परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संसदीय समितिको सामना गर्ने पालो अब मिश्रको

काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई लाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ । उहाँ अहिले कायममुकायम प्रधान न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि प्रधान न्यायाधीशमा सिफारिश दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले दुई तिहाई बहुमतबाट अस्वीकृत गरेपछि मिश्रको सिफारिशको बाटो खुलेको हो । संसदीय सुनुवाई समितिबाट अस्वीकृत जोशी बिदा थप गरी घरै बसिरहनुभएको छ ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैैैैठकले मिश्रलाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि उहाँको नाम अब संसदीय सुनुवाई समितिमा जानेछ । शैक्षिक योग्यता, जन्म मिति, न्यायिक आचारण, फैसला आदि आधारका कारण सुनुवाई समितिमा अनुत्तीर्ण हुनुपरेको नियति जोशीले भोग्नुपरेको थियो । दीपकराज जोशीले त्यसो त आफ्ना शैक्षिक प्रमाणपत्रहरूको निष्पक्ष छानबिन हुनुप¥यो भनी गर्नुभएको मागप्रति संवैधानिक परिषद्को बैठकले कुनै प्रतिक्रिया पनि जनाएन र त्यतातिर प्रवेश पनि गरेन । यद्यपि प्रतिपक्षी दल नेपाली कांग्रेसले जोशीको संसदीय सुनुवाई समितिको बैठक बहिष्कार गर्नुका साथै जोशीलाई प्रधान न्यायाधीश बनाउनैपर्ने अडान राख्दै आएको थियो । यसै विषयलाई लिएर उसले आफैँ संवैधानिक परिषद्बाट सिफारिश गराउने अनि आफ्नै सांसदलाई लगाएर अस्वीकृत गराउने खेल खेलेको भनी प्रधानमन्त्रीको कडा आलोचना गरेको थियो । तर बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको उपस्थितिमा बसेेेको संवैधानिक परिषद्को बैठकले सर्वसम्मतबाट ओमप्रकाश मिश्रको नाम प्रधान न्यायाधीशमा सिफारिश गर्‍यो ।
अब मिश्रले पनि जोशीकै जस्तो संसदीय सुनुवाईको सामना गर्नुपर्नेछ । सो समितिबाट नाम स्वीकृत भएमा उहाँले आउँदो पुससम्म सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने अवसर पाउनुहुनेछ । कथंकदाचित दीपकराज जोशी प्रधान न्यायाधीश भइदिएको भए मिश्रले प्रधान न्यायाधीश हुनुभन्दा पहिले नै अनिवार्य अवकाश पाउनुहुने थियो । अतः उहाँको सिफारिशलाई न्याय क्षेत्रका व्यक्तिहरूले मौका र भाग्यको रूपमा समेत लिने गरेको पाइएको छ । मिश्र प्रधान न्यायाधीशमा संसदीय समितिबाट स्वीकृत भए पनि वा नभए पनि उहाँपछिका वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर प्रधान न्यायाधीशमा सिफारिश हुने कुरामा कुनै सन्देह देखिँदैन । चोलेन्द्र प्रधान न्यायाधीशमा सिफारिश भई संसदीय समितिबाट स्वीकृत भएमा लामै समय प्रधान न्यायाधीश बन्ने देखिन्छ ।

Facebook Comments