परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मानविकीमा माथापच्चिसी

शिक्षामा वहस

म मानविकीको शिक्षक हुँ । नेपालको एउटा विश्वविद्यालयमा भाषा, साहित्य र सञ्चारकला पढाउँछु । लगभग १९ वर्षअघि म शिक्षकको रूपमा प्रवेश गरेताका विश्वविद्यालय सानो थियो । यसमा विज्ञान, इन्जिनीयरिङ्ग र चिकित्साका विविध विषयहरूमा विशिष्टता हाँसिल गरेका मानिसहरूको भिडमा अल्पसंख्यामा रहेर काम गर्नुपर्दा मानविकी त्यसमाथि साहित्य पढेर ठूलै भूल गरिएछ जस्तो लागेको थियो । मानविकीका मानिसहरूलाई अगाडि बढ्न देशभित्रै  स्थापित बाटाहरू थिएनन् । अरू विधाका सहकर्मीहरूको आवतजावत, भ्रमण, विद्वत्‌वृत्तिको अवस्थै लोभलाग्दो थियो । हुन त प्रत्येक व्यक्तिका आफ्नै गुनासो थिए, आफ्नै पिडा । हामी त गुनासो केमा गर्ने, कोसँग गर्ने भन्ने पनि थाहा पाउँदैनथ्यौँ । अर्को विश्‍वविद्यालयका समकक्षी वा अग्रजहरूसँग कुरा गर्दा भनिदिन्थे, हेल्मेट भिरेर चारतिर दगुर्नुलाई स्वर्ग ठानेको भए गलत, कम्तिमा एउटा राम्रो प्रगति गरेको विश्वविद्यालयमा छौ, त्यसबाट आफ्नो व्यापकता खोज्ने प्रयास गर ।

अहिले मेरो विश्वविद्यालय आफैँमा सानो छैन ।  कम्तिमा सातवटा मूल विधाका संकायहरू छन्। थुप्रै एकल तथा अन्तरविषयात्मक शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् । म काम गर्ने केन्द्रीय हाता, धुलिखेलमा सानो ठाउँमा दर्जनौँ विधाका कार्यक्रम र मानिसहरू अँटाएका छन् । एकै ठाउँमा लामो समय विचरण गरेकोले होला हामी यहाँका सबैलाई आफू सानो पोखरीका ठूला माछा भएको अनुभव हुन्छ । फेरि खाँदिएर बसेर होला हाम्रो मन चाहिँ कहिल्यै ठूलो भएको छैन जस्तो लाग्छ । पोखरीमा जति ठाउँ आफ्नो भागमा छ, त्यसैमा कित्ता काट गरेर ‘म अरूभन्दा यसरी फरक छु’ भन्ने कुरा पुष्टि गर्न उद्यत छौँ दिनरात । भनाइको मतलब, हामी बीचको सहकार्य र अन्तर खुट्याउने माथापच्चिसीमा अल्झेको टड्कारो आभाष हुन्छ ।

मेरो परिवेशको वास्तविकताले समग्र प्राज्ञिक क्षेत्रको प्रतिनिधित्व गर्लाजस्तो त लाग्दैन । तर नेपालमा विभिन्न प्राज्ञिक क्षेत्रबीचको पूर्वाग्रहको प्रतिनिधि झल्को चाहिँ यसले दिन्छ नै ।  नेपाली प्राज्ञहरूबीचको छलफल हामी किन एक अर्काका हुन वा सहकार्य गर्न सक्दैनौँ भन्ने मान्यताबाट अभिप्रेरित छ भन्नुमा अत्योक्ति नहोला ।

समाजका लागि ज्ञानी, गुनी र सिर्जनशील व्यक्तिहरू तयार गर्ने मानविकी विधाको अधोगति के समग्र मानव विकासका लागि ठीक हो? समाजलाई सिप वा प्रविधि विज्ञान वा प्रविधि केन्द्रित विषयहरूले देलान्, तर ज्ञान, चेतना वा मार्गनिर्देशन कसले गर्ने ? भट्किएका नागरिकहरूलाई सुबाटोमा कसले लगाउने? यो माथापच्चिसी यस अर्थमा अत्यन्त सान्दर्भिक छ । यसमा अझ बढी कलम चल्नु आवश्यक छ ।

हामी धेरैले योग्य हुनु र शिक्षित हुनु बीचको अन्तरसम्म नबुझेर यस्तो परिस्थिति आएको हो कि ?  सामान्य कुरा हो, शैक्षिक योग्यता हुनु र शिक्षित हुनु अलग कुरा हुन् । कुनै एउटा विधामा हाँसिल गरेको उपाधीको माध्यमले कुनै पेसा वा जागिरमा प्रवेश गर्ने, सोसँग सम्बन्धित नयाँ अवसरहरूका लागि योग्य रहने, त्यसैबाट सम्पत्त्ति आर्जन गर्ने, स्वाधीन हुने, जीवन चलाउने आदि पक्षहरू शैक्षिक योग्यताका आयामहरू हुन् । उपाधीगत योग्यताको प्राथमिकता लिएको व्यक्तिले सिकाइका विविध पक्षहरूलाई नकारेको वा ध्यान नदिएको हुनसक्छ । अनि वातारवण नपाएर वा आफूमा चेतना नभएर अन्य विधाहरूप्रति आग्रह साँचेको हुनसक्छ ।

तर शिक्षित हुनुसँग वहुआयामिक चेतना, सामाजिक विषयका वहुअर्थी सम्भावनाहरूको स्वीकार, हरेक व्यक्तिका व्यापक सम्भावनाको पहिचानजस्ता पक्षहरू जोडिएका छन् । यसका साथै स्थापित विधाहरूको समयगत र स्थानगत सान्दर्भिकता, आफ्ना कमजोरीहरूको पहिचान, अरूका सबल पक्षहरूबाट सिक्ने तत्परता वा विशिष्टताभन्दा माथि उठेर समाजका अरू क्षेत्रहरूमा योगदान पुर्‍याउन सक्ने क्षमताको विकास आदि कुराहरू पनि शिक्षित हुनुका परिसूचकहरू हुन् ।

र हामीले खासै मतलब नराख्ने अर्को सवाल हो ‘विषय कि विधालाई महत्व दिने?  अनुभवको व्यापकतालाई हेर्दा विधाको गरिमासँग नै नजिकिनु ठीक हो ।  मैले पढेको विषय (साहित्य र सञ्चार) आफैँ एउटा स्थापित विधा हो । कुनै कालखण्डमा साहित्य र सञ्चारको संयोजनको नयाँ विधाको स्थापनामा लागेको थिएँ । तर अहिले म आफूलाई समग्र मानविकीको प्रतिनिधिको रूपमा चिनाउन खोजिरहेको छु । म अरू विधाहरूसँग जोडेर मानविकीको उत्थान र सुरक्षामा लागेको छु । मेरो सोच हो, रूखको सुरक्षा गरौं, गोडमेल गरौं, अनि हाँगबिंगा र फलफूलको सुरक्षा आफैँ हुन्छ । मानविकीलाई हुर्काऔं बदलिँदो समयसँग, त्यस अन्तर्गतका र जोडिएको विधाहरूको उत्थान आफैँ हुन्छ ।

मानविकीभित्र अरू सामाजिक वा मानवीय विषयको व्यापकता वा अरूभित्र मानविकीको सान्दर्भिकता जे भने पनि अहिले विश्वको उच्च शिक्षामा हुर्किँदै गरेको वहुविधात्मक संस्कार मेरो समूहले अंगालेको छ । समाजलाई ज्ञान र शिक्षा दिने, नैतिकता दिने, व्यक्तित्व निर्माण गरिदिने जिम्मा साधु-सन्त, धर्मगुरू, मोटिभेशन स्पीकरहरूले गरिरहेको परिप्रेक्ष्यमा मानविकीमै उच्च शिक्षा हाँसिल गरेकाहरू अल्मलिएर रुमल्लिएर अरू विधाहरूको थिचोमिचो वा प्रभावबाट लाटिएर रहनु मुनासिब छैन मेरो दृष्टिकोणमा ।

मानविकीले पढ्ने, सिक्ने, आलोचनात्मक ढंगले सोच्ने अनि अभिव्यक्तिका विविध रूपहरू सिर्जना गराउने पक्षलाई जोड दिन्छ । सिर्जना भनेको कथा, कविता, कला वा संगीतमात्र हुनु पर्दैन । समाजलाई दिशानिर्देश गर्ने सोच, दृष्टिकोण वा सिद्धान्तको प्रक्षेपण पनि सिर्जना हो । मानविकी शिक्षाले सामान्यत: कमसेकम एउटा व्यक्तिमा सोझोपनका कारण वेइमानहरूबाट नठगिने चेत, चन्चलेपन वा भावुकताका कारण हुन सक्ने दुर्घटना, हतारमा गरिने गलत निर्णय र चालिने अनैतिक कदमलाई पर्खेर सोच्ने (वा सोचेर पर्खिने) बानी विकास गरिदिन्छ । यत्ति गर्न सक्ने शिक्षक आजको समाजका लागि नायक नै बन्न सक्छ ।

अन्य आकर्षणहरू

फलको आशा पनि गर

हाम्रो आगत

दुई टुक्रा कविता

मेरो गाउँप्रति गीति समर्पण

गैर-भौगोलिक माहोलबाट

मानविकीभित्रका मानिसहरूका बारेमा अरू विधाका केही मानिसहरूको सामान्यतया सतही बुझाइ हुनेगर्छ। यी मानिसहरू आफूले पनि दश अथवा बाह्र कक्षासम्म व्याकरणका नियमहरू घोकेको र केही साहित्यक कृतिहरूको सामान्य परिचय लिएर जेनतेन परीक्षा पास गरेको धङ्धङीका आधारमा मानविकी भनेको त्यही व्याकरण, सानातिना कथा र कवितामा हराएर, रटाएर पेट पाल्ने विधाका रूपमा लिन्छन् । वास्तवमा हामीकहाँ प्राय: छलफल नै हुँदैन कि कुनै एक वा दुई विधाले मात्र मानव विकास, सामाजिक र मनोवैज्ञानिक उत्थानको व्यापक आवश्यकतालाई धान्न सक्छ? भनिरहनु पर्दैन, सामान्यत: एउटा इतिहासकारको काम अर्थोपेडिक सर्जनले गर्दैन, न त अर्थोपेडिक सर्जनको काम भँगेरा विशिषज्ञले गर्छ । त्यसैगरी एउटा राजनीतिशास्त्रीको जिम्मेवारी भूगर्वशास्त्रीले लिँदैमा पूरा हुन्छ भन्ने छैन । वर्षौँ लगाएर स्थापना गरिएका हुन्छन् विधाहरू । आफू एउटा विधागत सुरूङ्गमा छिरेर विशिष्टता हाँसिल गर्दै गर्दा अन्यत्र के भइराखेको हुन्छ थाहा हुँदैन । सुरूङबाट बाहिर निस्किँदाको अनुभव र योग्यताको आधारमा सर्वज्ञानी भएको दम्भ नगर्न सिकाउनु पर्छ उच्च शिक्षाले । आफूमा हुने कमीको स्वीकारोक्ति र अन्य विषयका मानिसहरूसँग सहकार्य र सहअध्ययन गर्ने तत्परता नै वहुविधात्मक सोच हो । मानविकीप्रतिको चेतना त्यहाँबाटै शुरू हुन्छ ।

मलाई लाग्छ, वर्षौँ पढेर, साधना गरेर पनि म अपूरो छु । यो अरू शिक्षित मानिसहरूले पनि स्वीकार गर्नुपर्ने विषय हो । तर मेरो योगदानको व्यापकता पनि छ, अपरिहार्यता पनि छ । यो पनि विद्वानहरूले खुल्लमखुल्ला भनेर हिँड्नु पर्ने विषय हो । यसमा घमण्ड हुँदैन । म र मेरो विधागत समुदायले अरू विधाले गर्न नसक्ने र गर्न नभ्याउने काम नै गर्ने हो । हामीले आफ्नो क्षमता र अरूको सीमा वा अरूका क्षमता र आफ्ना सिमाहरूलाई बराबर बुझ्नुपर्छ ।

अहिले मानविकीका कार्यक्रमहरूको अस्तित्व सङ्कटमा परिरहेको व्यापक चर्चा छ । विश्‍वविद्यालयका कार्यक्रमहरूमा सङ्कट पर्नुलाई यो विधाको मर्म मरिसेको ठानिनु हुँदैन । कुनै विधाको सान्दर्भिकता मानव समाजमा अडेको हुन्छ । मात्र मर्मलाई व्यवहारमा उतार्ने खाँचो छ ।

तर शिक्षित हुनुसँग वहुआयामिक चेतना, सामाजिक विषयका वहुअर्थी सम्भावनाहरूको स्वीकार, हरेक व्यक्तिका व्यापक सम्भावनाको पहिचानजस्ता पक्षहरू जोडिएका छन् । यसका साथै स्थापित विधाहरूको समयगत र स्थानगत सान्दर्भिकता, आफ्ना कमजोरीहरूको पहिचान, अरूका सबल पक्षहरूबाट सिक्ने तत्परता वा विशिष्टताभन्दा माथि उठेर समाजका अरू क्षेत्रहरूमा योगदान पुर्‍याउन सक्ने क्षमताको विकास आदि कुराहरू पनि शिक्षित हुनुका परिसूचकहरू हुन् ।

अहिले सङ्कटमा परेको विधा इतिहासकै कुरा गरौँ । परिवर्तनहरू भइरहन्छन्, घटनाहरू घटिरहन्छन् । यसरी बनिरहेको हुन्छ मानव इतिहास । इतिहास बनिरहँदा इतिहास विधाको सान्दर्भिकता कसरी हरायो होला? इतिहासलाई वैज्ञानिक रूपले अभिलेखीकरण गर्ने मानिसको खाँचो पर्न थालेपछि यस विधाको सान्दर्भिकता आफैँ उजागर हुन जान्छ । समय पर्खनु पर्छ ।

मानविकीको सान्दर्भिकताको कुरा गर्दा यसरी पनि हेर्न सकिन्छ । समाजले त मागेकै छ नि मानविकीको योग्य स्नातक ।परिवारले आफ्नो लक्ष्यमा सफल भएको मात्र होइन, जिम्मेवार,चरित्रवान सन्तान पनि चाहेको छ ।असल र गुणी ज्वाइँ वा बुहारी खोजेको छ । मतदाताले जिम्मेवार, सत्यवान राजनेता मागेको छ । समाजले असल शिक्षक, कर्तव्यनिष्ठ चिकित्सक, नर्स र नैतिकवान इन्जिनीयर मागेको छ । असल श्रीमती वा श्रीमान मागेको छ । सुधारगृह वा सुधारक मागेको छ । परामर्शदाता मागेको छ । समग्रमा, परिवर्तन हाँक्न सक्ने सिर्जनशील अगुवा मागेको छ । समस्या यत्ति हो कि दिने वा उत्पादन गर्ने निकाय (विश्‍वविद्यालय) मा स्रोत र स्रोत उपयोग गरी जिम्मेवार बन्न तत्पर विद्यार्थी जमात पुगेको छैन । अनि त्यो निकाय पनि स्रोत र विद्यार्थी खोजी गर्ने जिम्मेवारीप्रति उदासीन भएको छ ।

मानविकी अन्तर्गतका विधाहरूको काम छैन, सान्दर्भिकता सकियो भन्ने औपचारिक वकालत भइरहेको पनि थाहा छैन । यस्तो वकालत गर्ने मुर्ख्याइँ कसैले पनि नर्गला । बरु उपयोगितावादी भिडले खुम्च्याइ दिएका संरचनाहरू कसरी उपयोगी बनाउने भन्नेतर्फ पहल नभएको चाहिँ हो । जसरी विज्ञान-प्रविधि अन्तर्गतका विज्ञहरू आ-आफ्ना विधाको उत्थानमा हौसिएका छन्, त्यही मात्रामा मानविकीभित्रका विज्ञहरू उदासीन छन् । विज्ञहरूमा आफ्नै विरासत टिक्छ कि टिक्दैन, टिकाउने कि नटिकाउने भन्ने विषयमा वहस चलाउने आत्मविश्‍वास समेत गुमिसकेको आभाष हुन्छ । मानविकी समुदायले आफ्नै सन्ततिमा विधाको बिँडो जिम्मा लाउने सम्भावना त झन् पूरै टरेर गएको देखिन्छ ।

तर समाजका लागि ज्ञानी, गुनी र सिर्जनशील व्यक्तिहरू तयार गर्ने विधाको अधोगति के समग्र मानव विकासका लागि ठीक हो? समाजलाई सिप वा प्रविधि विज्ञान वा प्रविधि केन्द्रित विषयहरूले देलान्, तर ज्ञान, चेतना वा मार्गनिर्देशन कसले गर्ने ? भट्किएका नागरिकहरूलाई सुबाटोमा कसले लगाउने? यो माथापच्चिसी यस अर्थमा अत्यन्त सान्दर्भिक छ । यसमा अझ बढी कलम चल्नु आवश्यक छ ।

Facebook Comments