परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कारिन्दा शिक्षा पद्धति हट्छः मन्त्री गिरिाजमणि पोखरेल

सन्दर्भः मदन भण्डारी मेमोरियल कलेजको १८ औँ वार्षिकोत्सव

काठमाडौँ, असार १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वर्तमान शिक्षा पद्धति अन्तरगत पठनपाठन र परीक्षा प्रणाली परिवर्तन गरी सिकाइ केन्द्रित बनाउनुपर्ने खाँचो औँल्याउनु भएको छ ।

काठमाण्डौस्थित मदन भण्डारी मेमोरियल कलेजको १८ औँ वार्षिकोत्सवलाई  शनिबार सम्बोधन गर्दै मन्त्री पोखरेलले अब सरकारले कारिन्दा उत्पादन गर्ने मेकालय शिक्षा पद्धति परिवर्तन गरी विद्यार्थीको सिप, रोजगारी र उत्पादनका माध्यमबाट समृद्धि ल्याउने शिक्षा देशका लागि लागू गर्दै जाने नीति सरकारले लिएको जानकारी पनि दिनुभयो ।
उहाँले राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित २०७५ सालको परीक्षामा कलेजमा सर्वोत्कृष्ट नतीजा हासिल गरी मदन भण्डारी स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरू राजन गौतम र सोनिका कुँवरलाई पुरस्कृत समेत गर्नुभयो ।

उहाँले मदन भण्डारी मेमोरियल कलेजको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाका लागि कलेजलाई सहयोग गर्न आफू तयार रहेको बचन पनि दिनुभयो ।

सामुदायिक क्याम्पस मदन भण्डारी मेमोरियल कलेजकी अध्यक्ष उषा किरण भण्डारीले कलेजलाई शिक्षाको उत्कृष्ट गन्तव्यमा लैजानका लागि कलेजको व्यवस्थापन प्रयत्नरत रहेको बताउनु भयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.चिरञ्जीवी शर्माले मदन भण्डारी मेमोरियल कलेजले गरिबका छोराछोरीलाई समेत सुलभ शूल्कमा उत्कृष्ट शिक्षा दिनुपर्ने मान्यताका साथ यो कलेजले विशिष्ट योगदान पुर्याएकोमा खुशी व्यक्त गर्नु भयो ।

उहाँले चालु शैक्षिक सत्रका ‍‍उत्कृष्ट शिक्षक प्रज्ज्जलमान श्रेष्ठ र उत्कृष्ट कर्मचारी लक्ष्मी भण्डारीलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै क्याम्पस प्रमुख डम्बर बहादुर हमालले क्याम्पस उत्कृष्ट उच्चशिक्षा गन्तव्यको रुपमा आफूलाई स्थापित गरेको र भविष्यमा अझ सशक्त ढंगले अगाडि बढ्ने बचनबद्धता प्रकट गर्नु भयो ।

मदन भण्डारी मेमोरियल कलेजले आफ्नो वार्षिकोत्सवका अवसरमा एक शैक्षिक सत्रभरि विभिन्न शैक्षिक, अतिरिक्त क्रियाकलाप र खेलकुद कार्यक्रममा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्यो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य डा.बिमला राई पौडेल, त्रिभुवन विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष श्री चैतन्य शर्मा, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डिल्लीराम उप्रेती, विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव प्रा. डा. देवराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. यादवप्रकाश लामिछाने, राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल, त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा परियोजनाका संयोजक प्रा. शंकर प्रसाद भण्डारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा काठमाडौँ महानगरपालिका वडा नंबर १० का वडा अध्यक्ष रामकुमार केसीलगायतका अतिथिहरूको उपस्थिति थियो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Facebook Comments