परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जनआन्दोलन २०४६ का अन्तिम दिनहरूको डायरी

सन्दर्भ जनआन्दोलन दिवस

(तीन दशकसम्म तगेको निर्दलीय निरङ्कूश पञ्चायती व्यवस्था भिन्न मत र विचारप्रति असाध्यै असहिष्णु थियो । राजनीतिक दलहरूले गतिविधि गर्न पाउँदैनथे । दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो । विद्यार्थी, शिक्षक, चिकित्सक, प्राध्यापक जस्ता पेशागत र वर्गीय सङ्गठनमार्फत् राजनीति गर्नुपर्ने बाध्यता थियो । विचार र अभिभव्यक्ति स्वतन्त्रता थिएन । पत्रपत्रिकामाथि सेन्सरसिप थियो । छापाखाना जफत  सामान्य कुरा थिय‍। पत्रकार वर्ग सााचार लेखेकै भरमा वयान  र थुनामा गइरहनुपथ्र्यो । आज पत्रिका छ, भोलिपल्ट खारेज भइसक्छ, यस्तो अवस्था थियो । दलहरू प्रतिबन्धित अवस्थामै आन्दोलन गरिरहेका थिए । मूलतः नेपाली कांग्रेस र बाम मोर्चा संयुक्त रूपमा पञ्चायत विरूद्ध उत्रेका थिए । बाम मोर्चाका तर्फबाट साहना प्रधान अध्यक्ष हुनुहुन्थ्यो तर उहाँ जेलमा रहनुभएकाले राधाकृष्ण मैनालीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । गणेशमान सिंह जनआन्दोलनका सर्वोच्च कमाण्डर हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्था खराब थियो । उहाँ वीर अस्पतालमा भर्ना हुनुभएको थियो । राजनीतिक परिस्थिति प्रतिकूल थियो । २०४६ फागुनदेखि दलहरूले जनआन्दोलन सुरु गरे । बीचमा हताहती र घाइते हुने क्रम जारी रह्यो । म त्यसबेला दैनिक समाजमा काम गर्थेँ । काठमाडौँ आएको २ वर्ष र २ महिना नै भएको थियो । स्कूले जीवनमा २०३६ को जनमत सङ्ग्रह गाउँमा देखेको मैले यत्रो ठूलो आन्दोलन र हताहती देखेको र अनुभूत गरेको थिइनँ । यद्यपि २०४६ सालपछि देशले धेरै तीता र कहालीलाग्दा घटना भोगिसकेको छ । त्यसबेला कर्फ्यू मेरा लागि नितान्त नौलो घटना थियो । त्यसैले मैले यो डायरी कर्फ्यूलाई नै केन्द्रित गरी जनआन्दोलनका पछिल्ला दिनलाई समेटेर लेखेको थिएँ । २०४६ चैत २६ गते लेख्न थालेर खण्ड खण्ड गरी २९ गते लेखिसकेको रहेछु । संयोग, आज चैत २९ गते नै हो । हाम्रो सम्पादक समूहका बीचमा यो डायरी आज प्रकाशन गर्ने निधो भयो । करीब ३० वर्षअघि कलेज पढदै गरेको एक कच्चा, सिकारु पत्रकारले लेखेको यो डायरीलाई त्यही बेलाको एउटा २३/२४ वर्षे युवकको डायरीका रूपमा पढिदिनहुन मेरो आग्रह छ । – लेखक)

 

कर्फ्यू

२६।१२।०४६

आइतबार

‘कर्फ्यू’, यो शब्दले नै आफ्नो भाव स्पष्ट पार्दछ । संसारका धेरै भागमा धेरै शासकहरूद्वारा यो शब्दको औचित्यलाई जीवित बनाइएको सुन्न र पढ्न पाइएको थियो । संसारका कतिपय यस्ता भाग्यमानी नागरिकहरू शायदै थोरै होलान् – जो कर्फ्यूदेखि अपरिचित होलान् र कर्फ्यू भोग्नु नपरेको होला ।

आजभन्दा २ दिनअघिसम्म अर्थात् चैत्र २४ गतेसम्म म आफूलाई पनि कर्फ्यूसँग असम्बन्धित एक शान्तिप्रिय नेपाली नागरिकका रूपमा हेर्ने गर्थेँ । हुन त यहाँ प्रश्न उठ्न सक्छ– यस शान्तिक्षेत्र नेपाल (जसको शान्ति क्षेत्र प्रस्तावलाई ११६ देशले समर्थन व्यक्त गरिसकेका छन्) मा आजसम्मको इतिहास पल्टाएर हेर्ने हो भने पृथ्वीनारायण शाहले (देशको) एकिकरण गरेदेखि जङ्गबहादुरले सत्ता लिँदा मच्चाएको कोतपर्व तथा २००७ सालमा राणा शासन विरूद्ध गरिएको जनक्रान्तिका समय पनि त्यत्रो महँगो रगत बगाउनु नपरेको यस (नेपाली) धर्तीमा नेपाल आमाका २५०–५०० (पञ्चायती सरकारले सही तथ्याङ्क नदिने भएकाले केहीपछि मृतकको सङ्ख्या पत्ता लाग्ने नै छ, हुनसक्छ, यसभन्दा पनि बढी वीर नेपाली सपूत शहीद भएका होलान्) वीर योद्धा सुपुत्रहरूको ज्यान गएको कुरा चाहिँ सानो हो त?

यस कुरालाई स्वयं म अति महत्त्वपूर्ण मान्छु । तर, मैले यहाँ कर्फ्यूको चर्चा गर्ने प्रयास गरेको मात्र हुँ– जुन अहिले २५–३० लाख जनता बसोबास गरेको काठमाडौँ (उपत्यका) का तीनै शहर र पश्चिम नेपालको बुटवल नगरमा लगाइएको छ, झण्डै देशको तीन भागको एक भाग जनतालाई घर र कोठाभित्र ४८ घण्टाअघिदेखि निर्ममतापूर्वक यातनाका सहभागी बन्दी बनाइएको छ । जनताका आफ्ना पसिनाले बनेका घरहरू अहिले यातनागृहमा परिणत भएका छन् र स्वच्छ वातावरण कालकोठरीको दुर्गन्धे प्रदूषणमा परिणत भएको छ । मेरो डेरा र मैले काम गर्ने दैनिक पत्रिका समाजको कार्यालयको दूरी धेरै छैन । डिल्लीबजारको बाटुले घरभित्र समाज छ भने समाजभन्दा दुई घर पछाडिपट्टि मेरो डेरा छ । तर सिँधा बाटो नभएकाले बाटुले घरको पछाडिसम्मै गल्लीगल्ली आएर समाजको कार्यालय छिर्नुपर्छ । त्यस क्रममा शुभकामना स्टेशनरी (मोहन मैनाली, रघु मैनालीले सञ्चालन गर्नुभएको लोकप्रिय स्टेसनरी पसल, जहाँ राजधानी र विदेशका पत्रपत्रिका, म्यागेजिन, पुस्तक, कपी लगायत राखिएको छ) निरबाट सेनाले हरेकपल्टै सोझ्याएको बन्दूक र दिएको गाली सहेर पत्रिका निकाल्न जाने गर्नुपर्छ । धन्न गोली भने चलाएन । हामी पत्रिकाको कार्यालयमा काम गर्न हिँडेका, यही भित्र छ भन्दा मर्लास्, ज्यानको माया छैन भनेर बन्दूक ताकेका सेनाले गाली गर्थे । कैयन बेला त समाजको पछाडिपट्टिको अग्लो कान्लो फाल हानेर पनि झरियो । तर त्यहाँ बीचमा अर्को घर कम्पाउण्ड भएकाले त्यो घरको गेट लागेको बेला यो सुविधा प्राप्त हुन्नथ्यो । म र मेरो दाजु सोमराज लुइँटेलको काम समाजमा कम्पोज गर्नु, प्रुफ हेर्नु र परिआउँदा समाचार लेख्नु पनि हुने गर्छ । त्यसो त समाचार कक्षमा मणिबाबु (मणिराज उपाध्याय), राजेन्द्र दाहाल, ओम खड्का, मोहन मैनाली, गोपाल गुरागाई, ब्रजेश दाइ लगायत हुनुहुन्छ । तर कर्फ्यूका कारण टाढा बस्ने आउन नसक्दा नजिक बस्नेको जिम्मेवारी बढ्नु स्वाभाविकै हो ।

शुभकामना स्टेसनरी पसलको कुरा आइहाल्यो । रघु मैनाली यही पसलमा बसेर जनआन्दोलनका पक्षमा र पञ्चायतका विरुद्ध पत्रपत्रिका, पुस्तक बिक्रेता र वितरकहरूलाई परिचालन गर्ने गर्नुहुन्छ । विभिन्न ठाउँमा पत्रपत्रिका जलाएर समेत विरोधका कार्यक्रम गरेको मलाई थाहा छ । सामान्यतया म रघुजीसँग पत्रिका पसलमा गएर रमाइला कुरा गरेर बस्ने गर्छु । उहाँको पसलमा अत्यधिक सचेत र परिवर्तनका पक्षधर व्यक्तिहरू आउने गर्छन् । रघुजी दैनिक समाजमा समाचार सङ्कलन र लेखनका साथै स्टेसनरी पनि सम्हाल्ने गर्नुहुन्छ । मोहन मैनाली त समाजमा पूर्णकालीन हिसावले समाचार सङ्कलन, लेखन तथा सम्पादन गर्ने गर्नुहुन्छ । रघुजीको अर्को पाटो चाहिँ विद्यार्थी परिचालन गर्नु समेत हो ।

कर्फ्यूकै प्रसङ्गमा आउँ । अस्ति २४ चैत्र २०४६, शुक्रबारका दिन एक महान ऐतिहासिक घटना भयो । यस देशको इतिहासमा प्रथम पटक लोकतन्त्रको माग गर्दै निरङ्कूश पञ्चायत विरूद्ध दशौँ लाख जनताले गरेको प्रदर्शनले काठमाडौँका सडक, गल्लीगल्ली, चोकचोक र टोलटोल उचालेको थियो । सागरको लहरजस्तै त्यो जनसागर थियो । पुरानो बानेश्वरबाट पुतली सडक हुँदै दरबारतिर बढ्न अगाडि बढेको जुलुसलाई मैले धोबी खोलादेखि भेट्टाएँ र जुलुससँगै अगाडि बढेँ । मेरो यो जुलुसमा संलग्न हुनुका दुईटा कारण थिए । एक त म पञ्चायत विरुद्ध र बहुदलको पक्षमा भएकाले उमङ्ग र उत्साहको सीमा थिएन । अर्को समाजलाई समाचार पनि हुन्थ्यो । दरबार मार्गमा पुगेको विशाल जुलुसले राजा महेन्द्रको शालिक तोडफोड गर्न थालेपछि गोली चल्यो । शालिकबाट चरो झरे झैँ आन्दोलनकारी भुईमा ढले । अश्रुग्याँस त धेरै पहिलेदेखि हान्न थालेको थियो ।

