परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ  ९ गते, बुधबार ।

बाक्लो हिमपातपछि मुस्ताङ्गको घरपझोङ गाउँपालिका, २ छैरोमा पहिरो गएको समाचार इकान्तिपुर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ । घरपझोङ गापा, १ मार्फा र २ छैरो बीचमा कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा गएको सुख्खा पहिरोले कालीण्डकी केही बेर अवरुद्ध भएको र हाल खुलेको समाचारमा जनाइएको छ ।

मुख्यसचिवलाई संवैधानिक निकायका पदाधिकारीभन्दा तल राखेर सरकारले नयाँ मर्यादाक्रम तय गरेपछि सबै संवैधानिक अंगहरूमा असन्तुष्टि छाएको कान्तिपुर टेलिभिजनले जनाएको छ  ।

संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तसहित पाँच आयोगमा पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिस अपारदर्शी मात्र होइन, कुनै मापदण्डसमेत नहेरी गरेको पाइएको कान्तिपुर टेलिभिजनले नै जनाएको छ ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा डिभिजन वन कार्यालय रसुवाले रोक लगाएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

तारागाउँ विकास समितिले थप लगानी नगर्दा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा रहेको सरकारको सेयर स्वामित्व घटेको समाचार पनि  कारोबार दैनिकमा नै प्रकाशित छ ।

उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

फेवाताल अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन गण्डकी प्रदेश सरकार अघि सरेको छ ।

भारतीय कांग्रेस पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका गान्धी पार्टीको पूर्वी उत्तर प्रदेश राज्य समितिको महासचिवमा नियुक्त हुनुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments