परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपा निकट प्रेस संगठनको नेतृत्व हत्याउने रस्साकस्सी

काठमाडौं । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा छ । जनवर्गीय संगठनको एकीरण पनि टुंगो लाग्दैछ । ठीक यही बेला संगठनभित्रका केही नेताप्रति हिलो छ्याप्ने र चरित्र हत्या गर्नेसम्मका काम पनि हुन थालेका छन् । यसको तारोमा साविक एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसमेत परेका छन् ।

उनलाई चौतारीको आर्थिक हिसाब किताब पारदर्शी नगरेको र केही चरित्रगत लाञ्छनासमेत लगाई वेनामे उजुरी पार्टी नेतृत्वमा प¥याइएको भनिएको छ । संगठनका पदाधिकारीलाई समेत आश्चर्यचकित हुने गरी प्रहार गरिएको पनि पूर्व चौतारीको संस्थापन पक्षले महशुस गरेको छ । चौतारीका महासचिव राजेश राई, उपाध्यक्ष विश्वमणी सुवेदीसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले उजुरीमा उल्लेखित कुराहरु तथ्यहिन रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । महासचिव राईले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन, ‘हाम्रो प्रिय तथा गौरवमय संगठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतसँग जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यो नियोजित कर्म असाध्यै खेदजनक छ । विचारमा वा कार्यशैलीमा असहमत हुन सकिन्छ, सकिएला । तर त्यस विषयमा छलफल गर्ने थलो आन्तरिक बैठक हो । सबै साथीहरुलाई भ्रममा नपर्न आग्रह गर्दछु ।’

अर्का केन्द्रीय सदस्य रामेश्वर कार्कीले गुटगत स्वार्थ र चुनावमा पराजयपछिको पीडा उजुरीमा ओकलेको भनेका छन् । उनको स्टाटसलाई चौतारीका निर्वतमान अध्यक्ष राजेन्द्र अर्याललगायतले शेयर गरेका छन् । केन्द्रीय कमिटी सदस्य लगभग सवैजसो र देशभरका जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुले चरित्र हत्याबाट बिचलित नहुन भन्दै बस्नेतको प्रतिरक्षा गर्दै आरोप उठाउनेहरुबिरुद्ध खनिएका छन् । अर्थात बस्नेतसंग असहमत एउटा पक्ष बाहेक प्रेस चौतारीको सिंगो शक्ति उनकै पक्षमा रहेको पूर्व प्रेस चौतारी संस्थापन पक्षको दावी छ । प्रेस चौतारी र साविक माओवादी केन्द्र निकट पत्रकार संस्था प्रेस सेन्टर एकीकरण (मर्ज) भई बनेको प्रेस संगठन नेपालको नेता छान्ने बेलामा बस्नेतमाथि किन प्रहार भयो ? भन्ने प्रश्न सोचनीय बनेको छ । यो नतिजाका लागि संगठनभित्रको गुटगत अभ्यास प्रमुख जिम्मेवार देखिएको छ । जसमा निम्न अनुसारका छ वटा कारणहरु देखिएको पूर्व प्रेस चौतारी संस्थापन पक्षको निचोड रहेको छ ।

पहिलो कारण, शीर्ष नेतृत्वको पक्षधरता
चौतारी अध्यक्ष बस्नेत तिनै एक पत्रकार हुन, जो पार्टी संस्थापन र शीर्ष नेतृत्वको पक्षमा सदैव सक्रिय देखिन्छन् । उनले काम गरेको राजधानी दैनिक होस् वा सौर्य दैनिक वा जनता टाइम्स अनलाइन । सबैमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको छवी धुमिल पार्नेविरुद्ध तथ्यसहित भण्डाफोर गर्न सक्रिय देखिन्छ । नेतृत्वको रक्षामा अविचलित यात्रा उनको पत्रकारितामा देखिएको छ । पार्टी एकतापछि अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहितको विचार र एकताको पक्षमा दृढतापुर्वक समाचार, समाचार विश्लेषण लेख्ने गरेका छन् । पार्टी र सरकारको विपक्षमा लगाइने आरोपलाई उनले एकोहोरो प्रतिवाद गर्दै तथ्यले ती आरोप झुटो रहेको जनमानसमा पुर्याइरहेका छन् । यो कुरा ओलीको पक्षमा दृढतापूर्वक लागेको जो कतिपयलाई मन नपरेको हुन सक्छ । उनी नेकपा वृत्तमा ओली र राष्ट्रपति विद्या भण्डारी निकट भनेर चिनिन्छन् । उनी आवद्ध संस्थाले गरेको विचार र समाचारले पनि त्यही देखाउछ ।

