परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मेरो मूलबाटो राजनीति होइन रहेछ

–श्रवण मुकारुङ, प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाली साहित्यका शिखर हस्ताक्षरहरूमध्ये श्रवण मुकारूङ चिरपरिचित नाम हो । विसे नगर्चीबारे लेखिएको कविता, माथिमाथि सैलुङ्गेमा लगायतका गीतले उहाँ चर्चाको शिखरमा पुग्नुभयो । दर्जनौँ चर्चित कविता र गीतमार्फत् नेपाली समाजमा विशिष्ट स्थान बनाउन सफल साहित्यकार मुकारूङ एकताका राजनीतितिर पनि हाम फाल्नुभयो र विफलता हात पार्नुभयो । प्रस्तुत छ, विगत चार वर्षदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञका रूपमा कार्यरत साहित्यकार मुकारुङको कार्यकाल अब करीब एक महिना मात्रै बाँकी रहेका बेला परिसंवाद् डट कमका तर्फबाट घमराज लुइँटेलले उहाँसँग नेपाली साहित्य, प्रज्ञा प्रतिष्ठान र राजनीतिको सेरोफेरोमा रहेर गर्नुभएको संवाद्को सारः

अहिले कुन खालका नयाँ सिर्जनाहरू गरिरहनुभएको छ ?
अहिले म गीत, कविता र नाटक बिधामा कार्यरत छु । एउटा सर्जकले म नयाँ नयाँ विधा, रचना र सिर्जनामा विषयवस्तु खोज्ने नै हो । समाजलाई कसरी हेर्ने भन्ने बृहत्तर आयामको खोजी गर्ने हो । परिष्कार गर्ने हो । शोध गर्ने हो । म पनि त्यही गर्दैछु । अहिले म गीतमा पनि फरक ढंगले लेखौँ । अहिलेका भन्दा नयाँ र भिन्न समाजोपयोगी लेखौँ भन्ने प्रयास गरिरहेको छु । नाटक र कविता पनि त्यसै गरी लेख्दैछु । चलचित्रका लागि पनि केही गीत लेख्दैछु ।

गीतमा नयाँ पनको कुरा गर्नुभयो । कस्तो खालको नयाँ पन हो ?
हिजो पञ्चायती व्यवस्था थियो । अभिव्यक्ति स्वतन्त्रता थिएन । समाजमा व्याप्त विषयवस्तुमा लेख्ने अवसर पनि थिएन । अहिलेको राजनीतिक परिवर्तनमा हामीले लेख्ने स्वतन्त्रता पाएका छौँ। हिजो त्यो थिएन । विषय एकै हुन्थ्यो । मोनोटोनस । अहिले त्यो अवस्था छैन । म साहित्यिक लेखनमा दुई कुरामा हेर्छु : हाम्रो समाजमा यति विषय छन्, जुन बाहिर ल्याएमा समाजले धन्यवाद दिन्छ । समाज अगाडि जान उत्प्रेरणाको र मानव सभ्यतालाई अगाडि बढाउन सकियोस् ।
नेपाली गीत सङ्गीतमा राष्ट्रकवि माधव घिमिरेको प्रभाव बढी पाइन्छ नेपाली गीतकारहरूमा । नयाँ आउनेहरूले त्यो शैलीबाट विमुक्ति र नयाँ बाटो खोज्नुपर्छ । म पनि माधव घिमिरे हुँ भन्ने अहमका साथ लेख्नुपर्छ, सोच्नुपर्छ । जुन नयाँ होस् । मैले त्यही हिसावले नयाँ बनाउने कोशिस गरिरहेको छु । नयाँ गर्छु भनेर मात्रै त नयाँ हुने होइन । नयाँ त्यसबेला मात्रै हुन्छ, जुन बेला हामी पुरानोलाई चिन्न सक्छाैँ । मैले नेपालको यति धेरै सांस्कृतिक विविधता छ, त्यसभित्र रहेका लोकसङ्गीत गीतको विविधतामा परिचित हुने र त्यसको मेरुदण्डलाई पक्रिएर आफ्नो अभिव्यक्तिको शैली बनाउने गरेको छु । त्यसो गर्दा मौलिक नेपाली पन आउने र स्रष्टाको परिचय देखाउने पनि अवसर हुँदो रहेछ ।

चर्चित कविता बिसे नगर्ची सम्बन्धी चर्चित कविता लेख्दा तपाईमा मौलिकता र नयाँ चेत आइपुगेको थिएन भन्न खोज्नुभएको हो?
ममा त्यो चेतना पहिले पनि थियो । त्यो कविता पनि मैले चेतनाकै आधारमा भिन्न धारमा लेखेको थिएँ । बहुसंख्यक नेपाललीले मन पनि पराइदिनुभयो । तर साधनाले अझै खारिइरहेको छु। ममा चेत त अघिदेखि नै थियो । तर समयअनुसार अहिले आएर अझै खारिएको छु ।

विसे नगर्ची कविता र माथिमाथि शैलुङ्गेमा गीतले यहाँलाई निकै उचाइमा पुर्याएका थिए । तीभन्दा माथिल्ला उचाइका सृजना अहिलेको चेतका कुन होलान् त ?
मैले तीभन्दा पनि राम्रा र नयाँ गीतहरू लेखेको छु । तिनलाई संगीत, गायन र प्रस्तुतिको चरण भइरहेको अवस्थामा ती परीक्षणमै छन् । कविता पनि मैले लेखिरहेको छु । ६२/६३ को समयमा जुन विसे नगर्ची कविता लेखेँ, त्यसले चर्चा पाए जति वा त्योभन्दा माथिल्लो स्तरका कृति मैले लेखे पनि मैले त्यो जति सबैले चर्चा पाउन सक्छन् भन्ने हैन । तिनको रचना हुन विशिष्ट समयको आवश्यकता छ । सन्दर्भ र समय असाध्यै विशिष्ट थियो विसे नगर्ची लेखेको बेला । त्यो र माथिमाथि सैलुङ्गेमा भन्दा परिष्कृत कविता र गीत मैले लेखेको छु । तर तिनको बराबर चर्चा भइहाल्छ भन्ने होइन । त्यसको मतलब ती कृति स्तरीय र परिष्कृत थिएनन् भन्ने हैन । त्यसो भनियो भने पुरानो कृतिलाई न्याय नहोला ।

यहाँका लाखौँ पाठक र शुभचिन्तकले थाहा पाउने नयाँ कुन कृति होलान् ?
मैले अढाई दशक मितिनी नाटक लेखेँ । ११८ अङ्कको त्यो कृति पुस्तकको रूपमा आउँदैछ । त्यो नाटक मभित्रको लेखकलाई कुनै सम्झौता नगरी लेखकीय स्वतन्त्रता उपयोग गरेर आफ्नो अभिव्यक्तिलाई पस्केकाले म निकै सन्तुष्ट छु । कतिले नाटकलाई साहित्य नै पनि नभन्लान् कि भन्ने पनि डर छ । तर मैले यसलाई नेपाली माटोको महाभारतको रूपमा लेखेको छु । नेपाली जनजीवनलाई लिएर लेखेको छु । महाभारतमा राजा, महाराजाका मात्रै चरित्र र विषयवस्तु लेखिएको थियो भने यसले त्यसलाई तोडेको छ । यो कृति यो अहिले नभए पनि २० औँ वर्षपछि म नरहँदा पनि पनि गम्भीरताका साथ अध्ययन गरिने र मेरो यस कृतिको सही मूल्यांकन हुने मैले ठानेको छु ।

यो मितिनी नाटक कतिले त रेडियोबाट सुनेका छन् । तर जसले रेडियोबाट सुनेका छैन्, तिनलाई पनि जिज्ञासा आउन सक्छ, कृतिको सार कस्तो होला ?
यसको चुरो समाजमा हुने बालबिबाह जुन छ, त्यो गर्नुहुन्न भन्ने सन्देश छ । तर नेपाली समाज, द्वन्द्व हुनुभन्दा अघिदेखि बिक्रम संवत् २०५० को दशकदेखि अहिलेसम्मको परिवर्तन हुँदै यहाँसम्म आएको अवस्थामा राजनीति, द्न्द्वले पारेको प्रभाव, यसले ल्याएका सामाजिक, सांस्कृतिक, राजनीतिक पाटाहरूलाई समेटेको छ । मेरा सीमाभित्र रहेर मैले इमान्दारीपूर्वक यो कृतिमा मैले राखेको छु । अबको २०, ५०, १०० वर्षपछि पढ्नेले यसबेलाको नेपाली तस्बिर देख्नेछन्, जुन तस्बिर अन्य कृतिमा देखिएको छैन । यो पूर्वी पहाडको कथा हो । नेपाली साहित्यमा जुन प्रकारको पहिचानको कुरा आयो, त्यसलाई समाजशास्त्री र राजनीतिक नाराभन्दा भिन्न यहाँले नाटकमा पाउनुहुन्छ । त्यसैले नेपालको यौटा समयलाई पढ्ने यौटा कृति भएको छ भन्ने लाग्छ ।

अरु कृति के आउँदैछन् ?
मेरो गीती सङ्ग्रह आउँदैछ । कविता सङ्ग्रह पनि आउँदैछु । म प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभागमा कार्यरत छु । त्यसमा व्यस्त भएका कारण कृति लेखनमा अलिक ब्रेक पनि लागेको छ । संस्थाको काममा लाग्नुपरेकाले । मातृभाषा साहित्य भन्नाले नेपाली मात्रै नभएर अन्य भाषामा लेखिएका साहित्यिक कृतिलाई लिने गरिएको छ । प्रज्ञा प्रतिष्ठानको म त्यही विभाग हेरिरहेको छु ।

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

प्रज्ञा प्रतिष्ठानका बारे केही पछि कुरा गरौँला । समसामयिक साहित्यकै बारेमा कुरा गरौँ । अहिलेको साहित्यिक सिर्जनाले कुन मोड र धारलाई समातेको छ भनेर मूल्याङकन गर्नुहुन्छ ?
सैद्धान्तिक कुरा समालोचकहरूले गर्लान् । तर अहिलेको नेपाली लेखन भनेको सामाजिक यथार्थवादी धारा नै हावी भएको र त्यसलाई आलोचनात्मक दृष्टिकोण राख्ने रचनाहरू विविध बिधाका भए पनि यही सामाजिक यथार्थवादी धाराले पक्रेको देखिन्छ । उत्तर आधुनिकवादी भनौँ वा माक्र्सवादी धारा भनौँ, जे भए पनि नेपाली समाजलाई गहिरो गरी चिनेर नेपाली समाज र देशलाई कसरी अग्रगति दिने भन्ने चिन्ता मूलधारका रचनामा पाउँछु । केही प्रयोगहरू पनि केही लेखकहरूले खोज्ने, लेख्ने गर्छन्, तर त्यो मूलधार बन्न सकेको छैन ।