जुलुसको अवस्था र परिणामबारे केही सचेत भइसकिएकाले जोगिएर आउनुपथ्र्यो । किनभने पत्रिका निकाल्नुपथ्र्यो । मणिबाबु भन्नुहुन्थ्यो, तिमीहरू मारिएउला, थुनिएउला, मेरो पत्रिका कसले निकाल्छ ? बागबजारबाट भागेर पुतलीसडक पार गरी डिल्लीबजार आउनुपर्ने हुन्थ्यो । म काठमाडौँका लागि त्यति पुरानो छैन । दुई वर्ष मात्रै हुँदैछ । रत्नपार्कबाट भागेर पुतलीसडकतिर आउँदै गर्दा थाहा भयो, पुतलीसडकपट्टिबाट लघार्दै र हर्काउँदै पुलिसले आम जनतालाई रत्नपार्कतिरै फर्काउँदैछ । उता रत्नपार्कबाट लघारेका म र दाजु सोमबाहेक सयौँ जना र पुतलीसडकबाट लघारेका सयौँ जना बीचैमा पर्यौँ । अब मरिने भइयो भन्ने मनमा भइसकेको छ । अश्रुग्याँस र गोली छोड्दै दुबैतिरबाट आएका पुलिसका फौजका चेपुवामा परेका हामी । कसोकसो एउटा अलिकति खुला राखी सटर बन्द गरिएको एक पसलमा एक सज्जन सटर उठाएर भित्र छिरे । हामी ८–१० जना ह्वात्तै त्यही मौकामा सटर झार्दाझार्दै हातले थामेर स्वाट्टै भित्र छिर्यौँ र सटर बन्द गर्यौँ । सटर भित्रबाट लागेका कारण पुलिसले उघार्न सकेन । तर लात्तले धेरैबेर सटरमा हानेर हामीलाई मनपरि गाली गरिरह्यो । त्यसको ३–४ घटापछि सडक केही खाली भयो । पुलिस पनि तितरबितर भए र भित्रभित्रबाट गल्लीगल्ली सोम लुइँटेल दाजुले मलाई डेरा पु¥याउनुभयो । त्यसबेलासम्म दुई जना सँगै हिँड्न पाइने तर तीन जनाभन्दा बढी सँगै हिँड्न नपाइने आदेश जारी भइसकेको थियो । बल्लतल्ल घर पुग्दा बाँचेर आएको अनुभव भयो ।

तर जनताको यस विशाल सहभागिताले थर्कमान भएको पञ्चायती शासकहरूको दिमागले काम गर्न छोड्यो, सेना र प्रहरी तैनाथ गरिए । सेनाका अधिकृतहरू पागल जस्तै भए । तिनीहरूले मानव आकृति विर्से अनि जङ्गली नरभक्षी बाघ झैँ एककासी जनमासमाथि जाइलागे – स्वचालित बन्दूकका नालबाट विशाल शोलाका साथ अति विषालु गोलीको प्रयोग गर्दै । फागुन ७ देखि भएको यो जनआन्दोलनमा घातक डमडम गोली चलाएका कारण पञ्चायतको विश्वव्यापी रूपमै आलोचना खेपिसकेको पञ्चायती शासनले प्रकृतिको सुन्दर छहारीभित्र घामछायाँमा लुकामारी खेल्ने बिना छलकपटका नेपाली जनताका हृदयमा ताता गोलीको वर्षा गर्यो । यो देख्दा मलाई यस्तो प्रतीत भइरहेको छ– शान्तिका प्रतीक परेवा मन्दिरबाट एक्कासी अतास्एिर रगतको भयावह दृश्य र धुवाँको गन्धबाट विरक्तिएर ज्ञानका ज्योति बुद्धको जन्मस्थल यस भूमिबाट बुद्धको अहिंसाको ज्ञान र उपदेश खोज्न आकाशिँदै हावामा कावा खेल्न थाले । पशुपतिनाथको आशिष दिँदै गरेको हात विस्तारै ओर्लिन थाल्यो । पार्वती पनि यस सफेद चाँदी जस्तो हिमालबाट दक्षिणतर्फ हेर्न नसकेर आँसु पुछ्दै भृकुटीसँगै विलाप गर्न थालिन् । बिचरी भृकुटी पार्वतीको शरीरमा लपेटिएर रुन थालिन् । महान बुद्ध बन्दूकका नालदेखि त्रस्त देखिन थाले । आकाश अँध्यारो भयो । यस्तो भयावह स्थितिमा आफूलाई जकडिएको महसूस गर्न थाले । मेरा मनमा यस्तै तर्कना आइरहेका छन् ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

