परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हामी मानिसले नै आनीबानी फेर्नु पर्छ 

जलवायु चिन्तन श्रृङ्खला १

ज्ञाताहरू नेपालमा जलवायु परिवर्तनले पार्ने असरका विषयमा कुराकानी गर्नेगर्छन् । दातृ निकायको सहयोगमा सरकारले जलवायुसित जोडिएका कार्यक्रम पनि सञ्चालन गर्दैछ । पत्रपत्रिका सामाजिक सञ्जालमा यसबारे कुराकानी भएकै छन् । तैपनि यस विषयले मूलधारमा तात्विक स्थान पाएको छैन । धेरैथरीको विश्वास छ– जलवायु परिवर्तन प्राविधिक विषय हो, कसैले समाधान गरिदिइहाल्छन्, म किन टाउको दुखाऊँ । अर्काथरी भन्छन्– पर भविष्यको कुरा हो । मलाई तत्काल असर पर्दैन किन मैले चासो लिनुर्पयो ?

परिवर्तनले हरेक व्यक्तिलाई प्रभाव पर्ने भएको हुँदा यो प्राविधिक मात्रै हुन सक्दैन, जलवायु परिवर्तन सांस्कृतिक, राजनीतिक र सामाजिक विषय समेत बन्न पुगेको छ । विज्ञान र प्रविधिबारे प्रत्यक्ष सम्बन्ध भएकाहरुबीच यस विषयमा प्राविधिक ढङ्गले धेरै कुरा हुनेगरेका छन तर समाजका विविध पक्षसंग चासो राख्ने मान्छेहरूसँग यस विषयमा कुराकानी गर्नु अत्यावश्यक भएको छ । जसले हामी सबैलाई अगाडिको बाटो तयार गर्न सहयोग गर्छ । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, साहित्यकार, प्राज्ञ, कलाकर्मी र प्राविधिक विषयमा प्रत्यक्ष सरोकार नभएका ब्यक्तित्वसित चिन्तन जरुरी छ । जलवायु परिवर्तन हाम्रै सामुन्नेमा आइसक्यो, भविष्यको विषय रहेन । तसर्थ हामी (परिसंवाद डट कम) ले समाजका विविध विधासंग सम्बन्धित व्यक्तित्वहरुसंग जलवायु चिन्तनको नियमित श्रृङ्खला सुरु गरेका छौँ । जलवायु चिन्तन श्रृङ्खलाको मन्थन–नेतृत्व जलवायुविद् अजय दीक्षितले गर्नुहुन्छ ।

प्रस्तुत छ– जलवायुविद् अजय दीक्षित र साहित्यकार तथा सञ्चारकर्मी मोहन मैनालीबीच भएको जलवायु चिन्तनको पहिलो श्रृङ्खला ।

अजय दीक्षितः  मोहनजी तपाईले आफ्नो किताब “देखेको देश” मा जुम्लाबाट उडेपछि हिमाल, भित्री हिमाल, महाभारत उपत्यका अनि तराईको राम्रो चित्रण गर्नु भएको छ । जताततै कोतरेको पहाड देखेँ भनेर लेख्नुभएको छ । बाटो पूर्वाधार हो, चाहिन्छ, बाटोले आवतजावत सहज बनाउँछ । धेरैतिर बाटो बनेपछि एम्बुलेन्स चल्न थालेको छ । यस्तो कुरा चित्रण गर्नुको सन्दर्भ ?

मोहन मैनालीः म एउटा घटनाको स्मरण गर्दै सुरु गर्छु ।  बिबिसीको साझा सवालले तेह्रथुममा एउटा कार्यक्रम गर्ने भयो । तेह्रथुमका दुई जना सभासद र म जाने भयौँ । धरानबाट उकालो लागेपछि सभासदलाई फोन आयो “माथि गुराँसेमा एउटा कफीघर छ, त्यहाँ दश मिनेट कुराकानी गर्न बसिदिनु होला ।” गुराँसे पुगेपछि उहाँहरू कफीघर भित्र जानु भयो । असारको दिन भएपनि बाहिर जाडो थियो । म पनि भित्र पसेँ । म भित्र पस्दा एक जना मान्छे हात जोडेर सभासदहरूलाई “पाइन्ट लगाउन पाऊँ”  भन्दै थिए । उनले भने, “आफ्ना सांसद भेट्न आउँदा पनि कट्टु लगाएर आउनु परेको छ ।”

