परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आम नेपालीमा प्रश्न गर्ने क्षमताको विकास कहिले होला ?

बैशाख ९ नेकपाले स्थापना दिवस मनाउँदैछ । नेपालमा विभिन्न कम्युनिष्ट पार्टीहरु छन, सबैले आफ्ना–आफ्ना तरिकाले स्थापना दिवस मनाउँदै होलान् । यो अवसरमा दलका शिर्ष नेताहरुले गर्ने ७० वर्षे समीक्षा र सर्वसाधारणले गर्ने समीक्षाको नतिजा एउटै होला ? राजकीय स्वरुपका ठूला संरचनामा आएको परिवर्तन बाहेक मसिनो गरी ग्रामीण क्षेत्रमा, मजदुरमा, महिलामा, किसानमा, दलितमा, मधेशी दलितमा, विकट पहाड र हिमाली क्षेत्रमा बस्नेहरुमा के फरक आएको छ भन्ने प्रश्न गर्ने समय आएको छ ।

राणा शासनको कालखण्डमा नेपालमा दुई वटा दल स्थापना भए । उनीहरुको उद्धेश्य देशलाई सामन्ती शोषणबाट मुक्त गरी जनवादी ब्यवस्था स्थापना गर्नु वामपन्थीहरुको उद्धेश्य थियो भने प्रजातान्त्रिक समाजवाद कायम गर्नु नेपाली कांग्रेसको उद्धेश्य थियो । यी दुवै दलले राजनैतिक स्वतन्त्रताका लागि लामो समय आन्दोलन गरिरहे । यी दलका अनेक नेता कार्यकर्ता थरिथरिका व्यक्तिगत र पारिवारिक समस्या भोग्दै समाजवाद वा जनबादका नाउमा आफूलाई उत्सर्ग गरिरहे । नेपाली कांग्रेसको शसस्त्र विद्रोह होस् वा कम्युनिष्टहरुको झापा विद्रोह, यी सबै असल नियतले गरिएका हिंसाहरु थिए । यसमा संलग्न हुनेले आफुलाई संभावित शहिदकै श्रेणीमा राखेर होमिएका थिए । कुनै दिन वालुवाटारको रजगज फेला पर्छ वा भ्रष्टाचारको मुद्धामा जेल जानु पर्छ भन्ने सोचेका थिएनन् । अर्थात “समाजवाद उन्मुख राज्यमा नेताको मात्र समृद्धि”को कल्पना गरिएको थिएन होला । अझै पनि देखिन्छ ती निर्दोष अनुहारहरु, जो सदासर्वदा उच्च आदर्शका लागि कुर्वान भए वा ज्यूँदै गुमनाम बनेका छन् । तर आन्दोलनका दौरानमा एउटा समूह छलछाम र लाटलुटमा संलग्न भयोे । दलको सत्ता, राज्यको सत्ता र सुविधाको सत्ताको स्वामित्व लिएर विगतका आदर्शहरुमा मजाक गर्न सफल भयो ।

यदि २०४६ साल पछिको समाजलाई नेपाली कांग्रेस र नेकपा एमालेले राम्रोसंग र इमान्दार ढंगले नेतृत्व गरेको भए आजकोे नेपालको तस्विर अर्कै हुने थियो । समाजवादी उत्पादन र न्यायोचित वितरणको बदलामा खुला बजारको दवदवा चल्यो । दलहरु केवल सत्ता, सत्ता र केबल सत्ताको एक सुत्रीय कार्यक्रममा ब्यस्त भए । सरकारी उद्योगधन्दालाई बलियो र नाफामा लैजाने भन्दा कौडीको दरमा बेचेर कमिसन खाने, भएका उद्योग बन्द गराउने, नेपाल वायु सेवा निगमलाई उठ्नै नसक्ने बनाउन। हरेक पटक जहाज भाडाका नाउमा थला पार्ने, त्रिभुवन विश्वविद्यालयलाई विद्वानहरुको केन्द्र होइन, आफ्ना मान्छेको भर्ती केन्द्रमा परिणत गर्ने काम भए । सत्ता स्वार्थका लागि गर्न नहुने सारा काम भए भने देश र जनताको आम विकासका लागि कुनै महत्वपूर्ण कार्य हुन सकेनन् । किनकी दल र राजनीति दुषित भएका थिए ।

