परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्री केपी ओलीद्वारा पत्रकार सम्मेलनलाई सम्बोधनको पूर्ण पाठ

दस्तावेज (२०७६/०३/०३)

पत्रकार साथीहरू,

आज संसद्मा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार गरिएको छ । त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो । दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा जानकारी गराउने र दृष्टिकोणहरूबारे जानकारी गराउने काम हुन्छ । त्यो अभ्यास विपरित प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नु पर्छ भन्ने बालहठ लोकतन्त्रमा कही पनि हुँदैन ।

तर आज अगाडिदेखि तय भएको प्रधानमन्त्रीले ११ बजेदेखि सम्बोधन गर्ने पहिले नै तय हुँदाहुँदै आफूले पहिले बोल्न पाउनु पर्छ भनेर नेपाली कांग्रेसले आश्चर्य लाग्दो गरी अड्डी लियो । अड्डी मात्रै लिएन, प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर सदनको कामकारवाहीलाई अवरोध ग¥यो । विषय केही पनि थिएन । कुनै विषयमा मतभेद पनि होइन । तर, लोकतान्त्रिक अभ्यासमा बोल्न पर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले, त्यसपछि मर्यादा क्रमका व्यक्तिले बोल्ने कुरा विश्वव्यापी प्रचलन हो । त्यो जहाँ पनि हुन्छ । तर हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्य अन्तर्गत कांग्रेसका सभापति तथा लामो समयदेखिका मेरा मित्र अनि लामै समय लोकतान्त्रिक आन्दोलनमा साथ दिएका मित्र शेरबहादुर देउवा आफैँ नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैले बोल्न पाउनु पर्छ भनेर वेल घेर्ने कामको नेतृत्व गरेर अगाडि जानु भयो ।

आश्चर्यचकित भएँ म । उहाँलाई संसदीय मर्यादा त्यति थाहा हुनुपर्ने । जे होस् सदन अवरुद्ध भयो ।

तर यसको अर्थ यो होइन कि सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर बोल्न खोजेको होइन । सदनमा जो असंसदीय गतिविधि भयो, अमर्यादित क्रियाकलाप भए– त्यसतर्फ ध्यानकर्षण गर्न खोजेको हूँ ।

सदनमा बोल्नुपर्ने कुरा समयक्रममा फेरि बोलिने नै छ । तर म स्मरण गर्छु, हामीले धेरै लामो बलिदानपूर्ण संघर्षबाट आजको अवस्था ल्याएका हौं । तर आज लोकतन्त्र विरुद्ध, गणतन्त्र विरुद्ध, संघीयता विरुद्ध अथवा जनताको शासनका विरुद्ध, जनताको सार्वभौमसत्ता विरुद्ध, लोकतान्त्रिक प्रणाली र अभ्यास विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी देखा परेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध विभिन्न प्रकारका तत्वहरु, घोर दक्षिणदेखि घोर बामसम्म, अति बामउग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी समूह एकजुट भएको अवस्था छ । यो कुराप्रति सजग हुनुपर्ने लोकतान्त्रिक शक्तिहरुका बीचमा एकता हुनुपर्नेमा भएन । त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चर्य लाग्छ ।

००७ सालको आन्दोलन पछि साथ लिएर मिलेर चल्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिलेर चल्ने गलत नीतिको कारणले संविधान बन्न लामो समय लाग्यो र उपयुक्त संविधान पनि बन्न सकेन ।

००७ सालपछि त्यही नीतिको कारणले, प्रतिक्रियावादीसँग मिल्ने कारणले र प्रगतिशील शक्तिहरुलाई देखि नसहने कारणले, जनपक्षीय शक्तिलाई देखिनसहने कारणले०१७ साल जस्तो घटना भयो । परिस्थिति यस्तो भयो कि त्यस्तो प्रतिगामी घटना हुँदा पनि एकता गर्न मानिएन । लोकतन्त्र पक्षधर शक्ति तानाशाहीका विरुद्ध लडौं भन्ने प्रस्ताव पनि मानिएन । लोकतन्त्रको आवरणभित्र एउटा प्रतिक्रियावादी प्रतिगामी संकीर्णवादी विचित्रको चरित्र त्यो रहेको छ ।

