परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आणविक उर्जा र युरेनियममा आधारित उर्जा उत्पादन नेपालका लागि घातक हुने चेतावनी

सामाजिक उत्तरदायित्वका लागि चिकित्सकहरु

काठमाडौं । आणविक युद्ध रोगथामका लागि अन्तराष्ट्रिय फिजिसियनसंग आवद्ध सामाजिक उत्तरदायित्वका लागि चिकित्सकहरु, नेपाल (पिएसआरएन) संस्थाले एक वत्तव्य प्रकासित गरी औधोगिक विकास र समृद्धिका नाममा उर्जामूलक उद्योगको आडमा ऐनले ब्यबस्थापन गर्न खोजेको आणविक उर्जा र युरेनियममा आधारित उर्जा उत्पादन गर्ने जस्ता अत्यन्तै जोखिमपूर्ण उद्योगप्रति कडा आपत्ति जनाएको छ । हालै प्रतिनिधी सभाबाट पारित भै राष्ट्रिय सभामा बिचाराधीन औधोगिक ब्यवशाय ऐनमा आणविक उर्जाको प्रावधान राखिएको छ । पिएसआरएनका अध्यक्ष डा. शरद राज वन्तले जारी गर्नु भएको विज्ञप्तिको पूर्णपाठ निम्न अनुसार रहेको छ :

प्रतिनिधी सभाबाट पारित भै राष्ट्रिय सभामा विचाराधीन औधोगिक व्यवसाय ऐनले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ । औद्योगिक विकास, उत्पादन वृद्धि र समृद्धि हामी सबैको चाहना र संकल्प हो । यसका लागि सरकारले गरेका प्रयासहरु सह्राहनीय छन् र तिनीहरुको सफलता र उपलब्धीका लागि हाम्रो सकृय सहयोग हुने कुरामा बिश्वस्त गराउन चाहन्छौँ । तर औधोगिक विकास र समृद्धिका नाममा उर्जामूलक उधोगको आडमा ऐनले ब्यवस्थापन गर्न खोजेको आणविक उर्जा र युरेनियममा आधारित उर्जा उत्पादन गर्ने जस्ता अत्यन्तै जोखिमपूर्ण उद्योग भने हामीलाई कदापी स्वीकार्य छैन ।

सम्भावित आणविक विध्वंशको त्रासबाट मुक्त हुन आज विश्व समुदाय संयुक्त राष्ट्र सँघको Treaty on the Prohibition of Nuclear Weapons (TPNW), अर्थात Nuclear Weapon Ban Treaty मा सहमत भएको छ । नेपालले सन् २०१७ सेप्टेम्बरमा TPNW मा सहमतिको हस्ताक्षर गरेर विश्वका अगाडि आफूलाई आणविक शक्तिको विरुद्धको यो अभियानको सहयात्री शान्तीप्रिय राष्ट्रको पहिचान बनाएकोमा हामी नेपाली गौरवान्वित भएका छौँ । नेपाललाई यतिखेर आफूले हस्ताक्षर गरेको TPNW लाई अनुमोदन गरेर आफ्नो शान्तीप्रिय राष्ट्रको पहिचानलाई सुदृढ बनाउने र यो क्षेत्रका लगायत विश्वका अन्य राष्ट्रहरुका लागि अनुशरणीय उदाहरण बन्ने ऐतिहासिक अवसर प्राप्त भएको बेला हिमाली भेगको शान्त चट्टानभित्र सुतिरहेको आणविक हतियारको स्रोत युरेनियमलाई खोतलेर त्यसबाट उर्जा उत्पादन गर्नका लागि ऐन निर्माण गर्ने नेपालको पाइला अत्यन्तै दुखपूर्ण बिडम्बना हो ।

नेपालमा समृद्धि हासील गर्ने अनेकौ विकल्पहरु भएको र जलस्रोतको धनी नेपालमा जलउर्जाको अथाह सम्भावना हुँदाहुँदै कल्पना नै गर्न नसकिने विनाशको सम्भावना बोकेको युरेनियममा आधारित उर्जा उत्पादन गर्ने उद्योगले हाम्रो हिमाल, पहाड, नदी, जँगललाई जीवनकै लागि हजारौँ वर्षसम्म अयोग्य हुने गरी प्रदूषित गराउन सक्नेछ । यसका लागि सरकार आफ्ना नागरिकहरुको भाबी पुस्ताहरुको समेत भविश्यप्रति त जिम्मेवार हुनु पर्छ नै अन्तर्राष्ट्रिय समुदायप्रति पनि जवाफदेही हुनु पर्नेछ ।

हामी सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल (पि एस आर एन) मा आबद्ध सदस्यहरु यो सम्वेदनशील विषयमा गम्भीर भै आवाज उठाउन सबै सरोकारवालाहरुलाई आह्वान गर्दछौँ र सम्भावित विनासको दुर्घटनाबाट देश र जनतालाई बचाउनका लागि विवेकपूर्ण निर्णय लिएर युरेनियममा आधारित आणविक उर्जा उत्पादनका सबै प्रक्रियाहरु रोक्न सम्मानित संसदलाई अनुरोध गर्दछौँ ।

Facebook Comments