परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विरोधाभासपूर्ण पत्रकारिता र गिर्दो व्यावसायिक निष्ठा

पत्रकारितामाथिको बहस

काठमाडौँ, १५ असार । नेपाली पत्रकारिता क्षेत्रमा देखापरेका विभिन्न विरोधाभासहरुले पत्रकारिता तथा यसको व्यावसायिक निष्ठामाथि सर्वत्र सन्देह उत्पन्न भएको सन्दर्भमा सम्पादक/पत्रकारहरु, पत्रकारिताका प्राज्ञहरु तथा विभिन्न क्षेत्रका अध्येता र समाजका विभिन्न तहमा क्रियाशील व्यक्तित्वहरु सहभागी भएर गम्भीर चासो व्यक्त गरे ।

 

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागले नेपाली पत्रकारितामा व्यावसायिकता विषयमा काठमाडौंमा छलफलको आयोजना गरेको थियो । सो छलफल कार्यक्रममा   विभिन्न सञ्चारमाध्यमका प्रमुख, सम्पादक तथा पत्रकारिताका अध्यापकले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउन नियमितरुपमा आफ्ना प्रकाशित सामग्रीको समीक्षा गर्नुपर्ने आवश्यकतालाई औंल्याएका थिए ।
तस्वीरः फोेटो पत्रकार नरेश श्रेष्ठ
सो छलफल कार्यक्रममा प्राध्यापक पी खरेलले पत्रकारिता क्षेत्रले आफ्नो कर्तव्यको बाटो विर्सिएका कुरा तथ्यसहित प्रस्तुत गर्नुृभएको थियो । प्राध्यापक पी खरेलले सम्पादकहरुले धेरै समस्याकाबीच समाचार कक्षको नेतृत्व गरिरहेको तर पनि सुधार गर्न सकिने र व्यावसायिक पत्रकारिता अबलम्वन गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको कुरा उल्लेख गर्नुभयो । सञ्चार विज्ञ विनोद भट्टराईले नेपाली पत्रकारितामा सम्पादकीय स्वतन्त्रता संकटमा पुगेको निकर्ष सुनाउनु भएको थियो ।

 

पत्रकार रघु मैनालीले पत्रिकारिताको व्यवसायिकता सम्वन्धमा थुप्रै विरोधाभाषहरु रहेको तथ्य तर्फ औंल्याउँदै व्यवसायिकता भनेको आफू के गर्दैछु भन्ने बारेमा आफैंलाई नियाल्ने क्षमता हो भन्ने कुरामा जोड दिनु भयो । उहाँले पत्रकारिता शिल्पी चेतना मात्रै नभएको तर पत्रकारहरुले आफ्नो कार्यप्रति गर्व, गुणस्तरीयताप्रतिको प्रतिवद्धता र समाजको हितप्रति समर्पणभाव र सहयोग गर्ने इमान्दार चाहना जस्ता व्यवसायिक गुणहरुलाई पुरै बिर्सिएको बताउनु भयो । नेपाली पत्रकारिताले आफ्नो विशेषाधिकार लिने कुरामा जनताको अभिव्यक्ति स्वतान्त्रताको दुहाई दिने तर जनताप्रतिको उत्तरदायित्वको प्रश्न आउँदा बजारको तर्क अघि सर्ने विरोधाभासपूर्ण प्रवृत्तिलाई त्याग्नु पर्ने कुरामा मैनालीले विशेष जोड दिनुभयो । अभिव्यक्ति स्वतन्त्रता स्वतन्त्र बजारको वस्तु नभएर स्वतन्त्र समाजको वस्तु हो भन्ने जिकिर पेश गर्नु भयो । अभिव्यक्ति स्वतन्त्रता पूँजीलाई होइन व्यक्तिलाई स्वतन्त्र, स्वावलम्वी र व्यक्तित्वशाली बनाउन स्थापित गरिएको मान्यता भएको कुरा विर्सन नहुने तर्क पनि मैनालीले अघि सार्नुभयो ।

 

पत्रकारहरु प्रेस स्वतन्त्रताको पक्षमा कानुनी र राजनीतिक बतावरणलाई अनुकुल बनाएर राज्यसंग अधिकार लिन सक्षम भएपनि व्यावसायिकताका लागि आवश्यक पर्ने संस्थागत स्वयत्तता र सम्पादकीय स्वतन्त्रता, समयसापेक्ष क्षमता विकास, आचारसम्मत व्यवहार, व्यावसायिक मर्यादा र व्यक्तिप्रतिको सम्मान जस्ता व्यावसायिक पत्रकारिताका तत्वहरुप्रति वेखवर रहेको अवस्थातर्फ पनि मैनाली ध्यानाकर्षण गराउनु भयो ।

 

पत्रकार प्रतीक प्रधानले नेपाली पत्रकारिताको प्रतिष्ठा गिर्दै गएकोमा चिन्ता व्यक्त गर्दै पत्रकार तथा पत्रकारिताका गुरुहरु सबैसंगै बसेर इमान्दरीपूर्वक समीक्षा गर्नु पर्ने बताउनु भयो । पत्रकार नारायण वाग्लेले नेपालमा पत्रकारिताका कमीकमजोरी औंल्याएर समयमै सजग गराउन आवश्यक पर्ने प्राज्ञिक जर्नलको अभाव रहेको कुरामा जोड दिनु भयो । उहाँले पत्रकारिताको विजिनेस मोडलका बारेमा पनि चिन्तन हुनुपर्ने कुरा बताउनु भयो । पत्रकार वाग्लेले भन्नुभयो– पत्रकार कुनै पनि पार्टी निकट हुनु नै दण्डनीय विषय चाहिँ होइन ।

 

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर (श्यामल) अधिकारीले गल्ती गरिरहने तर नसच्चिनेका लागि यस्ता छलफल महत्वपूर्ण अवसर हुने बताउँदै पत्रकारिता क्षेत्र धमिलो हुनामा यस क्षेत्रका गुरु वा प्रशिक्षक पनि जिम्मेवार रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले पत्रकारको सङ्ख्या बढ्दो तर पत्रकारिताको गुणस्तर घट्दो छ । मूलधारका कतिपय सञ्चारमाध्यमले समाजका सरल कथालाई जटिल बनाउँदै लगेका छन् । पत्रकारले व्यापारलाई सबैभन्दा ठूलो शक्ति ठानेर मालिकको कामदारका रुपमा काम गरिरहेका छन् ।”

तस्वीरः फोेटो पत्रकार नरेश श्रेष्ठ

 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले पत्रकारिता विभिन्न व्यवसाय र राजनीतिक दलमा प्रयोग हुने कार्ड हुन थालेको जनाउँदै सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिकका विषयमा ठूला दैनिकले नै असन्तुष्टि जनाउनु आश्चर्यजनक भएको बताउनुभयो ।

 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले नेपाली पत्रकारिता विगतको राजनीतिक मिसनबाट बाहिर आउन खोजे पनि व्यापारिक मिसनबाट मुक्त हुन नसकेको कुरा स्वीकार गर्नुभयो । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले लगानी वा स्वामित्व जस्तोसुकै भए पनि पत्रकारिताको आधारभूत पक्ष उही हुने भएकाले त्यसको अभ्यास गर्दा जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

 

खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले पत्रकारिताले शक्ति र सत्तामाथि प्रश्न गर्न सक्नुपर्ने र आफूमाथि उठेका प्रश्नमा इमान्दार भई सामना गर्न सक्नुपर्ने जनाउँदै सत्यतथ्यलाई इमान्दारिताका साथ पस्कनुपर्ने बताउनुभयो । तर नेपाली पत्रकारिताले सत्तामाथि मात्र प्रश्न गर्ने गरेको र शक्तिमाथि प्रश्न गर्न असमर्थ रहेको तर्फ पनि पत्रकार गाउँलेले प्रश्न गर्नुभयो ।

 

पत्रकारिताका गुरु लालदेउसा राईले पत्रकारले आफ्नो आचारसंहिता कहिले नाँघ्न नहुनेमा जोड दिनुभयो । उहाँले कुनै पनि पक्ष वा शक्तिको प्रभावका आधारमा लेखिएका समाचार प्रयोग नहोस् भन्नेतर्फ सम्पादक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

 

अर्का सहप्राध्यापक प्राध्यापक प्रबलराज पोखरेलले सञ्चारमाध्यमले सार्वजनिक जनचासोका विषयलाई न्याय गरिरहेका छौँ कि छैनौँ भन्ने समीक्षा हुनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा पत्रकार कपिल काफ्लेले व्यावसायिक पत्रकारिताका लागि आफ्नो संस्था र आफूले खेल्दै आएको भूमिका तथा सामना गरेका चुनौतिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

 

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डा. डम्बर चेपजोङले नेपाली पत्रकारिता सतही र छिपछिपे हुँदै गएको र यसले घरैलाई प्रताडित गरिरहेको तितो यथार्थ औंल्याउनु भयो ।

 

छलफलमा राजधानी दैनिकका सागर पण्डित, पत्रकारहरु अखिलेश उपाध्याय, जगदीश पोखरेल, टीकाराम यात्री, राजु सिलवाल, विश्वविद्यालयका कानून, लैङ्गिक र भूगोललगायत विभिन्न केन्द्रीय विभागका प्रमुख सहभागी हुनुहुन्थ्यो ।

 

कार्यक्रम सञ्चालन गर्दै आमसञ्चार तथा पत्रिकारता केन्द्रीय प्रमुख चिरञ्जीवी खनालले पत्रकारिता शिक्षा, यसको अभ्यास र पाठकको प्रतिक्रियामा आधारित भएर निरन्तर छलफलको शृङ्खला चल्नुपर्ने र पत्रकारिताका अभ्यासकर्ता पनि आत्मसमीक्षाका लागि तत्पर भइरहनु सकारात्मक हुने कुरा बताउनुभयो । यसखाले छलफल निरन्तर चलिरहनु पर्नेमा सबै सहभागीहरु सहमत देखिएका थिए ।

 

Facebook Comments