परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हेमराजका दुई कविता

१) चर्चामा नआएको पात्र

धरहरा ठडिएपछि
फेदबाट माथि हेर्ने पहिलो व्यक्तिले
भनेथ्यो होला दावीका साथ-

‘कसका लागि बनाको होला
यो सुइरोजस्तो घर,
मान्छे त खुस्केट नै हो भीमसेन!’

धरहराको टुप्पोमा पुगेर
वरपर हेर्ने पहिलो व्यक्तिले पनि
भनेथ्यो होला दावीका साथ-
‘वाह! क्यै नबुझी किन बनाउँथ्यो
यो सुइरोजस्तो घर,
मान्छे त वुद्धिमान् नै हो यो भीमसेन!’

भीमसेनको चर्चा खूब भयो
धरहराको चर्चा खूब भयो
दुबैको इतिहास लेखियो,
अझ दुई पटक भत्काइदिने
भुइँचालोको इतिहास लेखियो
ठीकै त थियो होला नि
त्यो खुस्केटु भन्ने व्यक्ति पनि,
न उसको कहिल्यै चर्चा भो
न इतिहास नै लेखियो !

 


२) ठूलो शहरभित्र

धुलो अँटेको छ,
धुवाँ अँटेको छ,
फोहोरको डङ्गुर अँटेको छ,
अन्न फल्ने जमिनमा
इट्टै-इट्टाको थुप्रो अँटेको छ
अँटेका छन्
धुलाम्मे हिलाम्मे बाटाहरू,
तिनै बाटामा अँटेका छन्
नयाँ पुराना गाडीहरू
त्यही डङ्गुरको आसपासमा,
त्यही इट्टाको जंगलभित्र,
तिनै बाटाहरूमा,
तिनै गाडीहरूमा,
अँटेका छन्
हजारौँ लाखौँ मानिसहरू

सरकार अँटेको छ
प्रतिपक्ष अँटेको छ
सत्याग्रह अँटेको छ
लोकतन्त्र अँटेको छ
माफियातन्त्र अँटेको छ
यस्ता धेरै कुरा अँटेका छन्

यो ठूलो शहरभित्र,
खास त अँटेका छन्
खाएर नअघाउने तनहरू
पाएर नरमाउने मनहरू !

Facebook Comments