पछिल्लो समय लोकतान्त्रिक शक्तिहरु एकजुट भएर लड्यौं । उपलब्धिहरु हासिल ग¥यौं । तर लोकतान्त्रिक शक्तिहरुको एकता भएर उपलब्धी हासिल गर्ने भनेको फलानो सरकारमा रहनुपर्ने, फलानोले नै सरकार सञ्चालन गर्नुपर्ने, अरु प्रतिपक्षमा रहनुपर्ने र पछाडि हुनपर्ने, जनताले अभिमत पनि दिन नपनुपर्ने होइन । आफूभन्दा अरु जनताको अभिमतबाट आउँछन् भने लोकतान्त्रिक शक्तिले स्वीकार्नुपर्दछ । लोकतन्त्र भनेको त्यही हो । आफूभन्दा अरु आएकोलाई पनि स्वीकार्नुपर्दछ ।

आफू आए ठीक र आफू नआए बेठीक भन्दै चल्न नदिने हो भने लोकतन्त्र चल्दैन । आज जुन प्रवृति देखा परिरहेको छ, त्यसले लोकतान्त्रिक अभ्यास अगाडि जान सक्दैन । यो बहुतै गम्भीर खालको अवस्था हो । त्यसकारण म सबैलाई भन्न चाहन्छु–यत्रो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व र कर्तव्य हो ।

अहिलेको सरकार देशप्रति, देशको सार्वभौमसत्ताप्रति, स्वाधीनता, स्वतन्त्रताप्रति, भौगोलिक अखण्डताप्रति, राष्ट्रिय हितप्रति र स्वाभिमानहरुप्रति अत्यन्तै सजग छ, दृढ छ, यो इतिहासले प्रमाणित गरेको छ । यो भनिएको मात्रै कुरा होइन, गरिएको काम हो, राखिएको अडान हो ।

अहिलेको सरकार लोकतान्त्रिक मूल्य मान्यताहरुका निम्ति, अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर त्यस परिस्थितिको प्रयोग गरेर आएको होइन । अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनको लामो श्रृंखलामा अग्रभागमा रहेर बलिदानपूर्ण संघर्ष गरेर आएको हो र लोकतन्त्रका मूल्य मान्यताहरु स्थापित गरेको हो । संविधान लेखेर आएको हो ।

यो पार्टी अचानक फुत्त कतैबाट निस्किएर कुनै एउटा सेनसेसनलवाला केही नारा दिएर सरकारमा पुगेको होइन । अझ यो बहुतै लामो संघर्ष र उतार चढावहरुबाट आएको र लोकतन्त्रको रक्षाका निम्ति प्रतिबद्ध सरकार हो । लोकतन्त्र प्रणाली मात्रै होइन, लोकतान्त्रिक प्रक्रियाको पनि र लोकतन्त्रमा स्वतन्त्रताका हकहरु, मौलिक हकहरुप्रति सरकार सजग छ । प्रेस स्वतन्त्रता, मर्यादित प्रेस, जिम्मेवार प्रेस, स्वतन्त्र प्रेस यसका उद्देश्य हुन् र मानव अधिकारप्रति सरकार प्रतिबद्ध छ ।

विकासका प्रयासहरुमा यो सरकार वातावरण र अन्य पक्षहरु, दूरगामी अर्थ, महत्व र बहुआयामिक पक्षहरुमा ध्यान दिएर चल्छ । यो सरकार देश बनाउने अभिभारा बोकेर अभियानमा संलग्न छ । त्यसै कारण यसले साम्प्रदायिक विद्वेष भड्काउन खोज्दा त्यस्ता कुराहरुका पछाडि लागेन । यसले सामाजिक न्याय र समानतामा आधारित सामाजिक सदभावमा आधारित राष्ट्रिय एकतामा सदैव जोड दियो र फेरि पनि सामाजिक सदभावमा आधारित राष्ट्रिय एकतामा जोड दिन्छ । सामाजिक न्याय र समानतामा जोड दिन्छ ।

