परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ऋग्वेदमा इतिहास तत्त्वको खोजी

आर्य जातिको प्राग्ऐतिहासिक अवस्थामा गरिएका प्रार्थनाहरूको परम्परामा परवर्तीकालका ऋत्विक (प्रार्थी) हरूले रचना गरेका प्रार्थनाको सङ्ग्रहलाई हामी ऋग्वेद भन्दछौँ । यसको सम्पादन र सङ्कलन लेखन कलाको विकास भएपछि नै भए पनि यसको परम्परा प्राचीनतम रहेको छ । यसैले यो इतिहासको सवभन्दा प्राचीन ग्रन्थ भनिन्छ ।

पश्चिमका केही अनुसन्धाता र भारतका डा. सर्वपल्ली राधाकृष्णन्का भारतीय दर्शन भन्ने पुस्तकमा ‘‘वेद की मूल संहिता लेकर आर्य लोग अपनी वास्तविक मातृभूमि छोड कर इस देश में आकर वसे” भन्ने जस्ता कुराले वेदलाई त्यस युगको सर्लक्क इतिहास नै हो कि भन्ने भान धेरैलाई पारेको छ । तर वेदका प्रार्थनाहरूमा सामन्ती युगका धेरै परवर्ती विषयसमेत समाविष्ट भएका हुनाले यो सवैभन्दा प्राचीन ग्रन्थ भए पनि प्राचीन इतिहास होइन, प्राचीन इतिहासतत्त्वको खोजी भने यसबाट गर्न सकिन्छ भन्ने देखिएको छ । उदाहरणका लागि हामी ऋग्वेदको पहिलै ऋचा अर्थात् प्रार्थनालाई लिन सक्तछौँ । पहिलो प्रार्थना गायत्री छन्दमा यस्तो रहेको छ— अग्निम् इडे पुरोहितम् यज्ञस्य देवम् ऋत्विजम् । होतारम् रत्नधातमम् अर्थात् रत्न (आभूषण आदि बहुमूल्य पदार्थ) धारण गरेका यज्ञका देवता अग्निलाई, पुरोहित, ऋचा पाठ गर्ने ऋत्विक र होतालाई हामी प्रार्थना गर्दछौँ । यसरी एउटै प्रार्थनाको मन्त्रमा यज्ञ, अग्नि, पुरोहित, ऋत्विक होता र रत्नको कुरा आएको छ । अर्थात् यिनीहरूले पहिलो महत्त्व पाएका छन् । अव इतिहासमा यिनीहरूको के महत्त्व र विशेषता छ, त्यसको खोजीमा नै इतिहास तत्त्वको पनि खोजी हुन सक्छ । जस्तै अग्नि भनेर वेदले कुन कुरालाई वर्णन गरेको छ, यज्ञ भनेको के हो, पुरोहित, ऋत्विक र होता को हुन् र रत्नको कुरा उनीहरूसंगै प्राथमिकता साथ किन उठाइयो? यसको व्याख्या हुन जरुरी छ । यसैगरी अग्निम्ं, पुरोहितम्, ऋत्विजम् र होतारम् भनेर सबैलाई प्रतीकात्मक रूपमा एकै मानेर जुन प्रार्थना गरिएकोछ त्यसको पनि इतिहास तत्त्वको खोजीमा विशेष अर्थ लुकेको हुन्छ ।