आज नेपाली समाज भाँड्ने प्रयत्न पनि हँुदैछ । दलका नाउँमा, दलका गुटका नाउँमा र अरु यस्तै यस्तै नाउँमा । यसो गर्दा सत्तालाई चैन हुन्छ । अनि मनपरी गर्न सजिलो । कांग्रेस विग्रदा पनि देशले दुख पायो । कम्युनिष्ट विग्रदा पनि देशले दुख पाउँछ । कुनै पनि दल विग्रदा वा उनीहरु गलत मार्गमा जादा दुःख पाउने सर्व साधारण नै हुन ।

अहिले पनि समाजमा केही पढालेखा हौँ भन्नेहरुले राजनीतिसंग सरोकार छैन, मतलब छैन भनेको सुनिन्छ । उनीहरुको अदना कुरा सुन्दा हाँसो लाग्छ । राजनीति दुषित भयो भने के हुन्छ भन्ने कुरा नेपालीहरुले २०४८ सालदेखि आजसम्म भोग्दै आएका छौ । देश किन बनेन् भन्ने प्रश्नको उत्तर खोज्ने हो भने भेटिने एउटै उत्तर हो राजनीति गलत भयो, यसको कारण राजनीति गर्ने वा चलाउनेहरु अधिकाशं लोभीपापी भए । त्यसैले हामी कमजोर भयौ । देश विकासको साधन केवल पैसा मात्र हुँदो हो त काठमाण्डौमा रहेका ती तमाम मन्दिरहरुको निर्माण पैसाले मात्र बनेका होलान ? जो आज हामीले भूकम्पले विगार्दा ३ बर्षमा पनि बनाउन सकेका छैनौँ । जमीन माथि गर्ने निर्माण त छाडौ, जमिन मुनि बनाउने पोखरी समेत बनाउन नसकेर रानी पोखरीमा केही महिना अगाडि युवाहरुले फुटवल खेलेर विरोध देखाएका थिए । रानी पोखरीमा इटाको पर्खाल लगाउने पैसा पनि नभएकै हो त ? कि राजनीतिको अर्जुन दृष्टि अन्यत्रै छ ? जनता भन्दा पर पुगेको राजनीतिले, आदर्श र त्याग भन्दा पद, प्रतिष्ठा र अनुचित आयमा चुर्लुम्म डुबेको राजनीतिले गर्ने सामान्यतया यस्तै हो । त्यसैले राजनीति सच्याउन निरन्तर दवाव दिनै पर्दछ ।

धेरै परको कुरा नगरौ, एनसेलको लाभकर प्रकरणमा देशका पूर्व प्रधानमन्त्री, अर्थमन्त्री र तात्कालीन प्रधानमन्त्री एवं अर्थ मन्त्री किन बोलेनन भनेर हामीले जवाफ नै खोजेनौँ । अरवौं रकम हिनामिनामा हुँदा तत्कालीन नेकपा एमाले, माओवादी र नेपाली कांग्रेसको केन्द्रीय निकायले छलफल गरे कि गरेनन् सर्वंसाधारण थाहासम्म पनि भएन । सानातिना विषयमा सडक अवरुद्ध गर्ने तरुण दल, नेविसंघ, दुवै अखिल र युवा संघले आ–आफ्ना दल र सरकारलाई दवाव दिन सडकमा ओर्लिएर आएको सुन्न देख्न पाइएन । बरु दलका सत्ताहरुले एनसेल ठगीका विरुद्ध माइतिघर मण्डलामा धर्ना र प्रदर्शन गर्ने नेता कार्यकर्ताको मजाक उडाउने काम गरिरह्यो । कर उठाउने दायित्व बोकेका अर्थमन्त्रीहरुले मुखमा दही जमाएर बसे । यो परिणाम राजनीति बिगे्रकै कारण हो । केही पूर्व प्रशासकहरुले देशको ब्रह्म लुट हेर्न नसकेका कारण ठुलो भागबण्डा रोकियो । कसैले भन्न सक्छ त्यो रकममा हाम्रा दलहरुका शिर्ष नेताहरुको भागबण्डा थिएन भनेर ?

आज नेपाली समाज भाँड्ने प्रयत्न पनि हँुदैछ । दलका नाउँमा, दलका गुटका नाउँमा र अरु यस्तै यस्तै नाउँमा । यसो गर्दा सत्तालाई चैन हुन्छ । अनि मनपरी गर्न सजिलो । कांग्रेस विग्रदा पनि देशले दुख पायो । कम्युनिष्ट विग्रदा पनि देशले दुख पाउँछ । कुनै पनि दल विग्रदा वा उनीहरु गलत मार्गमा जादा दुःख पाउने सर्व साधारण नै हुन । म संलग्न भएको अमुक दल राम्रो भए हुन्छ अरु जे सुकै गरुन भन्नेहरुले विप्लबको सास्ती नभोगेका होलान ? त्यसैले राजनीति सुधार्न र दलहरुलाई सही बाटोमा हिडाउन सबैले दवाव दिनै पर्छ । नत्र हामै्र भाग्यमा “गिर खेलाउने” कार्यलाई हामी निरन्तर दवाव दिइरहेका हुनेछौँ ।

