परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १७ गते, शनिबार ।

प्रदेश नं. ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त हुनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएको विषय चर्चामा आएसँगै स्थापित बर्खास्त हुनुभएको समाचारमा जनाइएको छ ।

नियुक्त र पदमुक्तिसम्बन्धी ५७ निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
पोखरामा डेंगुको बिरामी बढेको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

संविधानको मर्मविपरीत नागरिकतासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव ल्याइएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

अनुगमनको निहुँमा मन्त्री तथा कर्मचारीले लाखौंको सरकारी कोष दुरुपयोग गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ । मन्त्रीले सरकारी कोषबाट साथीको छोरीको जन्मदिवस बनाएको पनि समाचारमा जनाइएको छ ।

सरकारले बाँकेस्थित नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय उठान केन्द्र बनाउने लक्ष्यसहित पूर्वाधार विकासलाई तीव्रता दिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले राजधानी शहर काठमाडौंको ३० हजार रोपनी जमिनमा सुविधायुक्त शहर निर्माण गर्न लागेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

नेपालमा ६८ वर्षको अवधिमा ७२ जना महिला मन्त्री भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । समाचारअनुसार नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी हुनुहुन्थ्यो, जो २०१६ साल जेठ १३ गते बीपी कोइरालाको नेतृत्वमा बनेको सरकारमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री हुनुहुन्थ्यो ।

मंसिरको पहिलो साता हुने भएको नेपाली कांग्रेसको महासमितिको बैठक निर्धारित समयमा नहुने भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपाल घुम्न आएका ४० जना विदेशी पर्यटक अर्घाखाँचीको स्थानीय बुङ्ची खोला बगरमा नग्न अवस्थामा उच्छृङ्खल गतिविधिमा भेटिएपछि उनीहरूलाई स्वदेश फिर्ता पठाउने तयारी भएको समाचार चक्रपथ अनलाइन समाचार पोर्टलमा प्रकाशित छ । यही प्रकरणमा दुईजना नेपाली पनि पक्राउ परेको समाचार छ ।

Facebook Comments