परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक ९ गते, शुक्रबार ।

बहुचर्चित निर्मला पन्त हत्या प्रकरणमा ९२ दिनको लागि सात अध्ययन टोली गठन भए पनि नतिजा शून्य भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

निर्मला पन्त हत्या प्रकरणपछि निलम्बनमा पर्नुभएका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको समाचार राजधानीबाट निस्कने सबैजसो अखबारमा प्रकाशित छ ।

नेपाल र भारतका अधिकारीहरूबीच भारतको देहरादूनमा भएको बैठकले दुई देशबीचको सीमा विवाद तीन वर्षभित्र टुङ्ग्याउने सहमति भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

चामल ढुवानीमा एयरलाइन्सको सिन्डिकेटले हुम्लामा खाद्यान्न अभाव भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
सरकारले ल्याउन लागेको कर्मचारी समायोजनसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तह रोज्ने कर्मचारीले बढुवा पाउने प्रावधान राखिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

नेपाल वायुसेवा निगमले वाइड बडी विमान खरिद गर्दा कुनै अनियमितता भएको नपाइएको छानबिन टोलीले निष्कर्ष निकालेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

असोजको दोस्रो सातादेखि रोकिएको मोटरसाइकल दर्ता अब प्रदेशको नाममा दर्ता हुने गरी पुनः सुचारु हुने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

मुलुक पूर्ण रूपमा लोडसेडिङमुक्त भएको दाबी गरिए पनि ठूला उद्योगहरूले उर्जा संकट व्यहोरिरहेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

दोलखाको गौरीशंकर नगरपालिकास्थित भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईजनाको मृत्यु भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

कञ्चनपुरको सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रको आधारमा घरदैलोमै भत्ता दिन थालेको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

क्याम्ब्रिज एनालिटिकालाई डेटा बेचेको प्रकरणमा बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुकलाई आठ करोड डलर जरिवाना गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments