परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

त्यो अङ्कमाल

कसैले कसैलाई सुनाएछ – ‘मित्र वाचनालयलाई त्यस ठाउँबाट हटाउने प्रयास भइरहेको छ !’ यो कुरो कुन अवस्थामा, कहाँ, कसले, कसलाई, किन सुनाएको हो, हामीलाई केही पनि थाहा थिएन । तैपनि हल्लैहल्लामा त्यो कुरो हाम्रो कानमा प¥यो । जुन कुरा हामी सुन्नै चाहँदैनथ्यौँ, त्यही कुरा सुन्नु परेपछि हामी आक्रोशित भयौँ । तुरुन्तै वाचनालयको कार्यकारिणी समितिको बैठक बोलायौँ । बैठक पुस्तिकामा सर्वसम्मतिमा लेखियो – ‘मित्र वाचनालय पुरानो र ऐतिहासिक पुस्तकालय हो । यो पुस्तकालय जुनसुकै परिस्थितिमा यथास्थानमा रहने छ । कसैले षडयन्त्रपूर्वक वाचनालयलाई यस स्थानबाट हटाउने प्रयास ग¥यो भने त्यसका विरुद्ध कडा प्रतिवाद गर्न वाचनालय परिवार तयार छ । परिआएमा वाचनालयका साधारण सदस्य र स्थानीय शुभेच्छुकहरूलाई समेत प्रतिरोधमा उत्रिन कार्यकारिणी समितिले आह्वान गर्नेछ ।’

बैठकले यस्तो निर्णयसँगै पहिलो पटक सम्बद्ध पक्षसँग कडा ढंगले कुरा गर्न हेमराज शाक्य र मलाई जिम्मा दियो । नजिकै घर भएका हेमराज शाक्य मित्र वाचनालयका अध्यक्ष थिए र म सचिव थिएँ । त्यसै दिन बेलुका हामी पशुपति क्याम्पसका क्याम्पस प्रमुखलाई भेट्न भनेर मित्र वाचनालय रहेको सोही भवनको भित्र छि¥यौँ । भित्रको हलको एउटा कुनामा दुब्लापातला,झ्याम्म दारी पालेका र ठाडो पारेर नेपाली टोपी लगाएका एकजना व्यक्ति झोक्राएर बसिरहेका थिए । उनको टेबलको बीचमा एउटा नेमप्लेट थियो । त्यसमा लेखिएको थियो – ‘वसन्तकुमार शम्र्मा नेपाल, क्याम्पस प्रमुख !’
हामी सरासर त्यतैतिर लाग्यौँ । हामी ज्यादै रिसाएका थियौँ । त्यसैले नमस्कार पनि गरेनौँ । अगाडि पुग्न नपाउँदै हेमराज शाक्यले अलि रूखोे पारामा सोधिहाले – ‘तपाईँहरू मित्र वाचनालयलाई यहाँबाट हटाउन खोज्दै हुनुहुन्छ रे हो ? ’

क्याम्पस प्रमुख वसन्तकुमार शम्र्मा नेपालले पुलुक्क हामीतिर हेरे र भने – ‘के कुरा गर्न खोज्नुभएको हो, मैले बुझिनँ ।’
‘तपाईँहरू मित्र वाचनालयलाई यहाँबाट हटाउन खोज्दै हुनुहुन्छ रे । हामी त्यसो गर्न दिँदैनौँ । त्यही कुरा सुनाउन भनेर हामी आएका हौँ ।’ मैले कुरा स्पष्ट पारेँ ।