म छक्क परेँ के भएछ त्यस्तो भनेर ? कुरा बाटोसित जोडिएको रहेछ । हिउँदमा बाटो खनेछन् । दुईरचार पटक ट्याक्टर पनि चलाएछन् । पानी परेपछि हिलो भएर बाटो हिँड्न नहुने भएछ । पाइन्ट हिलाम्य हुने स्थिति आएछ ।

बाटो चाहिएको छ, तर हामीले बाटो बनाउने नाममा पाइन्टको सट्टा कट्टु लगाउनु पर्ने अवस्था बनाएका छौँ । बाटो बनाएका छैनौँ । मैले विशेषज्ञहरूलाई सोधेँ, “के हामी साँच्चिकै बाटो बनाउँदैछौँ ?” उनीहरूले मलाई भनेका थिए, “छैनौँ ।”

मैले त्यस किताबमा भन्न खोजेका कुरा यत्ति हो— बाटो बनाउने हो भने ठीक छ, बनाऊँ, तर त्यो मान्छे हिँड्न मिल्ने हुनुपर्छ । निर्माण गरौं तर बाटो बनाउने नाममा विनाश मात्रै हुने काम नगरौँ ।

अजयः विना इन्जिनियरिङ्ग निर्माण गरिएका बाटा समस्या बनेका छन् । नसोचेको नतिजा देखिएको छ पानीको मूलमा । जता पनि सुनिन्छ– पानी सुक्यो, हाम्रो गाउँको पानी सुक्यो ।

मोहनः म सञ्चारकर्मी । बाटो र पानीको सम्बन्धको ब्याख्या कसरी गरौँ ? कारण के हो पत्ता लगाउने तपाईँहरू जस्ता इन्जिनियर र पानीका अध्येताको काम हो । तर जहाँ, जहाँ बाटो पुगेको छ पानी खलबलिएको पक्कै हो । पानीको मात्रा घटेको छ । प्राकृतिक भण्डार भरिन पाएको छैन । पानी जम्मा हुन नपाएपछि भण्डार सुकेको छ । पानी प्रदूषित पनि भएको छ ।

अजयः कताबाट मुल आइराखेको छ सोच्दै सोचिएको छैन । पानीको बाटो कताबाट कता गएको छ भन्ने वास्तै गरिएको छैन । त्यसैले, पानी कता बग्यो कता ! मुलुकको यात्रा गरिरहनुहुन्छ, अनुभव कस्तो छ ?

मोहनः बाजुराको अनुभव सुनाउँछु । लडाइँताका त्यहाँका मान्छे मान्छेसँग डराएका थिए । लडाइँ थामिएपछि भने — अब लडाइँले मरिने भएन तर खडेरी र सुख्खाले पो मरिने जस्तो भयो । बाजुराको माथिल्लो भेगमा हिउँदमा धेरै हिउँ पर्ने रहेछ । एकजना वृद्ध महिलाले भनिन– पहिला, पहिला हाम्रो ठाउँमा काँध–काँधसम्म हिउँ पथ्र्याे, अहिले पर्दैन ।

अजयः बझाङमा तीघ्रासम्म हिउँ पर्दा बढी हुन्छ, घुँडासम्म र्पयो भनेदेखि ठीक्क हुन्छ, पिडौंलासम्म र्पयो भने कम भन्थे ।

मोहनः ती महिलाले ‘यसपालि त तुसारो मात्रै र्पयो’ भनिन । हामी चैतमा पुगेका थियौँ । न जौँ छ, न गहुँ । ती महिलाले भनिन, “मल त हाल्यौँ तर पानी नभएपछि पात सुकेरै गयो । गहुँ पाक्ने बेला त्यसलाई मासेर आलु लगाउनु परेको छ । गहुँ पनि भएन, जौँ पनि भएन ।

त्यहाँका मानिसले भने, “पहिले पहिले, हिउँदमा परेको हिउँ बिस्तारै पग्लिएर जमिनमुनि जान्थ्यो, जमिनले बिस्तारै सोस्थ्यो । बिस्तारै पग्लिन्थ्यो र बिस्तारै बग्थ्यो । झरझर परेको पानी त बगिहाल्छ, मूलमा सञ्चित हुन पाउँदैन । हिउँदको बाली पनि बिग्रियो, बर्खामा अरु बालीको लागि चाहिने पानी र खानेपानी पनि नहुने भयो ।”

केही वर्ष पहिले हुदहुद (आँधी) आएका बेला हामी लुम्बिनी पुगेका थियौँ । धान काट्ने बेलामा पम्पसेट चलाउँदै थिए किसान । पम्पसेट चलाउनु पर्ने बेला होइन जस्तो लाग्यो । मैले सोधेँ, धान काट्ने बेलामा किन पम्पसेट चलाउनु परेको ? उनीहरूले जवाफ दिएका थिए, धान रोप्ने बेलामा पानी आएन । पम्पसेट चलाउनु र्पयो, महंगो डिजेल किनेर । अहिले हावा सहित पानी परेर गरामा पानी जम्यो, धान ढल्यो । काट्ने बेलाको धान पानीमा डुब्यो । त्यसैले, पानी फाल्न पम्पसेट लगाउनु र्पयो । हामी दोहोरो मारमा परेका छौं ।

मलाई धेरै कुरा विग्रिए जस्तो लाग्यो । यो हामी धेरैले देखे–भोगेको कुरा हो । यसो भएपछि त पानीमा निर्भर जनावर, जलचर, वनस्पति र मान्छे सबैलाई असर पर्छ । पानी बिग्रिए सबै कुरा बिग्रिन्छ । मान्छेको वानी बिग्रँदा पनि सबै कुरा बिग्रिन्छ । मान्छेले आफ्नो ब्यवहार पनि फेर्नुपर्छ ।

अजयः जबसम्म पानी हुन्छ जति नै गाह्रो भए पनि घरपरिवारलाई एकखालको आत्मविश्वास हुँदो रहेछ । पानी नभएपछि चाँहि बसाई सरिहाल्ने रहेछन् । पहाडी भेगमा हामी पानी सुक्ने र बसाई सर्ने प्रकरण बढ्दो देख्दैछौँ ।

मोहनः पहाडमा जुन ठाउँको शिर लामो छ त्यो ठाउँ राम्रो भन्थे पहिला । माथिल्लो भेगमा परेको पानी त्यहाँको जमिनले सोस्छ र तलतिर मूल फुट्छ । पानी भएपछि हरियाली हुन्छ, जीवन हुन्छ, वस्तुभाउ पाल्न सकिन्छ, जनजीविका चल्छ । हिजोआज लामो शिर भएका गाउँमा पनि पानीको समस्या देखिन थालेको छ । तपाईँले भने जस्तो पानी पर्ने चरित्रमा फेरबदल भएर पनि होला । आकासबाट र्पयो, एकैचोटि बगेर गयो । जमिनमा सञ्चित भएन ।

अजयः त्यही त पानी जोहो गर्ने हाम्रो सामूहिक संस्कार थियो । किसानहरूले बनाएका प्रणाली छन, सिर्जना पनि छ । सञ्चालन गर्ने विधि पनि नभएका होइनन् । पानी व्यवस्थापन लटरपटर गरियो जस्तो छ, कहिलेदेखि बाटो बिरायौँ हामीले ?