प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पद पनि अब त सकिनैलाग्यो क्यारे । के गर्न सकियो, के गर्न सकिएन प्राज्ञ भएर ?
प्रज्ञा प्रतिष्ठानमा रहेर प्राज्ञको काम गर्दा मैले गरेको कामले दीर्घकालीन प्रभाव पार्ने हो । अल्पकालीन प्रभाव त प्रज्ञा प्रतिष्ठानको कामले पार्दैन। म त्यहाँ गएर ठीक भयो भन्ने मलाई लाग्छ । त्यो मेरा लागि ठीक ठाउँ रहेछ भन्ने नै अहिले पनि मलाई लागेको छ । हाम्रो समाज जस्तो छ, त्यस्तै सबै क्षेत्रमा हुने हो । देशको बजेट, साधन स्रोतले यसलाई फरक पार्दो रहेछ । एकेडेमीमा मैले गरेका दुईवटा काम रहेका छन् । मैले हेरेको विभाग मातृभाषा साहित्य विभागको कुरा गर्दा बिक्रम संवत् २०६२÷६३ को परिवर्तनपछि बैरागी काइँला र गङ्गा उप्रेती आउनुभएपछि त्यो विभाग खुल्यो । त्यो उहाँहरूबाट थालिएको परम्परालाई प्रभावकारी बनाउने हो । त्यसले दुई प्रकृतिका काम गर्छ । १) अनुसन्धान गर्ने, २) उत्प्रेरित गर्ने । गोष्ठी, कार्यशालामार्फत् उनीहरूलाई सचेतना गराउने । शोध अनुसन्धानमा चाहिँ विविध भाषभाषीका विज्ञहरूसँग बसेर उनीहररूको चाहना र हाम्रो धारणा सहित राखेर के गर्नुपर्छ भनेर परामर्श सहित यी दुबै प्रकारका काम गर्छौ ।

चार वर्षको समयावधिमा प्राज्ञका हैसियतमा यहाँले गरेका देखिने काम चाहिँ के भए त?
हो, म प्रज्ञामा गएको चार वर्ष भयो । म गएपछि विभिन्न शोध अनुसन्धान गर्ने काम त भइरहेकै छ । कुनै जाति विशेषको कविता, लोक जीवन, गीतको त काम भइरहेको छ । तर प्रमुख रूपमा दुईवटा महत्वपूर्ण काम मैले गरेको छु । ती के भने २२ वटा नेपाली मातृभाषालाई समेटेर मिथक कोश तयार भएर २२ प्रेसमा जान लागेको छ । भूगोल र जातिको मात्र कुरा गरेर के हुन्छ? ती जाति, समुदायका मिथक बुझियोस् न ! जन्मदेखि मृत्युसम्मका आयाम यो मिथकले समेटेको छ । उदाहरणको लागि राईहरूकै मिथक सुम्निमा पक्रिनुभयो भने किराँतहरूको ठूलो दर्शन, कथा, जीवन पद्धति, सौन्दर्य समेटिएका छन्। यसलाई विद्वानहरूमार्फत् सङ्कलन गराइयो । ६–७ सय पृष्ठको कोश हो त्यो । यसले सम्बन्धित जातिको इतिहास र परिचय दिन्छ ।
अर्को, दोस्रो काम चाहिँ मातृ भाषा साहित्यको इतिहास समेट्ने पुस्तक निकाल्दैछौँ । बजेट साहै्र कम हुन्छ । त्यही बजेटबाट काम गर्दा १६ वटा मातृभाषाको साहित्य इतिहास समेटेका छौँ । यो पनि छापिने क्रममा छ । अब म प्रज्ञाबाट बाहिरिए पनि यो कामले निरन्तरता पाउँछ । अहिले नपरेका भाषा र साहित्यले पछि पनि स्थान पाउँदै जानेछन् ।

तपाईले यसरी विभिन्न मातृभाषाका मिथक र इतिहास समेट्दा १६ वटा मात्रै भाषा लिनुभएछ । तर नेपालमा त सवा सय जति भाषा छन् । के आधारमा १६ वटा मात्रै भाषा छान्नुभयो त?
हामीले मातृभाषा छान्दा बजेटका कारणले १६ वटामा मात्रै खुम्चिनुपर्‍यो । त्यसैले १६ वटा भाषा छान्दा हामीले केही आधार तयार ग¥यौँ । त्यसका लागि भाषाविद्हरूले बनाएका केही आधारलाई लियौँ । जस्तैः जुन भाषा समृद्ध छ, भाषा विकासशील छ, जुन भाषामा साहित्य छ, गतिशीलता छ, धेरै वक्ता छन्, त्यस भाषालाई हामीले छान्यौँ । जस्तैः तामाङ, लिम्बू, मैथिली, डोट्याली, मगर, गुरुङ, राई आदि विकसित भाषा हुन्, तिनको साहित्य पनि छ । पहिलो चरणमा भाषाशास्त्रीहरूका सिफारिश र सल्लाह अनुसार, विकसित र विकासशील मातृभाषालाई लिएका छौँ । यो पुस्तक पनि ४–५ सय पृष्ठको बन्दैछ । सोचाइ त १२३ वटै मातृभाषाका मिथक निकाल्छु भनेर सोचेको थिएँ तर पर्याप्त बजेट हुँदोरहेनछ । त्यसैले सानो मात्रामा काम गर्न    सकेँ । तर यसमा निरन्तरता जरुरी छ र छुटेका भाषाले पनि ठाउँ पाऊन् भन्ने मेरो कामना छ ।