‘लौ, के भन्या त्यस्तो, हामीले किन मित्र वाचनालयलाई यहाँबाट हटाउने ? यहाँको यति पुरानो वाचनालयलाई हामीले किन हटाउनु ? त्यसमाथि हाम्रो क्याम्पसको पुस्तकालय छैन । हाम्रा विद्यार्थीले मित्र वाचनालयलाई नै आफ्नो क्याम्पसको पुस्तकालय ठानेर पत्रपत्रिका र पुस्तक पढ्न पाएका छन् । यो वाचनालय यहाँ हुनु हाम्रा लागि समेत खुशीको कुरा भएको छ । हामीले नै किन हटाउनु ?’
‘ हामीले त तापईँहरूले हटाउँदै हुनुहुन्छ भन्ने कुरा सुनेका छौँ ।’ हेमराजले भने
‘तपाईँहरूले हटाउने तयारी गरिसक्नु भयो रे भन्ने सुनेर हामी आएका हौँ ।’ मैले थपेँ ।
वसन्तर सर एकछिन चुप लागे र भने – ‘कहाँ, कसले भन्यो तपाईँहरूलाई यो कुरा ? यदि हाम्रो क्याम्पस परिवारमध्येकै कसैले भनेको हो भने म त्यसको तुरुन्तै जागिर खाइदिन्छु । त्यसको नाम भन्नोस् ?’

हामीलाई कसैले भनेको थिएन, हल्ला सुनेर नै हामी त्यसको प्रतिवाद गरिरहेका थियौँ । कसले भन्यो भन्ने कुराको जवाफ हामीसँग थिएन । त्यसैले मैले भने – ‘बाहिरी हल्ला त्यस्तै छ ।’

वसन्त सर कुर्सीबाट उठे र हाम्रो नजिक आएर भने – ‘हल्ला त केके हुन्छहुन्छ । हल्लाको पछि नलाग्नोस् । यो क्याम्पसको क्याम्पस प्रमुख म हुँ । म आफैँ मित्र वाचनालयलाई यहाँबाट हटाउन चाहन्न । अरू कसैले चाहेको रहेछ भने पनि म आफैँ हटाउन दिन्न । तपाईँहरू ढुक्क हुनुहोस् । फेरि त्यस्तो हल्ला चल्यो भने हल्लाको पछि नलाग्नोस् । मसँग सीधै सम्पर्क गरेर कुरा बुझ्दा भैहाल्छ ।’

उनको जवाफले हामी निरुत्तर बन्यौँ । हावादारी हल्लाको पछाडि लागेर आफैँ लज्जित हुनुपरेको अनुभव हामीले ग¥यौँ । हामी केही नबोली फटाफट बाहिर निस्कियौँ ।
●●●
चावहिलको मित्रमण्डल भवन ! कुनै समय यस भवनमा बिहान, दिउँसो र बेलुका गरी तीन सत्रमा तीनवटा स्कूल सञ्चालन हुन्थे । पछि पशुपति क्याम्पस पनि यही भवनमा सञ्चानल भयो । पशुपति क्याम्पस आफ्नै नवनिर्मित भवनमा सरेपछि अहिले त्यस भवनमा पशुपति मित्र माध्यमिक विद्यालय मात्र सञ्चालनमा छ ।

मित्रमण्डल चावहिलको निकै पुरानो भवन हो । पहिले स्थानीय समुदायको निर्णयअनुसार सामुदायिक ढंगले सञ्चालनमा रहेको यो भवन अहिले पशुपति मित्र माध्यमिक विद्यालयको आफ्नै भवन बन्न पुगेजस्तो छ ।

‘नेपाली शब्दसागर’ प्रकाशित भएपछि त्यसको चर्चा पनि राम्रै भइरहेको थियो । त्यसको बिक्री पनि त्यत्तिकै थियो । वसन्त सर आफ्नो मिहिनेतबाट निकै खुशी देखिएका थिए । त्यही खुशीका बीच २०५८ सालको वैशाखतिरै हुनुपर्छ, उनलाई हृदयाघात भयो । डाक्टरले उनको अवस्था अत्यन्तै गम्भीर रहेको बताउँदा बताउँदै पनि उनी त्यस घातबाट उम्किन सफल भए । हामीलाई खुशी लाग्यो ।

त्यही भवनको अग्रभागको एउटा कोठामा थियो – मित्र वाचनालय । भन्नलाई वाचनालय भनेपनि वास्तवमा त्यो पुस्तकालय नै थियो । २००७ सालमा स्थापित त्यो वाचनालय काठमाडौँ उपत्यकाका पुराना पुस्तकालयहरूमध्येमा पथ्र्यो ।

