परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वास्थ्यका लागि जनआन्दोलनबाट अपेक्षा

सन्दर्भ नागरिक आन्दोलनको चौथो विश्व सम्मेलन

(यो आलेख आउँदो नोभेम्बरमा बंगलादेशमा आयोजना हुने जनताको स्वास्थ्य आन्दोलनको चौथो विश्व सम्मेलनमा नेपाली अवधारणा प्रस्तुत गर्न प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, ललितपुरमा २०७५ भाद्र १ गते आयोजित तयारी बैठकमा आन्दोलनका नेपाल संयोजक प्रा. डा. शरद वन्तले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा आधारित छ)

स्वास्थ्यका लागि नागरिक आन्दोलनको चौथो विश्व सम्मेलन १५ देखि १९ नोभेम्बर (२०१८) मा बंगलादेशमा सम्पन्न हुन लागिरहेको छ । विश्वभरिका सबैका लागि स्वास्थ्यमा पहुँच पुर्‍याउन न्यायपूर्ण स्वास्थ्य प्रणालीका लागि एकताबद्ध पहलको प्रतिवद्धता सहित आयोजना हुन लागेको सम्मेलनमा भाग लिन विभिन्न देशमा आ–आफ्ना तयारी कार्यहरू भइरहेका छन् । यसको तयारीस्वरूप नेपालमा पनि राष्ट्रिय तयारी समितिले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस आन्दोलनको अवधारणा विकासको चरणदेखि नै संलग्न भएको नेपालले यस आन्दोलनलाई धेरै विषयमा सृजनात्मक योगदान पुर्‍याउँदै आएकोे छ । नयाँ पुस्ताका स्वास्थ्यकर्मीहरूलाई यो आन्दोलनमा सक्रिय बनाएर यसको मर्मलाई जनस्तरमा पुर्‍याउनका लागि स्वास्थ्य बिधाका विद्यार्थीहरूको सर्कलको स्थापना नै गरेर नेपालले यो आन्दोलनलाई नवीनतम योगदान पुर्‍याएकोे छ। यसभन्दा पहिला भएका तीनवटै सम्मेलनहरूमा नेपालको योगदानपूर्ण सहभागिता रहेको थियो ।

स्वास्थ्यमा न्याय र समानताको पवित्र उद्देश्य राखेर सन् १९७८ मा अल्मा–अटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । त्यो सम्मेलनमा सहभागी हुने विश्वका १३४ देशका प्रतिनिधिहरू, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफ लगायत संयुक्त राष्ट्रसङ्घ (UNO) का प्रतिनिधिहरू, विशेषज्ञ र स्वास्थ्य अभियन्ताहरूले स्वास्थ्यलाई जनताको अधिकारको रूपमा स्थापित गराउने अठोट गरेका थिए । तर दुर्भाग्यवश, त्यस्तो हुन सकेन । स्वास्थ्यलाई खुला बजारले अधीनमा राखेपछि स्वास्थ्यमा विद्यमान गहिरा असमानताहरू पुरिन सकेनन् । सन् २००० सम्ममा उक्त लक्ष्य हासिल हुन नसक्ने बोध भएपछि यसको प्रतिक्रिया स्वरूप जनताको स्वास्थ्य आन्दोलन (People’s Health Movement) विश्वव्यापी रूपमा सतहमा आएको हो । यसरी, यो आन्दोलनको सुरुवात न्याय र समानतामा आधारित नागरिकमुखी स्वास्थ्य प्रणालीको स्थायित्व र स्वास्थ्यप्रति आलोचनात्मक जनमत निर्माण गर्ने उद्देश्यले भएको हो । जनताको स्वास्थ्य आन्दोलन स्थानीय, क्षेत्रीय र विश्वस्तरका स्वास्थ्यका मुद्दाहरूमा केन्द्रित हुने गर्दछन् । नीतिगत रूपमा नै स्वास्थ्य प्रणालीलाई जनताको स्वास्थ्यप्रति जवाफदेहीे बनाउनका लागि नागरिक समाजलाई सङ्गठित र सक्रिय बनाउन यो आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ ।

People’s Health Movement को पहिलो सम्मेलन ८ डिसेम्बर २००० मा ९२ देशका १४५३ जना प्रतिनिधिहरूको सहभागितामा बंगलादेशको ढाकामा सम्पन्न भएको थियो । यस सम्मेलनले जनताको स्वास्थ्यको बडापत्र (People’s Charter for Health) अनुमोदन गरेको थियो । दोश्रो सम्मेलन निकारागुवा र तेश्रो सम्मेलन दक्षिण अफ्रिकामा हुँदै चौथो सम्मेलन, अल्मा आटाको घोषणाको चार दशक पूरा भएको ४० औ वर्षको अवसर पारेर, बंगलादेशको ढाकामा आयोेजना हुन गइरहेको छ ।

People’s Health Movement को चौथो सम्मेलन मुख्यतः यी चार मुद्दाहरूमा केन्द्रित हुनेछः
१ स्वास्थ्य र विकासको आर्थिक तथा राजनीतिक परिदृश्य
२ स्वास्थ्यलाई प्रबद्र्धन गर्ने वा क्षति पुर्‍याउने सामाजिक र भौतिक वातावरण
३ न्यायमुखी, जिम्मेवार, अविच्छिन्न, समावेशी र सञ्जालयुक्त (Networked) बनाउन स्वास्थ्य प्रणालीको सवलीकरण
४ सबैका लागि स्वास्थ्यको निम्ति एकता तथा साधन स्रोतको परिचालन
यो फराकिलो फ्रेममा चौथो सम्मेलनले विश्व व्यापार र बजार, स्थानीय उत्पादन, स्वास्थ्यमा निजी लगानी, खाद्य सम्प्रभूता, औषधी तथा स्वास्थ्य प्रविधिमा नागरिकको पहुँच, लैँगिक एवम् सामाजिक समावेशिता र समानता आदि बिषयहरूमा अन्तरक्रिया गर्नेछ ।

यो सम्मेलनमा नागरिक समाजका प्रतिनिधिहरू, सामाजिक संघ संस्था र सञ्जालहरू, सामाजिक आन्दोलनका, अभियानकर्ताहरू र विज्ञहरूले आ–आफ्ना विचार र दृष्टिकोणहरूलाई प्रस्तुत गर्नेछन् । यस्तो मञ्चले यो आन्दोलनलाई एकतावद्ध बनाउने र अनुभवहरू आदान–प्रदान गरी साझेदारी विकास गर्ने अपेक्षा गरिन्छ । साथै यस्तो अवसरले पारस्परिक सिकाइ र भविष्यका कार्यहरूका लागि संयुक्त रणनीति निर्माण गर्न योगदान पुग्ने र योजनाबद्ध अभियान तथा गतिविधि सञ्चालन गर्न सहजता ल्याउने विश्वास गरिएको छ ।

विगतमा जस्तै स्वास्थ्यका लागि जनताको आन्दोलनको चौथो विश्व सम्मेलनाका लागि पनि आयोजक सचिवालयले केही अपेक्षित परिणामहरू प्रक्षेपण गरी सार्वजनिक समेत गरिसकेको छ । विभिन्न विषयहरूमा घनीभूत छलफलहरू र बहसहरूले विभिन्न गतिविधिहरूको सञ्चालनमा दिशा प्रदान गर्नेछ । विश्वमा सबैका लागि स्वास्थ्य अभियान, मजबूत स्वास्थ्य प्रणालीको विकास गर्न राजनीतिक संवाद र हस्तक्षेप, स्वास्थ्यप्रति सामाजिक प्रतिबद्धताको खोजी र ‘स्वास्थ्यका लागि लोकतान्त्रिक राज्य’ भन्ने विषयमा पहलकदमी लिने विषयलाई छलफलमा केन्द्रित बनाउने लक्ष्य निर्धारण गरिसकिएकोे छ । उल्लेखित विषयमा आदानप्रदान र सामूहिक रणनीति बनाउनुका साथै स्वास्थ्यका अभियानकर्ताहरूलाई संगठित गर्न र एकै ठाउँमा जुटाउन यो चौथो सम्मेलन सफल हुने विश्वास लिइएको छ । सम्मेलनवाट निश्चित कार्यक्रमहरू तय गर्ने र त्यसका लागि अल्पकालीन, मध्यकालिन र दिर्घकालीन रणनीति समेत निर्माण गरिने छ, जसले स्वास्थ्यका लागि नागरिक आन्दोलनलाई गति र दिशा दिने विश्वास लिइएको छ ।