हामी मरीतरी डेरा फर्केको केही समयपछि राती १० बजेर ५५ मिनेट जाँदा रेडियो नेपालले काठमाडौँ उपत्यकामा चैत्र २५ गते बिहान ७ बजेदेखि कर्फ्यू लगाउने घोषणा ग¥यो । दिउँसो ४ देखि साँझ ६ बजेसम्म दुई घण्टा कर्फ्यूमा छुट दिने भनेता पनि पछि जनताको त्रासले २ घण्टा पनि पञ्चायतले छुट दिएन । अनि लगातार कर्फ्यू आज (२६ गते) सम्म लगायो । अहिलेसम्ममा काठमाडौँ, पाटन, भक्तपुर, बुटवलका साथै विराटनगर लगायतका देशका विभिन्न सहरमा कडा कर्फ्यू लागेको छ । काठमाडौँ उपत्यकामा एकैचोटी कर्फ्यूमा छुट दिइयो भने विशाल जनसमुदायले हामीलाई बाँकी राख्दैन भन्ने विचार गरी प्रत्येक क्षेत्र अर्थात् वडा–वडामा पालैपालो केही क्षणका लागि अति आवश्यक वस्तु किन्ने नाउँमा जनतालाई (कर्फ्यूमा) छुट दिइयो ।

यस्तो छुट डिल्लीबजार र बागबजारमा दिनको १ बजेदेखि ३ बजेसम्म थियो । यो छुटका बेलामा ३६ घण्टादेखि उकुसमुकुस भएर कोठामा थुनिएका तमाम नागरिक (गृहणी पनि) ले सडकलाई छपक्कै छापे । एकैपटक हजारौँ मान्छे सामान किन्न पसलपसलमा पुग्दा पसलेहरूले सामान दिनसक्ने र सामानले पुग्न सक्ने अवस्था थिएन । सक्नेले लिए भने अधिकांशले सामान पाएनन् । सबैभन्दा समस्या मटितेलको छ । भारतको नाकाबन्दी खेपिएको छ विगत एक वर्षदेखि । मटितेल नभई चुलो बल्दैन ।

…..

हिजो राती (२६ गते) १०:४५ बजे शाही विज्ञप्तिद्वारा दलमाथिको प्रतिबन्ध हटाइएको घोषणा भयो भने कर्फ्यू पनि लागेकै थियो । नागरिकहरू खुशी भएर पटाका पड्काउँदै राती घोषणा सुनेदेखि नै सडकमा निस्कन थाले । म र सोमदाजु पनि डेराबाट उफ्रिँदै हान्नियौँ डिल्लीबजार हुँदै पुतलीसडकतिर । केही समयपछि नै हल्ला फैलियो, सेनाले कर्फ्यूको उल्लङ्घन गरेको भनी ६ जनालाई काठमाडौँमा मारिदियो भने उपत्यका बाहिर पनि (चितवनको टाँडीमा) एक जना (नारायणप्रसाद दाहाल) मारिए । धन्न त्यहाँ हामी गएको ठाउँमा भने कसैलाई सेनाले केही गरेन ।

जे होस्, ४८ घण्टे (बरु अझै लामो होला । सरकारी घोषणा अनुसार, बिहान ७ बजे शनिबार २५ गतेदेखि २६ गते रातभरि नै कर्फ्यू रह्यो र २७ गते बिहान ७ बजे मात्रै कर्फ्यू खारेज गरेको सूचना सुनाइयो तर यथार्थमा चाहिँ कर्फ्यू २४ गते बेलुका ८÷९ बजेदेखि नै लगाइसकिएको थियो) कर्फ्यूपछि खुशीयाली आयो । नारा जुलुस साथ लाखौँ नागरिकले अभिर जात्रा गर्दै नगर परिक्रमा गरे अनि आमसभा सुरु भयो ।

……

यसरी एकतन्त्री शासन पञ्चायती कुचक्रबाट दल त स्वतन्त्र वा बैध भए तर पञ्चायतको यसबेलासम्म बिघटन भएको छैन र झट्ट हेर्दा यो बहुदल कतै पञ्चायती बहुदल त हैन? भने जस्तो टीकाटिप्पणी पनि हुन थालेको छ । तर आशा छ– पञ्चायत छिटै भङ्ग होला ।

……

नोटः यो ऐतिहासिक कर्फ्यू शायदै विश्वका कुनै शासकले कहीँ लगाउलान् । यस कर्फ्यूमा न त जनताका लागि अति उपभोग्य वस्तुहरू उपलब्ध गराइयो, न त १२ वा २४ घण्टामा १।२ घण्टाको छुट नै दिइयो ।

(लेखिसक्दा २०४६।१२।२९ भएको छ)

Facebook Comments