सर्वप्रथम अग्निकै कुरा गरौं । ऋग्वेदका ऋचा (प्रार्थना) हरूमा सबैभन्दा धेरै इन्द्र देवताको स्तुति गरिएको छ भने त्यसपछि धेरै ऋचाले प्रार्थना गरिएका देवता अग्नि नै रहेका छन् । इन्द्रलाई किन बढी प्रार्थना गरियो र अग्नि किन दोस्रा भए यो कुरा पनि इतिहास तत्वको खोजीमा महत्वपूर्ण पक्ष हो । अग्निलाई देवताको दूत भनेर चिनाइएको छ । (ऋग्वेद १ । १२ ।८ दूतम् देव १। ३६ । ३ र ४ प्रत्वा दूतम् र सं दूतम् ) । प्रथम मण्डलकै ३१ सूक्त ऋचा १ मा अग्निलाई त्वमग्ने प्रथमो अङ्गिरा ऋषि देवो भनेर अङ्गिरा ऋषि नै अग्नि हुन् भन्ने परिचय दिएको छ । त्यसैको ऋचा ११ मा मनुकी छोरी इडा राजा भइन् र अङ्गिरा धर्माधिकारी भए भन्ने कुरा उल्लेख छ । प्रथम मण्डलकै सूक्त ६५ र ६७ मा अग्निलाई गुफामा प्रकट गराइएका भनिएको छ भने सूक्त ५८ मा भृगु ऋषिले अग्निलाई देवत्व प्राप्तिका लागि मनुष्यबीच स्थापित गराएका हुन् भनिएको छ । यसरी वेदले नै गुफाको वास भएकै अवस्थामा प्राकृतिक शक्ति अग्निलाई आविष्कार गर्ने प्राचीन अङ्गिरा भन्ने (व्यक्ति वा समूह) अग्निको रूपमा चिनियो र मानिसको अरु प्राकृतिक शक्तिका प्रतीक देवताका दूतका रूपमा पनि परिचित भयो । खासगरी यज्ञ नामको अनुष्ठानमा अग्निले देवदूतको काम गर्दछन् । अव अग्निलाई नै देवदूत बनाउनुको कारण केहो त्यसको र ऋग्वेदको पहिलो प्रार्थनामा पुरोहित, ऋत्विक र होतालाईृ अग्निकै रूपमा प्रार्थना गरिएको रहस्योद्घाटन यसै कुराबाट भएको छ । प्रथम मण्डलकै सूक्त ७५ मा अङ्गिरस्तमाग्ने आदिभनेर अङ्गिरा अग्निको स्तुति नै गरेपछि पहिलेका अङ्गिरा ऋषि अर्थात् ऋचा गाउने ऋत्विक नै देवता भै सकेका र अग्निका रूपमा तिनैलाई प्रार्थना गरेको प्रष्ट हुन्छ । वैदिक परम्परामा जसले महत्वपूर्ण आविष्कार आदि काम गरेको छ त्यो देवता हुन्छ भन्ने मान्यता थियो । ऋभुगणले छालाको थैलो आविष्कार गरेर देवता भए भनिएको छ । यसैले पुरोहित ,ऋत्विक र होता पनि देवताहरूका दूत अग्निका प्रतीक थिए भन्ने बुझिन्छ ।

अव पुरोहित, होता र ऋत्विक को थिए भन्ने विचार गर्दा यिनीहरू यज्ञ नामको अनुष्ठानका मुख्य कर्ता पात्र पनि हुन् भन्ने देखिन्छ । पुरोहित शव्दको अर्थ नै हितकारी अगुवा हो । यो पात्र हत्यौडी जान्ने मुख्य सञ्चालक हो । होता होम गर्ने र ऋत्विकले पाठ गर्ने पात्र हुन् । जतिबेला यज्ञ नामको अनुष्ठानले धार्मिक रूप लिइसकेको थियो त्यसबेला यज्ञमा यही काम हुन्थ्यो र यी पद मुख्य थिए । इतिहास तत्वको जानकारकिा लागि यिनीहरूले देवदूतका रूपमा अग्निसमान प्रार्थनामा स्थान किन पाए भन्ने कुराले धेरे ठूलो महत्व राख्दछ । त्यो बुझ्नका लागि पहिले त पुरोहित किन पुरोहित भए , ऋत्विक किन ऋत्विक भए होता किन होता भए ? कसरी कहिलेदेखि भए भन्ने कुराको निष्कर्शमा पुग्नुपर्दछ । तिनलाई भगवानले नै तत् तत्पदमा सृष्टि गरेका त पक्के होइन होला । वास्तवमा त उनीहरूको काम यजमानले यज्ञ गर्न चाहेका बेला यज्ञ गराएर दक्षिणा प्राप्त गर्नु हो । त्यो उनीहरूको पेशा थियो । त्यो पेशा उनीहरूले अपनाउनुको पछाडि पनि एैतिहासिक कारण थियो । त्यो भनेको यज्ञ भाग र दानको परम्परा हो । देवदूतको परम्परा हो ।

अन्य आकर्षणहरू

धर्म परिवर्तन

बुढ्याइँ दुखेको छ मेरो !