यस सरकारले स्वाभाविक रुपमा शान्ति, स्थिरता, स्थायीत्वको पक्ष लिन्छ । ती कामहरु यसले गर्छ र समृद्धिको काममा यो लागेको छ । आज केही तत्वहरु आत्तिएको देखिन्छ, समृद्धि कामलाई यस सरकारले अगाडि बढाउने भयो भनेर । म दृढता साथ भन्न चाहन्छु– समृद्धिका कामहरु अगाडि बढ्नेछन् र बढाइने छ । समृद्धिको यात्रा रोकिँदैन । सुशासन र विकास आजको मूल मन्त्र हो र त्यसलाई साकार पार्दै यो सरकार अगाडि बढ्छ ।

यस बीचमा म युरोप गएँ । युरोपमा आई एल ओ को सतवार्षिकी, सतवार्षिक समारोह लगायत अक्सफोर्ड विश्वविद्यालय त्यसै गरेर बेलायतको औपचारिक भ्रमण, प्रधानमन्त्रीजीसँगको दुईपक्षीय वार्ता, राजकुमार ह्यारीसँग भेटघाट, विपक्षी दलका नेतासँगको भेटघाट, सर्वपक्षीय पार्लियामेन्ट्री ग्रुपसँग भेटघाट, गोर्खा ब्रिगेड र उहाँहरुको स्थलगत सेन्टर्स भन्ने ठाउँमा निरीक्षण लगायत र त्यहाँका व्यापारिक समुदाय समेतसँग व्यापक रुपमा भेटघाट र छलफल गरियो । नेपाली समुदायसँग पनि ब्यापक रुपमा भेटभाट गरियो ।

यसबाट हाम्रो नेपाल र ब्रिटेन दुई देशको बीचको दुई सय तीन वर्ष पुरानो सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरिएको छ । पारस्परिक हितको विषयमा बहुतै मैत्रिपूर्ण वातावरणमा कुरा गरिएको छ र विभिन्न पक्षमा पार्लियामेन्ट्री, प्रतिपक्षीय, सरकार पक्षीय समेत व्यापारीक लगानीकर्ताहरु, अनेक पक्षहरुसँग पनि कुराकानी भएको छ । त्यसले नेपालको प्रभाव, प्रतिष्ठा बढाउने काम गरेको छ । अक्सफोर्डमा सम्बोधन गरिएको छ ।

त्यो हाम्रा विचारहरु एकैचोटी ४०÷४५ लाख भ्यूअर्सले एकै चोटी हेरेको हामीलाई बताइएको थियो । मैले बोलिरहेको बेला पनि ४० लाखको संख्यामा भ्यूअर्स पुगेको जानकारी गराइएको थियो । त्यो ठाउँमा हामीले नेपालका उपलब्धिहरु, नेपालका आवश्यकताहरु, नेपालको अवस्था र नेपाल कता जान चाहन्छ ? नेपाल कसरी अगाडि बढ्न चाहन्छ ? नेपालका आंकाक्षाहरु पनि बतायौँ ।

त्यसै गरेर फ्रान्समा प्रधानमन्त्रीय टोली, पार्लियामेन्ट्री कमिटीका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख लगायतसँग भेटघाट भयो र खास गरी प्रधानमन्त्रीसँग दुईपक्षीय हितका विषयमा कुराकानी भए । त्यहाँका व्यापारिक समुदायसँग छलफलहरु भए र छुट्टाछुट्टै विभिन्न व्यापारिक कम्पनीहरुसँग छुट्टाछुट्टै रुपमा कुराकानी भयो र उहाँहरुलाई नेपालमा लगानीका लागि आमन्त्रण गर्ने काम भयो ।

