परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एटिएमले जित्यो कि तमासुकले !

फुटानी

काठमाण्डौ र सर्लाहींमा पैसैपैसा भएको समाचार पात्तले डांडाको हावासरी फैलियो । उत्तरको छिमेकी मित्रराष्ट्रबाट आको हाम्रो केटाहर्ले एटिएम ह्याक गरेर पैसा फलायो अरे । एटिएम भनेको के हो ? आफूलाई थाहा भएन, हत्तार हत्तार हाम्रो भिरघरेलाई बोलाएँ । भिरघरे पनि तुफान भएर गुटुङटुङ कुदेर आईपुग्यो । अनि सोधी पो हाल्यो –
– को भो काका ! किन बोलायौं ?

मैले पनि मनमा लागेको खसखस मेट्नु थियो । जान्ने भनेको हाम्रो गाउँभरिमा यही भिरघरे हो । यसलाई नासेधे कसलाई सोध्ने भनेर प्वाक्क सोधी पो हाले – ‘हैन हौ भिरघरे एटिएम भनेको के हो । भतिज राम्रोसँग बता बता ।’

‘हट् काका त्यति पनि जान्दैनौं ?’ ‘ए’ भनेको अति, ‘टि’ भनेको तिच्छर, ‘एम’ भनेको मती । ‘एटिएम’ नेपालीमा भन्दा ‘अति तिच्छर मती’ कुरो प्रष्ट छ ।
त्यो त ल ठिकै छ ‘ह्याक’ भनेको चाहिँ के हो नि भतिज !

हौ काका तिमी केही बुझ्दैनौं । ‘ह्याक’ भनेको ‘निचोरेर छदाउने काम’ हो । काठमाण्डौंमा ह्याक गरेर चाइनिज मित्रहर्ले एटिएमबाट करोडौं पैसो निकालेको सुनेनौ ? त्यो के गरेको भनेदेखि एटिएमलाई निचोरेर पैसा छदाएको ।

अति तिब्र मती हुनेहर्ले जताबाट पनि पैसा कमाउँछ । सर्लाहीमा एउटा परदेशीले गाउँले सबैलाई तमासुकमा ल्याप्चे ठोक्न लगार ह्याक गरे छ । अर्थात् पिना छाद्ने गरी निचोरेछ । गाऊँ नै उठिवास लाग्ने गरी छदाएछ । कोही एटिएम निचोरेर पैसा छदाउँछन्, कोही मान्छे निचोरेर लटिपटी छदाउँछन् । आखिर जसले जसरी छदाए पनि छदाउनु नै हो नि काका ।

अनि हौ भिर घरे – त्यो छदाएको पैसो चाहिँ दक्षिण तिरको मित्र राष्ट्रबाट आउने गरेको नक्कली लोठ (नोट) छदाए छ कि हाम्रै सक्कली नै ह्वातत छदाएछ ?
सर्लाहीको श्याम परदेशीले गाउँ भरीको मान्छेलाई पैसो ऋण दिदै एउटा शुन्ना थप्तै गरेर लोठ, घर, जग्गा जमिन सबै हडपेछ । त्यो पनि एटिएम नै रछ । अर्थात् अति तिच्छर मतीको रछ । यता चाइनिज केटाहर्ले हाम्रा प्रविधि निरक्षरहर्ले सञ्चालनमा ल्याएको सजिलो एटिएम भेटेछ अनि यमानको भोटे चाबीले निचोरेर लोठ त पिना छदाए जसरी छदाएछ । लौ काका मैले जानेको यति हो । म लागें बाटो ।

भिरघरे गएपछि म निकै बेर झोक्राएँ । त्यो श्याम परदेशी जान्ने कि चाइनिजहरु जान्ने ? छुट्याउन नसकेर म चै बिलखबन्दमा परें । अति तिच्छर मतीमा हाम्रो श्याम परदेशी नै जान्ने जस्तो लाग्यो । सर्लाहीका निरक्षर, गरिब जनतालाई सारै मयाँ गरेर १०००० ऋण दिने अनि ‘अक्षरेपी डटडटडट…’ लेख्ने । डटडटडट… लेखेको ठाउँमा पढ्दा दश हजार भनेर पढ्ने अगाडी लेखेको १००००. अङ्कको डट लेखेको स्थानमा एउटा शुन्ना (०) थप्ने । अक्षरमा डटडट… लेखेको ठाउँमा एकलाख लेख्ने । वाह परदेशी ! छन् क्या हाम्रो नेपालमा पनि चाइनिजहर्लाई माथ गर्ने ।

हौउ ! चाइनिजहरु पनि २० को १९ मात्र जस्तो लाग्यो । भुरुरु उडेर आयो, रातभरि एटिएमलाई निचोरेर पैसा छदायो, हाम्रो प्राविधिक विज्ञको जयजयकार ग¥यो । विहान फेरि फिलिलि उडेर आफ्नै देश पुग्यो । हौ… ! कम बाठो त भन्नु भएन नि यार । अहिले त्योहरु कहाँ होला ? म त तिनारुसँग तालिम लिन जेलमै भए पनि जानै पर्ने भो ! अहिले मलाई आफू ‘अति तिच्छर मती’ को हुन नसकेकोमा पश्चाताप भैरहेको छ । म न चाइनिज बन्न सकें न त श्याम परदेशी नै ।
बाबै कसरी त्यस्तो भाँडी जानेको । म त कुरा सुन्दै ट्वाँ परेर चकित भएँ ।

अब दुई वटा कुरा नसिकी छोड्ने छैन । एउटा कान्छालाई भनेर कतारबाट एटिएम मगाउँछु र एक वर्षसम्म पैसा छदाउने प्राक्टिस गर्छु । अर्को श्याम परदेशीकोमा गएर तमासुक लेख्ने तालिम लिन्छु । पैसाको कम खाँचो छ ! एटिएम निचोरेर, तमासुक बटारेर, गाउँघर पछारेर, मान्छे लतारेर पैसो निचोर्छु निचोर्छु । पैसा अलिकति नेतालाई चटायो आफू चोखो बन्यो । एनी हाउ, पैसा कमाउ । जय प्रविधि र प्राविधिक, जय तमासुक, जय श्याम परदेशी ।

Facebook Comments