च्यातिएको रुपियाँ

मिलेन दक्ष सारथी

पुरोहितहरूको पेशा बुझ्नुअघि यज्ञलाई पनि बुझ्न आवश्यक हुन्छ । यज्ञ शब्द युज धातुबाट बनेको हो । यसको अर्थ जोडिनु, संयुक्त हुनु हो । व्यक्ति व्यक्ति जोडिएर समूह र समाज बनेको हुन्छ । यज्ञले त्यही सामूहिकतालाई जनाएको छ । केही इतिहासकारहरूले यज्ञलाई समूहिक उत्पादन पद्धतिका रूपमा व्याख्या गरेका छन् तर आर्य साहित्यमा यज्ञको प्रयोग उत्पादन पद्धतिमा होइन, वितरण पद्धतिमा मात्र प्रयोग हुँदै आएको छ । यज्ञ भागान् अहं सर्वे उपस्नामि पृथक् पृथक् भनेर यज्ञ भागको उपभोगको कुरा मात्र उल्लेख हुने गरेको छ ।

जतिबेला अङ्गिरा ऋषिहरू गुफा सभ्यतामा आगोको अविष्कार गरिरहेका थिए, त्यसबेला मानव झुण्डका नेता समूहले संकलन र उत्पादन गरेको आवश्यकताको बस्तुको निश्चित भाग नेतृत्व गरेवापत प्राप्त गर्दथ्यो । युभल नोह हरिरीको शेपियन्स नामको इतिहासको पुस्तकलाई मान्ने हो त्यो समय २० हजार बर्ष अगाडिको हुनुपर्दछ । पछि मानव झुण्डले सामाजिक रूप लिदै गएर गणको अवस्थामा आए पछि गण नायकले प्रभावशाली झुण्ड नायकलाई यज्ञ भागको बन्दोवस्त मिलायो र त्यस्ता झुण्ड नायकहरूको एउटा वर्ग नै बन्यो जसले उत्पादन नगर्ने तर यज्ञ भाग हडप्ने गर्न थाले । त्यसपछि राज्यसत्ता नै खडा भएपछि त गण नायकहरूले पनि उत्पादन नगर्ने तर यज्ञ भाग खोज्ने गर्न थाले । तर त्यस्तो यज्ञ भाग खानुको औचित्य सिद्ध गर्न र समाजको विद्रोहलाई दमन गर्न एउटा आधार खोजियो । त्यो थियो, उनीहरू देवदूतका रूपमा समाजको कल्याणका खातिर यज्ञ भाग खोज्न थाले । त्यो भनेको अनिवार्य आवश्यकता थिएन । सामाजिक र सांस्कृतिक परम्परा मात्र रहन गएको थियो ।

विस्तारै यो प्रथाले धर्मको रूप लिँदै गयो । देवदूत बन्ने पनि एउटा कठोर अभ्यास शुरु भयो । देवदूत बन्नकै लागि ऋचाहरूका अविष्कार भए । तर त्यसबेलासम्म पनि यज्ञ भागले दानको रूप लिएको थिएन । यो एक प्रकारको कर नै थियो । यद्यपि कर लिनेले पनि केही कर्तव्य पूरा गर्नु पर्दथ्यो । त्यसैले परवर्ती कालमा जीवनलाई धर्म, अर्थ, काम र मोक्षका लागि ठान्ने आर्यहरूले ऋग्वेदको पहिलो ऋचामा रत्न अर्थात् धनलाई उल्लेख गरे र मोक्षलाई चाहिँ १४० औँ सूक्तको चारौं ऋचामा गएर मात्र उल्लेख गरे । यसप्रकार इतिहासका तिनै गण नायकहरू देवदूतका रूपमा शिक्षा, संस्कृति र विधि विधान सहितका धर्मका अगुवा पनि बने, जसले आफ्नो जीविकाकै लागि यज्ञलाई धार्मिक रूपमा अगाडि बढाए र वेदादि ग्रन्थको रचना पनि गरे । अन्ततः आर्य जातिको पहिचान नै यज्ञको सभ्यतालाई स्वीकार गर्ने जातिका रूपमा अगाडि आयो ।

Facebook Comments