परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

असिमित आम अपेक्षाको छायाँमा पुनर्निर्माणका उत्साहजनक उपलब्धी

पुनर्निर्माणका ४० महिना

काठमाडौं । २०७२ साल वैशाख १२ गते भूकम्प गएको चार वर्ष पुरा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको पनि साढे तीन वर्ष पुग्न लागेको छ । यस अवधिमा भुकम्प र परकम्पहरुले पु¥याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनामा हासिल भएका उपलब्धीहरु र वर्तमान अवस्थाका सम्बन्धमा जानकारी दिन प्राधिकरणले हालै पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पुनर्निर्माण र पुनस्र्थापनामा प्राधिकरणले भूकम्पपीडित व्यक्ति, स्थानीय समुदाय, नागरिक समाज, गैरसरकारी संस्था, विभिन्न संघ÷संस्था, अन्तर्राष्ट्रिय समुदाय एवं सरकारी निकायहरुसँग सहकार्य, समन्वय र सहजीकरण गर्दै आवश्यकता अनुसार उनीहरुलाई परिचालन गर्ने नीति अवलम्बन गरेको थियो । प्राधिकरणले अपनाएको यो शैली पुनर्निर्माण र पुस्र्थापना अभ्यासको मौलिक शैली भएको दावी गरेको छ ।

प्राधिकरणले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको बताएको छ । त्यसमध्ये निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा केन्द्र विन्दुमा राखेर काम गरिएको प्राधिकरणले जनाएको छ । निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दावी प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । त्यस्तै भूमिहीन, स्ववासी लगायतको समस्या पनि समाधान गर्दैछ । जनताबाट आएका अधिकांश गुनासो सम्बोधन गरिएको छ । अन्तिम पटकको गुनासो सुन्ने क्रममा स्थानीय तहसँगको समन्वयमा सर्वेक्षण पनि चालु छ ।

विद्यालय शिक्षामा पनि उल्लेख्य उपलब्धी हासिल गरेको प्राधिकरणले जनाएको छ । भूकम्पबाट ७,५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरिएको छ । जसमा ५९ प्रतिशत अर्थात ४,४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १,७७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल भएको छ । जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न गरिएको छ भने १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् ।

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धी हासिल भएको छ, जसमा २२४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । यसको कलात्मकताको जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग यसको सम्बन्ध लगायतका मुद्दाले सम्पदा पुनर्निर्माणको कार्य सबैभन्दा जटिल र धेरै समय लाग्ने हुन्छ । तैपनि पुनर्निर्माणका क्रममा उठेका मुद्दाहरुलाई सम्बोधन गर्दै रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको छ । गुम्बाहरु पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको छ ।

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१ वटा भवन पुनर्निर्माणको क्रममा छन् । यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी हासिल भएको छ । जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको पनि पुनर्निर्माण गर्ने÷गराउने कार्य भैरहेको छ ।

प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनलाई ठानेको छ । पुनर्निर्माणको प्रगति वित्तीय व्यवस्थापनमा निर्भर हुने स्थिति देखा परेको र यसका लागि अर्थमन्त्रालय र दातृ निकायहरुसँग सघन छलफलमा प्राधिकरण जुटेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अर्को संघीयताको कार्यान्वयनका क्रममा भएको कर्मचारी समायोजनले पुनर्निर्माणमा अनुभवी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउनु पर्दा पुनर्निर्माणमा असर परिरहेको छ । यसको व्यवस्थापन प्राधिकरणका लागि अर्काे प्रमुख चुनौती बन्न पुगेको छ ।