दोस्रो कारण, संसदीय चुनावमा देखाएको सक्रियता
संघ, प्रदेश र स्थानीय तहको चुनावमा प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्षको रुपमा बस्नेतले खेलेको भमिका साँच्चै उल्लेखनीय रह्यो । चुनावमा पार्टीको पक्षमा सञ्चार प्रवाह गर्न केन्द्रीय निर्वाचन परिचालन कमिटीमा रहेर उनी अहोरात्र जुटे, जहाँ हालका अर्थमन्त्री डा. युवराज खतिवडा, ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, योजना आयोग उपाध्यक्ष डा. पुष्प कंडेल सहित थिए । उनले पार्टीको घोषणापत्र र मुख्य एजेण्डा जनमानसमा पर्याउन शीर्ष नेतृत्वलाई बेला–बेला सञ्चार भेटघाट गर्नेदेखि हरेक उम्मेदवारलाई चौतारीका एक पत्रकारलाई साथमा रहन अनिवार्य गराए । सञ्चारमा उनको रणनीति र सफलता कतिपयलाई पचेको थिएन ।

तेस्रो कारण, राष्ट्रपतिसँग अमेरिका भ्रमण
धेरैको रुची हुँदा पनि गत महिना राष्ट्रपति भण्डारीले गरेको अमेरिका भ्रमणमा बस्नेतसमेत पुगे । हुन त उनी भ्रमण दलमा सरकारी खर्चमा गएका होइनन, तर रिपोर्टिङ्गका लागि भनेर उनको अमेरिका भिसा लाग्यो । त्यहाँ पुगेर उनले भ्रमणको रिपोर्टिङ्ग सुन्तलित ढंगले गरे । शितल निवासको नजिक भन्दै उनलाई संगठनभित्र खेद्ने र नचाहिँदो आक्षेप थोपर्ने काम पनि भयो । राष्ट्रपति विरुद्ध नियोजित प्रचार गर्नेमाथि पनि बस्नेतले सदैव तथ्यसहित प्रतिवाद गरे ।

चौथो कारण, पत्रकार महासंघको चुनाव
उनी नेतृत्वमा रहेकै बेला पत्रकार महासंघको केन्द्र र प्रदेशको संरचनाको चुनाव भयो । केन्द्रको चुनाव हुँदा हालको माओवादी कांग्रेससँग मिलेको थियो । चौतारी एक्लै उठ्दा पनि केही सिट केन्द्रमा जित्यो । अध्यक्षमा तीर्थ कोइरालासहितका पदाधिकारीमा सन्तुलित भई उनले प्रोफेशनल पत्रकारलाई उम्मेद्वारका रुपमा अघि बढाएका थिए । गत वर्ष भएको प्रदेश चुनावमा माओवादीसहित मिल्दा प्राय सबैमा जित हासिल भयो । नेपाल प्रेस संगठन अघि साविक प्रेस चौतारी नेपाली पत्रकारहरुको ठूलो र बलियो संगठन बन्न सफल
भयो ।

पाँचौं कारण, प्रधानमन्त्री ओलीसँग शुभशंकर कँडेलको मित्रता
बस्नेतबिरुद्ध अभियान छेडनुमा अर्काे पनि कारण छ, पार्टी एकताका पहलकदमी लिएर ओली र प्रचण्डलाई मिलाउँदै पार्टी एकतामा सेतुको भुमिका खेलेका एबिसी टेलिभिजनका सञ्चालक, अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य शुभशंकर कँडेल । कँडेलले नै आफ्नो पुस्तकमा तात्कालीन एमालेका ओली निकट भनिने सबैसँग आग्रह गर्दा पनि समय नपाएपछि लगभग हरेश खाइसकेका बेला चौतारी अध्यक्ष बस्नेतकै पहलमा अध्यक्ष ओलीसंग भेट्ने समय मिलाएको र त्यो भेटपछि कँडेलको ओलीसँग घनिष्टता बढेको खुलासा गरेका छन् । जुन पुस्तक नेकपाको स्थापना दिवसको दिन २०७६ बैशाख ९ केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममै ओली र प्रचण्डले विमोचन गरेका थिए । तात्कालीन एमालेभित्र ओलीसँग कँडेलको दोस्ती कस्ले गरायो भन्दै खोज्दै हिडेको बेला बस्नेत नै ओलीसँग भेट गराउने पात्र रहनु र बोलचाल बन्द भएको अवस्थामा रहेका दुई नेताबीच घनिभुत वार्ता भई पार्टी एकता भएको तथ्य बाहिर आएपछि अव एकता गराउन लाग्ने बस्नेतलाई संगठनको नेतृत्वबाट रोकेर नेकपामा पार्टी एकताका पक्षधरलाई निराश पार्ने डिजाइन पनि बस्नेत विरुद्धको अभियानको लक्ष्य बन्यो ।

