परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नर्सिङ संघमा पुरुष नेतृत्वको अपरिहार्यता

नर्सिङ संघको आसन्न चुनावबारे बहस

 

नेपाल नर्सिङ संघ अहिले उन्नाइसौँ कार्यकारणी समिति गठनको संक्रमणमा छ । तयारीका लागि निर्वाचन आयुक्त र निर्वाचन मिति पनि बनिसकेको छ । आगामी चैत महिनामा यो प्रक्रिया पूरा हुनेछ । यसका लागि सर्वप्रथम त म उन्नाइसौँ कार्यकारणी समिति गठनको पूर्ण सफलताको कामना गर्दछु ।

प्रत्येक अधिवेशन संगठनको नयाँ सञ्चारका लागि महत्वपूर्ण मानिन्छ । यस अवसरमा हामी विगतको स्मरण, वर्तमानको समीक्षा र भविष्यका लागि नयाँ संकल्पहरू गर्न तम्तयार रहनुपर्छ । म यहाँ वर्तमानको समीक्षा र भविष्यको गन्तव्य निर्धारणका लागि केही अहम् मुद्दामा वहस गर्न चाहन्छु ।

हामीले अठारौं अधिवेशनसम्म महिला नर्सको नेतृत्वमा नेपाल नर्सिङ संघलाई हे¥यौँ र भोग्यौँ । अव एक पटक पुरूष नर्सको नेतृत्वको आवश्यकताबारेमा बहस चाउनुपर्ने आजको अहम् मुद्दा बनेको छ । त्यसैले यसपालिको नेपाल नर्सिङ संघमा अध्यक्ष पदमा पुरूष नर्सलाई जिम्मेवारी दिने सोचका बारेमा अहिलेदेखि नै छलफल अघि बढाऔँ । यसको पक्ष र विपक्षमा बहस गरौं ।

नर्सिङ संघको अठारौँ कार्यकारणी समितिले नर्सिङ पेशाको इतिहासमा निकै ठूलो फड्को मारेको छ । यसरी फड्को मार्नुमा नयां पुस्ताको योगदान र पुरानो पुस्ताको अहम भूमिकाले काम गरेको छ । यी सफलता र कार्यहरू नर्सिङ संघको सक्रियता बताउने स्पष्ट प्रमाणहरू हुन । यसमा पेशालाई मर्यार्दित र सम्मानित देख्न चाहने कसैले पनि छट्पटी मान्नु वा असहमति जनाउनु वा विरोध गर्नुपर्ने आवश्यकता छैन । त्यसैले म एउटा नर्स भएका नाताले गर्वका साथ यी कुराहरूलाई वुँदागत रूपमा यहाँ प्रस्तुत गर्दैछु ।

क) यस कार्यकारणी समितिले २०७२ सालको महाभूकम्पका बेला देशैभरि दैवी प्रकोप समिति गठन गरी पीडितहरूको आपतकालीन उद्धार कार्यमा प्रत्यक्ष सेवा प्रदान गर्यो । साथै आर्थिक रकम संकलन गरी सम्बन्धित निकायहरूमा राहत वितरणमा सहयोग पु¥यायो ।

ख) पोखरा नर्सिङ क्याम्पसकी छात्रा ओसिम गुरूङमाथि भएको अत्याचारको न्यायिक छानबिन गराई दोषीमाथि कारवाही अघि बढाइयो ।

ग) यस समितिले जापानी टोलीको साथ इपी नर्स मार्फत् गरिएको महत्वपूर्ण कार्यको प्रशंसा गर्दै अन्तर्रािष्ट्रय हेल्थ रिस्क अवार्ड समेत प्राप्त गर्न सफल भयो । यसले नेपाली नर्सहरू बिश्वका अरु नर्सभन्दा कम छैनन् भन्ने पहिचान बनाउन सफल भएको छ ।

घ) देशमा नर्सहरूप्रति गरिएको बिभेद, बिना पैसा “भोलियन्टियर” काममा लगाउने, आउट सोर्सिङ गर्ने, कम तलबमा काम लगाउने, नर्सिङ महाशाखा आदिका कुराहरू लिएर नेपाल सरकारसँग कुरा राख्दा आवश्यक सुनुवाइ नभएकाले बाध्यतावश देशब्यापी आन्दोलनको नेतृत्व पनि लियो ।

ङ) प्रत्येक स्कूलमा एक स्कूल नर्सको अवधारणालाई कार्यान्वयन तहमा ल्याउन सफल भयो ।

च) नर्सिङ शिक्षामा निश्चित प्रतिशत पुरूषहरूले पढ्न पाउने पा्रवधान सुनिश्चित गरी नयां अवस्थाको आभाष गराइएको छ ।