विगत लामो समयदेखि स्वास्थ्य प्रणाली बलियो बनाउने भन्ने कुरालाई PHM ले अगाडि बढाउँदै आएको छ, तर किन बलियो बनाउने भन्ने कुराको जवाफ खोज्न पनि जरुरी ठानिएको छ । प्रतिगमनकारी बजारमुखी स्वास्थ्य प्रणाली छ भने किन त्यसलाई बलियो बनाउने ? यो प्रश्न अत्यन्तै महत्वपूर्ण छ । सबैका लागि स्वास्थ्य कसरी सुनिश्चित गर्ने भन्ने अहम् प्रश्नलाई सम्बोधन गर्न स्वास्थ्यका लागि जनताको यो स्वास्थ्य आन्दोलनमा राज्य र सबै सरोकारवालाहरूको जबाफदेहिता चाहिन्छ र यो सुनिश्चितता बजारले होइन, राज्यको इमान्दारीपूर्ण प्रतिबद्धताले प्रदान गर्छ भन्ने मान्यता राख्दछ ।

सम्मेलनको सचिवालयले सम्मेलनमा उठाइने विषयलाई ध्यान दिन र आन्दोलनको उदेश्यमा केन्द्रित हुँदै तयारी गर्न विश्व समुदायलाई आव्हान गरिसकेको छ । देशको भूराजनीतिक अवस्थितिमा स्वास्थ्य र विकास, सामाजिक तथा भौतिक वातावरण, स्वास्थ्य प्रणालीको सुदृढीकरण, सवलीकरण र व्यापक सञ्जालीकरण गर्दै समग्र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन र परिचालित गर्नमा विशेष केन्द्रित हुन पनि अनुरोध गरिएको छ ।

सचिवालयले People’s Health Movement को चौथो सम्मेलनका विभिन्न कार्यक्रमहरू पनि प्रस्ताव गरेको छ । मूल मुद्दाहरूमा प्रत्येक दिन पूर्ण सत्रमा छलफल हुनेछ । त्यसमा अनुभव सहितका आत्मवृत्तान्त, अडान सहितका प्रस्तुतिहरू हुनेछन् । अन्तिम दिनको पूर्ण सत्रबाट चौथो सम्मेलनको घोषणापत्रलाई अन्तिम रूप दिइ जारी गरिने छ । त्यसैगरी, प्रत्येक दिन ४ देखि ६ वटा समानान्तर उपसत्रहरूको आयोजना गरी छलफलहरूलाई व्यवस्थित तुल्याउने योजना बनाइएको छ । यसबाहेक, बिभिन्न देशहरूले वा सङ्घ संस्थाहरूले स्वस्फूर्त रूपमा सत्रहरू आयोजना गर्ने छन् र क्षेत्रीयस्तरका मुद्दाहरूमा सम्बन्धित देशहरूका सहभागीहरूले बेग्लाबेग्लै बहस गर्नेछन् ।

People’s Health Movement कोे चौथो सम्मेलनलाई कसरी परिणाममुखी बनाउने भनेर गतिविधि सञ्चालन गर्दै परिचालित भइरहेका छन् । यस सम्मेलनका लागि विश्वका विभिन्न देशहरूले आ–आफनै ढङ्गले तयारी गरिरहेका छन् । त्यही परिचालनका क्रममा नै हामी पनि छौँ । नेपालमा पनि यस सम्मेलनलाई मध्यनजर गरी तयारी भइरहेको छ । राष्ट्रिय तयारी समिति गठन गरी त्यसमार्पmत् विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन् । चौथो सम्मेलनमा हामीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा उठाउने मुद्दाहरूको टुङ्गो लगाउन र हाम्रो सहभागितालाई अर्थपूर्ण र व्यवस्थित बनाउने कार्यनिति तय गर्नका लागि नेपालले राष्ट्रिय सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।

यो राष्ट्रिय सम्मेलनमा स्वास्थ्यमा समानता र न्यायलाई स्थापित गर्न हाम्रो सङ्घर्ष, अनुभव र सिकाइको बिबेचना गरिने छ । सम्मेलनमा, हामीले भोगेका अप्ठ्यारा र चुनौतीहरू तथा प्राप्त गरेका सफलताहरूको आदानप्रदान अर्थपूर्ण हुनेछ र सम्मेलनको सफलताका लागि हाम्रो योगदान उपयोगी साबित हुनेछ भन्ने विश्वास छ ।

विश्वका सबै महादेशहरूबाट बिभिन्न तप्काका करिब १२०० देखि १५०० सम्म व्यक्तिहरू सहभागी हुने अपेक्षा गरिएको People’s Health Movement  को यो चौथो सम्मेलनलाई हामीले केही दिन सक्छौँ भने यो सम्मेलनबाट देश र जनताको स्वास्थ्यका लागि धेरै सिक्ने अवसर पाउँछौँ ।

Facebook Comments