प्रज्ञाबाहिरको श्रवण मुकारूङ र प्रज्ञाभित्रको भित्रको श्रवणमा के फरक पाउनुभयो?
प्रज्ञा भन्ने ठाउँ मेरा लागि ठीकै ठाउँ रहेछ भन्ने लाग्यो। मैले राम्रो काम गरेको सन्देश नै गएको छ । साथीहरूले, विभिन्न जातिका अगुवाले धन्यवाद नै दिएका छन् । श्रवण तैँले विभिन्न मातृभाषा र जातिहरूलाई उठाइस् भनेर स्याबास् नै दिएको पाएँ । सकेको गरेँ । नूनको सोझो नै गरेँ भन्ने मलाई लागेको छ । केही अनभव लिएर निस्केँ । अनुभव सबै सुखद् नै हुन्छन् भन्ने हैन । तर त्यो संस्थाले मलाई परिपक्व बनाउन मद्दत गर्‍यो । एउटा कवि मात्र हुनुभन्दा एकेडेमीलाई आम जनताको परिवर्तनलाई बोध गराउने अथक प्रयत्न गरेँ । गौरव छ ।

प्रज्ञा प्रतिष्ठानमा रहेर गर्न पाए हुन्थ्यो तर गर्न सकिनँ भन्ने केही छ कि जे गरेँ गज्जब गरेँ भनेर मक्ख पर्नुभएको छ ?
गर्ने काम धेरै छन् । सकेको त गर्‍यौँ । विश्वभरि रहेका एकेडेमीहरूसँग प्राज्ञिक हिसाबले विचार, संस्कृति आदानप्रदान गर्ने, मुलुकको ज्ञान, संस्कृति आदान–प्रदान गर्ने काम जसरी गर्नुपथ्योँ सकेनौँ । अनुवाद मार्फत् हाम्रो साहित्यलाई विश्वसामु लैजान सकिन्थ्यो सीमितताका कारण त्यो सकिएन ।

साहित्य क्षेत्र अनुत्पादक छ भनेर राज्यले र समाजले हेर्ने गरेको र यसैका कारण प्रज्ञा प्रतिष्ठानलाई बजेटका हिसाबले टक्टक्याउने गरिन्छ भन्ने पनि छन् । तपाईको बुझाइ के हो?
राज्यको नीति र बजेट हेर्दा गम्भीर नभएको हो कि, अथवा नचाहेको हो कि जस्तो त देख्छु । म एउटा प्राज्ञले वार्षिक वजेट चलाउने ६–७ लाख मात्रै हुँदो रहेछ । यति बजेटले मैले मातृभाषा साहित्यलाई कसरी खोज, अनुसन्धान गराउन सक्छु त ? तर अहिले नै हामीले यसरी असन्तुष्टि व्यक्त गर्न अलिक बेला भएको छैन । भर्खर हामी संक्रमण पार गरेर आएका छौँ । अबका सरकारहरूले राम्रो ध्यान दिएर सुधार गर्न सक्छन् । एकेडेमीलाई स्वायत्तता पनि आवश्यक छ । सरकारले सिँधै बाहिरी संसारसँग व्यवहार गर्न दिँदैन र रोक्छ । यसरी हेर्दा चाहिँ कहिलेकाहीँ प्रज्ञा प्रतिष्ठानको नियुक्ति ‘तैले राष्ट्रको सेवा गरिस् अब ४ बषर््ा बसेर खा भनेर पुरस्कार, सम्मान गर्न मात्रै पठाएको जस्तो र बृद्ध उमेरमा बृद्धाश्रम पठाए जस्तो देखिने भएको छ । त्यसो नगरेर प्रज्ञा प्रतिष्ठानमा स्वप्नशील युवाहरूलाई पठाए धेरै प्रभावकारी हुन्थ्यो ।