छैटौं कारण, अर्जुन गिरी प्रकरण र मिडिया काउन्सिल बिद्येयक
बस्नेतबिरुद्ध यतिबेला चरित्र हत्याको योजना अघि बढ्नुमा अर्को कारण पोखराका पत्रकार अर्जुन गिरीलाई प्रेस काउन्सिलकै सिफारिसमा “साइवर क्राइम” मा जेल पठाउने षडयन्त्र विरुद्ध उनी उभिनु पनि बन्यो । उनले काउन्सिलका नेतृत्व र केही प्रहरीको डिजाइनमा ओली सरकार बदनाम गराउन यो काम भयो भन्दै दृढ अडान राखे र भण्डाफोर पनि गरिदिए । यस्को वदला लिन अहिले बस्नेतमाथि त्यो समुह सक्रिया बन्यो । मिडिया काउन्सिल बिद्येयकका केही प्रावधान गलत रहेको र भविश्यमा पत्रकारलाई फसाउने अस्त्र रहेकोले संशोधन गर्नुपर्ने तर्क पनि बस्नेतले राखे । बस्नेतले सरकारको बिरुद्ध प्रेस भड्काउन मन्त्रालयको भूमिगत गिरोहले मन्त्रीलाई फसायो भन्ने अडान राखे । उनको यो अडानबाट ओली निकट र बस्नेतकै टीमका नेता रहेका सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई गणेशका विरुद्ध लगाउन सकिने मौका यही हो भन्दै ओली विरुद्ध अभियान छेड्नेहरु एकाएक सल्बलाएको एकथरिको विश्लेषण छ ।

पृष्ठभमिमा रहेका यस्तै कारणले चौतारीको आर्थिक हिसाबकिताब लगायत प्रश्न गणेशमाथि उठाइएको तर्क गर्नेहरु अहिले सामाजिक सञ्जालमा समेत भेटिएका छन् । नेकपाभित्र रहेका पत्रकाहरुको यही समूहले कहिले पूर्वअध्यक्ष गगन विष्ट, कहिले अर्का पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई विभिन्न नियुक्तिमा रोक्दै आएको पनि पूर्व चौतारी संस्थापन पक्षको निचोड छ ।

यता, आफूविरुद्ध ‘फेक उजुरी’ सार्वजनिक भएपछि अध्यक्ष बस्नेतले गत वर्षको जेठ ८ गते नै पार्टीलाई बुझाएको अडिट रिपोर्ट सार्वजनिक गरेका छन् । ११ वर्षदेखि नविकरण नभएको प्रेस चौतारीलाई नविकारण तथा आर्थिक हिसाब कितावको अडिट गराई केन्द्रीय लेखा आयोगलाई उनकै कार्यकालमा बुझाइएको थियो । संस्थालाई बलियो बनाउने र पार्टी एकता र सरकारको राम्रो कामको पक्षमा आफूलाई उभ्याउनु नै आफूविरुद्ध यस्तो आरोप लाग्नुको कारणका रुपमा वस्नेतले निश्कर्ष निकालेका छन । अहिले जनसंगठन एकताको अन्तिम समयमा चरित्र हत्या गर्ने काम हुनु उनलाई प्रेस संगन नेपालको नेतृत्वमा आउनबाट रोक्ने प्रयास भएको निश्कर्ष निकाल्दै पूर्व चौतारी संस्थापन पक्ष सम्वेदनशील बनेको छ ।

Facebook Comments