परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यात्रा-कथा

कविता

म यात्रामा छु निरन्तर

वर्षौँ भयो

यात्रा फेरिएन

फेरिएन बाटो

 

मेरो यात्राले एउटै कथा बोक्छ,

कथाभित्रै छन्

खातका खात अरू कथाहरू,

बाटोका पत्र-पत्रमा, बिन्दु-बिन्दुमा

म ती कथा पढ्दै जान्छु हरेक पटक

हरेक पटक महसुस गर्छु

विकल्पहीनताको इतिहास

विषमताको अट्टहास

 

कथामा चित्रित छन्

मोटेलले खाएका धर्मशालाहरू,

स्कूलले सुकाएका पाठशालाहरू,

कुनै विद्रोहीको झोँक खेपेका

गाडीका धमर्धुस करङ्गहरू,

अर्को विद्रोहीको शोक झेलेका

सडकबिचका भ्वाङ्हरू

 

ठाउँठाउँमा बाङ्गिएको छ बाटो,

कतै परदेशी सिमाना छुन,

कतै स्वदेशी भूमीमै फर्किन,

स्मरण गराउँदै कुनै असमान सन्धिको,

माटोकै निरिहताको

 

भोगेको छ कथाको हरेक पात्रले:

अप्ठ्यारोमा ठगिएका क्षणहरू,

सहजतामै लुटिएका पलहरू,

बन्दमा छेकिएका दिनहरू,

द्वन्द्वमा तड्पिएका रातहरू,

दायाँबायाँका भग्नावशेषहरू बोल्छन्

घण्टौँ तन्किएका चेकजाँचहरू

अकारण थन्किएका विश्वासहरू

प्रतिनिधि हो विवशताको

यो यात्रा-कथा,

प्रतीक हो निरिहताको

यो यात्रा-कथा,

अलिखित तर अनन्त,

अनि साथमा

बाटो मोड्न पाउँदाको उन्माद,

माटो छोड्नु पर्दाको वेदना,

झकाउँदा अनिश्‍चितताको सपना,

झस्किँदा सडकभरिको विपना

 

उही विषमता

उही निरिहता

उस्तै यात्रा

उही बाटो

उही कथा

मेरो अनन्त यात्रा

Facebook Comments