परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पत्रकार त ह्वाँ ह्वाँ रुयो

फुटानी

अस्तिको दिन भिरघरे अातिदै अाएर बडो दुखको कुरो गरो । भित्रैबाट कोक्याएर, बाँउडिएर, बटारिएर, हुँडलिएर अाएको बह पोख्न अा`को रछ । यो देशको पीडा विचरा यही भिरघरेले बोकेको छ । राष्ट्रको चिन्ताले मान्छेलाई कसरी लपेट्छ भन्ने कुरा प्रष्ट पार्नु परो भने “नमुना यही हो भनेर” भिरघरेलाई देखाए पुग्छ । साँच्चै ध्यान दिएर उसको कुरा सुनेर विश्वास पनि गर्ने हो भने यो सरकार बनेपछि “नेपाल” नाम गरेको राष्ट्रमा तानाशाही शासन लागू भएको, जनताले बोल्न र हिड्न समेत नपाएको, विकासका काम सबै ठप्प भएको, जताततै भ्रष्टाचार मौलाएको, छाडातन्त्र व्याप्त भएको, जनताले काम गरि खान नपाएकोलगायत नकारात्मक काम जति यही सरकारले हुर्काएर बढाएको भनेर बुझ्न सकिन्छ । रेखोपाखो नबिराई भन्यो भिरघरेले । रुनु चाँई धन्न रुएन भिरघरे ।मैले पनि सहज पराले सोधेँ — होइन हाउ भिरघरे “तानाशाह” भनेकोचाँई के रछ हँ ! अनि विकासको काम चाँई कहाँ कहाँ ठप्प पारे छ ?

बोल्नु त बाठो छ नि मेरो भतिज भिरघरे । भन्यो उल्ले पनि –हौ काका तिमीलाई “तानाशाह” भनेको पनि थाहा छैन ? एकलौटी पार्टीको सरकारलाई तानाशाह भन्छ नि हौ । हेरन पहिला मिलेर सरकार बनाउँथ्यो, नौ नौ महिनामा सरकार फेरिन्थ्यो, रमिता हेरिन्थ्यो हेरत अहिले १५/१६ महिना भै सक्यौं हेर त त्यो के अरे त्यही ओलीको सरकार ! यस्तो पनि हुन्छ ? यसैलाई तानाशाही सरकार भन्छन् । अर्को विकासको कुरा, हाम्राे गाम घराँ विकास भ`रहुन्छर ! उहाँ विकास हुनु परेन उहाँ ! खै त उहाँ विकास भ`क‍ो ?

विकास त हुनु परो नि ! अनि अर्को कुरा नि काका जनतालाई बोल्न र लेख्न नदिने विधेयक ल्याउँदै छ भनेर पत्रकारहर्ले अान्दोलन गरि रा`छ । उनार्ले नै अान्दोलन गरेपछि हामीले होइन भनेर भन्न मिल्छ ? अब भ्रष्टाचारको कुरा ! अब त्यो त भ्रष्टाचारै हो नि । त्यो केरे उ… भ्रष्टाचार त गर्नै पाइँदैन नि । अब यसलाई भ्रष्टाचार नभने के भन्ने ? यस्ता धेरै कुरा छन् के काका तिमी बुझ्दैनौ । हेरन प्रधानमन्त्री ! अोली । म त गज्जव लाग्छ । हाम्रा कस्ता कस्ता नेता मन्त्री बन्न पा`का छैनन् केपी शर्मा ओली प्रधानमन्त्री ! जनताले जिताए भन्दैमा हुन्छ ? हामीले मान्नु पर्दैन ?

म त देखेको कुरो भन्ने हो । पत्रकारहरू रुएर चर्तीकला छ, पत्रकारहरू त्यसै रुन्छ ? छाती पिटिपिटी ह्वाँ… ह्वाँ…गरेर रुयो । काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने भने पछि ठेकेदारहरू बिच्किएको छ । यसो ठेकेदारहरूसँग मिलेर खाने मेलो पनि हराउला जस्तो छ । यसो जग्गा दलाली गरेर गाडी किन्ने, महल बनाउनेहर्लाई कित्ताकाट गर्न रोकेर अोठ-मुख सुकाई दियो । जताततै भत्को, बिग्रो सकियो काका सकियो । हाम्रा सरखारका पालामा कस्ता कस्ता काम भा`का थे । सम्झ्यो कि रिङ्टा लाग्छ ।

अच्चकाली नै गरि सक्यो । कररर दाह्राकिटेर टुप्पीबाट धुवाँ छुटार बस्नु परेको छ । हाम्रो बाउ प्रधानपञ्च हुदा यो गाउँको मान्छे चुइँक्क बोल्न सक्तैन थ्यो । अमममम अहिले त कस्तो छाडा…!  रोक्नु पर्दैन यो सरखारले ! ताप्लेजुङ कि के भन्ने जिल्लामाएउटा केटाले नौं जना मान्छे मारे छ । सरखार चैं के हेरेर बस्या थ्यो ! उता ओखलढुंगाको एउटा गाउँमा राष्ट्रपति अाउने भनेर अघिल्लो दिन सडक पिच गरे छ, भोलिपल्ट नै पिच त लातलुत पारे छ । त्यस्तो ठेकेदारलाई पाता कसेर … ! फेरि यस्तो बेला प्रतिपक्ष भन्ने चैं छाया सरकार पो गठन गरि बस्छ हौ । म त लाजले भुतुक्कै । प्रतिपक्ष पनि यति लुम्रे चैं हुन्छ भन्ने मलाई लागेको थिएन काका ।धाराप्रवाह दियो भिरघरेले । कठैबरा ! यस्ता त छन् सरकारको विरोध गर्ने मान्छे ! जनतालाई अाफ्नो पक्षमा पार्न प्रतिपक्षसँग न मुद्दा छ, न नारा छ, न सँगठन छनत अाफ्नै पार्टी भित्र मेलमिलाप छ । तैट म पनि भ्रममै थिएँ छु । अब प्रष्ट भन्न सकिन्छ कम्निस्टेहरूले अर्को २० वर्ष खाने भो ।

Facebook Comments