने मान्नु पर्छ । वकालतको इतिहास दुई हजार वर्ष पुरानो छ । पूर्वमा पनि पश्चिममा पनि । अतः अभियुक्तका पक्षमा बहस गरेका कारणले वकिललाई गाली नगर्न समस्त नागरिक समाजसंग अनुरोध गर्दछु ।
२. समस्या अरु नै छन् । मैले यी कुरा नडराई राख्नु पर्छ । यदि राज्य चाहन्छ भने खोजीनीति गरोस् र वकालतको मर्यादा जोगाउने काम गरोस् भनी अपिल गर्छु । वकालत पतन भयो भने, राज्य पनि कम्जोर हुन्छ । यी समस्या सार्वजनिक रुपमा राख्ने म हिम्मत गर्छु, किनभने मलाई भोलि बारको चुनाब लडेर अध्यक्ष बन्ने वा न्यायाधीश बन्ने वा सल्लाहकार बन्ने, वा संस्थाका कानुनी सल्लाहकार बनेर फाइदा लिने लोभ छैन । म वकिल साथीहरुलाई निम्न अनुरोध गर्दछु।
  • झगडियाले मुद्दालाई हारजीतको खेल बनाएर प्रतिस्पर्धाको स्थिति सिर्जना गर्ने प्रवृत्तिलाई प्रोत्साहित नगरौं । कांग्रेस, कम्यूनिस्ट, मधेसी दल, राप्रपाका एक एक जना वकिल खोज्ने प्रवृत्ति मौलाएको छ । एकजना वकिलले मुद्दा लिन्छ, र एक दर्जन वकिल बुक गर्छ । उनीहरु लाखसम्म फि लिएर त्यसमुद्दामा संलग्न हुन्छन् । दुई मिनेट उपस्थित हुन्छ्न्, अगाडि बोल्ने वकिलले बोलेकै कुरा दोहो¥याउँछन् । यसरी वकालतमा कार्टेलिंङ्ग भएको छ । यसलाई वकालत भन्न सकिन्न । यो ठेकदारी हो । यसले नयाँ वकिलको उन्नयनलाई निस्तेज बनाएको छ । वकिल जब कुनै ब्यक्तिको कानुनी सल्लाहकार भएर उभिन्छ, उसको राजनितिक आवद्धता हुंदैन । उसको लिङ्ग र जात हुँदैन ।
  • बारको अध्यक्ष भएपछि, महासचिव भएपछि पनि ब्यक्तिका मुद्दा यथाबत बहस गर्ने काहीँ नभएको चलन हाम्रो देशमा छ । यदि देशको बारमा निर्वाचित भएपछि पनि बहस गरिरहने हो भने न्याय निस्पक्ष हुँदैन, किनभने बार न्यायाधीश नियुक्त गर्ने न्यायपरिषद्को सदस्य नियुक्त गर्ने निकाय पनि हो । आफैं न्यायाधीश नियुक्त गर्ने सदस्यको छनौट गर्ने अनि आफैं बहस गर्न जाने ? कँहाको नैतिकता हो यो ? त्यसैले, बारमा निर्वाचित हुने कुरा पनि प्रभाव निर्माण गर्ने माध्याम बनेको छ । लाखौं खर्च गरेर निर्वाचन लड्ने प्रवृत्ति मौलाएको छ । बारको अध्यक्ष उपस्थित भएको मुद्दा छिन्दा न्यायाधीश प्रभावित हुन्छ, भलै म तपाईंको बारको पदबाट प्रभावित हुन सक्छु भन्ने हिम्मत गर्ने न्यायाधीश पनि पाइएन ।
  • बारलाई प्रयोग गरेर न्यायाधीश हुनेको संख्या पनि कम छैन । पार्टीसंग आवद्ध वकिलका राजनीतिक संस्था छन् । तिनले उमेदवार तय गछ्र्न र पार्टी लाइन समातेर चुनाब लड्छन् । ठुला नेताको मानिस हुन सकेमा मात्र यी पदमा चुनाब लड्ने अवसर पाइन्छ् । यस्ताकुराको बिरोध गर्ने चैं डोजरले पेलिन्छन् । बारको खुट्किलो चडे पछि न्यायाधीशमा चड्ने अवसर प्राप्त हुन्छ । अनि न्यायापालिकामा भ्रष्टाचार नभए के हुन्छ ? राजनीतिकरण नभए के हुन्छ ? देश लुटेका धनी राष्ट्रसेवक भैसकेका मानिसलाई कारबाही भैहाल्यो भने तीस जना वकिलको लर्को त्यस्ता मानिसका वकिल भएर बहसमा उत्रीन्छन् । प्रत्यक पार्टीसंग जोडेर उनीहरुको छनौट गरिन्छ । त्यसैले वकालत अहिले सेवा रहेन, यो धन कमाउने, पद आर्जन गर्ने, कानुनी सल्लाहकारको पद पाउने र राजनीति गर्ने माध्याम बन्न पुग्यो । बारको यो हालत निर्माण गर्न नेताहरुको भुमिका पनि छ । यो पबित्र पेसा आज तर्कारी बजार जस्तो भयो, जति बार्गेनिङ गरे पनि हुने ।
  • बार काउन्सिलको अनुशासन समितीमा वकिलकै संख्या बढी हुन्छ । त्यसैले अनैतिक व्यबसाय गर्ने मानिसलाई कार्बाही हुँदैन । अध्यक्ष र माहासचिवले सामन्य वकिल सरह बहस गरेपछि, कसले कार्बाही गर्ने ? आफैं व्यबसायमा संलग्न भएपछि, अनि कार्टेलिङ्ग गर्नेले उपलब्ध गराएका मुद्दामा पनि सरिक हुन थालेपछि कसरी निष्पक्षताका साथ काम गर्छन् बारका पधादिकारीले ?
