परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको बाह्रौँ साधारणसभा सम्मान

काठमाडौं । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँको हिजो भाद्र २१ गते बाह्रौँ साधारण सभा सम्पन्न भएको छ । नेपालको शैक्षिक इतिहासमा सर्वप्रथम जनसहयोग परिचालन गरी वि.सं. १९३२ मा भोजपुर, दिङ्लामा विद्यालय र मठ मन्दिरको स्थापना र तिनको सुसञ्चालनका लागि गुठीको व्यवस्था समेत गरी शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणका क्षेत्रमा अतुलनीय योगदान र्पुयाउने आबाल ब्रह्मचारी षडानन्दको कृति र कीर्तिलाई चिरस्थायी बनाउने उद्देश्यले २०६४ सालमा यो संस्था स्थापना गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष प्राध्यापक चेतोनाथ गौतमको सभापतित्व रहेको सो कार्यक्रमको प्रमुख अतिथि इतिहासविद् प्राज्ञ ज्ञानमणि नेपाल हुनुहुन्थ्यो । साधारण सभाले केही महत्वपूर्ण कार्यक्रमहरु समेत पारित गरेको छ ।

साधारण सभाले आ.व. २०७६÷७७ का लागि ’आबाल ब्रह्मचारी षडानन्द’को १८५ औँ जन्म जयन्ती’ २०७६ मङ्सिर १५ गते विवाह पञ्चमीका दिन मनाउने, उपयुक्त व्यक्ति वा संस्थाको छनोट गरी सो जन्म जयन्ती समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार, डण्डपाणि युवा कुमारीका स्मृतिमा स्थापित षडानन्द पुरस्कार अर्पण गर्ने, भोजपुर जिल्लाका सामुदायिक विद्यालयहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गर्ने कार्यक्रम पारित गरेको छ । यसैगरी षडानन्द उच्च मा.वि. दिङ्लाका कक्षा ६ देखि ९ कक्षाका छात्रछात्राहरुमध्ये उत्कृष्ट ग्रेड ल्याउने छात्रा एक र छात्र एकलाई ’षडानन्द छात्रवृत्ति’ तथा उक्त विद्यालयमा संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुलाई षडानन्द छात्रवृत्ति प्रदान गर्ने, प्रतिष्ठानको वार्षिक गतिविधि २०७६ प्रकाशित गरी वितरण गर्ने जस्ता नियमित कार्यक्रमहरु पारित र्गयो ।

सभाले केही विशेष कार्यक्रमहरु पारित गरेको छ । जसमा षडानन्दद्वारा स्थापित विद्यालयका पूर्व शिक्षकहरु र पूर्व विद्यार्थीहरुका संस्मरणहरुको सङ्कलन, प्रा.डा. सोम प्रसाद खतिवडाद्वारा गरिएको ’षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्पराहरुको अध्यन प्रतिवेदन’ र नीलकण्ठ भट्टराईद्वारा लिखित ’षडानन्द महाकाव्य’ प्रकाशित गर्ने कार्यक्रम रहेको छ । गत वर्ष प्रारम्भ गरिएको षडानन्द सम्बन्धी वृत्तचित्र निर्माण पुरा गर्ने, षडानन्दले नेपाली समाज विकास (शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार, पर्यावरण संरक्षण आदि) क्षेत्रमा र्पुयाएको योगदानको अनुसन्धान गर्ने प्रयोजनका लागि विभिन्न स्थानबाट दिङ्लामा आएर अध्ययन गर्ने पूर्व विद्यार्थीहरु र तिनका सन्ततिहरुलाई प्रश्नावली भराउने कार्यलाई निरन्तरता दिने पनि कार्यक्रम रहेको छ । यसका साथै प्रतिष्ठानको वेव साइट बनाउने, नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर ’राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने तथा षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न, षडानन्दका नाममा विश्व विद्यालय एवं राजमार्ग आदिको नामकरण गर्न पहल गर्ने समेत सभाले निर्णय गरेको छ ।
साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि प्राज्ञ ज्ञानमणि नेपालले षडानन्द माध्यमिक विद्यालय, दिङ्ला, भोजपुरका पूर्व प्रधानाध्यापक श्री तीर्थराज न्यौपानेलाई दीर्घ सेवा सम्मानबाट विभुषित गर्नुभयो । त्यसै गरी आबाल ब्रह्मचारी षडानन्दलाई पुर्खाहरुले आश्रमका रूपमा उपलब्ध गराएको बमवीर विकटेश्वर गुठी परिसरभित्रको इन्द्र भक्तेश्वर सत्तल (षडानन्द आश्रम) पुरातत्व विभागले गरेको जीर्णोद्धार कार्यमा गुठी संस्थानको समेत सहमतिमा उदारतापूर्वक सहयोग गरेको र गुठी संरक्षण गर्ने अभियानमा प्रशंसनीय कार्य गरेका बमवीर विकटेश्वर गुठीका अध्यक्ष श्री राज विक्रम राणालाई ’प्रशंसा पत्र’ प्रदान गरियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि ज्ञानमणि नेपालले भन्नु भयो– ’म २००४ सालमा काठमाडौँमा पढ्न आउँदा कविराज हरि प्रसाद खकुरेलका घरमा गुरु महाराज (आबाल ब्रह्मचारी षडानन्द) को तस्विर देखेँ । त्यसपछि उहाँका बारेमा खोज गर्ने प्रेरणा मिल्यो र म दिङ्ला गई शिलालेखको उतार गरेर योगी नरहरि नाथले बनारसबाट प्रकाशित गर्ने पत्रिकामा छपाएँ । त्यसपछि नन्दिकेश्वर अधिकारीको ’सदाचार ज्ञानादर्शः’ र यज्ञनिधि चापागाईंको ’आबाल ब्रह्मचारी चरित्रम्’ सङ्कलन गरेँ । उहाँले भन्नुभयो– ”तिनको अध्ययन गरी ब्रह्मचारी षडानन्दको जीवन चरित्र पनि छपाएँ । मलाई दिङ्लाका सबै कुरा थाहा भए । गुरु महाराजको आश्रम यहाँ (बमवीर विकटेश्वर गुठी, पचली परिसरभित्र) छ भन्ने मलाई कण्ठ थियो । काठमाडौँमा २०६४ सालमा बार एसोसिएसनको सभाकक्षमा १७४ औँ षडानन्द जयन्तीमा प्रवचन गर्दा मैले त्यो कुरा बताएँ । उहाँहरुको अनुरोधमा त्यो ठाउँ पनि देखाइ दिएँ । त्यसपछि यो संस्थाको स्थापना भयो । त्यसपछि वर्षैपिच्छे कार्यक्रम हुँदै गए । षडानन्द गुरुका स्मृतिमा पुरस्कार स्थापना भयो । पुरस्कार दिन थालियो । पुरस्कारको राशि पनि बढ्दै गयो । गुरु महाराजप्रति श्रद्धा हुने मानिसले आर्थिक सहयोग गर्दै गए । यो असल काम भइ रहेको छ । षडानन्दप्रति श्रद्धा बढेकोमा म प्रसन्न छु । यो संस्था चल्दै जाओस्, श्रीवृद्धि हुँदै जाओस्।”

दीर्घ सेवा सम्मान पत्रद्वारा सम्मानित षडानन्द मा.वि. दिङ्ला, भोजपुरका पूर्व प्रधानाध्यापक तीर्थराज न्यौपानेले ’गोगनेमा जन्मिए तापनि जीवनको लामो समय गुरु महाराजद्वारा स्थापित संस्थामा सेवा गर्ने अबसर प्राप्त भएकोमा म आफू भाग्यमानी रहेको बताउनु भयो । यहाँहरुको सद्भाव र शुभेच्छाप्रति म सदैव ऋणी छु । मलाई सम्मान गरेकोमा षडानन्द प्रतिष्ठानप्रति आभार प्रकट गर्दछु।’ न्यौपानेले भन्नु भयो ।
सम्मान गर्नुअघि हरि प्रसाद पराजुलीले लेखेको पूर्व प्र.अ. तीर्थराज न्यौपानेको परिचय कोषराज न्यौपानेले र लालानाथ सुवेदीले लेखेको राज विक्रम राणाको परिचय रवीन्द्र अधिकारीले वाचन गर्नु भएको थियो ।
सो सभामा सचिव प्राध्यापक लालानाथ सुवेदीले स्वागत गर्नु भएको थियो भने सहसचिव निर्मला पोखरेलले उद्घोषण गर्नु भएको थियो ।

Facebook Comments