परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मीनराजको ‘पिपिरी’

२०७५ फागुन १८ गते शनिबारका दिन फिनिक्स बुक्सबाट प्रकाशित मीनराज बसन्तद्वारा लिखित दोस्रो उपन्यास “पिपिरी”को विमोचन कार्यक्रम थापागाउँ स्थित कुञ्ज थियटरमा आयोजना गरियो ।

कार्यक्रममा पुस्तक विमोचन अन्तिममा मात्र गरिएको थियो भने कार्यक्रमको शुरुवात कवि हाँगयुग अज्ञातले पुस्तकमाथि आफ्नो धारणा राखेर गर्नुभयो । कविले “पिपिरी” उपन्यास एकै दिनमा पढिसकाएको भन्दै मीनराजले यस उपन्यास मार्फत आफ्नो छुट्टै छवि निर्माण खोजेको बताउनुभयो । उहाँले नेपाली साहित्य र आख्यानको ईतिहास धेरै लामो नरहेको तर विश्व साहित्य र आख्यानको ईतिहास झण्डै एक हजार वर्ष पूरानो रहेको बताउँदै जापान र चीन जस्ता मुलुकले साहित्य र आख्यान लेख्न शुरु गरेको स्मरण गराउनुभयो । एशियाबाट नै आख्यान लेख्न शुरु भएकोमा गर्व गर्दै, कविले मानव सभ्यताको बारेमा कथाले बोल्ने बताउनुभयो ।

मानिसको जीवन पनि कथा नै हो र यस्ता कथाहरु सुन्न, बुझ्न र पढ्न सबैलाई मन पर्छ । “पिपिरी”मा एउटा बाल मनोविज्ञानले समाजलाई कसरी हेर्दछ भन्ने कुरा समेटिएको छ । कथा पढ्दै गर्दा हरेक पाठकले कथालाई आफ्नो अनुकुलतामा बुझ्ने भएकोले, कथाले यही कुरा बुझ्नुपर्छ भनेर सिकाउन सक्दैन । “पिपिरी”ले आफ्नो मनलाई छोएजस्तै अन्य पाठकको मनलाई पनि छुने कुरामा विश्वस्त रहेको कुरा उहाँले बताउनुभयो । तर पुस्तक लेखी सकाउनमा लेखकले अलि हतार गरेजस्तो लागेको र दोस्रो संस्करणमा प्रकाशकले पनि यो कुरामा मनन गर्नुपर्ने बताउँदै कवि अज्ञातले लेखक र प्रकाशक दुवैलाई शुभकामना र बधाई दिनुभयो ।

लोकार्पण कार्यक्रममा वक्ता सगुना शाहले “पिपिरी” उपन्यास पढ्न शुरु गर्नु अगाडि “पिपिरी”को अर्थ आफूलाई थाहा नभएको र लेखकलाई नै सोधेको भन्दै आफ्नो धारणा राख्न शुरु गर्नुभयो । आफू हुर्केको र यस उपन्यासको परिवेश भिन्न हुँदाहुँदै पनि वक्ताको रुपमा लेखकले आफूलाई किन छनौट गरेको होला भन्ने प्रश्न लेखकलाई सोधेपनि त्यसको उत्तर पुस्तक पढिसिध्याउँदा मात्र पाएको उहाँले बताउनुभयो । पुस्तक पढ्न शुरु गर्दा “पिपिरी” मीठो धुन मात्र होला भन्ने सोच्नुभएका शाहले पुस्तकलाई “करुण रसले भरिएको मीठो धुन”का रुपमा वर्णन गर्न रुचाउनुभयो ।

यो उपन्यास आमा र बालकको कथा हो र सबैभन्दा रोचक त के भने, पुस्तकमा पात्रहरुको नाम केवल दुई ठाउँमा मात्र लेखिएको हुँदा यो शैली उहाँलाई फरक लागेको बताउनुभयो । पुस्तकमा सामान्य मानिसको सामान्य जीवनलाई उजागर गरिएको छ र पुस्तक पढ्दा हरेक मानिसले आफूलाई यसको कथाभित्र प्रतिबिम्बित गराउन सक्छन् भन्दै शाहले “पिपिरी”लाई मीनराजको चिन्तनशील लेखनको नमूनाको रुपमा प्रष्ट्याउनुभयो । अहिलेको नेपाली समाजमा निराशा चिर्नको लागि आख्यान लेख्ने संस्कृति बढ्दै गएको र यसकार्यमा युवा पुस्ता बढी सक्रिय रहेको भन्दै युवा पुस्ताका लेखकलाई उपयुक्त स्थान र हौसला दिएकोमा फिनिक्स बुक्सलाई धन्यबाद र लेखकलाई बधाई दिनुभयो ।

कार्यक्रममा अर्का वक्ता आख्यानकार तथा मदन पुरस्कार बिजेता लेखक अमर न्यौपानेले “पिपिरी”लाई आख्यानको रुपमा व्याख्या गर्नुभयो । सबै उपन्यास आख्यान हुन् तर सबै आख्यान उपन्यास होइनन् भन्दै न्यौपानेले यस पुस्तकलाई एकदम कम उपन्यासको रुपमा व्याख्या गर्नुभयो । उहाँले यो एउटा आख्यानभित्र दुईवटा कथाहरु रहेका छन् र पुस्तक घटना र अनुभवको असाध्यै मीठो सँगालो रहेको बताउनुभयो ।

सगुना शाहले जस्तै न्यौपानेले पनि यस पुस्तकभित्र कैयौँपटक आफूले आफैँलाई प्रतिबिम्बित गर्न सकेको कुरा बताउँदै “पिपिरी” एक आख्यानात्मक डायरी हो समेत भन्नुभयो । हाल नेपाली साहित्यमा आञ्चलिक, प्रादेशिक, स्थानिय लवजको प्रयोग भिन्न र मीठो ढंगबाट हुन थालेको हुँदा त्यस्ता लेखन पढ्दा पाठकलाई छुट्टै स्वादको मजा लिन सक्ने वातावरण बनेको भन्दै उहाँले लेखकलाई यो पुस्तकमा प्रयोग गरिएका स्थानिय लवज र गाउँले उक्तिहरुको लागि धन्यवाद र बधाई समेत दिनुभयो ।

अन्तिममा विमोचन गर्नुअघि लेखक मीनराज बसन्तले उपस्थित सबै आख्यानप्रेमी पाठकहरुलाई यस पुस्तकको विमोचन कार्यक्रममा उपस्थिति जनाईदिनु भएकोमा धन्यवाद दिनुभयो ।

Facebook Comments