परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

असोज २५ गते, विहीबार । 

आज अक्टोबर ११ । अन्तर्राष्ट्रिय बालिका दिवस । संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यो दिवस मनाउन थालेको हो ।

जनकपुर—जयनगर रेलसेवाको भार परीक्षण असोज २४ गते सम्पन्न भएको समाचार राजधानीबाट निस्कने अखबारहरूमा प्रकाशित छ । यससँगै पाँच वर्षदेखि बन्द रेल सेवा सञ्चालनको तयारीमा रहेको समाचारमा जनाइएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित निरञ्जना भवगती मन्दिरमा व्राह्मण तथा दलित समुदायका एक सय ३८ परिवारले दशैंका लागि सामूहिक रूपमा जमरा राखेको समाचार छ । पृथ्वीनारायण शाहले वि.सं. १८०१ नुवाकोटमाथि विजय प्राप्त गरेपछि निरञ्जना भवगती मन्दिरमा सामूहिक सामूहिक रूपमा जमरा राख्ने प्रचलन बसेको समाचारमा जनाइएको छ ।

दशैंको समयमा हुनसक्ने सवारी जामलाई ध्यानमा राखेर नौबीसे—नागढुङ्गा सडक खण्डमा ठूला मालवाहक सवारी साधनलाई रोक लगाइएको उज्यालो नेटवर्क रेडियोले जनाएको छ ।

दशैं नजिकिँदै गर्दा हरेक दिन एक लाख व्यक्ति राजधानीबाट बाहिरिने गरेको सञ्चार माध्यमहरूले जनाएका छन् । अहिलेसम्म ११ लाख व्यक्तिले उपत्यका छाडिसकेको समाचारमा जनाइएको छ ।

काठमाडौं क्षेत्र नं. ७ मा वामदेव गौतमको उम्मेदवारीले नेकपाभित्र रडाको मच्चिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
कपिलवस्तुबाट निर्वाचित सभासद अभिषेकप्रताप शाहले गौतम बुद्ध भारतमा जन्मेको प्रचार गर्ने कार्यमा सहभागी हुनुभएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

भेरी—बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न हुन लागेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । नेपालमा पहिलो पटक ल्याइएको टनेल खन्ने प्रविधिबाट ११ महिनामा ८.३ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको समाचारमा जनाइएको छ ।

५० करोडको लगानीमा निर्मित नेपालगञ्जस्थित होटल सिद्धार्थ भ्यूले चारतारे होटलको मान्यता पाएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

उच्च सरकारी कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख घुस लिँदालिँदै पक्राउ पर्नुभएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

सर्वोच्च अदालतले दशैंको बेलामा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
वीर अस्पतालले असोज २४ गतेदेखि भक्तपुरको दुवाकोटबाट पनि बहिरङ्ग स्वास्थ सेवा (ओपीडी) सेवा शुरुवात गरेको समाचार छ ।

Facebook Comments