प्राधिकरण गठन तथा मुख्य घटनाक्रम
२०७२ पुस 
  • पुस ५ – भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ जारी ।
  • पुस १० – मन्त्रिपरिषद्द्वारा वरिष्ठ इन्जिनियर एवं सहरी योजनाविद् सुशील ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त ।
२०७२ माघ 
  • भूकम्प अति प्रभावित जिल्लाहरूमा भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत सङ्कलन कार्य दोलखाबाट सुरु ।
  • माघ २ – १९ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रत्नपार्कस्थित रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरी पुनर्निर्माण महाअभियान सुरु । प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा काठमाडौँ उपत्यकाको प्राचीन बस्ती बुङमतीको गुरुयोजना सार्वजनिक गरी निजी घर पुनर्निर्माणको शुभारम्भ ।
२०७२ फागुन 
  • निर्देशक समितिद्वारा राष्ट्रिय पुनर्निर्माण तथा पुनस्र्थापना नीति, २०७२ पारित । मन्त्रिपरिषद्द्वारा भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७२ पारित ।
  • उपत्यकाबाहेकका भूकम्प अति प्रभावित ११ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु । दोलखा जिल्लाको लादुक गाविस वडा नम्बर ८ का घर धनी जगतबहादुर खत्रीसँग पहिलो अनुदान सम्झौता ।
२०७२ चैत 
  • मन्त्रिपरिषद्द्वारा भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी नियमावली, २०७२ पारित । भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी कार्यविधि, २०७२ पारित ।
  • भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य अघि बढाउन सातवटा उपक्षेत्रीय कार्यालय खोल्ने प्राधिकरणको योजनाअनुसार दोलखाको चरिकोटमा पहिलो उपक्षेत्रीय कार्यालय स्थापना । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा प्राधिकरणको एक विशेष सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय ।
२०७३ वैशाख 
  • वैशाख १२ – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘ गोरखा भूकम्प’ एक वर्ष पुगेको स्मृतिमा के न्द्रविन्दु बारपाक पुगेर भूकम्प स्मृति उद्यान तथा बारपाक–४ का गोपाल बिकको घर शिलान्यास । प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा सिन्धुपाल्चोकको सदरम्ुकाम चौतारामा भूकम्पपीडित सर्वे तामाङको निजी आवास पुनर्निर्माणको शिलान्यास ।
  • वैशाख ३० – प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा राष्ट्रिय पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी पञ्चवर्षीय योजना सार्वजनिक गरी पुनर्निर्माणका लागि ५ वर्षमा ९ खर्ब रुपियाँ लाग्ने अनुमान प्रस्तुत ।
२०७३ जेठ
  • प्राधिकरणद्वारा ‘भूकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कार्यविधि, २०७२’ स्वीकृत । भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७२’ प्राधिकरणद्वारा पारित ।
  • संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनद्वारा टर्कीको इस्तानबुलमा आयोजित विश्व मानवीय सम्मेलनलाई सम्बोधन गर्दै भूकम्पबाट क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरूको पुनर्निर्माणमा संयुक्त राष्ट्र सङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त ।
२०७३ असार 
  • भूकम्पबाट आंशिक क्षति भएका घरम्र्मत सम्भार एवं प्रबलीकरण गर्न ५० हजार रुपियाँ उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने प्राधिकरणको निर्णय । पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि पारित ।
  • भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माण तथा पुनस्र्थापना गर्न आवश्यक जनशक्ति विकासका लागि व्यवस्थित र योजनाबद्ध रूपमा तालिम सञ्चालन गर्न प्राधिकरणद्वारा तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिका पारित ।
२०७३ साउन
  • प्राधिकरणद्वारा पुनर्निर्माणसम्बन्धी कार्यमा स्थानीय समुदायको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न ‘पुनर्निर्माण सामुदायिक समितिसम्बन्धी निर्देशिका, २०७३’ पारित ।
२०७३ भदौ 
  • भूकम्पपीडितलाई निजी आवास पुनर्निर्माणमा सरकारबाट दिइने अनुदान २ लाखबाट वृद्घि गरी ३ लाख रुपियाँ उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय ।
  • भूकम्पबाट क्षति भएको सुन्दरीजलस्थित बि.पी. सङ्ग्रहालय पुनर्निर्माण कार्यको पूर्वप्रधानमन्त्री एवं नेपाली कङ्ग्रेसका सभापति शेर बहादुर देउवाद्वारा शिलान्यास ।
२०७३ असोज