अब अलिकति साहित्यकार श्रवण मुकारुङको राजनीतिक यात्राको पनि चर्चा गरौँ । राजनीतिमा हामफाल्दा र चुनावमा जाँदाको क्षणलाई अहिले कसरी समीक्षा गर्नुहुन्छ ?
हुन त साहित्य पनि राजनीति नै हो । तर सिँधै राजनीतिमा जाऊँ न त भन्ने साहित्यकार र कलाकारलाई पनि हुन्छ नै । मलाई पनि बद्लिँदो परिवेशमा राजनीतिमा गएर सफलता हासिल गर्छु कि भन्ने लोभ लाग्यो र गएँ । तर, राजनीति पनि यौटा मेसो हो, कला हो । मलाई अहिले हेर्दा सरकारको एउटा सचिबले भूतपूर्व हुन लागेका बेला गीत वा कवितामार्फत् गीतकार वा कवि हुन खोजेजस्तै लाग्छ । भूतपूर्व हुने बेलामा सचिब गीत या कविता बोकेर कवि गीतकार हुन आइपुग्छ । ऊ पहिले पनि कवि थिएन र पछि पनि रहँदैन। अहिले म राजनीतिमा लागेर चुनावमा उठेको कुरा चाहिँ त्यो सचिवले कविता लेखे जस्तै भएछ भन्ने लाग्छ । म न राजनीतिक थिएँ न रहने अवस्था नै छ ।
नेपाली कांग्रेसको अधिवेशनका बेला चुनावअघि मलाई सबैले ओहो, कत्रो कवि दाइ भने । फुक्र्याए । कांग्रेसका कार्यकर्ता साथीहरूले मलाई मक्ख पारे । मलाई पनि लोकप्रियताका कारण भोट आउँछ कि भन्ने पनि लाग्यो । अनि मैले उनीहरूलाई म पनि अधिवेशन प्रतिनिधि उठ्छु न त भनेर सोध्दा ओहो, दाइ जित्नुभयो भने त ठीकै छ, हार्नुभयो भने त हाम्रो बेइज्जत हुन्छ भनेर उनीहरूले तँ यता नउठ् भनेको बुझेँ । राजनीति चाहिँ घुमाउरो रहेछ भन्ने लाग्छ । राजनीतिको पनि अनुभव त गरेँ । तर त्यसका लागि ढिला चाहिँ भएको रहेछ । साहित्यका लागि जुन मूलबाटो बनाएँ, त्यो राजनीतिमा चाहिँ बनाएको रहेनछु भन्ने लाग्यो । शायद् अब म सक्रिय राजनीति गर्न सक्दिनँ । साहित्यमै रमाउनु ठीक रहेछ । सक्रिय राजनीति गर्नु चाहिँ दुस्साहस रहेछ । राजनीति चाहिँ असाध्यै साँघुरो रहेछ । साहित्य नै फराकिलो रहेछ । साहित्यको राजनीति चाहिँ छोड्दिनँ किनकि मेरो भात–पानी, जीवन सबै साहित्य नै हो । मेरो अर्को कुनै मेलो र मेसो छैन । उत्पादन गर्ने पनि यही, बेच्ने पनि यही र खाने, उठ्ने, बस्ने यही ।

Facebook Comments