परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धाइ–आमा

लघुकथा

असाध्यै मनोरम छ, काफलडाँडाको बसाइ । रुखै रुखले भरिएको यो गाउँबाट दिनहुँ दुई चोटी मानापाथी हिमाल मुस्कुराएको देखिन्छ– बिहान र बेलुकी । तैपनि उब्जाउको हिसाबले भने अलि असहज–– पाखो बारी अनि ढुङ्गैढुंगा ।

यही मनोरम गाउँबबाट बर्षेनी दुइचार परिवार तराइ झर्छन् । त्यसैले गर्दा हो बीस वर्ष पहिलेसम्म धेरै नै बाक्लो बस्ती भएको यो गाउँमा अब १४ घर बाँकी छन् । छिटफुट बाहेक सबैजसो युवाहरु कोही शहरमा जागिरे छन् त, कोही विदेश तिर ।

एक दिनको कुरो हो– ठुले पनि यसो फुर्सद मिलाएर खरी’बोटे मीत’बालाई भेट्न पर्यो भन्दै सबेरै त्यता लागेछ । उ त्यहाँ पुग्दा मीत’बा पिँढीमै घाम तापेर बसिरहनुभा’थ्यो रे । उतिबेलै टुप्लुक्क आफ्नो मनपरेको ठुले आँगनमै देखा परेपछि त झन् मितिनि आमा समेत दङ्ग नपर्ने कुरै भएन ।

ठुलेले सबभन्दा पहिले बुढा बुढी दुबैलाई ढोग गर्यो ।

***

“अहो ठुले, कहिले?“

“हिजै मात्र हो । बेलुकी नै आउन आँट्या’थिँ, फेरि घरमा बा’ले ’भोलि बिहानै गएर भेट्लास् भन्नु’भो ।”

“बस न बाबु, हामीलाई सम्झेर आएकोमा धेरै खुशी लाग्यो । आज यतै भान्छा गरेर जानपर्छ ।”

“बस्न त मन थियो, आमा । अन्त पनि भेटघाट थुप्रै बाँकी छ । धेरै दिनको छुट्टी पनि त छैन नि । त्यसैले, यी ‘बा’लाई बिस्कोट् र मिश्री ल्याइदेको छु, अनि यहाँलाई यो पछ्यौरा र जीराको पोको छ ।”

“ओहो किन यस्तो दुःख गर्न पर्ने नि ? बाबुलाई देख्दा मलाई जहिले पनि आफ्नै छोरो सुब्बे देखे जस्तो लाग्छ । थाहा छ ? तिमोरू एउटै दवँली हो नि !”

“थाहा छ, मलाई पनि त हजुरलाई देख्दा आफ्नै आमाको याद आउँछ ! के गर्नु– दुखैदुखमा विदा हुनु भो । अहिले हुनु’भाको भए दुई पेट त सुखले ख्वाएर पाल्थेँ होला, जस्तो लाग्छ । अनि सुब्बा खोइ त ?”

“उ पल्लो घरमा छुट्टिएर बस्या’छ । दुई वर्ष भयो आफ्नो सुर गर्न थालेको । कता गएछन् कुन्नि ? हिजैदेखि कसैलाई पनि देखेको छैन । सबैकुरो भन्दैनन्, बाबु ।”

“ए त्यहि त । अर्को चोटी आउँदा अलि धेरै बेर बसौँला । हस्, राम्ररी बस्नु होला ।” भन्दै ठुलेले विदा माग्ने सुर कस्यो ।

***

“आहा, कति ज्ञानी छ है, यो ठुले ! बिचरी गौंथली दिदीले बालाखैमा छोडेर गइन् । अहिलेसम्म भइद्या भए !”

(एकैछिनमा सुब्बे पनि आइपुग्यो ।)

“खुब मजाले घाम तापिया’छ है, बा । आमा खोइ नि ? भात पाक्या छ कि भनेर ! साह्रै भोक लाग्यो । हाम्री कल्पनाकी आमा अझै आइन क्या, माइतीबाट ।”

(भित्रैबाट उत्तर आयो)

“अँ, म बुढीले ठिक्क पार्दिम्ला र खालास् ! यस्सो कहिले कहीँ त तँ आफैं पनि अघि सरेर पकाए हुन्छ नि । हेर त त्यो, तँ संगैको ठुले । के के कोशेली लिएर भेट्न आ’छ । आफ्नो भने सँधै नश्रुद्दीन पारा ।”

***

सुब्बे पनि के कम थियो र ? उसले त्यतिबेलै ठुलेलाई पनि देख्यो, ’ओहो मीत दाइ पनि’ भन्यो र भित्रैसम्म पुग्नेगरी जवाफ फर्कायोः

“अनि ठुले दाइले’नि सानो हुँदा कहिले काहीँ तपाइँको दूध खा’थ्यो भन्या हैन त, आमा ?”

***

“दूधको भारा त तैँले पो तिर्न पर्नि हो नि सुब्बे, ठुलेले आकल झुकल मुख मिठ्याएको कुरो उतारेर तलाई खुशी कसरी मिल्ला र ?”

(मन्द आवाजमा नेपथ्यबाट कोही बोल्छ ।)

“ओइ, सुब्बे आफ्नो जन्म दिने आमालाई त्यसरी सताउँछस ?”

Facebook Comments