नेपालमा राणाशासन समाप्त भएलगत्तै स्थानीय प्रजातन्त्रवादीहरूको सक्रियतामा स्थापित यस वाचनालयको सञ्चालनमा पछिल्लो समय स्थानीय वामपन्थीहरूको वर्चस्व रह्यो । खासगरी २०१७ सालपछि स्थानीय वामपन्थीहरूले त्यस वाचनालयको सञ्चालनमा विशेष चासो राखेका थिए । उनीहरूको त्यो चासोले २०५० सालसम्म काम गरेको थियो । त्यसपछि त्यस वाचनालयको सञ्चालनमा कोही अग्रसर भएन । एउटा ऐतिहासिक वाचनालय अवसानको स्थितिमा पुग्यो ।

म २०३५ सालमा मित्र वाचनालयको सदस्य बनेको थिएँ । २०३७ सालमा कार्यकारिणी समितिको सचिव बनेको थिएँ । ६ वर्षसम्म म सचिव भएरै वाचनालयको सञ्चालनमा संलग्न रहेँ । माथि उल्लेखित प्रसंग भने २०३८ सालको हो ।

वसन्तकुमार शम्र्मा नेपालले यसअघि आफ्नै सक्रियतामा नुवाकोटको त्रिशूलीमा बहुमुखी क्याम्पस खोलेका थिए । उक्त क्याम्पस स्थानीयको जिम्मा लगाएर उनी काठमाडौँको चावहिलमा पशुपति क्याम्पस खोल्न आइपुगेका थिए । पशुपति क्याम्पस २०३७÷०३८ सालमा चावहिलको मित्र वाचनालय रहेकै मित्रमण्डल भवनबाट सञ्चालनमा आएको थियो । पछि मित्रपार्कमा क्याम्पसको आफ्नै भवन बनेपछि त्यहाँबाट सरेको थियो । डिल्लीबजारस्थित कन्या क्याम्पसको स्थापना गर्नमा पनि वसन्त सरको अग्रसरता रहेको थियो । यसबाट शिक्षाको क्षेत्रमा उनले देखाएको सक्रियतालाई बुझ्न सकिन्छ ।
●●●
मित्र वाचनालय गर्मी समयमा बेलुका साढे पाँच बजेदेखि साढे सात बजेसम्म र जाडो बेलामा बेलुका साढे चार बजेदेखि साढे छ बजेसम्म खुल्ने गथ्र्यो । कार्यकारिणी समितिका सबैले पालैपालो वाचनालय खोल्नुपर्ने हुन्थ्यो । हप्तामा एकदिन एकजनाको पालो पथ्र्यो । मेरो पालो शुक््रmबार थियो । एकदिन म वाचनालय बन्द गरेर निस्किँदै थिएँ, वसन्त सर पनि क्याम्पसको आफ्नो कक्षबाट बाहिर निस्किए । भेट्ने बित्तिकै उनले मलाई एउटा पुस्तक दिए । पुस्तकको नाम थियो – ‘एक्काइस कथा’ । त्यो कथासंग्रह थियो । २०२१ सालमा प्रकाशित भएको रहेछ । मैले पढेँ र आफूलाई लागेको सामान्य तर सकारात्मक प्रतिक्रिया पनि जनाएँ ।

त्यसपछि उनले अर्को पुस्तक पढ्न दिए । त्यो नाटकको पुस्तक थियो । पुस्तकको नाम थियो – ‘युगको वारिस’ । म पनि नाटक लेख्ने भएकाले मेरो रुचिलाई हेरेर उनले त्यो पुस्तक एकप्रति मात्र बाँकी छ, पढेर फिर्ता गर्नु भनेर दिएका थिए । यही नै उनको पहिलो पुस्तक रहेछ । यसको प्रकाशन २००८ सालमै भएको रहेछ ।

