परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज १ सोमबार

  • अर्थमन्त्री डा. युवराज खतिवडाले सबै श्रमिकलाई पेन्सनको दायरामा ल्याउन सरकारले कानुन बनाउन लागेको बताउनुभएको छ । कर्मचारी सञ्चय कोषको ५७ औं वार्षिकोत्सक समारोहमा डा. खतिवडाले यस्तो बताउनुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • निर्मला पन्त हत्या प्रकरणमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्टसहित छ प्रहरी र दुईजना आरोपीको पोलिग्राफ बयान लिन लागिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • तीन दिन लगातार कोसिस गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरूलाई भेट नदिनुभएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । मुख्यमन्त्रीहरूको पोखरा भेलाबाट प्रधामन्त्री ओली असंतुष्ट हुनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि छ खर्ब लाग्ने अनुमान गरेको   छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग कुराकानी गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो ।

 

  • नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त हुनुभएको छ । उहाँलाई निगमको सदस्यमा भदौ ३० गतेमात्र नियुक्त गरिएको थियो ।

 

  • नेपाल पत्रकार महासंघले प्रेसविरोधी कानुन सच्याउन माग गर्दै असोज १० देखि १५ गतेसम्म दबाबमूलक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

 

  • सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रूपैयाँ ८० पैसा अनुदान दिने निर्णय गरेको समाचार छ ।

 

  • नेपाली सेनाले विष्फोटक पदार्थ तथा गोलीगट्ठा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतले अवरोध पैदा गरेको जनाएको छ ।

 

  • प्रदेश नं. २ को राजधानी जनकपुरदेखि बिहारको राजधानी पटनासम्म बस सेवा शुरु भएको छ । जनकपुर पटनाको बसभाडा चार सय ४० नेपाली रूपैयाँ (दुई सय ७५ भारतीय रूपैयाँ) निर्धारण गरिएको छ ।

 

  • दुई दिनको अवधिमा मौलिक हकसम्बन्धी १५ वटा विधेयक पारित भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • दशैं मनाउनका लागि उपत्यकाबाट घर जाने यात्रुका लागि असोज पाँच गतेदेखि अग्रिम बुकिङ खुला हुने भएको समाचार छ ।

 

  • भूटानमा भएको पहिलो चरणको संसदीय चुनावमा निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल पिपुल्स् डेमोक्रेटिक पार्टी (पीडीपी) पराजित भएको छ । पीडीपी तेस्रो स्थानमा पुगेको छ । भूटानी संसदको चुनाव दुई चरणमा हुन्छ । पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो हुने दलले मात्र दोस्रो चरणको निर्वाचनमा सहभागी हुने अवसर प्राप्त गर्छन् । यस प्रावधानअनुसार पीडीपीका लागि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने बाटो बन्द भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
Facebook Comments