परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फोहोर–मैला व्यवस्थापनमा चुनौती

आज संसारमा आधाभन्दा बढी मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्छन् र यो गति निरन्तर तवरले बढ्दो छ । सहरी जिन्दगी आजका मानिसहरूको लागि आवश्यकता, बाध्यता वा रहर हुन सक्दछन् । तर अव्यवस्थित सहरीकरण बढ्दो जनसंख्या, बढ्दो ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसोबास गर्ने अवस्था उचित तवरको भौतिक पूर्वाधारको कमीले गर्दा सहरी जीवन दुस्कर हुँदै गइरहेको छ । यस्तै प्रकारले सहरी जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो, फोहोर–मैला व्यवस्थापन ।

सबै सहरवासीहरू स्वच्छ, हराभरा, वातावरणीय तवरले सन्तुलित, खुल्ला क्षेत्र तथा पार्क, सबै कुनामा पुग्न सक्ने भरपर्दो यातायात व्यवस्था, आर्थिक तथा सामाजिक तवरले जीवनस्तर बृद्धि गर्ने सम्भावना भएको सहरको चाहना राख्दछन् । तर दुर्भाग्यवश नेपालमा यस्तो कुनै पनि सहर भेट्टाउन सकिराखेको छैन । काठमाडौँको कुरा गर्ने हो भने कुनै जमानामा सुन्दर कान्तिपुरी नगरी भनेर चिह्निएको सहर हाल आएर एउटा अव्यवस्थित तथा दुर्गन्धित र कुरूप सहरको रूपमा परिणत हुन गइरहेको छ । जताततै थुप्रिएको फोहोरको डङ्गुर, नाली तथा ढल फुटेको अवस्था, खाल्टाखुल्टी भएका सड्क, अव्यवस्थित यतायात प्रणाली आदि समस्याहरूबाट काठमाडौंवासीहरू आजित छन् । यी समस्या काठमाडौँका मात्र नभई, सम्पूर्ण नेपालका सहरहरूका साझा समस्याहरू हुन् ।

अतः सहरको एउटा ज्वलन्त समस्याको रूपमा फोहोर व्यवस्थापन पनि रहेको छ । हुन त कोही व्यक्ति पनि फोहोरलाई आफ्नो घर वरिपरि राख्न चाहँदैनन् । तर जताततै फोहोरको डंगुर देखिन्छ । यो समस्या कहाँबाट आयो ? लाचार सरकारी संयन्त्र, चेतनहीन नागरिक वा मुनाफाखोर व्यापारी तथा उद्योगपति केलाउन जरुरी छ । शायद सबैजनाले फोहोर व्यवस्थापनमा कम्मर कस्ने हो भने फोहोर एउटा समस्याको रूपमा रहँदैनथ्यो होला ।

कुनै वस्तुहरू उपयोग गरेपछि अनुपयुक्त वा काम नलाग्ने वा फाल्नुपर्ने वस्तुहरूलाई हामी फोहोर–मैला भनेर संज्ञा दिन्छौँ । यो तबरले फोहोरका विभिन्न स्रोतहरू हुन सक्छन् । घरायसी प्रयोगपछि निस्कने फोहोर, व्यावसायिक क्रियाकलापपछि निस्कने फोहोर, उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर, अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट निस्कने फोहोर, कृषि उत्पादन तथा वितरण गर्दा निस्कने फोहोर आदि । अन्य स्रोतबाट निस्कने फोहोर–मैलालाई कानून तथा नीतिगत तवरले नियन्त्रण गर्न सकिन्छ, तर घरायसी तवरले निस्केको फोहरलाई कानूनी रूपले मात्र सम्भव छैन । यो समस्या एउटा स्थान वा देशको मात्र होइन, सम्पूर्ण विश्वको साझा समस्या हो । अझै बढ्दो जनसंख्यासँगै निस्केको फोहरसँग प्लाष्टिकजन्य फोहोर पनि मिसिँदा, धेरैजसो सहरी क्षेत्र प्रदूषित भएका छन् । फोहोरले सहरको सुन्दरतामा त असर गर्दछ नै सँगसँगै सङ्क्रामक रोगको प्रकोप बढ्नसक्ने खतरा तथा खानेपानीका मुहान एवं नदीनाला दूषित हुन सक्दछन् ।

काठमाडौंँ उपत्यकामा मात्र दैनिक करिव १००० मेट्रिक टन जति फोहोर निष्काशन हुन्छ । त्यसमध्ये कुहिने तथा गलेर जाने फोहोर (Organic) ६० प्रतिशत छ । करिब ४० प्रतिशत जति नकुहिने (Inorganic) फोहोर रहेको छ । काठमाडौँ सहरबाट मात्रै २००७ करिब २९९ मेट्रिकटन फोहोर निस्कन्थ्यो भने हालमा बढेर करिव ६०० मेट्रिक टन फोहोर निष्काशन भइरहेको छ । जसमा कुहिने वा गलेर जाने फोहोर करिब ६० प्रतिशत, प्लाष्टिकजन्य फोहोर १० प्रतिशत, कागजजन्य फोहोर ९ प्रतिशत र काँच वा गिलासजन्य फोहोर ५ प्रतिशत हाराहारीमा रहेको पाइन्छ । एउटा अध्ययनले के देखाएको छ भने औसतमा ३१७ ग्राम फोहोर प्रत्येक काठमाडौँवासीले दैनिक रूपले निष्काशन गरिरखेका छन् ।

फोहोर–मैला व्यवस्थापनका लागि नेपालमा जतिसक्दो राम्रा कानूनी व्यवस्था भए पनि व्यावहारिक रूपले यो निष्प्राय रहेको छ । हुन त काठमाडौँ महानगरपालिकाले कुहिएर जाने फोहोर र नकुहिने फोहोर सङ्कलन गर्नका लागि हरियो र रातो झोला तथा भाँडोको व्यवस्था गरे पनि, तर व्यावहारमा लागु हुन सकिरहेको छैन । फोहोर-मैला व्यवस्थापन ऐन २०११ अनुसार फोहोर–मैलाको सम्पूर्ण व्यवस्थापन स्थानीय निकायलाई दिइएको छ । स्थानीय निकायले नै फोहोर व्यवस्थापनका लागि आवश्यक कानून तथा नीतिहरू निर्माण गर्ने, त्यसलाई कार्यान्यन गर्ने अधिकार राखेको छ । फोहोर–मैला व्यवस्थापन ऐन २०११ अनुसार कुहिएर जाने र कुहिएर नजाने गरी फोहोरलाई दुई वर्गमा विभाजन गरिएको छ । फोहोर–मैला व्यवस्थापन ऐन का अनुसार कुनै व्यक्तिले फोहोरलाई दुई वर्गमा विभाजन नगरी, विर्सजन गरेमा रु ५०० देखि २५००० सम्मको जरिबाना गर्नसक्ने व्यवस्था छ । कानूनी रूपले फोहोर व्यवस्थापनका लागि कडा कानून भएता पनि फितलो प्रशासनिक निकायले गर्दा फोहोर एउटा समस्याका रूपमा देखिएको छ ।

आधुनिक फोहोर व्यवस्थापन अनुसार फोहोरको मात्रालाई जतिसक्दो कम गर्ने (Reduce), कुनै उद्देश्यको प्रयोग भइसकेको वस्तुलाई सकिन्छ भने पुर्नप्रयोग गर्ने (Reuse), पुर्नप्रयोग गर्न नसकिएका वस्तुहरूलाई पुनर्चालन (Recycle) गर्ने र अन्तमा बाँकी रहेको फोहोेरलाई मात्र विसर्जन गर्ने । यो सिद्धान्तमा अर्को कुरा पनि थप्न सकिन्छ, अनावश्यक वस्तु वा आवश्यकताभन्दा बढी सामग्रीहरूलाई अस्वीकार गर्ने (Refuse) गर्ने । अत 4R को सिद्धान्तलाई प्रत्येक नागरिक तथा जिम्मेवार निकायले, हृदयदेखि पालना गर्ने हो भने, फोहोर व्यवस्थापन गर्न कुनै कठिनाई हुँदैन ।

सर्वप्रथम, फोहोरलाई घर दैलोमा वा स्रोतमा नै कुहिने र नकुहिने फोहोर गरी विभाजन (source sepration) गर्नु जरुरी छ । सकिन्छ भने नकुहिने फोहोरलाई पनि विभिन्न खण्डमा जस्तै धातुजन्य, प्लाष्टिकजन्य, काँचजन्य आदि वर्गमा छुट्याउनु पर्दछ । यदि यी फोहोरलाई पुर्नप्रयोग वा पुर्नचालन गर्न सकिन्छ भने, त्यसलाई त्यस अनुसार कार्यान्वन गर्ने र यदि गर्न नसकेको अवस्थामा वैज्ञानिक पद्धति अनुसार विसर्जन गर्ने । कुहिएर जाने फोहोरलाई कम्पोष्ट वा जैविक पद्धतिबाट विसर्जन गर्न सकिन्छ भने कुहिएर नजाने फोहोरलाई स्थलगत विसर्जन (Landfill) अथवा दहन (Incineration) विधिबाट विसर्जन गर्न सकिन्छ ।