केही दिनपछि उनले सोधे – ‘नाटक पढ्यौ त ?’
मैले नाटक पढिसकेको थिएँ तर प्रतिक्रिया दिन अप्ठ्यारो मानिरहेको थिएँ । तैपनि आफूलाई लागेको कुरा मैले भनेँ – ‘अरू त राम्रै छ तर नाटक अलि क्लिष्ट लाग्यो । नाटक अलि दार्शनिक पाराको हो कि जस्तो पनि लाग्छ, तर त्यो पनि स्पष्टसँग बुझ्न सकिएन ।’

मेरो प्रतिक्रिया सुनेर उनी रिसाउलान् जस्तो लागेको थियो तर रिसाएनन् । त्यसपछि भेट हुँदा उनी अझै बढी आत्मीय रूपमा प्रस्तुत हुन पुगे । उल्टै उनले २०२५ सालमा प्रकाशित उनको ‘हँसिला कथा’ पढ्न दिए । उनको स्वभावबाट म अझै प्रभावित बन्न पुगेँ ।

उनी नेपालीको ठूलै शब्दकोशको तयारीमा लागेको कुरा थाहा थियो । तर त्यो कहिले तयार हुन्छ र प्रकाशनमा आउँछ भन्ने कुरा उनले भनेका थिएनन् । २०५७ सालको चैत्र महिनाको अन्ततिर हुनुपर्छ । एकदिन चावहिल चोकबाट मैजुबहाल छिर्ने मुखमा उनीसँग भेट भयो । भेट हुने बित्तिकै उनले भने – ‘मैले तयार गरेको शब्दकोश पर्सि विमोचन गर्ने कार्यक्रम छ, आउनुपर्छ है ।’

म वसन्त सरले भनेअनुसार नै डिल्लीबजारस्थित कन्या क्याम्पसमा पुगेँ । मानिसको उपस्थिति खचाखच थियो । प्रमुख अतिथि रहेछन् – प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । वसन्तकुमार शम्र्मा नेपालले तयार गरेको ‘नेपाली शब्दसागर’ को विमोचन प्रधानमन्त्री कोइरालाले गरे । शब्दकोशको आकार–प्रकारबारे जानकारी पाउनुभन्दा अगाडि मलाई ‘शब्दसागर’ किन भनेको होला, ‘शब्दकोश’ नै भनेको भए भैहाल्थ्यो नि भन्ने लागेको थियो । नेपाली भाषाको सबैभन्दा ठूलो शब्दकोश ! झण्डै १ लाख ५० हजार मूल नेपाली शब्दहरू समेटिएको शब्दकोश ! त्यो बृहत् ग्रन्थ हेरिसकेपछि ‘शब्दकोश’ भन्दा पनि ‘शब्दसागर’ नै उपयुक्त शब्द लाग्यो मलाई ।

‘नेपाली शब्दसागर’ प्रकाशित भएपछि त्यसको चर्चा पनि राम्रै भइरहेको थियो । त्यसको बिक्री पनि त्यत्तिकै थियो । वसन्त सर आफ्नो मिहिनेतबाट निकै खुशी देखिएका थिए । त्यही खुशीका बीच २०५८ सालको वैशाखतिरै हुनुपर्छ, उनलाई हृदयाघात भयो । डाक्टरले उनको अवस्था अत्यन्तै गम्भीर रहेको बताउँदा बताउँदै पनि उनी त्यस घातबाट उम्किन सफल भए । हामीलाई खुशी लाग्यो ।

‘पेस मेकर’ मा जीवनलाई बचाउनु परे पनि उनको दिनचर्यामा त्यसपछि पनि उत्तिकै सक्रियता देखियो । उनका ठूल्ठूला योजना बाँकी नै थिए । ती योजनामध्ये उनको एउटा योजना थियो – नेपाली गद्य महाभारत तयार गर्ने । उनी अरू योजनासँगै त्यो योजनामा पनि लागे । २०६२ चैत्रदेखि २०६६ भाद्रसम्ममा उनको त्यो योजना पनि पूरा भयो ।

२०७० साल वैशाख महिनाको कुनै दिन । मैले वसन्त सरकै साइँला सुपुत्र अजय नेपालद्वारा चावहिलमै सञ्चालित भाभा पुस्तक भण्डारबाट ‘गद्य महाभारत’ का चार वटा ग्रन्थ किनेँ । कूल मूल्य ३ हजार १ सय ५० भए पनि अजयले मलाई २ हजार ७ सयमा ती ग्रन्थ दिएका थिए । तर ती ग्रन्थ बोक्ने झोलाचाहिँ अजयले राम्रो दिएनन् । म दुई हातमा सकिनसकी ती मोटामोटा चार वटा ग्रन्थ बोकेर मैजुबहालको बाटो हिँडिरहेको थिएँ, एक्कासि मेरो अगाडि वसन्त सर देखापरे । मेरा दुई हातमा उनकै चारवटा ग्रन्थ देखेपछि उनी निकै नै खुशी भए । सोच्दै नसोचेको कुरो – भावविभोर मुद्रामा उनले एक्कासि अँगालो हालेर अङ्कमाल गरे । म नतमस्तक बनेँ ।

●●●
नेपाली, संस्कृत, हिन्दी र नेवारी भाषामा राम्रो दक्षता राख्ने वसन्त सर राम्रा अनुवादक पनि थिए । उनले २०१० सालमै म्याक्सिम गोर्कीैको ‘आमा’ उपन्यासको अनुवादमा रूस सरकारबाट पुरस्कार प्राप्त गरेका थिए । उनले अनुवाद गरेर २०५७ सालमा प्रकाशित गरेको ‘आदिविद्रोही’ (स्पार्टकस) पढेपछि म उनको अनुवाद–क्षमताबाट प्रभावित भएको थिएँ ।

वसन्त सरसँग भेटघाट र कुराकानी भइरहन्थ्यो । उनी र हाम्रो टोल एउटै भएकाले टोलतिरै पनि भेटघाट भइरहन्थ्यो । हिँड्दाहिँद्दै सडकमै भेट भएपनि उनी उभिएर कुराकानी गर्थे । तर उनीसँग लामो कुराकानी भने कहिल्यै भएन । छोटो भेटमा छोटै कुराकानी हुन्थ्यो । तथापि, उनको ज्ञान, विद्वता र सरल व्यवहारलाई चिन्न छोटो समय पनि पर्याप्त हुन्थ्यो ।

धेरै नबोल्ने तर कुनै विषयवस्तुमा बोल्न थालेपछि विस्तारमा बोल्ने उनको स्वभाव आफ्नो विद्वताको प्रदर्शनमा रमाउने खालको थिएन । आफूलाई सामान्य रूपमा सोच्ने र सामान्य रूपमै प्रस्तुत गर्ने उनको स्वभाव प्रशंसनीय थियो ।

उनले धेरै विधामा लेखे । उनका कथा, निबन्ध, बालकथा, नाटक र खण्डकाव्य विधाका कृतिहरू प्रकाशित छन् । उनको शब्दकोश चर्चित नै रहेको छ । त्यसबाहेक संस्कृत र हिन्दीबाट उनले थुप्रै कृतिहरू अनुवाद गरे । उनका मौलिक र अनुवाद गरी पचासभन्दा बढी पुस्तक प्रकाशित छन् । ती पुस्तक उनको अध्ययन, ज्ञान, बौद्धिकता र सक्रियताका परिणाम हुन् ।

वि.सं. १९८४ चैत्रमा जन्मिएका वसन्तकुमार शम्र्मा नेपालको २०७६ वैशाख ७ गते निधन भयो । १९ वर्षसम्म ‘पेस मेकर’ मा समेत जीवनलाई अध्ययन र लेखनमा समर्पित गराउने वसन्त सरको योगदान जीवित छ । उनको त्यही जीवित योगदानकै कारण होला म आफ्नो कोठामा रहेका उनका गद्य महाभारतका ग्रन्थहरूतिर आँखा तानिरहेको छु र झल्झली सम्झिरहेछु – छ वर्षअघिको उही अङ्कमाल !

Facebook Comments