परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यो सरकारले तिमीलाई के गर्न रोक्यो ?

फुटानी

अहिले त हाम्रो भेडी गोठमा पनि नेट जोडेको छ । त्यो अनलाइन भन्नेको खबर त हाम्रो भेडाको थुम्मा जस्तो सिँधै हान्निएर मेरै मुवाइलमा आम्छ बाबै । अस्ति एउटा अनलाइनको खबर मज्जाले पढेँ । माथि ठूलो अक्षरमा बालुवाटारबाट माधव नेपाल रिसाएर प्रधानमन्त्रीलाई भेट्दै नभेटी हिँडेको कुरा लखेको थियो । डोल्मा पो भन्दै थी – त्यो हेडलाइन अरे । लेख्नु चाहिँ पत्रकार केटाले लेखेकै हो क्या मान्नुपर्छ । तर, मुलाङले पेटबोलीमा धोती खुस्काइहालेछ । अलिमाथि २५ मिनेट कुर्दा पनि भित्रबाट प्रधानमन्त्री ननिस्किएपछि रिसले हिँडेको लेख्यो; अलि तल चाहिँ प्रधानमन्त्री र माधव नेपालबीचको छलफलपछि मात्र प्रधानमन्त्रीले प्रचण्डसँग भेटे भनेर खुत्याइहालेछ । हाम्रो पत्रकारहरू भाँती नै पुराउँदैन क्या !

भ्रम फैलाउन पनि जान्नुपर्छ क्या । म पत्रकारको गुरु बनेको भए मुलाङलाई पीत पत्रकारिता गर्न मात्रै सिकाउने थिएँ । अर्कोले एउटामा धस्काए छ – पत्रकार ज्ञानेन्द्र शाहीलाई इटहरीको मेयरले नाकमा हिर्काएर घाइते बनाए, पुलिसले घाइतेलाई नै पक्राउ गरेछ भनेर । उफ… ! कन्त विजोग । कारण र काण्डहरू, इतिहास र समयहरू, पत्रकार र राजनीतिहरू, मेयर र पुलिसहरू एकै ठाउँ हालेर गिजोलेपछि कसलाई पत्याउने कसलाई नपत्याउने !

उता शहरीया, जान्ने-सुन्नेहर्लाई कस्को खुट्टा काट्ने र कस्लाई खुट्टा जोडिदिने भन्ने पिरलो छ । यता हाम्लाई भने कुबेलाको हिमपातले मार्छ कि भन्ने पिर । हावा, हुण्डरी, असिना पानीभन्दा पनि आफूलाई हिम पहिरोकै पिर ! पिर पनि गच्छे अनुसारको हुने । कसैलाई पार्टी नै सकियो भन्ने पिर, कसैलाई कुर्सी पाइनँ भन्ने पिर, कसैलाई जागिर जोगाउने पिर, कसैलाई सभापतिबाटै गलहत्याउँछन् कि भन्ने पिर, कसैलाई प्रधानमन्त्री बन्न पाइँन भन्ने पिर, कसैलाई पैसा छैन भन्ने पिर र कसैलाई कालोलाई सेतो कसरी बनाउने भन्ने पिर ।

आफू भने पिरसिर मारो गोली । काम कुरो एकातिर कुम्लो बोकी उपल्लो डोल्पातिर ।

पत्रकारहर्को बेजोड आन्दोलन चलेको छ शहरतिर, एफएमहर्ले फुकेको फुक्यै छ । आफू भने हावामा घुँयेत्रो हानेर बस्या छ । उहाँ भए यसो सघाईपघाई गर्ने थिएँ । मैले पनि त्यो विधेयक भन्नेको अस्ति जोडले विरोध गरें । यो डोल्माले पो “विधेयक” भनेको के हो थाहा छ ? कुन दफाले कहाँ तिमीलाई निचोरो ? “थाहा न पत्तो, उफ्रिन्छ झत्तो” भनेर झपारी । म त रिसले आँखा पनि देखिनँ । जानेको छु भन्दैमा प्याच्च प्याच्च बोल्छे । भन्दै थिई –  विधेयकमा अरु केही छैन २५ हजार देखि १० लाखसम्म जरीवाना हुनेछ भन्ने शब्दले पसिना छुटाएको हो । त्यो हटाइदिएपछि टन्टै साफ । मैले पनि भनी दिएत्र, “यो सरखार काम लाग्ने सरखार नै होइन । यसले राम्रो गरोस् कि नराम्रो गरोस्, विरोध गर्ने भनेपछि गर्ने हो” ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

यसपालि धेरै गाह्राे छ नेपालमा । त्यो एउटा ल्वाँठ ज्योतिषीले २०७६ साल जेठ २८ गतेसम्ममा आठ हेक्टरको भुकम्प जाने भनेर भविष्यवाणी गरेको थियोे । म पनि त्यही खालको राजनीति विश्लेषक पो त ! म ठोकेरै भन्छु, यो सरकारले त्यो विधेयक ल्याउनै सक्तैन । यदि ल्याइहाल्यो भने यो सरकार र नेकपा रहँदैन । हामी के हातमा दही जमार बस्छौं भन्ने ठानेको ? खै यो सरकार छ भन्नू मात्रै हो । अस्ति हाम्रो ठेउले पहिरोमा लडेर मरो । यो सरकारले सहिद घोषणा गरेर १० लाख पनि दिएन । हो म त बाकी राख्दिन । रिसले अाखाँ पनि देख्दिन । म काठमाडौं गएँ भने यो रडाको समाप्त पारिदिन्छु । यसलाई न भुङ्ग्रोको न तावाको बनाउन सकिनँ भने मेरो नाम गफाष्टक नै होइन । यस्तो पनि सरकार ! सरकार भनेको हाम्रो पालामा जस्तो हुनुपर्छ ।

आहा ! त्यस बेला मिलेर चिरिप्प पारियो । भुटेको मकै चवाए जस्तो मरक्क मरक्क पारियो । विधेयक, योजना, विकास, केजाती उजाती किन चाहियो अहिले । जनताको अधिकार खोसेर ! हेर्नोस् बोल्न, हिँड्न, उठ्न, बस्न, काम गरेर खान र रुन पनि दिँदैन भनेर उहिल्यै हाम्रो दाइले त भनेकै थियोे नि डोल्मा !
नापो तिम्रो दाइले । अहिले पनि डोकोमा पानी थापेर बसेको छ । जनताले खुट्टी देख्दै पत्यायौं भनिसके ऊ भने एउटा डेउडा र अर्को भजन भट्यार बसेको छ ।

लु भन बोल्न, लेख्न, हिँड्न, डुल्न कहाँ, कसलाई, कहिले, कहाँनेर रोक्यो ? फतफताएर यहाँ बस्ने होइन भेडा चराउन खुरुक्क जाऊ । प्रधानमन्त्री तिम्रो भेडा चराउन आइदिनुपर्ने ? विपक्षी दलको नेता जस्तो पाङदुरे कुरो गरेर नबस ।

डोल्माको अगाडि बोल्न नसके पनि “यो सरकारको उछितो काडेर यो डोलमासँग बदला लिन्छु” भन्ने सोच्दै लागें आफ्नो बाटो ।

Facebook Comments