त्यसै गरेर जेनेभामा आई.एल.ओ.को साईडलाइनमा पनि र औपचारिक ठाउँहरुमा पनि हामीले टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री, स्विजरल्याण्डका पूर्व राष्ट्रपतिसँग समेत ग¥यौँ र अरु संक्षिप्त भेटघाटहरु राष्ट्रसंघका महासभाका अध्यक्ष, दक्षिण अफ्रिका राष्ट्रपति लगायतसँग पनि भयो । नेपालका बारेमा राम्ररी हामीले ध्यानाकर्षण गरायौँ र नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा भूमिकालाई विस्तार गर्ने काम गरेका छौँ ।

त्यस कारण सात दिनको भ्रमण राम्रो भएको छ । यसले ती देशसँगको सम्बन्ध तथा युएनसँगको सम्बन्ध, दक्षिण अफ्रिकासँगको सम्बन्ध, नर्वेसँगको सम्बन्ध, टर्कीसँगको सम्बन्धलाई पनि अगाडि बढाउने काम गरेका छौँ । आई.एल.ओ.मा हाम्रा देशको उपलब्धिको बारेमा, मजदुर आन्दोलनको बारेमा, मजदुरहरुले प्राप्त गरेका सफलताको बारेमा, मजदुर आन्दोलनका उपलब्धिहरुका बारेमा र हामीले तयार गरेका कानुनहरुका बारेमा प्रस्तुत ग¥यौँ । त्यहाँ हाम्रो लिडिङ्ग भूमिका रह्यो ।

म बाहिर गएपछि देश भित्र केही तनाव बढाउने प्रयास भएछन् । खास गरी गुठी सम्बन्धी विधेयकको कुरालाई लिएर । गुठी सम्बन्धी विधेयक ०३३ सालमा बनेको हो र गुठी संस्थानले राम्ररी काम गर्न सकेन भनेर गुठीयारहरुबाटै आवाज उठेको हो ।

गुठी संस्थानका पदाधिकारीहरुबाट उपयुक्त ढंगले काम भएन भनेपछि पुनर्गठन गर्न चाह्यौँ । पुनर्गठन गर्न खोज्दा सम्मानित अदालतबाट पुनस्र्थापित भएर उनीहरु फर्किए । त्यसपछि गुठी संस्थानले गुठीहरुको सुसञ्चालन गर्न सकेन । त्यसलाई सुसञ्चालन गर्ने गरी कसरी अगाडि बढ्ने भन्दा त्यसलाई प्राधिकरणको रुपमा लैजाने र त्यसलाई भंग गरेर अगाडि जाने भनियो । तर, भ्रमपूर्ण कुराहरु प्रचारमा गएको छ ।

हामीले सम्पदाहरुको, धरोहरहरूको, संस्कृतिको संरक्षण गर्न चाहेको हो । अहिले ल्याउन खोजेको विधेयक त्यही हो । त्यो संरक्षण गर्नका लागि हो । त्यसको दुरुपयोग नहोस् । त्यसका दुइटा पक्ष छन्– एउटा काठमाडौं भित्र बहाल, बैली, धार्मिक गुठी, निजी गुठी जहाँ विभिन्न समुदायले आफ्नाआफ्ना परिवार जस्तो गरेर गुठीहरु बनाएका छन् । त्यो हाम्रा परम्परा, संस्कृति, चाडहरुसँग र अनेक कुराहरुसँग जोडिएका छन् । तिनीहरुको सम्पत्तिको सुरक्षा पनि होस् र तिनीहरु हिनामिना नभइकन सञ्चालन हुन पाउन् । तिनको सम्पत्तिको सुरक्षा होस भन्नका निम्ति विधेयक हो ।

त्यो प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन । गुठी सञ्चालन गर्ने त्यस्तो व्यवस्था कतै छैन । गुठी सञ्चालन गर्ने भनेको होइन प्राधिकरणले । तर बहुतै भ्रमपूर्ण कुरा गरियो । म सम्झिन्छु कस्ता कस्ता मान्छेहरु छन् आन्दोलनमा त्यो भन्न चाहन्न । कति गुठीको माया गर्ने ? कति संस्कृतिको, कति परम्पराको ? माया गर्ने मान्छेहरु छन् । यसै देशमा मध्यरातमा क्रेन लिएर गएर सिँगै मुर्ति भक्तपुरको चोकैमा मर्काएको पनि सम्झना आउँछ ।

