परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देश बाँझै छ, म विदेश जोत्दै छु

उता देश बाँझै छ
म यता विदेश जोत्दैछु
उता तल्ला घरे साइँलो पारिलो घाम तापेर
बाख्रा चराऊँदै होला !!
माथ्लाघरे काँइलो गर्मीयाममा
हिमाली चिसो सिरेटो संगै
चौतारीमा भारि बिसाएर
मस्त निदाऊँदै होला !!
म यता एसी खोज्दैछु, हिटर खोज्दैछु

उता ,
आकासतिर हेरेर मेलो सार्दाको मजै अर्कै होला !
म भने यता हस्याङ्ग फस्यांग घडी हेर्दैछु
खै हाम्रा बाजे तीन महिना मेलो सार्थे
नौ महिना बसी खान्थे !
म यहाँ घण्टा हान्दा हान्दा
बल्ल बल्ल सास फेर्दैछु !!

म यता झिसमिसेमा देशभक्ति गीत गुन गुनाउँदै
रिमिट्यान्सको जोहो गर्न आँखा मिच्दै जान्छु
श्रीमती छिमेकीको नानी हेर्न सघाउँछे
उता छिमेकीले देशको सीमा मिच्दा
सबै निन्द्रामा छन् ! कोही उठ्दैनन !!

हो,
उता देश बाँझै छ, यता म विदेश जोत्दैछु !!
उता,
गाऊँकाले नाम्लाका भरमा डोको भरि देश थामेकै छन्
न मोर्गेज तिर्नु छ न बिल तिर्नु छ !!
दिनभरि चिया पसलमा देश बनाउने गफ चूटेर
बेलुकी बाउबाजेले ठड्याएको घर छिर्नु छ

हो थाहा छ !!
न देशमा हुँदा राम्ररी देश जोत्न सकियो
न विदेश आएर नि राम्ररी घाम पानी ओत्न सकियो
र त भन्न मन लाग्छ
उता देश बाँझै छ, म यता विदेश जोत्दैछु !!

अँ, अचेल लाग्न थालेको छ
अन्तमा चाहिने त एक भारी दाउरा
या एक टुक्रा जमिन न रहेछ !!

यहाँ आएर फगत केका लागि म मरिमेट्दैछु ?
बताउन साह्रै कठिन छ यहाँ कसैलाई
खै कसरि म यहाँ जिन्दगीको मीठास भेट्दैछु ?
र जिन्दगीको कुन प्यास मेट्दैछु ?

हो उता देश बाँझै छ, यता म विदेश जोत्दैछु !!

Facebook Comments