मोहनः पहिले कुलो बिग्रियो भने खेतमा रोपाई गर्न पाइँदैन भनी कुलो मर्मत गरिन्थ्यो । कुलामा पानी बग्न पायो भने मात्रै मेरो जीवन चल्छ भन्ने ठानिन्थ्यो । वन जोगाएपछि भोलि त्यहाँबाट मेरो घर बनाउन चाहिने काठ ल्याउन पाउँछु भन्ने जानकारी भए जस्तै । जंगल भएपछि मैले काठ काट्न पाउँछु भन्ने भयो, आँखाले देख्न सकियो । मूलको हकमा त्यस्तो भएन । पानी कहाँबाट छिरेर तल मूलसम्म पुग्छ भन्ने कुरा बुझेनौँ । बर्खामा परेको पानी, त्यसलाई जम्मा गर्ने विधि र पानीका मूलबीच रहेको सम्बन्ध देख्न सकेनौँ । पानी सुक्छ, मैले पानी खान पाउँदिन भन्ने कुरामा ध्यान दिएनौँ । मैले जुन धारामा पानी थापेर खान्छु, त्यो धारा र धारामा पानी आउने प्रकृयाबीच यसको सम्बन्ध छ भन्ने कुरामा वास्ता गरिएन । त्यो तथ्य नबुझेको हुनाले आफूलाई असर पर्ने, आफूलाई बेफाइदा हुने कुराका बारेमा वास्ता गरिएन । पानी नै भएन भने के पो गर्ने होला ? खडेरीको क्रम बढ्ला, पानी नै नपर्ने स्थिति त नआउला, तर धेरै समस्या भने आउँछ । त्यसैले, नयाँ चिन्तन आवश्यक छ । पानीको व्यवस्थापनबारे चिन्तन गर्नु जरुरी छ ।

अजयः सायद हामीले आफ्नो भूगोल बुझ्न आवश्यक ठनेनौँ । हामीले हाम्रो हिमाल, पहाड, उपत्यका, मधेशको भौगोलिक चरित्र, पारिस्थितिक प्रणालीका बारे चासो राखेनौँ । पुराना कुरा यो काम लाग्दैनन् पुरातनिक, पराम्परागत हुन, आधुनिक हुनुपर्छ भन्ने परिकल्पना सन्दर्भ सापेक्ष भएन कि ? भूगोल, पारिस्थितिकीय प्रणाली यी हुन् भन्ने ज्ञानलाई ध्यान नदिएकै कारणले त्यसो भएको हो कि ?

मोहनः नेपाल बुझाउने सामग्रीको ठूलो अभाव छ । नेपालको बनोट र यसका भौगोलिक, भौगर्भिक पक्षबारे पठनपाठन हुने गर्दैन । हामीले आफ्नो ठाउँ बारे बुझेका छैनौँ, आफ्नो परिवार बारे बुझेका छैनौँ, समाज बारे बुझेका छैनौँ । कुरा गर्छौँ राजनीतिका ठूला–ठूला । तर जान्नुपर्ने कुरा जान्नतिर ध्यान दिँदैनौँ । मानिसले दुईवटा कुरा जान्न चाहन्छ रेः पहिलो, आफ्नो जीवन धान्नका लागि नजानी नहुने कुरा । दोस्रो, खसखस मेटाउने कुरा जुन नजान्दा पनि केही फरक पर्दैन । हामी आफ्नो जीवन धान्न, आफ्नो जीवनलाई सजिलो बनाउन चाहिने जानकारी लिन उति ध्यान दिँदैनौँ । अर्को आफ्ना आवश्यकता पूरा नगर्ने, खसखस मात्र मेटाउने जानकारी खोजी–खोजी लिन्छौँ । आफ्ना आवश्यकतासँग जोडिएका कुरा जान्ने कोशिस गर्दैनौँ । कुनै कुराबाट आफूलाई कस्तो असर पर्छ भन्ने कुरा जान्न खोज्दैनौँ । अल्छी पाराले भन्छौँ– त्यो किन जान्नुर्पयो र ! आफूलाई असर पार्ने विषयमा चेतना कम हुँदै गएको छ  हाम्रो समाजमा ।

अजयः हाम्रो सामूहिक चेतनाको सिमितता हो कि शिक्षाको ? जे जान्यौँ त्यो पुरातनिक हो, त्यसले हामीलाई काम दिँदैंन, बाहिरबाट ल्याएको ज्ञान सही हो, ठीक हो भन्ने भावनाले पो चेतना खस्केको हो कि ? अथवा, भनौँ न हामीले न पुरानो ज्ञानलाई संरक्षण र्गयौँ न आधुनिक ज्ञान राम्रोसँग लिन सक्यौँ । हामी त्रिशङ्कु सरह भएका छौँ । उचित शिक्षा नहुँदा पनि हाम्रो सामूहिक चेतना खस्केको हो ?

मोहनः हामीले स्कुलमा पानीका बारेमा, माटोका बारेमा, आफ्नो ठाउँका बारेमा, वनस्पतिका बारेमा,  अर्थात आफूले नजानी नहुने कुराका बारेमा खासै पढेनौँ । पोखरी, तिनको मूल र धाराहरूको सम्बन्ध अध्ययन गरिएन, बुझिएन । काम नलाग्ने, पुराना ज्ञानलाई छोड्ने, काम लाग्ने, नयाँ ज्ञानलाई लिने काम समाजले गरिरहनुपर्छ । अर्थात, पुरानो सत्य आज असत्य देखियो भने त्यसलाई फालेर नयाँ ग्रहण गर्ने साश्वत नियम हो । हिजोकोभन्दा बढी ज्ञान लिएर, त्यसलाई संश्लेषण गरेर अगाडि बढ्नु पर्ने हो । सायद हाम्रो शिक्षाले हामीलाई त्यता लान सकेन ।

अजयः वर्षाको चरित्रमा पनि परिवर्तन भयो भन्ने सुनिन्छ, अध्ययनले पनि मोटामोटी त्यही भन्छन्, यद्यपि तथ्याङ्क छैनन् । झरी पर्नु र दर्के पानी पर्नु फरक कुरा हुन् । विगतमा झरी परेर बाढी आएको अनुभव छ । विज्ञानले वर्षाको यो ब्यवहार जलवायु परिवर्तन कै कारण हो भन्न सक्दैन । पानी सुक्दै गरेको वा विषम वर्षालाई जलवायू परिवर्तनसँग जोड्नु आवश्यक छ कि छैन ?

मोहनः जलवायु परिवर्तन मेरो कारणले भएको हो भने मैले यी कुरालाई जोड्नुपर्छ । जलवायु परिवर्तनको कारक हरितगृह ग्यास उत्सर्जनमा नेपालको तुलनात्मक हिसावले ठूलो योगदान छैन । एकजनाले बानी फेरेर सायद फरक नपर्ला । लाखौंको ब्यवहारले भने फरक पर्छ । त्यसैले विभिन्न स्तरमा हेरौँ । अध्ययनको स्तरमा वैज्ञानिकहरूको दायित्व हो त्यसको कारण पत्ता लगाउनु । सरकारको तहमा अर्थात् सरकारले अन्तर्र्रािष्ट्रय जगतसँग मोलतोल गर्ने अनि वैज्ञानिक अध्ययनको क्रममा जलवायु परिवर्तनको प्रसंगसँग जोड्नु अनिवार्य होला ।

तर त्यसभन्दा तल नजोड्दा पनि होला कि ! मेरो गाउँमा पानी कम पर्न थाल्यो भने मैले चाहिँ जे कारणले भएको भए पनि पानी कम परेकाले आउने समस्या घटाउन वा हल गर्न त्यसका लागि प्रभावकारी तरिका पत्ता लगाउनु पर्ला । जलवायु परिवर्तनसँग नजोड्दा पनि भयो ।

अजयः हरेक तहमा जलवायु परिवर्तनलाई सबै कुरासँग जोड्नुपर्छ भन्ने छैन । बढ्दो खडेरी जलवायु परिवर्तनका कारण भए, त्यो हाम्रो परिधि बाहिर र्पयो । यसमा हामी तत्काल केही गर्न सक्दैनौँ । तर परिवर्तित अवस्थासँग आफूलाई अनुकूल कसरी बनाउने भन्ने कुरा आफैँ खोज्ने हो ।

मोहनः पोखरी, ताल, तलैया त्यसैपनि बचाउनु पर्ने निधि हुन, पानी जोहो गर्ने निधि । अब पनि पानीलाई जथाभावी गर्ने हो भने हामीलाई पछि ठूलो पछुतो पर्छ । आफ्ना सबै कमजोरीलाई जलवायु परिवर्तनसँग जोड्नु लाचार हुनु मात्र हो । आफ्नो दोष पन्छाउने सजिलो उपाय हो ।

अजयः औद्योगिक कालखण्डयता हरितगृह ग्यास उत्सर्जन निरन्तर छ । औषत तापक्रम माथि चडेको छ । पचास बर्ष अगाडि जलवायु परिवर्तनका जोखिम आज जस्ता थिएनन् । हामी गरिब थियौँ, पछाडि थियौँ, आधुनिक शिक्षा थिएन । अहिले हामी शिक्षित छौँ, सूचना सजिलै पाउँछौँ, हामीले घुमघाम गरेका छौँ, देखेका छौँ । तर चुनौति थपिएका छन् । हामीले पोखरी मासेका छौँ, पानीलाई हेपेका छौँ । इन्जिनियरिङ्गका आधारविना, जथाभावी बाटो खनेका छौँ । भूगर्भको चरित्र बुझ्न आवश्यक छैन भनेका छौँ । जथाभावी बाटो बनाउने, सामूहिक दायित्व त लिनुपर्ला नि ?

मोहनः हामी मारमा परेका छौं । २०७५ सालको हिउँदको कुरा गरौँ । यसपालि सधैँभन्दा फरक किसिमले हिउँ परेकाले धेरै चौरी गाई मरे, भेडा मरे । यस्तो हुँदैँछ, गोठालाहरू होशियार हुनू है भनेर अगाडि नै उनीहरूलाई भन्न सकेको भए चौरी जोगिन्थे होला । यसैसाल बारा–पर्सामा भुमरीले गर्दा धेरै जनधनको क्षति भयो । त्यसरी भूमरी आउँदै छ भन्न सकेको भए क्षति कम हुन्थ्यो होला । सम्पन्न देशहरूमा त यसो गर्ने चलन छ ।

अजयः पानी सुकेर डरलाग्दो भविष्यतिर जाँदैछौँ भने मुल बिउँत्याउने काम गर्नुपर्छ कि पर्दैन ?

मोहनः हाम्रा पुर्खाले आफूले जानेको ज्ञानको आधारमा समस्या समाधान गरी आएका थिए । त्यति बेला आज जस्तो ज्ञान र सूचना छिटै प्रसार गर्ने साधन थिएनन् । हामी उनीहरूभन्दा शिक्षित छौँ । उनीहरूले भन्दा बढी ज्ञान हिजोआज हामीले आर्जन गरेका छौँ । ज्ञानलाई छिटो प्रसार गर्ने माध्यम पनि हामीसँग छन् । तर सबैले बुझ्ने भाषामा प्रसार गर्ने कोशिस कम भएका छन् ।

र्कोतिर हामीले हामीलाई नभइ नहुने सार्वजनिक स्वामित्वका स्रोत साधन संरक्षण गर्ने बाटोतिर लाग्नु जरुरी छ । जुन काम गर्दा केही वर्षमा आफैँमाथि आपत आइलाग्छ ती काम बन्द गर्नुपर्छ । जस्तै, नदी र खोलाको बीचमा घरको पिलर उठायौँ, खोला मिचेर घर र पर्खाल बनायौँ भने नदी र खोला पनि त धेरै समय चूप लागेर बस्दैनन् । भूउपयोग नीति बनाउन हाम्रा नगरपालिका र गाउँपालिकाले अगुवाई लिनुपर्ला । पानीका मुल संरक्षण लगायत पानी ब्यवस्थापनमा पनि यी निकायको महत्वपूर्ण भूमिका होला ।

उनीहरू निर्वाचित सरकार हुन । सार्वजनिक हित विरुद्ध, नियम विपरित कसैले गलत काम गरेका खण्डमा उसका विरुद्ध अलिअलि बल प्रयोग गर्ने अधिकार पनि उनीहरूलाई छ । त्योभन्दा ठूलो कुरा हामी मानिसले नै आनीबानी फेर्नु परेको छ । हामीले सोचेजस्तो परिवर्तन तत्काल नभएपनि नियमित चिन्तन–मन्थन, कुराकानी गर्दै रहनु पर्छ । लेखपढ गर्ने रहर र पेशा भएका मानिसले यस्ता विषयमा कुराकानी गरिरहनुपर्छ । सरकार र जनतालाई यी विषयमा घचघचाइ राख्नुपर्छ । आफ्ना कुरा सुनिएन भनेर निराश हुनुहुँदैन ।

Facebook Comments