  • महान्यायाधिवक्ता देशको प्रथम वकिल हो । उसले राज्यको राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत राय दिने हैसियत राख्छ । उसले अभियोजनको अन्तिम अधिकार पनि प्राप्त गरेको छ । उसले राज्यका गोप्यता जानकारी प्राप्त गर्छ । नेपालमा त अपराधीका विरुद्ध अनुसन्धान नगर्नु भन्ने, प्रधानमन्त्रीले राजिनामा दिंदा पनि आफू राजीनामा नदिने र आफ्नै पालामा अनुसन्धान प्रारम्भ भएका मुद्दामा आफू निबृत्त भएपछि कुनै संकोच बिना बहस गर्ने जस्ता प्रवृत्ति आम बन्न थालेका छन् । संसारको कुन देशका वकिलले यस्तो सदाचारहिन काम गरेका छन् देखाइपाऊँ ?
  • राज्यले वकिललाई आफ्नो फिस आफैं तोक्ने विशेष अधिकार दिएको छ । के यसको तात्पर्य मानीसलाई व्यबसायमा कार्टेलिङ्ग गरेर लुट्नु पर्छ भन्ने हो ? नेपालमा कानुन व्यबसाय संसारमा सबैभन्दा महँगो छ ।
  • बरिष्ठ कानुन व्यबसायीले आफूसंग एक जना सहायोगी कानुन व्यबसायी साथमा लानु पर्ने कानुन छ । तर वकिलले नियम पालना गर्नु पर्दैन । उसले जे गरे पनि हुन्छ । बस, उसले कसैको आशिर्वाद प्राप्त गरेको हुनुपर्छ । आशिर्वाद प्राप्त गर्नुहोस्, मलाइ ईस्र्या छैन । यदि त्यसो गर्ने हो भने वकालत नगर्नुहोस् । यदि वकालत गर्ने हो भने आशिर्वाद प्राप्त गर्नु नलाग्नुहोस् ।
  • आम जनता प्रभावित हुने राज्यका विकास र सुसासनका मुद्दा अदालतमा पर्छन । थुप्रै मानिसलका ज्यान जोखिममा हुन्छ्न । तर त्यस्ता मुद्दामा केही व्यक्तिका लाभका लागि वकिलसा“बहरु न्यायाधीशलाई प्रभावित पार्न सबैथोक गर्नु हुन्छ । किन ? उनीहरुको आडमा केही भ्रष्ट न्यायाधीशले सम्पूर्ण असल न्यायाधीशको साख समाप्त पार्दै न्यायको ब्यापार गर्छन् ।
नेपालको वकालतको जग केही त्यस्ता व्यक्तिले तयार पारे जसलाई संझिदा पनि शीर झुक्छ । त्यस्ता न्यायाधीश थिए, जसले राजाका विरुद्ध पनि फैसला गर्ने आँट गरे । कँहा गयो त्यो इतिहास ? के पढाउने हामीले बिद्यार्थीलाई विगा¥यौं ? मलाई थाह छ, यति लेखे पछि मेरो छाला काडिने छ । ज्यान इज्जत सबै खोसिन सक्छ । म सबै चुनौती खप्न सक्ने गरी मनोवल निर्माण गर्दै छु । न्याय जोगाउन केही गर्न सकौं, त्यति मात्र चाहाना हो ।
(लेखकको अनुमतिमा)
Facebook Comments