परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

श्रीकृष्ण जन्माष्टमी पर्वका दिन राष्ट्रिय विदाको माग

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका दिन राष्ट्रिय विदाको माग गर्दै श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले कार्यवाहक प्रधानमन्त्री श्री ईश्वर पोखरेल र गृह मन्त्री श्री राम बहादुर थापालाई अलगअलग ज्ञापन पत्र बुझाएको छ ।

परिषद्का केन्द्रीय अध्यक्ष नमराज ढकालले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा नेपाल बहु–धार्मिक, बहु–भाषिक र बहु–जातीय मुलुक भए पनि हिन्दु धर्म, संस्कृतिको वहुल्यता रहेको देश हो र संविधानले सबै धर्म संस्कृतिको स्वतन्त्रतालाई स्वीकार गर्दै सनातन देखि चली आएको धर्म संस्कृतिको संरक्षणको प्रत्याभूति गरेको कुरालाई स्मरण गराएको छ । नेपालमा सनातनदेखि चली आएको धर्म संस्कृति भनेको हिन्दु धर्म संस्कृति नै हो भन्ने कुरामा जोड दिदै ज्ञापन पत्रमा भनिएको छ– “हिन्दु धर्म संस्कृति अन्तर्गत वडादशै, शुभदिपावली (तिहार), श्रीकृष्ण जन्माअष्टमी, शिवरात्री, राम नवमी, छठ जस्ता मूख्य चाड पर्वहरु पर्दछन् । विगतका वर्षहरुमा यस्ता हिन्दु धर्म संस्कृतिसम्बद्ध विशेष र महान चाडपर्वहरुमा सरकारले सार्वजनिक विदा दिदै आएको सर्वविदितै छ ।

ज्ञापन पत्र बुझाएपछि जारी विज्ञप्तिमा विगतका वर्षहरुमा दिइआएको कृष्ण जन्माअष्टमीको विदा कटौती गरेकोमा आपत्ति जनाउँदै संविधान प्रदत्त “सनातन देखि चली आएको धर्म संस्कृतिको संरक्षण गर्ने” राज्यको दायित्वबाट सरकार पछि हटेकोमा हिन्दु धर्म संस्कृतिका अनुयायीहरु मर्माहत भएको कुरा जनाइएको छ ।

कृष्ण जन्माष्टमीका दिन प्रत्येक हिन्दुले दिनभर उपवास बसी पूर्णब्रम्ह परमात्मा श्रीकृष्णको सेवा, पुजा, आरती, आराधान, भजन–किर्तन, झाँकी, शोभायात्रा गरी भव्य रुपमा मनाउँने प्रचलन रहिआएको छ । आगामी वर्षहरुमा श्रीकृष्ण जन्माअष्टमी पर्वलाई राष्ट्रिय साँस्कृतिक पर्वको रुपमा भव्य र उल्लासका साथ मनाउन सो दिन सार्वजनिक विदा घोषणा गरी पौने ३ करोड हिन्दु संस्कृति एवं सनातन धर्मावलम्बी नेपालीहरुको हौसला र गरिमा बढाईदिन अनुरोध गर्दै पनि श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले कार्यवहाक प्रधानमन्त्री र गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

Facebook Comments