छ) नर्सहरूको अन्तरराष्ट्रिय समाज, स्वास्थ्य सेवा कार्यक्रम सिङ्गा हेल्थ मार्फत् निर्माण गर्ने कार्य अन्तर्गत भरतपुर, पोखरा र काठमाण्डौंमा चार–चार दिनको ट्रेनिङ सन्चालन गरियो ।

ज) बिभिन्न जिल्लामा शाखाहरू खोली आफ्नो नाममा संघको कार्यालय स्थापनाका लागि घडेरी जोड्न सफल हुनुका साथै पोखरामा आफ्नो भवन बनाउन सघाएको छ ।

नर्सिङ संघको अठारौं कार्यकारिणीले गरेका यी प्रतिनिधि कार्यहरू हुन । यी कामहरूले नर्सका विद्यमान सम्पूर्ण समस्याहरूलाई सम्बोधन गरेका छन् भन्न मिल्ने अवस्था पनि छैन । त्यसैले हासिल गरिएका उपलब्धिहरूलाई निरन्तरता दिँदै तत्काल गरिनु पर्ने कार्यहरू थुप्रै छन् । नेतृत्व र नर्सिङ पेशामा रहेको विद्यमान प्रवृत्ति भावि गन्तव्यका लागि निकै पेचिलो मुद्दा बनिरहेको छ ।

यस पेशामा पुरानो पुस्तामा भएको सङ्कीर्ण मनस्थिति र नयां पुस्तामा व्याप्त लक्ष्यबिहीन हतारो दुवै भावि दिनका चुनौतिहरू हुन् । यी प्रवृत्तिको मूलभूत कारण नर्सिङ शिक्षामा रहेको त्रूटि हो । यसमा स्वास्थ्य सेवा प्रणालीको वर्तमान ढाँचा र स्वास्थ्य नीतिमा रहेका कमजोरीहरूले पनि उत्तिकै भूमिका खेलेका छन् ।

जिम्मेवार व्यक्तिहरूबाटै सार्वजनिक रूपमै पटकपटक नर्सिङ पेशालाई होच्याउने कार्य भएको तीतो यर्थाथ नर्सहरूले भोग्नु परिरहेको छ । यसबारेमा नर्सिङ नेतृत्वले सामान्य प्रतिवाद गर्ने कार्य समेत गरेको पाइँदैन । यसबाट के स्पष्ट हुन्छ भने नर्सिङलाई धेरै नै हेला र नजरअन्दाज गरिएको छ । नर्सको मनोवल पूर्ण रूपमा गिरेको छ । त्यसैले यस अर्थमा पनि सक्षम नेतृत्वको खाँचो महसुस भएको छ ।

यो कुरो लेखिरहँदा कतिलाई लागेको होला, यो नेता बन्न खोज्दैछ । पेशागत रूपमा सजग व्यक्तिले पेशागत हक हितको बढी कुरा गर्नु स्वाभाविक हुन्छ । र, म त्यस्तै एक सजग व्यक्ति हुँ । म नीति बिहिनताबाट मुक्ति चाहने र दुरदृष्टि राख्ने व्यक्ति हुँ । घर, परिवार, समाज र राष्ट्र निर्माण कुनै एक व्यक्ति वा एउटा घटनाबाट मात्र निर्माण हुने कुरा होइन भन्नेमा म पूर्ण विश्वास राख्छु । सफलताहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा विभिन्न कालखण्डमा बिभिन्न ब्यक्तिहरूका समझदारी र छलफलबाट आएका साझा सहमतीबाट निर्धारण गरिएका नीति अनि धेरैको कठोर त्याग र तपस्याबाट फलिभूत भएका हुन्छन् ।

अब एकैछिन नर्सिङ पेशाका विद्यमान समस्याहरूबारे चर्चा गरौं । नर्सिङ पेशा नेपालमा धेरै पछि परेको छ । काम अनुसारको तलव सुविधा छैन, केही सीमित व्यक्तिले आफ्नो कुत्सित स्वार्थका लागि सिंगो नर्सिङ जगतलाई नै शोषण गरिरहेका वा पछाडि धकेलिरहेका छन् । यसका उदाहरण निजी अस्पताल, नर्सिङ कलेज, सरकारी अस्पतालहरूमा छ्यास्छ्यास्ती भेट्न सकिन्छ । त्यसैले आजभोलि नयाँ नेतृत्वको चर्चा र खोजी हुन थालेको छ । सुधारका लागि पुरानै ढर्रा, दलीय आडमा पार्टीका नेताहरूसँगको सामिप्यताका आधारमा नर्सिङ संघको नेतृत्व चुनिने प्रथा अब बन्द गरिनुपर्दछ । दलीय आडमा नर्सिङ संघको नेतृत्वमा पुग्नेहरूले नै नर्सिङ पेशालाई दोस्रो दर्जाको पेशामा परिणत गरेका छन् भन्दा उनीहरूप्रति अन्याय तथा गलत मनाशय राखेको ठहरिदैन । देश निर्माणको अभियानमा जिन्दगी बिताएका राजनीतिक नेतृत्व वर्गले नर्सिङप्रति राखेको दृष्टिकोण र बुझाइ यति दरिद्र र सङ्कीर्ण किन छ? आफैंमा आश्चर्यको विषय बन्न पुगेको छ ।