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

नेपालको सन्दर्भमा कानूनी तवरले फोहोरलाई छुट्याएर मात्र विसर्जन गर्नुपर्ने वाध्यता भए तापनि व्यवाहारमा प्रयोग भइरहेको छैन । पुरानो पद्धति अनुसार, घरदैलो, व्यापारिक, कल–कारखाना, अस्पताल आदि क्षेत्रहरूबाट आएका फोहोरहरूलाई एकै ठाउँमा सङ्कलन गरी स्थलगत विसर्जन गर्दै आइरहेको छ । हुन त आजकल स्थानीय निकायले विभिन्न संघ–संस्था तथा निजी सङ्कायहरूको सहयोगमा घरदैलोमा गई फोहोर सङ्कलन गर्दै आइरहेको भएता पनि सामान्य फोहोरलाई वर्गीकरण गरी विसर्जन गरिराखेको पाइन्छ। तर यो विधि अति नै अवैज्ञानिक तथा अप्रभावकारी हो ।

हाल काठमाडौँ उपत्यककाको फोहोर विसर्जन गर्नका लागि सिसडोल विसर्जन स्थल (Landfill) प्रयोग भइरहेको छ र सङ्कलित फोहोरको ७० प्रतिशत यही स्थलमा विसर्जन भइरहेको छ । हुन त जापान सरकारको सहयोगमा सन् २००५ मा ३ वर्षको अवधिलाई प्रयोग गर्न सकिने गरी निर्माण भएता पनि, हालसम्म पनि प्रयोग हुँदै आइरहेको छ । सिसडोल क्षेत्रमा जाने बाटो कच्ची भएकाले वर्षायाममा ठूलो समस्या रहेको छ र सँगसँगै स्थाीनय बासिन्दाहरूको वारम्बार विरोधले गर्दा थप चुनौती थपेको छ । यसै सिलसिलामा सरकारले दीर्घकालिन विसर्जनस्थलको रूपमा, करिव ३० करोड रकम खर्च गरी १७३० रोपनी क्षेत्रफलको नुवाकोटको वच्चरेडाँडामा निर्माण कार्य अगाडि बढाएको छ । र हाल तीन तहको सरकारी निकाय (केन्द्र, प्रदेश तथा स्थानीय) को आपसी समन्वय नहुँदा यस कार्यलाई अगाडि बढाउन कठिनाई भइरहेको छ । हुन त दिर्घकालीन योजनाको रूपमा बन्चरेडाँडाँलाई अगाडि सारे पनि खुल्ला विसर्जन गर्ने तरिकाको रूपमा प्रयोग हुने हुँदा यसले त्यस क्षेत्रमा नकारात्मक वातावरणीय प्रभाव पार्ने सम्भावना छ र भविष्यमा फेरि स्थानीय वासिन्दाहरूको विरोध नहोला भन्न सकिन्न ।

नेपालमा विभिन्न दातृराष्ट्रको सहयोगमा फोहोर व्यवस्थापनका लागि विभिन्न परियोजना सञ्चालन भइरहेका छन् । यसै कडीका रूपमा सन् २०१७ मा युरोपियन युनियनको सहयोगमा करिव १.८२ करोडको लागतमा काठमाडौको टेकुमा काठमाडौँ महानगरपालिकको नमूना परियोजनाको रूपमा फोहोर उर्जा उत्पादन परियोजना सञ्चालनमा आइरहेको छ । यस परियोजनाले कुहिएर जाने फोहोरलाई प्रयोग गरी करिब १४ किलोवाट विजुली, ३०० किलोग्राम वायोअर्गानिक मल, ३०० घनमिटर बायोग्यास र १५०० लिटर स्वच्छ पानी दैनिक रूपमा निकाल्ने लक्ष्य राखेको छ । हुन त फोहोरलाई उर्जामा बदल्ने प्रविधि एउटा दिगो फोहोर व्यवस्थापनको स्वरूप हो तर आर्थिक रूपले हाललाई सम्भव नहुन सक्दछ । हामीले साधारण प्रविधि प्रयोग गरी काठमाडौँको फोहोरलाई व्यवस्थापन गर्न सकिन्छ तर लाचार प्रशासनिक निकाय तथा सरकारले गर्दा सधैँ फोहोर व्यवस्थापन एउटा समस्याको रूपमा रहेको पाइन्छ ।