अहिले नेपाली युवाहरुमा भारतीय उम्मेदवार कन्हैया कुमारको उन्माद बढेको देखिन्छ । उनले आफ्ना हरेक चुनावी भाषणमा गरेको मुख्य कुरा सरकारसंग प्रश्न सोध भन्ने नै हो । विकास किन भएन सरकारसंग प्रश्न गर । बजेट आउँछ निर्माण किन हुदैन सरकारसंग प्रश्न गर । हामीले किन नगर्ने ? सरकार वाइड बडी के हो ? किन जहाज उड्दैन ? विना योजना जहाज किनेर घाटा पार्नेहरुलाई किन कार्यवाही हुदैन ? ठूला खोलाहरु चुपचाप वा विना प्रतिस्पर्धा बाँडचुँडको नियत के हो ? ठूला काण्ड र घोटालाहरुमा सबै दल चुप बस्ने, तिनका भातृ संगठनहरुले थाहै नपाए झै गर्ने चालवाजी किन हो ? किनकी संविधानमा समाजवाद उन्मुख भनिए पनि ब्यवहारमा हामी अनुचित लाभका लागि केही नभए जस्तै, केही नसुने जस्तै र केही नदेखे जस्तै गरिरहेका छांै ।

हिजो राजनीति विग्रेका कारण माओवादी, कांग्रेस र एमालेका केही नेताहरुले मति विगारेका कारण खिलराज रेग्मी र लोकमान उदाए । अख्तियार जस्तो निकायलाई नेपालको एक नम्बर भ्रष्टाचारी निकाय बनाउन राजनीति बिगारेका यी तीनवटा दलकै भरपुर योगदान रह्यो । कता कता दशा विग्रेर होला अख्तियारका एकजना आयुक्त कार्यवाहीमा पर्ने जस्तो देखाइएको छ । तर सबै दलका शिर्षहरु लोकमानको बारेमा बोल्न चाहाँदैनन् । कारण यिनै नेताहरुलाई थाहा हुनुपर्छ । कुनै दलको भातृ संगठनले प्रश्न गरेको कसैले जानकारी पाएको छैन । दिगंबरजीको नियुक्तिको प्रसंगमा उनले हिजो गलत गरेका भए पनि अव गर्दैनन भनेर एकजना शिर्ष नेताले टेलिभिजनमा जवाफ दिएका थिए । हिजो गरेका थिए भने छानविन हुनु पर्छ कि पर्देन ? कि हिजो गरेकालाई भ्रष्टाचार, आज त्यही गर्दा सदाचार ? कस्ले प्रश्न गर्ने ? सरकारका हरेक निर्णयमा प्रतिपक्षी नेता शेरवहादुर देउवा लाचार समर्थक छन् । कारण सासुको राजदूत पद मात्र होइन उनका कर्तुतका अरु थुप्रै कारण छन ? खै नेविसंघ, तरुण दल वा कांग्रेसले संगठित प्रश्न गरेको सुनिएको छैन ।

सुडानका अपदस्थ राष्ट्रपतिको निवासमा खनतलासी गर्दा करोडौ रुपैयाँ बोरामा राखेको पाइएछ (यद्यपि यो समाचार प्रायोजित पनि हुन सक्छ) । त्यसो हो भने उनले गरेको राजनीति त बोरामा पैसा राख्न पो रहेछ । हामीले पाठ सिक्नु पर्छ कि पर्दैन ? हामीकहाँ बोरामा पैसा पाइएला नपाएला, तर २०४६ साल यता सत्तामा रहेका र उच्च प्रशासनमा रहेका ब्यक्तिहरुको संपत्ति विवरण र जीवन शैली मसिनो गरी खोज्ने हो भने अवस्था कस्तो आउला ? हामी कल्पना पनि गर्न सक्दैनौँ । तर हामी पनि प्रश्न गर्न चाहदैनौ । किनकी हाम्रा सत्ताहरु प्रश्न गरेको रुचाउँदैनन् भन्ने डर हामीलाई पनि छ ।

नेकपा स्थापनाको ७० वर्षको अवसरमा आम नेपालीमा प्रश्न गर्ने क्षमता विकास होस, निरन्तर प्रश्नहरु गरिरहौँ, गरिरहौँ । यही शुभकामना ।

Facebook Comments