  • भूकम्पपीडितले घर पुनर्निर्माणका लागि पाउने अनुदान रकम पहिलो किस्तामा ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार रतेस्रो किस्ता १ लाख रुपियाँको हुने व्यवस्था ।
२०७३ कात्तिक
  • वैदेशिक सहायताद्वारा सञ्चालित पुनर्निर्माणसम्बन्धी कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू एवं नागरिक समाजबीच आवश्यक समन्वय र सहजीकरण गर्न÷गराउन प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अध्यक्षद्वारा विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन ।
  • भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, प्रबलीकरण वा मर्मत गर्न‘पर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउन ‘निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३’ पारित ।
२०७३ मङ्सिर 
  • प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा करिव २३ करोड रुपियाँ लागतमा पुनर्निर्माण भएको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपाको उद्घाटन
२०७३ पुस
  • सरकारद्वारा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाइ प्रा. डा. गोविन्दराज पोखरेललाई नियुक्त गर्ने निर्णय ।
  • कार्यकारी समितिको बैठकद्वारा विभिन्न विश्वविद्यालयअन्तर्गतका इन्जिनियरिङ सङ्काय÷कलेजमा सिभिल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई २०७३ माघ २१ देखि फागुन २० सम्म एक महिनाका लागि पुनर्निर्माण अभियानमा स्वयंसेवकका रूपमा खटाइदिने व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय ।
२०७३ माघ
  • झुटा विवरण पेश गरी लाभग्राही सूचीमा नाम समावेश भई निजी आवास पुनर्निर्माण सम्झौता गरेका व्यक्तिहरूलाई त्यसरी लिएको रकम फिर्ता गर्न आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गर्ने कार्यकारी समितिको निर्णय ।
२०७३ फागुन
  • कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) लाई एकीकृत बस्ती विकाससम्बन्धी काममा थप जागरण ल्याउन र प्रोत्साहित गर्न एकीकृत बस्ती निर्माण÷विकाससम्बन्धी सद्भावना दूत बनाउने कार्यकारी समितिको निर्णय ।
२०७३ चैत
  • सर्वेक्षण सम्पन्न भई पहिचान भएका भूकम्प प्रभावित १७ जिल्लाका लाभग्राहीहरूसँग अनुदान सम्झौता गरी अनुदान वितरण सुरु ।
  • जोखिमयुक्त बस्तीका बासिन्दा एवं घर÷परिवारको स्थानान्तरणसम्बन्धी आवश्यक व्यवस्था मिलाउन प्राधिकरणद्वारा ‘जोखिमयुक्त बस्ती स्थानानन्तरण तथा पुनस्र्थापनासम्बन्धी कार्यविधि, २०७३’ पारित ।
२०७४ वैशाख
  • आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र एवं सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरीक्षत स्थानमा सर्न चाहने भूकम्पपीडितलाई घडेरी जग्गा खरिद गर्न दुई लाख रुपियाँ उपलब्ध गराउने सम्बन्धी मापदण्ड तयार गर्न प्राधिकरणद्वारा कार्यटोली गठन ।
२०७४ जेठ
  • प्राधिकरणद्वारा ‘जोखिमयुक्त स्थानबाट सुरीक्षत स्थानमा सर्न चाहने भूकम्पपीडितलाई बसोबासयोग्य जग्गा खरिदसम्बन्धी मापदण्ड, २०७४’ पारित ।
  • प्राधिकरण कार्यकारी समितिद्वारा ‘न्यूनतम मापदण्डअनुरूप नबनेका गारो वाला भवनहरूका लागि सुधार तथा अपवाद मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ स्वीकृत ।
२०७४ असार 
  • पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७४ स्वीकृत ।
  • प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको दशौँ निर्देशक समितिको बैठकद्वारा आर्थिक वर्ष २०७४÷२०७५ का लागि १ खर्ब ४५ अर्ब ९३ करोड रुपियाँको बजेट स्वीकृत । निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरणमा समयसीमा तोकेर अभियान चलाउने निर्णय, भूकम्प कम प्रभावित १७ जिल्ला हेर्ने गरी थप आठ स्थानमा प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालय स्थापना गर्ने निर्णय ।
२०७४ साउन
  • चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराद्वारा चीन सरकारको सहयोगमा पुनर्निर्माण हुने वसन्तपुर दरबार क्षेत्रस्थित नौ तले दरबार पुनर्निर्माणको संयुक्त रूपमा शिलान्यास ।
  • स्वास्थ्य मन्त्रालयअन्तर्गत आयोजना समन्वय एकाइद्वारा प्रस्तावित ‘स्वास्थ्य भवन पुनर्निर्माण कार्यविधि, २०७४’ प्राधिकरण कार्यकारी समितिद्वारा स्वीकृत ।
२०७४ भदौ 
  • भूकम्प प्रभावित जिल्लाका पीडितहरूका लागि एकीकृत बस्ती विकास गर्ने सम्बन्धमा तर्ज‘मा गरिएको ‘एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७४’ प्राधिकरणद्वारा स्वीकृत ।
२०७४ कात्तिक
  • प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले दिएको राजीनामा मन्त्रिपरिषद्द्वारा स्वीकृत । नेपाल सरकारका पूर्वसचिव युवराज भुसाललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त ।
२०७४ मङ्सिर 
  • हरेक वडामा एकजना प्राविधिक जनशक्ति पु¥याउने लक्ष्यअनुसार प्राधिकरणद्वारा नयाँ नियुक्त ११०० भन्दा बढी इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियर लाई भूकम्प प्रभावित सम्पूर्ण जिल्लामा परिचालन ।
२०७४ माघ
  • प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकद्वारा पहिलो किस्ता लिएका लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने अवधि २०७४ चैत मसान्तसम्म कायम ।
२०७४ फागुन
  • गोरखा र नुवाकोटमा निजी आवास पुनर्निर्माणमा सामाजिक–प्राविधिक सहयोगका लागि भारत सरकार, युएनडिपी र युएनओपिएसबीच छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर ।
२०७४ चैत
  • प्राधिकरणको परामर्श परिषद्को तेस्रो बैठकद्वारा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने संसद् सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तका आधारम १४ जना सदस्य मनोनीत गर्दै परिषद्लाई पूर्णता ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, निर्देशक समितिको बैठकद्वारा पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै निजी आवास पुनर्निर्माणलाई जोड दिने निर्णय । केन्द्रीय एवं जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइको मौजुदा सङ्गठनमा फेरबदल गरी नयाँ संरचना पारित ।
  • २०७५ वैशाख
  • पुनर्निर्माणमा प्रदेश सरकार र प्रदेश सभा सदस्यहरूलाई जानकारी तथा सहभागी गराउने उद्देश्यले प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना ।
२०७५ जेठ
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि टेन्डर आह्वान ।
२०७५ असार 
  • प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा वसन्तपुर दरबार क्षेत्रमा रहेको पुनर्निर्मित गद्दी बैठकको उद्घाटन । अमेरिकाको एम्बासडर्स फन्ड फरकल्चर ल प्रिजर्भे सनको आर्थिक सहयोगमा पुनर्निर्माण ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको बिदाइ ।
२०७५ साउन
  • पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको अनुदान रकममध्ये पहिलो किस्ताबापत २ अर्ब १० करोड ४३ लाख रुपियाँ अर्थ मन्त्रालयमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई हस्तान्तरण ।
  • मन्त्रिपरिषद् बैठकद्वारा सुशील ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त ।
२०७५ भदौ 
  • कार्यकारी समितिको बैठकद्वारा काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र रामेछापका गरी पाँचवटा नयाँ बस्ती बनाउने योजना स्वीकृत ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकद्वारा निजी आवास पुनर्निर्माणलगायतका विभिन्न कार्यहरू स्थानीय तहलाई जिम्मा दिने निर्णय ।
  • काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठक । २०७६ साल असारभित्र पहिलो तला निर्माण गरिसक्ने निर्णय ।
  • प्राधिकरण कार्यकारी समितिको बैठक । खोकना, बुङमती, साँखु, किलागल जस्ता बस्तीहरूको मौलिक स्वरूप यथावत् राख्ने गरी पुनर्निर्माण गर्ने निर्णय ।
  • पुनर्निर्माण भएका निजी घर हरूको ५ वर्षका लागि रु.५ लाखसम्मको बीमा गर्नका लागि ५० प्रतिशत सम्बन्धित घर धनी र ५० प्रतिशत सरकारले आर्थिक दायित्व वहन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा ले खी पठाउने निर्णय ।
२०७५ असोज
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको ८ औंँ बैठक सम्पन्न । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा पुनर्निर्माणमा भएको प्रगति अवस्था र भावी कार्ययोजना प्रस्तुत ।
  • सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी । तीन लाख रुपियाँको निजी आवास पुनर्निर्माण सहुलियत कर्जा उपलब्ध गराउने निर्णय ।
  • प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट । राष्ट्रपति भवन नभत्काउने निर्णय ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठक । ओखलढुङ्गाको फुयाँल गाउँ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको भ्याडीटोलस्थित माझी गाउँ, सिन्धुपाल्चोककै गिरानचौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौँको शङ्करापुर नगरपालिकास्थित पुखुलाछीको सिर्जनशील एकीकृत बस्ती विकासको योजना स्वीकृत ।
  • प्राधिकरण कार्यकारी समितिको बैठक । पुनर्निर्माण र पुनस्र्थापनाका लागि गैरसरकारी संस्था परिचालन सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७५ स्वीकृत ।
२०७५ कात्तिक
  • धरहराको पुनर्निर्माण सुरु ।
  • संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागबीच बैठक । रानीपोखरीको बालगोपालेश्वरम्न्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठक । ९९ घर÷परिवार सम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय ।
  • प्राधिकरण कार्यकारी समितिको बैठक । छुट तथा पुनःजाँच सर्वे क्षण कार्यविधि, २०७५ स्वीकृति । भूकम्पबाट प्रभावित निजी आवास अनुदान वितरण (दोस्रो संशोधन) कार्यविधि, २०७५ स्वीकृतिका लागि मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय । निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण (दोस्रो संशोधन) कार्यविधि, २०७५ स्वीकृत ।
२०७५ मङ्सिर 
  • पुनर्निर्माणसम्बन्धी कार्यजिम्मेवारी र अधिकार स्थानीय तहलाई हस्तान्तरणका लागि काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर लगायतका नौ वटा जिल्लामा पुनर्निर्माण प्राधिकरण र स्थानीय तहहरूबीच समझदारीपत्रमा हस्ताक्षर ।
  • सङ्घीय संसद्को विकास तथा प्रविधि समितिको बैठक । गुनासो सम्बोधनलगायतका कार्य गर्न निर्देशन ।
२०७५ पुस
  • नुवाकोटस्थित विदुर नगरपालिकाको ढुङ्गेनटारम प्राधिकरण र इसिमोडको नेतृत्व र विभिन्न सङ्घ÷संस्था र स्थानीय समुदायको सहभागितामा पुनर्निर्माण भएका ९० घर ढुङ्गेनटार पुनर्निर्माण समाजलाई हस्तान्तरण ।
  • काठमाडौँमा पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक । पुनर्निर्माणसम्बन्धी स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरणका लागि पुनर्निर्माण प्राधिकरण र स्थानीय तहहरूबीच समझदारीपत्रमा हस्ताक्षर ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पत्रकार सम्मेलन । निजी आवास पुनर्निर्माणमा ७०, विद्यालयमा ८०, सरकारी भवनमा ९५ प्रतिशत प्रगति भएको विवरण सार्वजनिक ।
  • प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा ऐतिहासिक धरहरा पुनर्निर्माणको शिलान्यास ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठक । भूकम्पबाट प्रभावित गुम्बा, बिहारतथा स्तूपाहरूको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ पारित ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठक । दुई वर्षभित्र पुनर्निर्माणका कामहरू सक्ने गरी योजना बनाउन प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा निर्देशन ।
२०७५ माघ
  • प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा पाटन दरबार क्षेत्रमा पुनर्निर्माण भएका र हुँदै गरेका सम्पदाहरूको अवलोकन ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति १४औँ बैठक । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कार्यहरू दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी लक्ष्य र कार्ययोजना प्रस्तुत ।
  • मन्त्रिपरिषद्को बैठकद्वारा रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरूको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय ।
  • मन्त्रिपरिषद्को बैठकद्वारा निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिमा दोस्रो संशो धन । निजी आवास पुनर्निर्माण अनुदान प्राप्त गर्ने प्रक्रिया थप सरलीकृत ।
  • काठमाडौँ दरबार क्षेत्र बसन्तपुरीस्थत काष्ठमण्डपको चारवटा मूल थाम ठड्याउने कार्यको शुभारम्भ ।
  • २०७५ फागुन
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत् गर्न जनप्रतिनिधिहरू, स्थानीय समुदाय र जापान सरकार सहमत ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण कार्य सुरु ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा पुनर्निर्माण हुँदै गरेको नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण ।
२०७५ चैत्र
  • निजी आवास अनुदानको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियरमर्फत् छुट तथा पुनः जाँच सर्वेक्षण सुरु ।
  • संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा सिंहदरबारको पश्चिम भागलाई रेट्रो फिटिङ गरेर संरक्षण गर्ने जानकारी ।
  • राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा रसुवा जिल्लाको विभिन्न जोखिमपूर्ण बस्तीबाट विस्थापित एक सय नौ भूकम्प पीडितलाई सुरक्षित स्थानमा आवास पुनर्निर्माण गर्न खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहित सरकारी उच्चस्तरीय टोलीद्वारा अरनिको राजमार्गको निरीक्षण । दुई महिनाभित्र तातोपानी नाका पुनः सञ्चालन हुने जानकारी ।

 

Facebook Comments