यसो हुनुमा केही हदमा हामी नर्सहरू आफै पनि जिम्मेवार छौं । पेशाप्रति बफदार हुन नसक्नु, दलीय राजनीतिको खेतालो बन्नु तथा आफू र आफ्नो पेशालाई परिवर्तित समाजिक मान्यताहरूसँग सापेक्षित रूपमा मिलाउन नसक्नु जस्ता कारणहरू छन ।

प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसका स्वास्थ्य र वातावरणलाई असर गर्ने मानवीय संवेदनाहरू वैज्ञानिक तवरले गहन अध्ययन र मनन गरिने बिषय नर्सिङ हो जुन गर्भ रहेदेखि मृत्यु पर्यन्त आवश्यक हुन्छ । यति महत्वपूर्ण पेशालाई राज्यले अवहेलना गर्नुलाई नर्सिङमा महिला नेतृत्वको बाहुल्य भएका कारण हो भन्ने निचोड पनि निकाल्न थालिएको छ । तर के यति मात्रै कारण हो त ? मेरो निश्कर्ष छ– पक्कै पनि होइन । यहाँ केही मुट्ठीभर नर्सहरूको सिन्डिकेट कायम छ र यसको अगुवाई पार्टीका नेताहरूले नै गरेका छन् भन्दा अधिकाशं नर्सलाई आपत्ति नहोला ।

त्यसैले स्पष्ट शब्दमा भन्दा नर्सिङ संघमा परिवर्तन चाहिएको छ । समूहबाटै निर्णय गरिने र समूहलाई नै विश्वास गर्ने, राम्रालाई प्रोत्साहन गर्ने, मानव जीवनका लागि आ–आफ्नो स्थानबाट अत्याधुनिक स्वास्थ्थ प्रविधिको सदुपयोग गर्ने व्यवहारमै कटिबद्ध रहने, शहरमुखी र शहर केन्द्रित प्रवृत्तिबाट मुक्त हुने जस्ता नयाँ परम्पराको सुरूवात वर्तमान परिस्थितिको बुलन्द माग हो । साथै युगान्तकारी निर्णय जसलाई कतिले परिकल्पना पनि गरेका छैनन र सहज रूपमा स्वीकार्न पनि सक्दैनन् त्यस्तो निर्णय लिन सक्ने नेतृत्व नेपाल नर्सिङ संघलाई चाहिएको छ, जसले संघमा असल प्रणालीको पनि विकास गर्न सकोस् । यस सन्दर्भमा हाम्रोलाई राम्रो भन्ने नभई राम्रा जति सबै हाम्रा भन्ने मान्यताका साथ नयाँ नेतृत्व चुन्न सम्पूर्ण नर्सहरू तयार रहनु आवश्यक छ । यसैलाई मुलमन्त्र बनाई नर्सिङ संघमा अबको नयाँ नेतृत्व चयन गरिनुपर्नेछ ।

समय र परिस्थिति अनुसार संघ र हामीले आफूलाई पुनर्संरचना र पुनः तयारी नगरेमा हामी आफैं परिवर्तनका बाघक र समयको मागका अवराधेक बन्नेछौं । यसो भएमा आगामी नर्सिङ पुस्तालाई समेत अकल्पनीय क्षतिको विरासत खडा गर्नेछौं । त्यसैले नेपालमा नर्सिङलाई नयाँ, सशक्त र पूनर्जीवित बनाउन साथै एकबद्ध भई चट्टान झै अडान लिई सम्मानजनक पहिचान स्थापित गर्न नयाँ सोच, दृढनिश्चियी र समक्ष नेतृत्वको खाँचो छ । हामीले अठारौं अधिवेशनसम्म महिला नर्सको नेतृत्वमा नेपाल नर्सिङ संघलाई हे¥यौँ र भोग्यौँ । अव एक पटक पुरूष नर्सको नेतृत्वको आवश्यकताबारेमा बहस चाउनुपर्ने आजको अहम् मुद्दा बनेको छ । त्यसैले यसपालिको नेपाल नर्सिङ संघमा अध्यक्ष पदमा पुरूष नर्सलाई जिम्मेवारी दिने सोचका बारेमा अहिलेदेखि नै छलफल अघि बढाऔँ । यसको पक्ष र विपक्षमा बहस गरौं । नर्सिङ संघ र नर्सहरूको अधिकतम हित हुने निर्यण लिन आसन्न उन्नाइसौं अधिवेशन सक्षम होस्, यही शुभकामना ।

(लेखक नेपाल नर्सिङ सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ)

 

 

 

 

Facebook Comments