परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

क्लिनफिडः विदेशी च्यानलमा विज्ञानरहीत प्रसारणको विकल्प छैन

क्लिनफिड सम्बन्धी बहस

आजभन्दा करिब १२ वर्षअघिदेखि विज्ञापन व्यावसायीहरूले उठाई आएको क्लिनफिड सम्बन्धी व्यवस्था अहिले आएर नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही दिनअघि संसद्मा विज्ञापन विधेयक पेश गरेसँगै क्लिनफिडको विषयलाई समेत समावेश गरी पेश गरिएको छ । यो विधेयक संसद्बाट पास हुन अत्यन्त जरुरी पनि छ, किनकि क्लिनफिडले व्यापार व्यवसायलाई मात्र नभई हाम्रो मौलिक संस्कृतिलाई समेत जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दछ । क्लिनफिड लागू नहुँदा अहिलेको विदेशी चयानलको विज्ञापन प्रसारणले नेपाली समाजलाई नै ठेस पु¥याएको हामीले महसूस गरिरहेका छौं ।

क्लिनफिड लागू भए यसले हाम्रो बजार कति बढ्ला भन्ने पनि छ । र, हामी विज्ञापन, व्यवसाय, सञ्चारमाध्यम लगायत यस क्षेत्रमा लाग्नेले करीब दुई सय करोडको सम्भावना देखेका छौं ।

यस विषयमा अहिले आएर विभिन्न माध्यमबाट बहस पनि शुरु भएको छ । खास गरी क्लिनफिडबाट लाभ हुने व्यवसाय, कलाकार, नेपाली मिडिया र आफ्नो मौलिक संस्कृतिको पहिचान रहनु पर्छ भन्ने एक थरी छन् भने अर्कोथरी जो केवल टेलिभिजन सञ्चालन गर्नेहरूले यसको विरोध पनि गरिरहेका छन् । आफ्नो व्यवसायमा असर पर्न सक्ने अनुमान उनीहरूको रहेको छ । हुन त यो विषय १२ वर्षअघिदेखि नै धेरथोर बहसमा आएको पनि हो । यो बहसमा विज्ञापन व्यवसाय र केवल टेलिभिजनमा मात्र देखिएको थिए । जसका कारण यसलाई विज्ञापन क्षेत्रका बाहेक सञ्चारमाध्यम र अरू सम्बन्धित क्षेत्रले समेत त्यत्ति महत्त्वका साथ उठाएका थिएनन् । जे होस्, वर्तमान समयमा आएर यो विषयमा यति धेरै बहस हुनु राम्रो कुरा हो । वास्तवमा ऐन, कानून बन्दा आफ्नो हकहितको लागि सबै पक्षले आवाज उठाउनु नै पर्छ । यदि विदेशी च्यानलबाट विज्ञापन सहित हेर्ने हो भने उक्त च्यानलको केवल टेलिभिजनले निःशुल्क प्रसारण गर्नुपर्ने हुन्छ ।

यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने विज्ञापन रहित टेलिभिजन प्रशारण गर्दा व्यावसायिक रूपमा कसैलाई फाइदा होला र कसैलाई बेफाइदा । तर क्लिनफिडले भने आम नेपालीको मौलिक संस्कृतिलाई जोगाएर राख्नेछ । के हामीले केवल टेलिभिजनहरूलाई पैसा तिरेर विदेशी च्यानलबाट विदेशी विज्ञापन हेर्ने ? यो कदापि हुन नसक्ने कुरा हो । यदि संसद्बाट यो विधेयक पास भएर लागू भएमा नेपाल सरकारलाई समेत राजस्वमा वृद्धि हुने देखिन्छ । अन्य धेरै मुलुकमा पनि क्लिनफिडको व्यवस्था रहेको छ । हामीले हाम्रो देश, यहाँको संस्कृति र भेषभूषा अनुसार विज्ञापन बनाउन पाउनुपर्छ । अन्य मुलुकमा आफ्ना देशलाई सुहाउने अनुसारले बनाएका विज्ञापन यहाँ ल्याएर डविङ्ग गरेर देखाउने प्रवृत्तिलाई पनि हामीले रोक्न सक्नैपर्छ । योभन्दा सुनौलो मौका फेरि हामीले नपाउन पनि सक्छौं । अहिले विदेशी खासगरी भारतीय कम्पनीहरूले नेपालमा ठूला–ठूला व्यापार व्वसाय गर्दै आएका छन्, तर हाम्रो बजारमा उनीहरूद्वारा उत्पादित सामानको बिक्री वितरण गर्न नेपालमा खासै कुनै विज्ञापन गर्नु पर्दैन किनभने नेपाली दर्शकले भारतीय च्यानलहरू हेर्ने गर्दछन् । त्यसकारण भारतीय टेलिभिजन च्यानलहरूमा नै विज्ञापन प्रशारण गर्ने गर्दछन् र नेपाली च्यानलहरूमा कुनै पनि विज्ञापन प्रशारण गर्नुपर्ने आवश्यकता ठान्दैन ।

क्लिनफिड लागू भए यसले हाम्रो बजार कति बढ्ला भन्ने पनि छ । र, हामी विज्ञापन, व्यवसाय, सञ्चारमाध्यम लगायत यस क्षेत्रमा लाग्नेले करीब दुई सय करोडको सम्भावना देखेका छौं । तर यो देख्नुमा हामीले खासगरी भारतीय च्यानलमा प्रशारण भएका विज्ञापनका आधारमा मात्र यो आँकडा निकालेको जस्तो लाग्छ । यसमा कुनै पनि क्षेत्रबाट सही आँकडा निकालिएको नहुन सक्छ । कुन क्षेत्रमा कतिले बढी भनेर भन्ने जस्तोः विज्ञापन प्रशारण, विज्ञापन निर्माण, त्यसमा पनि छापा, टेलिभिजन, अनलाईन, एफ.एम. रेडियो र बाह्य कुनबाट कति भन्ने यकिन छैन । यसको पनि सम्बन्धित क्षेत्रले सही आँकडा निकाल्नु जरुरी छ । अन्तर्वार्ता दिँदा मात्र आँकडा भन्नु गलत हो जस्तो लाग्छ । तर यति कुरा के चाहिँ निश्चित छ, त्यो के भने क्लिनफिड लागु भएमा निश्चित रूपमा सम्बन्धित क्षेत्रमा अहिलेको भन्दा राहत महसुस गर्न सकिनेछ ।

Facebook Comments