परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कञ्चनपुरमा बाह्र घण्टे कर्फ्यू आदेश जारी

प्रजिअ र प्रहरी प्रमुख फिर्ता

तेह्र वर्षीया बालिका निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि भीमदत्त नगरपालिका क्षेत्रमा भइरहेको प्रदर्शनले हिंसात्मक रूप लिएर तनाव झनै बढेपछि सरकारले कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी प्रमुख डिल्लीराज बिष्टलाई फिर्ता बोलाएको खबर छ । प्रदर्शनलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले आज भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रहरूमा १२ घण्टे कर्फ्यु लगाएको छ ।

किशोरी निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दिलिपसि‌ंह बिष्टलाई सार्वजनिक गरेपछि वास्तविक दोषीलाई लुकाई पागललाई सार्वजनिक गरेको भन्दै प्रहरी प्रशासनको विरोधमा दिनहुँ कञ्चनपुरमा प्रदर्शन हुने गरेका छन् । आजको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हानेको गोली लागी चार प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ पनि केही घाइते भएकाे खबर छ ।

फिर्ता बोलाइएका कञ्चनपुर प्रमुख जिल्ला अधिकारी खड्काको ठाउँमा तारानाथ अधिकारी र प्रहरी प्रमख विष्टको ठाउँमा कुवेर कठायतलाई पठाएको गृह मन्त्रालयले जानकारी दिएको छ । साथै तेह्र वर्षीया निर्मला पन्तका हत्या भएको घटेनाको छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एक छानबिन समिति समेत गठन गरिएको जानाकारी गराएको थियो ।
बिहीबार बिहानैदेखि भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका थिए । विस्तारै आन्दोलन बढेदै गएपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा  चार  आन्दोलनकारी घाइते भएका हुन् । एक जनाको भने अवस्था चिन्ताजनक रहको समेत जनाइएको छ ।
बालिका पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ । भीमदत्तनगर बजारमा मात्रै सीमित प्रदर्शन आज कञ्चनपुरका अन्य क्षेत्रमा समेत भएको थियो । गत साउन १० गते साथीको घरमा गएकी  निर्मलाको घर नफर्केपछि परिवारले उनको खोजी गरेको थियो । उनको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

Facebook Comments