यस देशमा कति मुर्तिहरु हराए ? तिनीहरु हराउन नपाउन्, गायब हुन नपाउन्, हाम्रा धरोहर, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु सुरक्षित र संरक्षित हुन सकुन् । ०३३ सालमा गुठी संस्थान बनेपछि थुप्रै गुनासा पटकपटक आए । पहिले पनि आए, पछि पनि आए । ०३५ सालमा एउटा निर्देशिका जारी भयो । त्यस निर्देशिकाले दुई भागमा गुठीहरुलाई वर्गीकरण ग¥यो– राज गुठी र निजी गुठी । राज गुठीलाई चार भागमा वर्गीकरण ग¥यो र यसलाई यसरी चलाउने, यस्तो गर्ने, यो गर्ने त्यसका आफ्ना थितिहरु बने । तर पनि स्थिति उपयुक्त बनेन । पछि विभिन्न समयमा मस्यौदाहरु, कानूनहरु, विधेयकहरु प्रस्तुत भए ।
राष्ट्रिय सभामा प्रस्तुत भएको विधेयक संसद नै भंग भएको हुनाले छलफलमा अगाडि जान सकेन । अहिले पनि काठमाडौंको समस्या एउटा छ, बाहिरको समस्या एउटा छ । बाहिर गुठीहरुबाट, गुठीका नाममा जनता प्रताडित छन् । शोषणमा परेका छन्, शोषित भएका छन् । त्यसकारण ती ठाउँहरुको व्यवस्था गर्नु एउटा कुरा हो र काठमाडौंमा जुन ढंगले निजी गुठी सञ्चालनमा आएका छन् । ती निजी गुठी त्यसै गरी सञ्चालन सुरक्षित ढंगले हुनुपर्छ भन्ने नै हो ।

तर, कुरा मिसमास गरेर अत्यन्तै भ्रमपूर्ण ढंगले त्यसलाई उछालियो । घाँसको एउटा हरियो स्याउलो भित्र, हरेउ त एउटा नै हुन्थ्यो । डालो एउटा थियो । हजार वटा हरियो देखा पर्ने स्थिति बन्यो । त्यस कारण भर्खरै माननीय भूमिसुधार मन्त्रीले केही सरोकारवालासँग परामर्श गर्नुपर्ने, छलफल गर्नपर्ने, विज्ञहरुका पनि राय सुझावहरु लिन पर्ने देखिएको र यो भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र विरोधी शक्ति घुसेर, लोकतन्त्रका जरा काट्ने कैंचीहरु चलमलाउन थालेको देखेपछि उहाँले आफूले राष्ट्रिय सभामा पेस गरेको विधेयक केही समय अगाडि फिर्ता लिनु भयो भन्ने मैले सञ्चार माध्यमबाट भर्खरै थाहा पाएको थिएँ ।

मलाई लाग्छ माननिय मन्त्रीको डिसिजन वाइड डिसिजन हो । म त्यसलाई एकदम दृढ समर्थन गर्छु

अब यतिबेला देशवासी तमाम् दाजुभाइ दिदीबहिनीहरुले सोच्न पर्ने अवस्था आएको छ । कहिले एउटा विधेयक भन्यो माइतिघर मण्डला, कहिले अर्को विधेयक भन्यो माइतिघर मण्डला । विधेयकमा छलफल गर्न संसद छ नि । संसदमा छलफल गर्न सकिन्छ । राय सुझाव लिन सकिन्छ । सरोकारवालसँग कुरा गर्न सकिन्छ

सरोकारवालाहरुले हामीलाई भन्न सक्छन् । तर माइतीघर त साँच्चैको माइतीघर रहेछ । यताउती केही प¥यो कि गुरुरु कुदेर मलाई घरमा यस्तो गरे भनेर माइतीघर जाने ।

अब जसो गरे पनि अनवरत आन्दोलन । अब मैले अस्तिको दिन एयरपोर्टमा पनि भने, नेपालमा संघर्ष गरेर, बलिदान दिएर दुःख कष्ट बेहोरेर, लडाईं संघर्ष गरेर हामीले प्राप्त गरेको यो सफलता यस आन्दोलनबाट आएको अहिले लिडरसीप छ । अहिलेको लिडरसीप कुनै फरक ढंगबाट आएको लिडरसीप होइन । अहिलेको आन्दोलनबाट, विगतका आन्दोलनबाट आएको, आन्दोलनका उतारचढाव देखेको लिडरसीप छ ।

यतिबेला आन्दोलन गरिराख्नु पर्दैन । लोकतन्त्रमा संवादबाट सबै कुराको समाधान गर्न सकिन्छ । संवादबाट समाधानको बाटो उचित बाटो हो । द्वन्द्वग्रस्त ठाउँहरु, द्वन्द्वरत ठाउँहरु संवादबाट टुंगिन्छन् । लडाईं भइराखेको ठाउँमा संवादबाट टुंगिन्छ । हाम्रो देशमा पनि द्वन्द्व थियो, संवादबाट टुंगियो । लडाईंबाट टुंगिएन । संवादबाट टुंगियो । लडाईं संवादबाट टुंगिन्छ, वातचितबाट टुंगिन्छ भने सानातिना कुरा वातचितबाट नटुंगिने होइन । यो थाहा नभएको कुरा होइन कसैलाई । तर, आवेश, उत्तेजना फैलाएर वातावरण बिगारेर आफ्नो दुनो सोझाउन खोजे । त्यसका निम्ति सधै माइतीघर मण्डला, सधैँ सडक, सधँै सडक यो गरिरहनु पर्ने आवश्यकता छैन् ।

म फेरि पनि भन्छु, यो सरकार जनताको सरकार हो । जनताले चुनेको सरकार हो । जनताले जे भन्छन्, जनता जे चाहन्छन्, जनताको हित जे गर्दा हुन्छ, त्यही गर्छ यस सरकारले । देशको समृद्धि र विकास यसको अभिष्ट हो ।

तसर्थ म सबैलाई भन्न चाहन्छु, यस्ता कुराहरुमा लाग्न हँुदैन । यो लोकतन्त्र विरोधि गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, विकासका कामरुतर्फ सरकारलाई अगाडि बढ्न नदिने गतिविधि मान्य छैन । अनुचित, अवाञ्छित विरोधका स्वरहरु अनवरत केही कुराहरु वास्तवमा सामूहिक छ्रैनन्, समायानुकुल छैनन्, उपयुक्त र आवश्यक पनि छैनन् ।

जसका असन्तुष्टि छन् म आह्वान गर्न चाहन्छु, सबैलाई जे असन्तुष्टि छन्, जे मतभेद छन् आउनुस् बसौं छलफल गरौं । आफ्नै जिद्धि पूरा हुनुपर्ने कुरा त गर्न सकिँदैन् । छलफलबाट कुराहरु निस्किन्छन् । संवादका तरिका हुन्छन् । भनेजति सबै कुरा उचित छन् की छैनन् । देशलाई फाइदा हुने, जनतालाई फाइदा हुने, लोकतन्त्र सुदृढ हुने देश अगाडि बढ्ने काम गरौं । त्यसका निम्ति सरकार खुल्ला छ, तयार छ सदैव संवादका निम्ति, कुराकानीका निम्ति तयार छ । समस्या सुन्नका निम्ति, समाधान गर्नका लागि सरकार तयार छ ।

म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु, हामीले पटकपटक लडेर लोकतन्त्र ल्यायौं तर हामीलाई भड्काइ भड्काइकन, विथोली विथोलिकन फेरि वातावरण बिगारी बिगारीकन मौका पाउँदा पनि गुमाएका छौं ।

००७ सालको आन्दोलन सफल भयो तर त्यो आन्दोलनलाई थिगा्रउन कति वर्ष लाग्यो ? आठ वर्ष थिग्रन लाग्यो डेड दुई वर्षमा खत्तम भयो ।

राजनीतिक शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु, पटक पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदो¥याउँ ।

जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नु हाम्रो कर्तव्य हो । त्यस कुरामा ध्यान दिऔं । राजनीतिक शक्तिहरुलाई पनि म भन्न चाहन्छु, पार्टीहरुलाई पनि म भन्न चाहन्छु ।

जनतालाई म आग्रह गर्न चाहन्छु, हामीले लडेर, बलिदान दिएर ल्याएको हो  लोकतन्त्र । पछाडि बसेर प्रोभोक गर्ने तत्वहरुलाई कहिले पनि लाठी लाग्दैन् । ती प्रोभोक गरेर अघि नै छड्केका हुन्छन् । सर्वसाधरणलाई फसाइदिन्छन् । अनि पछि भन्छन्, नोक्सान भयो, क्षति भयो, के ग¥यो सरकारले ? फेरि गराउने तिनीहरुनै हुन् । यस्तो कुराबाट हामी अब पनि सजग नहुनु उचित हुँदैन । मेरो आग्रह यो छ ।

सञ्चार जगतलाई म भन्न चाहन्छु, सञ्चार लोकतन्त्रको एउटा पिलर हो । त्यसै कारण लोकतन्त्रलाई राज्यको चौथो अंग पनि भनिन्छ । तर आज हामी एउटा संक्रमणकालीन अवस्थामा छौं, संचार क्षेत्रमा । फेसबुकका सञ्चालकले फेसबुक पैदा गरेर गल्ती गरेकी के हो ? यसै भनेको होइन । मैले गल्ती गरे यसै भनेको होइन ।

हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैन् । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो । हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा, संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ । बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरआमालाई पनि तिमी, हजुरबाबुलाई पनि तिमी, यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृति भित्र पर्दैन ।

कतिलाई मन पर्दैन फेरि मैले भनेको कुरा । सबै समान हुन् भन्ने मात्रै पर्ला । सबै समान बोल्दा खेरी कुनै भाषा कस्तो हुन्छ, कुनै भाषामा जेन्डर छुट्टिएको हुँदैन । कुनै भाषामा आदरार्थी शब्द हुँदैन ।

भाषाको आफ्नो मर्म हुन्छ । हाम्रो भाषाको आफ्नै मर्म छ । त्यो मात्रै होइन, सामाजिक सञ्जालको अवस्था के छ ? र, सामाजिक सञ्जाललाई कुरो थापेर हाम्रा स्थापित सञ्चार माध्यमहरु पनि तिनलाई फलो गर्न तिर लाग्ने हो । भाषा, सभ्यता, शैली, बोलाई, चलाईमा भने हामी कस्तो समाज सिर्जना गछौं ?

त्यसकारण मेरो आग्रह छ, हामीले हाम्रो समाज निर्माण गर्ने हो । सार्वजनिक भएको कुराले अरुलाई पनि असर गरिराखेको हुन्छ । नयाँ पिंढीलाई, बालबालिकालाई बढी असर गरेको हुन्छ । यस कुरामा अलिक संवेदनशील हुनु पर्छ कि ?

मैले, केही आफूलाई विद्वान भन्नेहरुले बोलेको सुनेको छु, बोलेको सुन्दा सरम लाग्छ । सभ्यताका सीमाहरु हुन्छ, अचम्म लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ भित्र अमर्यादा, अभद्रता, साँस्कृतिक मूल्यहरुको अभाव देखिएको हुन्छ ।

त्यसकारण मेरो आग्रह यति मात्र हो, यो समाजमा म मात्र बाँच्नु पर्ने होइन । मैले मात्रै भविष्य र परिणाम भोग्नु पर्ने होइन ।

म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवारमा, समाजमा मर्यादित भएर बाँच्नु पर्छ । आफ्ना कुराहरु भनौं, ठीक छ । तर तथ्यपूर्ण, तर्कपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो ।

Facebook Comments