परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाली अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा

काठमाडौं । पहिलो पटक अन्तरिक्षमा प्नक्षेपण गरिएको नेपालको नानाे स्याटेलाइट हाल अन्तर्राष्ट्रय अन्तरिक्ष कक्षमा रहेको छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले बिहीबार बिहान नेपाली समयअनुसार २ बजेर ३५ मिनेटमा नेपालीस्याट – १ नामको यो  फुच्चे अन्तरिक्षयान अमेरिकाको भर्जिनिया राज्यस्थित  प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ‘आईएसएस’ मा प्रक्षेपण गरिएको थियो ।

यो अन्तरिक्ष यान इन्जिनियरिङमा पीएचडी गरिरहेका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठ लगायतले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नास्ट’ र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी ‘क्युटेक’को सहकार्यमा तयार पार्नुभएको हो । नेपाल लगायत श्रीलङ्का र जापानी नानो स्याटेलाइट पनि बिहीबार नै प्रक्षेपण गरिएको थियो । अब नेपालीस्याट- १  अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका वैज्ञानिकहरूले परीक्षण गरेपछि अन्तरिक्षको कक्षमा छाडिने छ । नेपाली अन्तरिक्ष यान जुलाई २३ सम्म स्पेस स्टेसनमा नै रहनेछ।

प्रत्येक ९० मिनेटमा यसले अन्तरिक्षमा पृथ्वीको परिक्रमा गर्ने गर्दछ ।  यस क्रममा करीब  पाँच मिनेटसम्म नेपाली आकाशमा रहनेछ । यसले खिचेर पठाउने तस्बिर र त्यसबाट प्राप्त तथ्यांकका सहायताबाट नेपालले आफ्नो  मौसम, पानी, तापक्रम आदि क्षेत्रमा नयाँ जानकारी प्राप्त गर्न सकिने छ । यो पहिलो भू–उपग्रह निर्माणका लागि नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ ।

यो सफलतापछि नेपाल पनि अब अन्तरिक्ष युगमा प्रवेश गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण भएकोमा खुसी व्यक्त गर्दै ट्वीटमार्फत् यसमा संलग्न वैज्ञानिक तथा नास्टसहितका निकायहरूलाई बधाई दिनुभएको छ ।

नेपालले अब साढे दुई वर्षपछि ठूलो स्याटेलाइट पठाउने योजना समेत सार्वजनिक भएको छ ।

Facebook Comments