अबको बाटो भनेको शून्य फोहोर व्यवस्थापन (Zero waste management )  हो । के यो सम्भव छ त ? यदि दह्रो इच्छाशक्ति र चेतनशील नागरिककको सहभागिता भएमा यो सम्भव छ । यो विधि अपनाउन, फोहोरलाई घरदैलो अथवा स्रोतमा नै छुट्याउनु पर्दछ । जसले गर्दा कुहिएर जाने फोहोरलाई कम्पोष्ट प्रविधि प्रयोग गरी जैविक मलको रूपमा प्रयोग गर्न सकिन्छ । कुहिएर जाने फोहोर जस्तै धातु, प्लाष्टिक, काँच आदिलाई पुर्नप्रयोग वा पुनर्चालन विधिबाट कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिन्छ । जसले गर्दा कुनै पनि फोहोरलाई विसर्जन गर्नु नै जरुरी पर्दैन र शून्य फोहोरको अवधारणा नै यही हो । तर व्यावहारिक रूपमा यो पद्धति अपनाउन अति नै चनाखो तथा संवेदनशील हुनु जरुरी पर्दछ । कुहिएर जाने फोहोरमा आलिकती पनि धातु, प्लाष्टिक, काँचजन्यपदार्थहरू मिसाउन हुनु र कुहिएर नजाने फोहोरहरू फरक–फरक किसिमले छुट्याउनु पर्दछ ।

काठमाडौ उपत्यकामा करिव ६० प्रतिशत कुहिएर जाने फोहोरको मात्रा छ । जसलाई सजिलैसँग कम्पोष्ट गरी मल तथा वायोग्यास निकाल्न सकिन्छ । तर यो फोहोरमा अन्य पदार्थहरू मिसावट हुने हुँदा व्यवस्थित रूपले कम्पोष्ट प्लान्ट सञ्चालन गर्न सकिराखेको छैन । हाल स्थानीय तबरले घरदैलोमा गई फोहोर सङ्कलन गर्ने र त्यसबापत् केही रकम उपभोक्ताबाट लिने चलन छ । यसले गर्दा उपभोक्तहरूले फोहोरलाई एकै ठाउँमा दिने गर्दछन । यदि हामीले कुहिएर जाने र कुनै अन्य कुनै पदार्थ नमिसिएको फोहोरलाई केही रकम उपलब्ध गराएर उठाउने हो भने यसलाई सजिलै कम्पोष्ट गरी थप आयआर्जन गर्न सकिन्छ । यो साधारण विधि मात्र अपनाउने हो भने कुहिएर जाने फोहोरको सजिलोसँग व्यवस्थापन गर्न सकिन्छ ।

यदि पलाष्टिकजन्य फोहारलाई नियन्त्रण गर्नु छ भने सर्वप्रथम ४० माइक्रोन भन्दा कम तौलका सबै प्लाष्टिकका झोलाहरू प्रतिवन्धित गर्नुपर्दछ । यो गर्दैमा खासै समाजमा ठूलो असर गर्दैन र अन्य बैकल्पिक तरिकाले व्यवहार चलाउन सकिन्छ। यो सत्य हो कि प्लाष्टिक बिना अहिलेको संसार कल्पना गर्न सकिन्न । तर प्लाष्टिकलाई पुर्नप्रयोग वा पुर्नचलन विधिबाट व्यवस्थापन गर्न सकिन्छ । प्लाष्टिकको धेरै प्रयोग प्याकेजिङ्ग कार्यमा भइरहेको छ । विस्कुट, चाउचाउ, तयारी खानेकुरा, पेयपदार्थ आदिमा प्रयोग हुने प्लाष्टिकजन्य प्याकेजिङलाई सम्बन्धित उद्योग तथा आर्थिक लाभ प्रोत्साहन जस्ता बजारीकरण सिद्धान्त प्रयोग गरी सजिलै नियन्त्रण गर्न सकिन्छ ।

अतः फोहोर व्यवस्थापन कार्य छोटो अवधिलाई मात्र ध्यानमा राखेर गर्नु हुँदैन । फोहोर व्यवस्थापन कार्य गर्न दीर्घकालिन नीतिको आवश्यकता पदर्छ र सम्पूर्ण नगरवासी, नागरिक समाज तथा सरकारी संयन्त्रको आपसी समन्वयमा मात्र सम्भव   छ । फोहोर व्यावस्थापनका कानून बनाएर मात्र हुँदैन, यसलाई कार्यान्वयन गर्न सक्ने आँट र दृढता सम्बन्धित निकायमा हुनु जरुरी छ । अबको बाटो भनेको फोहोरलाई हटाउने वा विसर्जन गर्ने भन्ने पुरानो सोचलाई परिवर्तन गरी शून्य फोहोरको वैज्ञानिक अवधारणालाई अगाडि बढाउनु जरुरी छ ।

Facebook Comments